दसैंका लागि ४२ हजार खसीबोका काठमाडौं ल्याइँदै
चौपाया खरिदबिक्री सेवा संघ २०७३ देखि २०७८ सम्म दसैंलाई लक्षित गरेर २ लाख ५५ हजार खसीबोका र ४५ हजार च्यांग्रा बिक्री गरिसकेको छ।काठमाडौं असोज ७ : दसैंको चहलपहल सुरु हुनासाथ काठमाडौंका चोकचोकमा खसीबोका बिक्री सुरु हुन्छ। दसैंमा मासुको परिकार धेरै खाइने भएकाले बजारमा व्यापक रूपमा खसीबोका बिक्री हुने गरेको छ। घटस्थापनाको एकदुई दिनपछि सप्तमी–अष्टमीसम्म बजारमा खसीबोका धेरै बिक्री हुन्छ।
खासगरी कलंकी, लोकन्थली, टुकुचा, बागबजारलगायत क्षेत्रका मुख्य सडकका चोकचोकमा खसी बिक्रीका लागि राखिने चौपाया खरिदबिक्री सेवा संघका अध्यक्ष दीपक थापा बताउँछन्।
२०७९ सालको दसैं सुरु हुन केही दिन मात्र बाँकी रहँदा चौपाया खरिदबिक्री सेवा संघले ४० हजार खसीबोका ल्याउने तयारी गरेको छ। खाद्य संस्थानले पनि २ हजार खसीबोका भित्र्याउन लागेको छ। यसरी यी दुई संस्थाले दसैंका लागि ४२ हजार खसी काठमाडौं भित्र्याउँदैेछन्।
अध्यक्ष थापाका अनुसार यसपटक च्यांग्रा ल्याउने कि नल्याउने भनी छलफल भइरहेको छ। ‘गत वर्ष १३ सय रुपैयाँ प्रतिकेजी बेचेको च्यांग्राको मूल्य अहिले बढेर १७/१८ सय रूपैयाँ पुगेको छ। त्यसैले च्यांग्रा लिन मुस्ताङ पुगेका व्यापारीमा अन्योलमा छन्,’ उनले भने, ‘ च्यांग्रा ल्याउने टुंगो लाग्यो भने थोरै मात्र ल्याउन सक्छौं तर अहिले निर्णय भइसकेको छैन।’
उनका अनुसार गत वर्ष ४० हजारभन्दा बढी खसीबोका उपत्यकामा भिœयाइएको थियो। सोही साल ४ हजार च्यांग्रा बिक्री भएको थियो। संघले मात्र नभई बिचौलियाले पनि खसीबोका बिक्री गर्ने गरेको उनी बताउँछन्। तर त्यसको तथ्यांक भने आफूहरूसँग नहुने उनको भनाइ छ। ‘यसपालि दसैंका लागि ४० हजार खसीबोका भिœयाउने तयारी छ,’ उनी भन्छन्, ‘बिचौलिया तथा व्यक्तिले गाउँबाट ल्याएर बिक्री खसीबोकाको भने हामीसँग तथ्यांक हुँदैन।’
उनी कोरोना सुरु भएयताका दसैंमा खसीबोकाको बिक्री घटेको बताउँछन्। ‘कोरोनाका कारण आर्थिक रूपमा थला परेकाले चौपाया व्यवसायीलाई २०७८ को दसैंले पनि उठाउन सकेन। यसपटक बजार बढ्छ कि भन्ने आशा छ,’ उनले भने, ‘धेरै बिक्री हुने आशा गरे पनि नोक्सान बेहोर्नुपर्ने डरले गत वर्षभन्दा संघले खसीबोकाको संख्या बढाउन सकेन।’
६ वर्षयता दसैंमा कति खसीबोका बेचिए?
