विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गर्न सकिन्छ : मुख्यमन्त्री कार्की
बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले विपद् नियन्त्रण गर्न नसके पनि क्षति र जोखिम कम गर्न प्रभावकारी रूपमा पूर्व तयारी गर्नुपर्ने बताएका हुन।मोरङ, मंसिर १२ : कोसी प्रदेशका मुख्यमन्त्री हिक्मतकुमार काकीले विपद् पूर्व तयारीले क्षति न्यूनीकरण गरी जनताको जीउधनको सुरक्षा गर्न सकिने बताएका छन्।
बुधबार आन्तरिक मामिला तथा कानुन मन्त्रालयद्वारा आयोजित अग्नि नियन्त्रणका सामग्री हस्तान्तरण कार्यक्रममा मुख्यमन्त्री कार्कीले विपद् नियन्त्रण गर्न नसके पनि क्षति र जोखिम कम गर्न प्रभावकारी रूपमा पूर्व तयारी गर्नुपर्ने बताएका हुन।
सशस्त्र प्रहरी बल बराह बाहिनी पकली सुनसरीका प्रमुख शुम्भ सुवेदीलाई अग्नि नियन्त्रणका लागि १७ लाख १७ हजार आठ सय २० रुपैयाँ मुल्य बराबरको सात किसिमका सामग्री हस्तान्तरण गर्दै मुख्यमन्त्री कार्कीले भने–‘पूर्व तयारीबाट दुर्गम स्थानमा विपद्बाट हुने घटना नियन्त्रण गर्न सहयोग पुग्नुका साथै जनधनको क्षति रोक्न सकिन्छ।’
विपद् नियन्त्रणमा जनताको सक्रिय सहभागिता गराउन सरकार क्रियाशील रहेको बताउदै उनले बाढीपहिरो आउने स्थानमा स्थानीय पालिकासँगको सहकार्य र सहयोगमा आगामी जेठ अगाडि बस्ती सार्ने योजना अघि बढाएको बताए।
मुख्यमन्त्री कार्कीले जाडोयाममा तराईमा शीतलहर आउने सक्ने भन्दै शीतलहरबाट आमनागरिकलाई बचाउन आवश्यक तयारी गर्न मन्त्रालयलाई निर्देशन दिएका छन्। सडक दुर्घटनाबाट ठूलो मानवीय एवं भौतिक क्षति भइरहेकाले यसलाई नियन्त्रण गर्न तीन तहका सरकारको समन्वय आवश्यक रहेको उनको भनाई थियो।
नेपाल प्रहरी र सशस्त्र प्रहरीलाई रु एक करोड ५० लाखका दरले विभिन्न विपद् व्यवस्थानका सामग्री उपलब्ध गराउने मन्त्रालयले तयारी गरेको मन्त्रालयका निमित्त सचिव कमल थापाले जानकारी दिए।