‘परिवारको साथले राजनीतिमा आएँ, जनताको सहयोगले मेयर भएँ’
कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकामा पाँच वर्ष उपमेयरको जिम्मेवारी वहन गरिसकेकी मेयर भण्डारी अहिले वीरेन्द्रनगरको विकासनिर्माणमा अहोरात्र जुटिरहेकी छन्।काठमाडाैं, असाेज ६ : ‘पढेलेखेकी छोरीबुहारीले जागिर खाइदिउन् भन्ने अपेक्षा घरपरिवारको हुन्छ। जागिरै नखाए पनि राजनीतिमा चाहिँ नलागे हुन्थ्यो भन्ने मनशाय पनि अभिभावकहरूमा भेटिन्छ। यसकारण महिलालाई राजनीतिमा लाग्न निकै गाह्रो छ। लागिहाले पनि टिक्न झनै गाह्रो छ।’
यो भनाइ सुर्खेतको वीरेन्द्रनगर नगरपालिकाकी मेयर मोहनमाया भण्डारी ढकालको हो। पुरुषको तुलनामा महिलालाई राजनीतिमा लाग्न सहज वातावरण नरहेको ठान्ने उनी आफू भने लामो समयदेखि राजनीतिमै सक्रिय छिन्। कर्णाली प्रदेशको राजधानीसमेत रहेको वीरेन्द्रनगर नगरपालिकामा पाँच वर्ष उपमेयरको जिम्मेवारी वहन गरिसकेकी उनी अहिले वीरेन्द्रनगरको विकासनिर्माणकाे नेतृत्व गरिरहेकी छन्।
महिलाहरूले पनि राजनीतिमा लागेर समाज तथा राष्ट्रको हित र उत्थानमा दिलोज्यान दिएर सहभागी हुन सक्छन् भन्ने मान्यता राख्ने उनी आफैं एक उदाहरण बनेर उभिएकी छन्। घरपरिवारको साथसहयोगकै कारण राजनीतिमा लाग्न, टिक्न र मेयर बन्न सकेको उनी बताउँछिन्। जनताले गरेकाे विश्वास पनि उनका लागि महत्वपूर्ण रहेकाे उनी बताउँछिन्। जनप्रतिनिधि भएर जनसेवामा जुट्न पाउँदा उनी गर्वको महसुस गर्छिन्।
हाल उनी एमाले केन्द्रीय सदस्य छिन्। उनी एमालेबाटै पहिला उपमेयर र अहिले मेयरमा निर्वाचित भएकी हुन्। माइती र घरतिर गरी झन्डै २५ वर्षको राजनीतिक अनुभव बटुलिसकेकी मेयर भण्डारी एमालेले चलाएका विभिन्न अभियानमा पनि सहभागिता जनाउँदै महिलाकोे हकहितका क्षेत्रमा समर्पित रहँदै आएकी छन्।
सुखद बाल्यकाल
मोहनमाया भण्डारी २०३६ फागुन २७ गते साबिकको गर्पन गाविस (हाल वीरेन्द्रनगर–१६) मा भएको हो। मध्यम वर्गीय परिवारमा जन्मिएकाले उनले साह्रै अभाव झेल्नुपरेन र सुविधा नै सुविधाको अवस्था पनि रहेन। पढ्ने र स्कुल जाने समयबाहेक उनको बाल्यकाल बुवाआमालाई घरायसी काममा सघाउँदै र साथीभाइसँग रमाउँदै बित्यो।
सानैदेखि नयाँनयाँ कुरामा चासो राख्नु उनको बाल्यकालदेखिकै स्वभाव थियो। कक्षामा नजानेको कुरो सोधिहाल्ने उनको बानी थियो। विद्यालयमा हुने रचनात्मक गतिविधिमा सहभागी हुन उनी कहिल्यै पछि पर्दिनथिन्। कविता, वादविवाद र वतृत्वताजस्ता प्रतियोगितामा सहभागी भइरहन्थिन्। त्यस्ता कार्यक्रममा भाग लिएर कहिले प्रथम त कहिले द्वितीय, नत्र तृतीय वा सान्तवना भए पनि पुरस्कार हात पारिहाल्ने गरेको उनी स्मरणम गर्छिन्।