चौपाया खरिदबिक्री सेवा संघ २०७३ देखि २०७८ सम्म दसैंलाई लक्षित गरेर २ लाख ५५ हजार खसीबोका र ४५ हजार च्यांग्रा बिक्री गरिसकेको छ। यो वर्ष ४० हजार खसीबोका ल्याइएको अवस्थामा सो संख्या २ लाख ९५ हजार पुग्नेछ।
दसैंलाई लक्षित गरी ठुलो संख्यामा खसीबोका ल्याइने हुँदा तथ्यांक राख्ने गरेको अध्यक्ष थापाले बताए। केही वर्षको तथ्यांक विश्लेषण गर्दा पछिल्ला वर्षहरुमा खसीको बिक्री घटेको अध्यक्ष थापा बताउँछन्। ‘अहिले पाँचसात वर्षअघिजस्तो दसैंमा खसीबोका बिक्री हुँदैन,’ उनले भने।
च्यांग्राबारे छलफल भइरहेको छ : खाद्य संस्थान
दसैंका लागि खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडले दुई हजार खसीबोका ल्याउने तयारी गरेको छ। च्यांग्राका लागि भने छलफल भइरहेको लिमिटेडको सूचना अधिकारी शर्मिला न्यौपाने (सुवेदी) ले जानकारी दिइन्।
कम्पनीले बजार मूल्य नियन्त्रण गर्न दसैंमा खसीबोका र च्यांग्रा बिक्री गर्दै आएको छ। तर यस वर्ष भने खसीबोका मात्र बिक्री गर्ने योजनामा रहेको उनले बताइन्। ‘च्यांग्रा खरिद गर्ने जिल्लामै महँगो पर्ने भएकाले यस वर्ष बिक्री गर्ने कि नगर्ने छmलफल भइरहेको छ,’ उनले भनिन्, ‘गत वर्ष दुई हजार बिक्री गरिएको थियो। यसपटक बिक्री गर्न सकिन्छ कि सकिँदैन थाहा छैन।’
अहिले देशभरका विभिन्न ठाउँबाट खसी ल्याउने तयारी भइरहेको छ। तर अहिलेसम्म कहाँबाट ल्याउने निश्चित नभएको उनले बताइन्। ‘छिट्टै कुनकुन ठाउँबाट खसी ल्याउनेबारे जानकारी दिन्छौं,’ सूचना अधिकारी न्यौपानेले भनिन्।
दसैंको बेलामा कम्पनीले सेवाग्राहीलाई सहज होस् भनेर प्रत्येक वर्ष खसीबोका खरिद गरी बजार मूल्यभन्दा १० रुपैयाँ सस्तोमा बिक्री गर्ने गरेको उनको भनाइ छ।
उनी दसैंमा फुटपाथदेखि हरेकचोकमा खसीबोका बेचिबिखन हुने गरेको बताउँछन्। त्यसकारण पनि धेरै खसी खरिद गर्न संघ डराएको उनको भनाइ छ। उनी सम्बन्धित निकायले मूल्य निर्धारण नगरिदिँदा चोकचोकमा बसेर बिचौलियाले मनलाग्दी शुल्कमा बिक्री गरिरहेका आरोप लगाउँछन्।
‘संघले चौपायाको परीक्षण गर्छ, अस्वस्थ खसीबोका बिक्री गर्दैन, ती सबै शुल्क मिलाएर मूल्य निर्धारण गरेको हुन्छ,’ उनले भने, ‘बिचौलियाले फुटपाथमा राखेर स्वास्थ्य परीक्षण नै नगरी संघको भन्दा कम मूल्यमा बेचिदिन्छन्।’
छैन बजार अनुगमन
दसैंका लागि उपत्यकाका विभिन्न नाकाबाट खसीबोका तथा च्यांग्रा भित्रिन्छन्। उपत्यकाका नाकाबाट कति खसीबोका तथा च्यांग्रा भित्रिए भन्ने तथ्यांक र अनुगमन हुँदैन।
व्यापारीले दसैंका अवसरमा विभिन्न जिल्लाबाट खसीबोका ल्याएर चोकचोकमा राखेर बिक्री गर्छन्। त्यसको अनुगमन कसैले नगर्ने उनी बताउँछन्।
‘दसैंका बेला सञ्चारमाध्यमले चासो देखाएको जस्तो गर्छन्, अरूबेला सम्बन्धित निकायले समेत ध्यान दिँदैन,’ उनले भने, ‘आज (मंगलबार असोज ४) अनुगमनमा कडाइ गर्नुपर्छ भन्न काठमाडौं महानगरपालिका आएको थिएँ, मभन्दा पहिला बिचौलिया सक्रिय भइसकेका रहेछन्।’
सम्बन्धित निकायले बिचौलियालाई नीतिनियममा राख्न नसक्दा ग्राहक मर्कामा परेका छन्। बिचौलियाले ल्याएका खसीबोकाको स्वास्थ्य परीक्षण हुँदैन।
स्वास्थ्य परीक्षण नगरिएका खसीबोको मासु खाँदा विभिन्न किसिमका रोग लाग्न सक्ने अध्यक्ष थापा बताउँछन्। ‘सरकारले जनताको स्वास्थ्यमा खेलबाड गरिरहेको छ,’ उनले भने, ‘तत्काल मासु खानासाथ कोही नमार्लान् तर रोगी जनावरका मासुले रोग पक्कै निकाल्छ।’