स्याउले आम्दानी बढाएपछि बाजुराली किसान दंग
कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको साझेदारीमा जिल्लाबाहिर स्याउ ढुवानी र निर्यात हुन थालेपछि बाजुराली कृषकको मुहारमा खुसी छाउन थालेको हो।काठमाडौं, असोज ९ : यातायात र ढुवानीको अभावमा बारीमै कुहिने र गाईभैसीलाई खुवाउनुपर्ने बाजुराको अर्गानिक स्याउले तीन वर्षयता भने राम्रो बजार पाइरहेको छ। लामो समयदेखि स्याउ खेती गर्दै आएका किसानहरू आफ्नो उत्पादन धनगढी, नेपालगन्ज र काठमाडौंको बजारमा पुग्ने वातावरण बनेकोमा दंग छन्।
उत्पादनले बजार पाउन थालेपछि पुराना किसानहरू स्याउ खेतीको विस्तारमा जुटेका छन्। स्याउ खेतीतर्फ नयाँ किसान पनि आकर्षित भएका छन्। जिल्लाका एक बुढीनन्दा र चार गाउँपालिका स्वामिकार्तिक खापर, जगन्नाथ, हिमाली र गौमुल गाउँपालिकामा स्याउ खेती विस्तार भएको छ।
तीन वर्षअघिसम्म बाजुराली किसानद्वारा उत्पादित स्याउ बाटो र यातायातको अभावमा बारीमै कुहिएर जाने समस्या थियो। उक्त समस्या समाधानार्थ कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले ५०-५० प्रतिशत ढुवानी अनुदान सेवा दिएयता बाजुराको अर्गानिक स्याउ तीन वर्षदेखि धनगढी र नेपालगन्ज मात्र नभएर काठमाडौंसम्म पुग्न सम्भव भएको छ।
यसरी कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाको साझेदारीमा जिल्लाबाहिर स्याउ ढुवानी र निर्यात हुन थालेपछि बाजुराली कृषकको मुहारमा खुसी छाउन थालेको हो। यिनै संस्थाको सहयोगका कारण उहीहरुलाई वास्तवमै ठुलो राहत मिलेको छ।
‘तीन वर्षयता स्याउबाट राम्रो आम्दानी गरिरहेको छु’
धनबहादुर रावल, किसान
लामो समयदेखि स्याउ खेतीमा जुटेका बाजुराको स्वामिकार्तिक खापर गाउँपालिका–१ का ३१ वर्षीय धनबहादुर रावल यातायात र बाटोको अभावमा बारीको स्याउ बारीमै कुहाउनुपर्ने समस्याबाट मुक्ति पाउँदा निकै खुसी लागेको बताउँछन्। उनले १२ रोपनीमा १२ वर्षदेखि स्याउ खेती गर्दै आएका छन्।
हिमाली भेग भएकाले स्वामीकात्तिक खापरको हावापानी स्याउ खेतीका लागि उपयुक्त छ। त्यसकारण रावलले सुरुमा २०६८ सालमा जुम्लाबाट २० रुपैयाँका दरले २० बोट स्याउ ल्याएर रोपेका थिए। २०७४ सालमा कृषि ज्ञान केन्द्रको सहयोग र गाउँपालिकाको समन्वयमा हरेक वर्ष स्याउको बिरुवा निःशुल्क वितरण हुन थालेपछि स्याउ खेती विस्तार गर्दै लगे।
निःशुल्क वितरित स्याउको बिरुवा ल्याउँदै रोप्दा तीन वर्षको अन्तरालमा १२ रोपनी जमिनमा ११ सय बिरुवा पुगेको उनले बताए। २०६८ सालदेखि स्याउ खेती गर्दै आए पनि तीन वर्षयता भने उनले आम्दानी गर्न थालेका छन्।
‘पुरानो बिरुवाबाट उत्पादित स्याउ यातायात र बाटोको अभावमा गाउँघरमा सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता थियो,’ उनी भन्छन्, ‘तीन वर्षदेखि कृषि ज्ञान केन्द्र बाजुराले ढुवानी अनुदान सेवा दिँदै आएकाले अहिले नयाँ बिरुवाबाट उत्पादन भएका स्याउ निर्यात गरेर आम्दानी हुन थालेको छ।’
उनका अनुसार गत वर्षदेखि ३ सय बोटबाट स्याउ उत्पादन हुन थालेको छ। ती बोटबाट गत वर्ष पहिलोपटक १३ क्विन्टल स्याउ उत्पादन भएको थियो। त्यतिबेला बारीबाटै कृषि ज्ञान केन्द्रले प्रतिकेजी १६ रुपैयाँका दरले धनगढी निर्यात गरेको उनले जानकारी दिए।
‘बिरुवाहरू हुर्कंदै जाँदा यो वर्ष २८ क्विन्टल स्याउ उत्पादन भयो। पाँच क्विन्टल स्याउ निर्यात भइसक्यो भने पहिरोले थुनिएको बाटो खुल्नेबित्तिकै बाँकी स्याउ निर्यात भइहाल्छ,’ उनी भन्छन्।