उनी सबैसँग खुलेर बोल्थिन्। चित्त नबुझेका कुरामा शिष्ट ढंगले विरोध पनि जनाउँथिन्। त्यस्तो स्वभाव भएकै कारण विद्यालयका शिक्षकशिक्षिकामाझ प्रिय थिइन्। टोलछिमेक र समाजमा पनि उनी सबैसँग चाँडै नै घुलमिल हुन सक्थिन्। बाल्यकालदेखि नै विकसित यस्तै स्वभावले उनलाई राजनीतिमा डोर्याएको हुन सक्ने उनको बुझाइ छ।
राजनीतिक यात्रा
मोहनमायाको माइतीघरका सबैजना नेकपा एमालेमा आबद्ध थिए। उनका बा–हजुरबा राजनीतिक गतिविधिका अलावा सामाजिक कार्यमा पनि मरिमेटेर लाग्थे। उनका हजुरबा पञ्चायती कालमा जिल्ला पञ्चायत सदस्यसमेत भएका थिए।
पारिवारिक परिवेशकै कारण भन्नुपर्छ, अलिकति बुझ्ने भएपछि मोहनमायाको चासो राजनीतितिर बढ्न थाल्यो। त्यसपछि उनी परिवारकै पदचापलाई पछ्याउँदै एमालेमा समाहित भइन्। आजसम्म आइपुग्दा उनले एक हिसाबले राजनीतिक रूपमा राम्रो सफलता हासिल गरेको भन्दा अत्युक्ति हुँदैन।
खासमा कलेज पढ्न थालेपछि उनले राजनीतिक क्षेत्रमा लाग्ने निधो गरेकी थिइन्। उनले २०५५ सालमा प्रमाणपत्र तहमा पढ्दै गर्दा एमालेनिकट विद्यार्थी संगठन अनेरास्ववियुको सदस्यता पाएकी हुन्। त्यसैलाई उनको राजनीतिका यात्राको प्रस्थान बिन्दुका रूपमा लिन्छिन्।
परिवर्तनका लागि भएका विभिन्न आन्दोलनमा होमिँदै विभिन्न सांगठनिक प्रशिक्षण, भेला, कार्यक्रम, गतिविधिमा सहभागी हुँदै गर्दा उनमा राजनीतिक चेतनाको आयाम फराकिलो बन्दै गयो। फलस्वरूप लामो समय राजनीतिमा जम्न र जनतामाझ अनुमोदित हुन उनी सफल भइन्।
उनी २०५७ सालमा अनेरास्ववियुको राष्ट्रिय परिषद् सदस्य भइन्। विवाहपछि पनि पारिवारिक जिम्मेवारीलाई वहन गर्दै पढाइ र राजनीतिलाई समानान्तर रूपमा अगाडि बढाएकी उनले २०६१ सालमा एमालेकोको जनवर्गीय संगठन अखिल महिला संघको जिल्ला सचिव र २०६२ सालमा अध्यक्ष हुने अवसर पाइन्।
२०६६ सालमा एमाले सुर्खेत जिल्ला कमिटी सचिवालय सदस्य बनेकी भण्डारी २०७५ सालमा कर्णाली प्रदेश कमिटी सदस्य भइन्। गत वर्ष कात्तिकमा सम्पन्न १०औं महाधिवेशनयता उनी एमाले केन्द्रीय सदस्य भएकी छन्। झन्डै २० वर्षको राजनीतिक यात्रापछि २०७४ सालमा एमालेबाट वीरेन्द्रनगर उपमेयरमा विजयी उनी २०७९ वैशाख ३० गते सम्पन्न स्थानीय तहको निर्वाचनमा सोही नगरमा मेयर बन्न सफल भएकी हुन्।
