नेपाल–भारत सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ : प्रधानमन्त्री
‘नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ। यो यस्तो आत्मीय निकटता हो, जसलाई शब्दको सीमिततामा बाँध्न सकिँदैन,’ प्रधानमन्त्री शाहले भने।
नयाँ दिल्ली, मंसिर ७ : प्रधानमन्त्री बालेन्द्र शाहले नेपाल र भारतबीचको सम्बन्ध पारस्परिक सम्मान, अटल विश्वास र अविच्छिन्न सद्भावमा आधारित रहेको बताएका छन्। उनले दुई देशबीचको ऐतिहासिक सम्बन्धलाई समयअनुकूल थप सुदृढ बनाउँदै आपसी सहकार्य र साझेदारी विस्तार गर्नुपर्नेमा जोड दिएका छन्।
प्रधानमन्त्री पद सम्हालेपछि आफ्नो पहिलो द्विपक्षीय भारत भ्रमणका क्रममा भारतीय समकक्षी नरेन्द्र मोदीसँग सोमबार नयाँदिल्लीमा आयोजित संयुक्त पत्रकार सम्मेलनलाई सम्बोधन गर्दै प्रधानमन्त्री शाहले यस्तो बताएका हुन्।
भगवान् पशुपतिनाथ, माता जानकी र करुणामय मच्छिन्द्रनाथको आशीर्वाद तथा नेपाली जनताको प्रेम, स्नेह र सद्भाव लिएर भारतको राजकीय भ्रमणमा आएको उल्लेख गर्दै उनले न्यानो आतिथ्य र निमन्त्रणाका लागि भारतीय प्रधानमन्त्री मोदीप्रति आभार व्यक्त गरे।
उनले नेपाल–भारत सम्बन्धको केन्द्रमा दुवै देशका जनता रहेको उल्लेख गर्दै दुई देशबीचको आत्मीय सम्बन्धलाई शब्दमा सीमित गर्न नसकिने बताए।
‘नेपाल र भारतबीचको सम्बन्ध हिमालझैँ अटल र महासागरझैँ विशाल छ। यो यस्तो आत्मीय निकटता हो, जसलाई शब्दको सीमिततामा बाँध्न सकिँदैन,’ प्रधानमन्त्री शाहले भने।
भारतलाई नेपालको विश्वसनीय छिमेकीका रूपमा चित्रण गर्दै उनले प्राकृतिक प्रकोप तथा विपद्का कठिन समयमा भारतले अग्रपङ्क्तिमा रहेर सहयोग गर्दै आएको बताए । यसका लागि भारत सरकार र भारतीय जनताप्रति उनले कृतज्ञता व्यक्त गरे।
प्रधानमन्त्री शाहले नेपाल र भारतबीच भर्खरै सम्पन्न प्रतिनिधिमण्डलस्तरीय वार्ताले दुई देशको शताब्दीयौँ पुरानो ऐतिहासिक सम्बन्धलाई थप सुदृढ र समयसापेक्ष बनाउने दिशामा महत्त्वपूर्ण योगदान पु¥याउने विश्वास व्यक्त गरे।
उनका अनुसार वार्तामा द्विपक्षीय सम्बन्धका बहुआयामिक पक्षमा सार्थक र दूरगामी छलफल भएको छ । साथै, नेपाल–भारत सहकार्यका विभिन्न क्षेत्रमा महत्त्वपूर्ण साझेदारीका सहमति हुनुका साथै विभिन्न परियोजनाको उद्घाटन र शिलान्याससमेत गरिएको छ।
प्रधानमन्त्री शाहले वार्ताका क्रममा भएका समझदारी र अघि बढाइएका परियोजनाको वास्तविक प्रतिफल दुवै देशको समृद्धिका रूपमा देखिनुपर्नेमा जोड दिए। ‘आज हामीले गरेका समझदारी र अघि बढाएका परियोजनाहरूको प्रतिफल समृद्धिका रूपमा देखिनुपर्छ,’ उनले भने।
दुई देशबीच भएका ऐतिहासिक उपलब्धि र आगामी सहकार्यका योजनाबारे संयुक्त दृष्टिकोणपत्र (जोइन्ट भिजन डकुमेन्ट) तथा साझा उपलब्धिसम्बन्धी संयुक्त प्रेस विज्ञप्तिमार्फत विस्तृत जानकारी गराइने पनि उनले बताए ।
यस अवसरमा प्रधानमन्त्री शाहले भारतीय प्रधानमन्त्री मोदीलाई नेपाल भ्रमणको औपचारिक निमन्त्रणा दिएका छन् । साथै, भारतका जनतालाई पनि हिमालयको काखमा अवस्थित नेपालको भ्रमण गर्न आग्रह गरेका छन् ।
उनले मुक्तिनाथ, पशुपतिनाथ, माता जानकी, जीवित देवी कुमारी तथा भगवान् गौतम बुद्धको जन्मस्थल लुम्बिनीलगायत धार्मिक, सांस्कृतिक र ऐतिहासिक महत्त्वका स्थलहरूको भ्रमण गर्न भारतीय जनतालाई निमन्त्रणा दिए ।
सम्बोधनको अन्त्यमा प्रधानमन्त्री शाहले नेपाल–भारत मित्रता अझ प्रगाढ, विश्वासपूर्ण र समृद्धिमुखी हुनुपर्ने धारणा व्यक्त गरे ।
‘नेपाल र भारतबीचको मित्रता यस्तो होस्, जहाँ विश्वास हिमालझैँ होस्, सहकार्य नदीझैँ अविरल बगोस् र दुवै राष्ट्रको समृद्धि हाम्रो साझा आकाशमुनि फक्रियोस्,’ उनले भने ।
उनले दुवै देश र जनताको सुख, शान्ति तथा समृद्धिको कामनासहित आफ्नो सम्बोधन टुंग्याएका थिए ।