ज्ञान केन्द्रले स्याउमा ढुवानी अनुदान सेवा दिनुअघिसम्म भरियालाई बोकाएर बाजुराको एयपोर्टसम्म ल्याई एक रुपैयाँको पाँच दानासम्म बिक्री गर्ने गरेको उनको भनाइ छ। यसरी अहिले ज्ञान केन्द्रले स्याउ खेती गर्ने कृषकका लागि कार्टुन र ढुवानीको सुविधा दिँदै आएकाले व्यावसायिक रूपमै स्याउ खेतीमा लाग्ने उत्साह मिलेको उनी बताउँछन्।
‘बाजुराको स्याउ धनगढी र नेपालगन्ज पुगकाले खुसी छु’
मानबहादुर रावल, किसान
स्वामिकात्र्तिक खापर–१ कै अर्का किसान मानबहादुर रावल पनि स्याउले बजार पाउन थालेपछि निकै हर्षित छन्। पहिले बारीमै कुहिएर खेर जाने स्याउ कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री आधुनिकीकरण परियोजनाको सहयोगमा धनगढी र नेपालगन्जको बजारमा पुर्याउन पाउँदा उनी खुसी भएका हुन्।
उनले स्याउ खेती गर्न थालेको १० वर्ष भयो। हावापानी अनुकूल रहेकाले सुरुमा जुम्लाबाट स्याउको बिरुवा ल्याएर रोपेको उनको भनाइ छ। अहिले अढाइ सय बिरुवाबाट उत्पादन लिन थालिसकेको र केही बिरुवा फल्ने तयारीमा रहेको उनले बताए।
उनले आठ रोपनीमा स्याउ खेती गरेका छन्। पहिले यातायातको सुविधा नभएकाले थोरै जमिनमा स्याउको बिरुवा रोेपेका उनले बताए। ‘अहिले ज्ञान केन्द्रले स्याउ कृषकका लागि सहायता दिन थालेकाले बिस्तारै स्याउ खेती बढाउँदैै लगिरहेको छु,’ उनले भने।
कृषि ज्ञान केन्द्रबाट ढुवानी सहयोग हुनुअघि बजारीकरणको निकै समस्य थियो। ‘माटोले बनेको घरको भुइँतलामा स्टोर गरिन्थ्यो,’ उनी भन्छन्, ‘पुसमाघतिर नजिकको बजारमा लगेर एक रुपैयाँमा चार दानासम्म बिक्री गथ्र्यौं।’ त्यतिबेला बारीमै किन्न आएका ग्राहकलाई एक रुपैयाँमा पाँच–सात दानासम्म पनि दिने गरेको उनले बताए। यसरी पनि बिक्री गर्न नसके बारीमै कुहिने र गाईभैंसीलाई खुवाउनुको विकल्प नहुने उनले अवस्थाको उनले स्मरण गरे।
गत वर्ष उनको बारीमा भएका २०० बोटबाट १० क्विन्टल स्याउ उत्पादन भएको थियो। ‘यो वर्ष चार क्विन्टल स्याउ टिपेर प्रतिकेजी ठुलो दाना ३० र सानो दाना २५ रुपैयाँका दरले निर्यात गर्दा ११ हजार आम्दानी भयो। अझै करिब सात क्विन्टलजति स्याउ टिप्न बाँकी छ,’ उनले भने।
उनले आफूलाई स्याउ खेतीमा व्यावसायिक हुन बाँकी रहेको बताए। ‘स्वामीकार्तिक खापरको कुनै पनि वडामा गाडी चल्ने सडक नपुगेकाले स्याउ निर्यात गर्दा भरिया र खच्चरद्वारा तीनचार घन्टा हिँड्नुपर्ने बाध्यता छ,’ उनले भने, ‘त्यसैले आफूले चाहेको मूल्य र समयमा बिक्री गर्न नसक्दा आफू व्यावसायिक स्याउ खेतीमा अहिलेसम्म जोडिन नसकेको हुँ।’
ढुवानीमा गाउँपालिकाको पनि सहयोग छ : अध्यक्ष रोकाया
स्वामीकार्तिक खापर गाउँपालिका अध्यक्ष भरतबहादुर रोकायका अनुसार अहिले नयाँ आर्थिक वर्षको नीति तथा कार्यक्रममा कृषकका लागि ‘योगदानमा आधारित अनुदान कृषि कार्यक्रम’ लागु भएको छ।
यस कार्यक्रममा किसानले स्याउ केकति स्याउ फलाए र बिक्री गरे भन्ने आधारमा अनुदान दिने व्यवस्था गरिएको उनको भनाइ छ। भर्खरै पालिकाबाट केही स्याउ धनगढी निर्यात भएको र त्यसमा पालिकाले ढुवानीमा आर्थिक सहयोग गरेको उनले बताए। ‘पालिकाद्वारा स्याउमा आवश्यक पर्ने कीटनाशक औषधि र स्याउको बिरुवा पनि सहुलियतमा वितरण गर्दै आएको छ,’ उनले भने।
कृषि ज्ञान केन्द्रको सहयोगमा ढुवानी : सूचना अधिकृत जैसी