वैवाहिक जीवन
प्रमाणपत्र तहको पढाइ सकिनासाथ २०५७ सालमा वीरेन्द्रनगर–८ का दिलाराम भण्डारीसँग मोहनमायाको विवाह भयो। उनका श्रीमान् पेसाले शिक्षक हुन्।
त्यसो त विवाह गर्ने बेला दिलाराम पनि अनेरास्ववियु जिल्ला सदस्य भइसकेका थिए। अहिले उनी सुर्खेत जिल्लाको शिक्षक संगठनका अध्यक्ष छन्। शिक्षित अनि बुझ्ने परिवार भएकै कारण मोहनमायाले चुलोचौकामा सीमित हुनुपरेन। अर्थात् विवाहपछि आफ्नो पढाइलाई निरन्तरता दिने अवसर उनले पाइन्।
उनले वीरेन्द्र बहुमुखी क्याम्पस सुर्खेतबाट राजनीति शास्त्रबाट एमए र नेपालगन्जस्थित महेन्द्र बहुमुखी क्याम्पसबाट एलएलबीसम्मको अध्ययन गरेकी छन्। विवाहपछि मोहनमायाले पढाइलाई मात्र नभएर राजनीतिलाई पनि अगाडि बढाउने सुनौलो अवसर पाउनुमा श्रीमान् र घरपरिवारले खुलेर साथ दिएकाले सम्भव भएकाे उनी ठान्छिन्।
यसरी आफ्नो घरपरिवार सबैको पूर्ण साथ नपाएको भए पढाइ र राजनीतिमा उहिल्यै पूर्णविराम लागिसकेको हुने मेयर भण्डारी बताउँछिन्। ‘मेरा श्रीमान् पेसाले शिक्षक हुनुहुन्छ, त्यही भएर पनि होला, मैले हरेक क्षेत्रमा उहाँको साथ र सहयोग पाउँदै आएकी छु। परिवारका अन्य सदस्यको सदस्यको उत्तिकै साथ छ,’ उनी भन्छिन्, ‘त्यसैले मेरो हरेक सफलतामा मेरा श्रीमान् र परिवारको हात छ।’
उपमेयर हुँदा केके गरिन्?
अघिल्लो पाँचवर्षे कार्यकाल (वि.सं. २०७४–२०७८) मा उपप्रमुख हुँदा नियमित कामका अलावा महिलालाई जागरुक बनाउने कामलाई मेयर भण्डारीले विशेष जोड दिइन्।
न्यायिक समितिको नेतृत्व उपमेयरले गर्ने कानुनी व्यवस्था छ। सो समितिको संयोजक रहँदा सामाजिक न्यायका लागि काम गर्ने अवसर उनले पाइन्। त्यतिबेला आफू अन्यायमा परेका महिलालाई न्याय दिलाउन सक्रियताका साथ लागेको उनले बताइन्।
उपप्रमुख पदमा निर्वाचन भइसकेपछि आफ्नो पार्टीले जुन घोषणापत्र बनाएको थियो, त्यसमा आधारित रहेर काम गरेको उनको भनाइ छ। ‘म उपप्रमुख भएपछि मैले आफ्नो काम संविधानले तोकेको ऐनकानुनमा रहेर काम गरें। मलाई लाग्छ मैले मेरो जिम्मेवारी कुशतापूर्वक निर्वाह गरेकी छु,’ उनले भनिन्।
‘पाँच वर्ष उपप्रमुख पदको कार्यभार समालिरहँदा योजना तर्जुमा समितिको संयोजक भएर नीति तथा कार्यक्रम बनाइरहँदा महिलाहरुको कार्यक्रममा अलि बढी केन्द्रित भएँ,’ उनी भन्छिन्। ‘एक घर एक रोजगार : वीरेन्द्रनगरको विकास र समृद्धिको मूल आधार’ भनेर महिला रोजगारसम्बन्धी धेरै कार्यक्रम सञ्चालन गरिएको उनले जानकारी दिइन्।
