दसैंमा स्वस्थ खसी कसरी चिन्ने ?
'स्वास्थ्य परीक्षण नगरिएका खसीबोकाको मासु खाँदा विभिन्न किसिमका रोग लाग्न सक्छ'काठमाडौं, असोज १० : दसैंको चहलपहल सुरु भइसकेको छ। काठमाडौंमा खसीबोका तथा च्यांग्रा खरिदबिक्री हुन थालेको छ। मासुको परिकार धेरै खाइने भएकाले दसैंमा व्यापक रूपमा खसीबोका र च्यांग्रा किनबेच हुन्छ। घटस्थापनाको वरिपरिदेखि सप्तमी–अष्टमीसम्म काठमाडौंका खसी बजारहरू खासगरी कलंकी, लोकन्थली, टुकुचा, बागबजारमा बेग्लै खालको चहलपहल हुन्छ।
दसैंलाई लक्षित गरेर नेपालका विभिन्न स्थान र भारतबाट समेत काठमाडौंमा खसीबोका ल्याउने गरिन्छ। चौपाया खरिदबिक्री सेवा संघ, खाद्य संस्थान र व्यापारीहरूले काठमाडौंसम्म खसीबोका ल्याउने गर्छन्। धेरैजसो खसी कैलाली, दाङ, मकवानपुर र भारतबाट ल्याउने गरिएको चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष दीपक थापा बताउँछन्। ग्राहकहरूले इच्छाअनुसार व्यक्ति वा कम्पनीसँग रोजीछानी खसीबोका किन्न सक्छन्। तर स्वस्थ खसी छान्न नसकिए ग्राहकलाई मार पर्न सक्ने र विभिन्न रोग लाग्न सक्ने उनी बताउँछन्।
खसी कस्तो किन्ने, राम्रो खसी कसरी चिन्ने भन्ने सवाल महत्वपूर्ण हुने गर्छ। आफूले किन्ने खसीबोका तथा च्यांग्रा मोटो, बलियो मात्र होइन स्वास्थ होस् भन्ने चाहना पनि जोकोहीलाई हुनु अस्वाभाविक होइन।
स्वास्थ्य परीक्षण नगरिएका खसीबोकाको मासु खाँदा विभिन्न किसिमका रोग लाग्न सक्ने संघका अध्यक्ष थापाले बताए। चाडबाडमा खसी किनबेचमा बिचौलियाको जगजगी हुने भएकाले ग्राहक सचेत हुनुपर्नेमा उनले जोड दिए।
बिचौलियाले ल्याएका खसीबोकाको स्वास्थ्य परीक्षण नहुने उनको भनाइ छ। कुनै खसी हेर्दा स्वस्थ देखिए पनि रोगाएका पनि हुन सक्छन्। स्वास्थ्य जाँच नगरी बाहिरी शरीर हेरेका भरमा खसी स्वस्थ छ कि छैन भनेर पत्ता लगाउन गाह्रो हुने उनी बताउँछन्। यस्तो कुरामा सरकारले ध्यान पु¥याउन नसकेको उनले बताए।
‘सरकारले जनताको स्वास्थ्यमा खेलबाड गरिरहेको छ,’ उनले भने, ‘तत्काल मासु खानासाथ कोही नमार्लान् तर रोगी जनावरका मासुले रोग पक्कै निकाल्छ।’ सम्बन्धित निकायले बिचौलियालाई नियन्त्रणमा राख्न नसक्दा ग्राहक मर्कामा परेको उनी बताउँछन्।
चाडपर्वका बेला जनताको स्वास्थ्यलाई ध्यानमा राखी सरकारले बिचौलियालाई नियन्त्रणमा लिई नियमपूर्वक खसी बिक्रीवितरण गर्न लगाउनुपर्ने धारणा उनको छ। खासगरी फुटपाथमा बेच्न राखिएका खसीबोकाको स्वास्थ्य परीक्षण नहुने उनी बताउँछन्। संघले बिक्री गर्ने खसीबोका स्वास्थ्य मापदण्ड पूरा गरी स्वास्थ्य परीक्षण भएपछि मात्र बिक्री हुने गरेको उनको दाबी छ।
यसपटक दसैंका लागि भने सरकारले पशु चिकित्सक अहिलेसम्म तोकिनसकेको उनी बताउँछन्। ‘समय घर्किसकेपछि पशुचिकित्सक आउँछन् अनि दिन कटाउँछन्, जान्छन्,’ उनले भने, ‘यसरी सरकार उदासीन हुँदा जनताको स्वास्थ्यममथि खेलबाड भइरहेको छ।’
बिरामी खसीबोका कसरी चिन्ने?
