Kathmandu Press

प्रहरीको दसैं : ‘चाडबाडमा हाम्रो पहिलो प्राथमिकता ड्युटी हो’

प्रहरीलाई चाडबाडको रमझमभन्दा पनि कता के घटना भइहाल्ने हो कि भन्ने चिन्ताले सताइरहन्छ। जुनसुकै बेला चनाखो भइरहनुपर्ने भएकाले प्रहरीलाई चाडबाडभन्दा पनि कर्तव्य पालनाको बढी चासो हुने गर्छ।
प्रहरीको दसैं : ‘चाडबाडमा हाम्रो पहिलो प्राथमिकता ड्युटी हो’

काठमाडौं, असोज १८ : विशेषगरी चाडपर्वमा हुने भिडभाड, सवारीसाधनको जाम हटाएर आवागमनलाई सहज बनाउन  ट्राफिक प्रहरी जुटिरहेका हुन्छन्। उनीहरू चाडबाडको बेला पनि प्रायः सडकमा ड्युटी गरिरहेको अवस्थामा भेटिन्छन्।

अरू प्रहरी पनि शान्तिसुरक्षा कायम राख्न र अमनचयनको वातावरण सिर्जना गर्न आआफ्नै जिम्मेवारीमा व्यस्त भइरहेका हुन्छन्। उनीहरूलाई चाडबाडको रमझमभन्दा पनि कता के घटना भइहाल्ने हो कि भन्ने चिन्ताले सताइरहन्छ। जुनसुकै बेला चनाखो भइरहनुपर्ने भएकाले प्रहरीलाई चाडबाडभन्दा पनि कर्तव्य पालनाको मात्रै चासो बढी हुने गर्छ।

दसैंमा उपत्यकाका ट्राफिक प्रहरी, केन्द्रीय प्रहरी र केन्द्रीय अनुसन्धान ब्युरोमा आबद्ध प्रहरीसँग दसैं अनुभवबारे काठमाडौं प्रेसले टेलिफोनमार्फत कुराकानी गरेको छ। कुराकानीमा सहभागी सबैले दसैं, तिहारलगायत चाडपर्वका बेला प्रहरीको जिम्मेवारी झन् बढ्ने बताएका छन्। मिलेसम्म घर जाने नभएर ड्युटीमै रहेर पनि रमाइलो गर्ने गरेको उनीहरू बताउँछन्।  

Hardik ivf

‘२८ वर्षदेखि दसैं मनाउन पाइएको छैन’

राजेन्द्रप्रसाद भट्ट
प्रवक्ता तथा प्रहरी वरिष्ठ उपरीक्षक
काठमाडौं उपत्यका ट्राफिक प्रहरी कार्यालय

२८ वर्षदेखि ट्राफिक प्रहरीमा आबद्ध छु। तर अहिलेसम्म घरपरिवारसँग दसैं मनाएको अनुभव छैन। चाडपर्वको समयमा उपत्यकामा मानिसको भिडभाड एकदमै धेरै बढ्छ।  

भिडभाड बढ्ने हुँदा त्यहाँ गएर भिडलाई व्यवस्थापन गर्नुपर्ने हुन्छ। दसैंमा केही दिन भिडभाड कमजस्तो देखिने भए पनि अन्य जिम्मेवारी बढी हुन्छ।

rajendra bhatta1664864821.jpg

त्यसैले ट्राफिक प्रहरीले चाडपर्वमा आफ्नो परिवारसँग बसेर चाडपर्व मनाउने कम संख्यामा हुन्छन्।  दसैंको आरम्भतिर बजारमा मानिसको घुइँचो बढी हुन्छ। भिडमा हुने विभिन्न क्रियाकलापलाई रोक्न पनि हामी खटिनु आवश्यक छ।

त्यस्तै दसैंको समयमा धेरै मानिस उपत्यकाबाहिर जान्न्। उपत्यका बाहिरिने नाकामा ट्राफिक प्रहरी दिनरात खटिनुपर्छ। चाडपर्वको समयमा सबैंको बिदा भइरहँदा ट्राफिक प्रहरी अझै सक्रिय हुनु आवश्यक छ।

चाडपर्वमा मादक पदार्थ सेवन (मापसे) गरेर सवारीसाधन चलाएका हुन्छन्। उनीहरूको नियन्त्रण र अनुगमन गर्नु आवश्यक हुन्छ। कामको चाप बढी हुने भएकाले ट्राफिक प्रहरीले चाडपर्वको समयमा कमै संख्याले मात्र बिदा लिन पाउँछन्। अझ माथिल्लो तहमा बसेर नीतिनियम बनाउने एउटा टिमलाई लिड गरिरहेका व्यक्तिले त चाडपर्वमा बिदै पाउँदैनन्।

आफ्नो जिम्मेवारी नै चाडपर्व, भिडभाड हुने समय र जोखिमबाट जनतालाई सुरक्षित राख्नु हो। त्यसैले चाडपर्व परिवारसँग मनाउन नपाएकोमा कुनै दुःख लाग्दैन। हामीले चाडपर्वमा अझ सक्रिय भएर आफ्नो जिम्मेवारी निभाउनुपर्छ।