कृषि ज्ञान केन्द्र बाजुराका सूचना अधिकृत मनप्रसाद जैसीका अनुसार बाजुरामा करिब ४८५ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ। त्यसमध्ये करिब १७० हेक्टर क्षेत्रफलबाट स्याउ उत्पादन हुने गरेको छ। बाँकी ३१५ हेक्टरमा भने स्याउ फल्न बाँकी छ। अहिले जिल्लाभरि करिब ४५० किसान स्याउ खेतीमा संलग्न रहेको उनले जानकारी दिए।
स्याउ खेतीका लागि बाजुराको धेरै भूभाग उपयुक्त भए पनि अहिलेसम्म करिब ५ सय हेक्टर क्षेत्रफलमा मात्र स्याउ खेती विस्तार भएको कार्यालय सूचना अधिकृत जैसीको भनाइ छ। ‘विगत २५–३० वर्षदेखि बाजुराका धेरै कृषकले जुम्लाबाट स्याउको बिरुवा ल्याई स्याउ खेती गर्दै आएका छन्,’ उनले भने।
उनका अनुसार लामो समयदेखि स्याउ खेती गर्दै आए पनि बाजुराका स्याउ कृषकले लाभ लिन सकेका थिएनन्। पहिले गहुँ, कोदो, मकैसँग स्थानीयहरूले स्याउ साट्ने गरेका थिए भने गाउँघरमै बिक्री गर्नुपरे एक रुपैयाँको तिन, चार दानासम्म बिक्री गर्ने गरेका थिए।
स्याउ उत्पादन गर्ने तर बिक्रीका लागि बजार अभावले बारीमै स्याउ कुहाउन विवश किसानको समस्यालाई मध्यनजर गर्दै तीन वर्षदेखि कृषि ज्ञान केन्द्र बाजुराले स्याउ प्याकिङ गर्ने कार्टुन र ढुवानीको सेवा दिइँदै आएको छ। त्यसकारण जिल्लाको स्याउ बाहिर निर्यात गर्न सम्भव भएको हो।
गत वर्ष २ सय क्विन्टल स्याउ धनगढी र नेपालगन्ज निर्यात गरिएको उनको भनाइ छ। यो वर्ष पनि गत भदौ पहिलो साता करिब ६० क्विन्टल स्याउ धनगढी निर्यात गरिएको उनले बताए। ‘जसमध्ये एक क्विन्टल स्याउ काठमाडौं निर्यात गरिएको छ,’ उनी भन्छन्, ‘काठमाडौंका उपभोक्ताबाट अर्गानिक स्याउ मिठो भएको प्रतिक्रिया आएको छ। त्यहाँ स्याउको माग बढेको छ।’
कृषि ज्ञान केन्द्र र प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दुवैको साझेदारीमा ५०–५० प्रतिशत ढुवानी अनुदान सेवा दिएर अझै अढाइ सय क्विन्टल स्याउ निर्यात गर्ने योजना रहको तर सफा मौसमको प्रतीक्षा भइरहेको उनले बताए।
‘अहिले कर्णाली कोरिडोरको बाटो हुँदै स्याउ निर्यात हुँदै आएको छ,’ उनले भने, ‘कर्णाली कोरिडोरको बाटो पनि पानी परेको दिन पहिरो आएर रोकिन्छ। पानी नपरेको दिन बाटो खुलेको दिन मिलाएर बाँकी स्याउ निर्यातको योजनामा छौं।’
सामाजिक सञ्जालमा हुने चर्चा र उपभोक्ताको स्वदेशी उत्पादनको रोजाइले गर्दा बाजुराको स्याउ निर्यात निकै सहज हुँदै गएको उनले बताए। ‘अहिले उपभोक्ताले स्वदेशी सामग्रीमा जोड दिन थालेका छन्। त्यसैले स्वदेशी उत्पादनले बजार पाउन थालेका छन्। बाजुराको स्याउको माग बढ्नुको कारण पनि यही हो,’ उनी भन्छन्, ‘अहिले धरानबाट पनि यहाँको स्याउ माग भइरहेको छ तर ढुवानीको समस्याले गर्दा पुर्याउन सम्भव भइरहेको छैन।’
बाजुराको स्याउ जिल्लाबाहिर लाने मामिलामा भने निकै समस्या हुने गरेको उनले बताए। गाडी चल्ने सडक नहुँदा तीनचार घन्टा मानिस वा खच्चरलाई बोकाउनुपर्ने, त्यसपछि ट्याक्टर, ट्याक्टरपछि ट्रक गर्दै बल्ल सदमुकामसम्म पुर्याउन सकिने अधिकृत जैसी बताउँछन्। यस्तो समस्याका कारण उत्पादित सबै स्याउ अझै जिल्लाबाहिर पुर्याउन नसकिएको उनको भनाइ छ।
‘कृषि ज्ञान केन्द्रसँग अढाइ सय क्विन्टल स्याउ ढुवानीका लागि मात्र रकम छ, बाँकी ढुवानी सहयोग प्रदेश सरकार र केन्द्र सरकारबाट पाउन सके जिल्लाभरिकै स्याउ निर्यात गर्न सकिने थियो,’ उनले भने।