खसीबोका तथा च्यांग्रा लामो यात्रा गरेर उपत्यका भिœयाउने भएकाले ल्याइएको एक दिनपछि मात्र परीक्षण गरिन्छ। खसीबोका अवलोकन गरेपछि बिरामीजस्तो लागे मात्र परीक्षण गर्ने राष्ट्रिय पशुपन्छी खोप उत्पादन प्रयोगशालाका पशु चिकित्सक डा. मनीषमान श्रेष्ठ बताउँछन्।
‘झोक्राएर बसेका, चोटपटक लागेकालाई परीक्षण गरिन्छ,’ उनी भन्छन्, ‘खसीबोका अवलोकन गर्नासाथ रोगी र निरोगी पत्ता लगाउन सकिन्छ, रोगी खसीबोकालाई छुट्टै राखेर तत्काल बेच्न रोक लगाउनुपर्छ।’
उनी गत वर्ष चौपाया स्वास्थ्य परीक्षणमा खटिएका थिए। यसपटक भने उनी अहिलेसम्म खटिनुपर्छ कि पर्दैन भन्नेबारे जानकारी नभएको बताउँछन्। ‘सकेसम्म मासु खान रोगी तथा बिरामी खसीबोका खरिद गर्नुहुँदैन,’ उनले भने, ‘सामान्य कुरा थाहा भयो भने बिरामी छ कि छैन भनेर थाहा पाउन सक्छौं।’
पशु चिकित्सक डा. श्रेष्ठका अनुसार आँखामा चिप्रा लागेको, पेट फुलेकोजस्तो देखिने, ज्वरो आएको खसीबोका किन्नुहुँदैन। कतिपय व्यपारीले औषधि उपचारसमेत नगरी बिक्री गर्ने गरेका छन्। ‘सरकारले अनुगमन कडाइ गरेर बिरामी खसीबोकालाई नियन्त्रणमा लिँदैन त्यसैले व्यापारीले खुलेआम बिक्री गर्छन्,’ उनले भने, ‘ग्राहक आफैंले बुझेर खरिद गर्नुपर्ने अवस्था छ।’
गत वर्ष उनले टुकुचा खसी बजारमा ल्याइएका खसीबोकाको स्वास्थ्य परीक्षण गर्ने जिम्मा पाएका थिए। ‘निरोगी खसीलाई हरियो रङ र रोगी खसीलाई पहेंले रङ लगाएर छुट्याइन्छ,’ उनले भने, ‘त्यसैले परीक्षण भएको छ कि छैन भन्ने रङ हेरेर थाहा पाउन सक्छौं।’
उनी व्यक्तिले डो¥याउँदै फुटपाथमा राखेर बेचबिखन गरिने खसीबोकाको स्वास्थ्य परीक्षण नहुने बताउँछन्। ‘सरकारले चाडपर्वमा मात्र पशुचिकित्सकलाई खटाउँछ,’ उनले भने, ‘कतिपय व्यपारीले आफैं रङ लगाइदिएर समेत बिक्री गर्छन्, त्यसैले ग्राहक सहज हुनुपर्ने देखिन्छ।’
उनका अनुसार चाडपर्वमा बिचौलियाले खसीबोका राति ल्याइपु¥याउँछन्, बिहान बिक्री गरिदिन्छन्। त्यसो हुँदा खसीबोकाको स्वास्थ्य परीक्षण गराउन भ्याइँदैन। जसले गर्दा ग्राहकले अस्वस्थ खसी किनिरहेका पनि हुन सक्छन्। संघले बिक्री गर्ने खसीबोका स्वास्थ्य मपदण्ड पूरा गरी स्वास्थ्य परीक्षण भएपछि मात्र बिक्री हुने गरेको उनको भनाइ छ।
‘सरकाले पनि दसैंको बेला दुईतिन दिन अगाडि मात्र खसीबोकाको स्वास्थ्य परीक्षण गर्न पशु चिकित्सक पठाउँछ,’ उनले भने, ‘उक्त चिकित्सक काम गरेजस्तो गरेर फर्किन्छन्, सबै खसीको परीक्षण समेत गर्दैनन्।’
मासु व्यापारीको रोजाइमा भारतीय र ग्राहकको रोजाइमा नेपाली खसी
दसैंमा काठमाडौंमा नेपालका विभिन्न भूभाग र भारतबाट समेत खसी ल्याएर बेच्ने गरिन्छ। मासु व्यापारीको रोजाइमा भारतीय र ग्राहकको रोजाइमा नेपाली खसी पर्ने गरेका छन्।
‘भारतबाट ल्याइएको खसी लोकलभन्दा प्रतिकेजी १०/२० रुपैयाँ महँगो पर्छ। तर पनि व्यापारीले भारतीय खसी नै रोज्छन्,’ चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष दीपक थापाले भने, ‘नेपाली खसीबोका काटेपछि आधा मासु घट्छ, त्यसैले महँगो भए पनि व्यपारीले भारतीय रोज्छन्, किनकि नेपाली खसीको तुलनामा भारतीय खसीको मासु कम घट्छ।’
व्यापारीले भारतीय रोजे पनि व्यक्तिगत रूपमा खसी किन्न आउनेले भने नेपाली खसीको मासु खाना रुचाउने गरेको अनुभव सुनाउँछन्। ‘लामो यात्रा गरेर ल्याउनुपर्दा यातायात चार्जका कारणले पनि भारतीय खसी महँगा पर्छन्,’ उनले भने, ‘स्वादमा भने नेपाली खसीको मासु नै स्वादिष्ट हुन्छन्।’
‘खसीबोको किनिरहने व्यक्ति अथवा व्यापारीले नेपाली खसीबोका र भारतीय खसीबोका सहजै पहिचान गर्न सक्छन्,’ अध्यक्ष थापाले भने, ‘भारतीय खसीको ढाडको रौं काटिएको हुन्छ तर लोकल खसीको त्यस्तो हुँदैन। त्यसैले सहजै पहिचान गर्न सकिन्छ।’