‘चुनाव आइसकेकाले दसैंमा रमाइलो गर्न भ्याउँदैनौं  

टेकप्रसाद राई
प्रवक्ता तथा प्रहरी नायब माहानिरीक्षक
केन्द्रीय प्रहरी कार्यालय

२७ वर्ष भइसक्यो अहिलेसम्म परिवारसँग बसेर चाडपर्व मनाएको अनुभव छैन। हामीले जागिर खाने बेलामै प्रहरीको जागिर भनेको कस्तो हो भन्ने बुझेर सुरुवात गरेका हुन्छौं। त्यसैले चाडपर्वको समयमा लिनेभन्दा पनि आम जनतालाई कसरी सुरक्षित बनाउने भन्ने तर्फ सोच्छौं।

चाडपर्व हाम्रा लागि दोस्रो प्राथमिकतामा राखेर अगाडि बढेका हुन्छौं। हाम्रो पहिलो प्राथामिकता ड्युटी हो। हामीले घरपरिवार भनेको स्टाफ हुन्। कार्यालयमा बसेर रमाइलो गर्छौं। यसपटक कार्यालयमा बसेर रमाइलो गर्ने वातावरण पनि छैन। किनकि, मंसिर ४ मा चुनाव आइरहेको छ। त्यसकारण गत वर्षहरूमा ५–१० प्रतिशतले बिदा पाउँथें। अहिले त्यो अवस्था रहेन।

tek pd rai1664864823.jpg

हामीले अहिलेदेखि सुरक्षा व्यवस्थालाई कडाइ गर्दै लैजानुपर्छ। यो हाम्रो सुरक्षाको नियम हो। चाडपर्वमा बिदा पाएन भनेर कहिले दुःखी हुँदैनौं। पहिले मानसिक रुपमा हाम्रो ड्युटी २४ घन्टा हो भनेर आएका हुन्छौं।

हाम्रो उद्देश्य भनेको २४ घन्टा जनताको सुुरक्षा हो भन्ने लाग्छ। चाडपर्व तथा पूजाका बेला प्रत्येक प्रहरी कार्यालयमा पूजा गर्छौं। दुर्गा माताको आराधना गर्छौं र त्यसैमा सबैं खुसी हुन्छौं।

टीकाका दिनमा कार्यालय प्रमुखबाट टीका ग्रहण गछौं। अन्यबेला हामी ड्युटीमै हुन्छौं। हामी अरूले नाचेको, अरू खुसी भएको देख्दा हामी पनि खुसी हुन्छौं। हाम्रो कारणले गर्दा आम नागरिक खुसी भएर हिँड्न पाएका हुन्छन्। त्यही देखेर खुसी लाग्छ।

उदयपुर जन्मथलो भए पनि २७ वर्षदेखि प्रहरीमा आबद्ध छु। प्रहरीमा आबद्ध भएदेखि अहिलेसम्म चाडपर्वमा बिदा लिएर मनाएको याद नै छैन । पहिलादेखि मानसिक रूपमा तयार भएका कारण दुःख लाग्दैन। कहिलेकाहीँ बालक अभिभावकसँग रमाइएको देख्दा मैले पनि त्यसरी दसैं मनाउँथें भन्ने हुन्छ। पुरानो कुरा याद झल्किन्छन्। तर पनि  आफूलाई सम्हाल्छौं ।

अहिले चाडपर्वको समयमा स्मार्ट फोनले सहज बनाइदिएको छ। घरपरिवार जम्मा भएको बेला भिडियो कलमा  कुराकानी गर्दा सँगै भएको महसुस गर्दौ मनाउन सकिन्छ। त्यसैले पनि परिवार साथीभाइसँग भेटघाट भएन भनेर दुःख लाग्दैन।

‘खुलेर दसैं बिरलै मनाइन्छ’

कमल थापा, प्रहरी उपरीक्षक
सिआइबी प्रहरी प्रवक्ता, केन्द्रीय अनुसन्धान ब्युरो

मैले व्यक्तिगतभन्दा पनि संस्थागत रूपमै विचार राख्न चाहें। केन्द्रीय अनुसन्धान ब्युरोमा लगभग २ सयको हाराहारीमा कर्मचारी छौं। उता प्रहरीको टिम सक्रिय भएर लागेका हुन्छन्। हामी पनि संवेदनशीलताका हिसाबले नै खटिएका हुन्छौं।

अन्य प्रहरीको तुलनामा हामी अलि भिन्न ढंगबाट प्रस्तुत हुन्छौं। घटनास्थलमा प्रत्यक्ष पुग्दैनौं। हामी पूरा मुद्दाहरूमा अध्ययन तथा अनुसन्धान गरिरहेका हुन्छौं। फिल्डमै गएर नखटिए पनि हामी जतिबेला पनि तयारी अवस्थामा हुन्छौं। अधिकृतसहितको प्रहरी खटाइएको हुन्छ।  

sp-kamalthapa-spokesperson-new1664864823.jpg

कुनै जघन्य घटना हुँदा कतिबेला कहाँ पुग्नुपर्छ भन्ने टुंगो हुँदैन। हामी हतियार बोकेर तयारी अवस्थामा हुन्छौं। त्यसैले आम मानिसले जस्तै घरपरिवारसँग बसेर रमाइलो गर्ने टीका जमरा लगाउने त्यो अनुभव खुला रुपमा गर्न पाइदैन। खुलेर दसैं बिरलै मनाइन्छ।

हामी हाम्रो जिम्मेवारी निभाउनतर्फ जोड दिन्छौं। परिवार, चाडपर्व भनेको हाम्रा लागि दोस्रो दर्जा मानिन्छ। त्यसैले सधै कामलाइ नै पहिलो प्राथमिकतामा राखिन्छ।

प्रकाशित मिति: १२:०७ बजे, मंगलबार, असोज १८, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्