शेयर बजार २ दशमलव ४२ अंकले घट्यो
काठमाडौं, पुस ३ : यो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २ दशमलव ४२ अंकले घटेर ११४९ दशमलव ६४ को विन्दुमा बन्द भएको छ।
<....काठमाडौं, पुस ३ : यो साताको अन्तिम कारोबार दिन बिहीबार नेप्से परिसूचक २ दशमलव ४२ अंकले घटेर ११४९ दशमलव ६४ को विन्दुमा बन्द भएको छ।
दोस्रो बजार ० दशमलव २१ प्रतिशतले घटेको छ। ११५२ दशमलव ०७ को विन्दुमा खुलेको दोस्रो बजार ११५४ दशमलव २८ को उच्च विन्दुसम्म पुगेको थियो। बजारको न्यून विन्दु ११४८ दशमलव ३६ थियो।
४१ करोड ९० लाख रुपैयाँ बराबरको शेयर किनबेच हुँदा कारोबार भने बढेको छ।
आजको बजार अवस्था
आज सर्वाधिक कारोबार हुने
आज सबैभन्दा धेरै एनएमबी बैंक लिमिटेडको शेयर किनबेच भएको छ। एनएमबी बैंक लिमिटेडको १२ करोड ३१ लाख बराबरको शेयर किनबेच भएको छ। लाभांश खाने आज अन्तिम दिन भएकाले बैंकको निकै धेरै कारोबार भएको छ।
आज सर्वाधिक कमाउने र गुमाउने
आज नेपाल फाइनान्स लिमिटेडका शेयरधनीले सर्वाधिक ९ दशमलव ४० प्रतिशतले कमाए भने दिव्यश्वरी हाइड्रोपावरका शेयरधनीले सर्वाधिक ६ दशमलव ७७ प्रतिशतले गुमाए।
छोटो समयावधिको प्राविधिक विश्लेषण
अघिल्लो दिनको निष्कर्ष अनुसार बजारको तत्कालीन प्रतिरोध ११५८ र मुख्य टेवा ११४७ को क्षेत्रमा रहेको देखिन्छ भनिएको थियो। आज बजार यही क्षेत्रभित्र सीमित रहि उतारचढाव भएको छ। आज बजार ११४९ दशमलव ६४ को विन्दुमा बन्द भएको छ।
चित्र नं १ : नेप्से दैनिक मैनबत्ती प्रवृत्ति
चित्र नं १, नेप्सेको दैनिक मैनबत्ती प्रवृत्ति अनुसार हाल बजार ११५० को मुख्य टेवा क्षेत्रमा रहेको देखिन्छ। प्राविधिक रुपमा यो क्षेत्रमा खरिदकर्ता पुनः सक्रिय हुन सक्ने सम्भावनालाई नकार्न सकिन्न। आजको मैनबत्तीले पनि बजारमा विक्रीकर्ताहरु केही मात्रामा सक्रिय रहेको संकेत गरेको छ।
चित्र नं.२ : पाँच मिनेट मैनबत्ती प्रवृत्ति
चित्र नं. २, यो साताको उतारचढाव कस्तो रह्यो भनेर हेर्नलाई पाँच मिनेट समयावधिका मैनबत्तीलाई प्रयोग गरिएको छ। यो साताको पहिलो दिन आइतबार कारोबार खुलेदेखि बजार घट्दो प्रवृत्तिमा थियो।
साताको अन्तिम दिन २१ र ५० समयावधिको एक्सपोनेन्सियल मुभिङ्ग एभरेज (ईएमए)हरु केही नजिकिएकाले बजारमा विक्रेताको चाप कमजोर हुँदै गएको संकेत गरेको छ। रिलेटिभ स्ट्रेन्थ इन्डेक्स (आरएसआई) ४९ दशमलव ८२ अंकमा रहेको छ। कारोबारको अन्तिम समयमा आरएसआईले क्रेताको चाप सकारात्मक हुँदै गएको संकेत गरेको छ। त्यस्तैगरी, कारोबारको अन्तिम समयमा स्टोकास्टिक अक्सिलेटरको प्रवृत्तिले भने बजार अझ केही सच्चिन सक्ने संकेत गरेको छ।
निष्कर्ष : माथि उल्लेखित छोटो समयावधिको नेप्से प्रवृत्तिले हालसम्म बजार घट्दो प्रवृत्तिमा रहेको र सूचकले मिश्रित संकेत गरेको छ। समग्रमा हेर्दा यदि बजार ११५५ भन्दा माथि स्थिर रहेमा बजार केही सकारात्मक हुन सक्ने संकेत गरेको छ भने यदि बजार ११४७ भन्दा तल स्थिर रहेमा बजार केही नकारात्मक पक्षमा हुन सक्ने संकेत गरेको छ।