उनका अनुसार उनी उपमेयर रहेका बेला महिलाका लागि ‘आमा सुरक्षा कार्यक्रम’ पनि सञ्चालन गरिएको थियो। गर्भवतीलाई निःशुल्क एम्बुलेन्स सेवा, निःशुल्क ऐक्सरे सेवा, पोषण सुरक्षा कार्यक्रम सेवा, हिंसापीडित महिलाका लागि हेल्प डेक्स, नगरपालिकाका सबै स्वास्थ्य चौकीबाट निःशुल्क प्याड वितरणजस्ता कार्यक्रम सञ्चालन गरिए। ‘त्यो पाँच वर्ष पूर्वाधार विकाससँगै सामाजिक न्यायको विकासलाई पनि समेटेर लगेका थियौं,’ उनले भनिन्।
पाँच वर्षको उपप्रमुख पदमा रहेर राम्रा काम गरेकै कारण २०७९ सालको निर्वाचनमा पार्टीले सहज तरिकाले मेयरको टिकट दिएको उनको भनाइ छ। ‘टिकटमा लागि पार्टीप्रति आभारी छु र मेयरमा अनुमोदन गरिदिनुहुने सबै जनताप्रति धन्यवाद ज्ञापन गर्दछु।’
अबका मुख्य याेजना केके छन् ?
उनले वीरेन्द्रनगर मेयरको जिम्मेवारी हासिल गरेको पाँच महिना पूरा भएको छ। यतिखेर मेयरका रूपमा स्थानीय सरकार हाँकिरहँदा आफूलाई निकै गर्वको महसुस हुने गरेको उनको भनाइ छ। साथै उनलाई थप जिम्मेवारीको भारीले थिचेको आभास पनि भइरहेको छ।
भौतिक पूर्वाधार निर्माणसँगै अर्थतन्त्र, शिक्षा, स्वास्थ्य, खानेपानी, पर्यटन, सामाजिक न्याय आदिका क्षेत्रमा उल्लेखनीय काम गरी नगरको समग्र विकासलाई प्राथमिकता दिएर अघि बढ्नुपर्ने चुनौती आफूमा रहेको उनले बताइन्।
मेयरका रूपमा गर्नुपर्ने नियमित काम त छँदैछ तर यतिखेर आफू नगरले भोगिरहेको खानेपानी समस्या हल गर्ने विषयलाई प्राथमिकता दिएको उनी बताउँछिन्। वीरेन्द्रनगरको प्रमुख समस्याका रूपमा रहेको खानेपानी समस्या हल गर्ने विषयलाई मेयर भण्डारीले प्राथमिकतामा राखेकी छन्। त्यसका लागि गत भदौ १६ गते नेपाल सरकार र वीरेन्द्रनगर नगरपालिकाको सहयोगमा करिब ६ अर्ब लगानीमा खानेपानी परियोजनासँग सम्झौता गरिएको उनले जानकारी दिइन्।
उनका अनुसार अहिले अव्यवस्थित सडकहरूलाई व्यवस्थित गर्नुका साथै सार्वजनिक जग्गाको संरक्षण गर्ने काम पनि सुरु भएको छ। सडकमा छाडिएका चौपायालाई व्यवस्थित गर्न गौशाला निर्माणलाई पनि तीव्रता दिइएको छ।
‘अबको १० वर्षमा वीरेन्द्रनगर नगरपालिकाको शिक्षा कस्तो हुने भनेर १० वर्षीय शैक्षिक रणनीति पनि भर्खरै पास गरेका छौं,’ उनी भन्छिन्, ‘नगरपालिकाले आफ्नै पाठ्यक्रम बनाएर कक्षा १ देखि ३ सम्म लागु पनि गरिसकेका छौं।’
स्वास्थ्य क्षेत्रमा पनि प्राथमिकताका साथ काम भइरहेको उनी बताउँछिन्। प्रत्येक वडामा रहेका स्वास्थ्य संस्थालाई स्तरोन्नति गर्ने, पूर्वाधारको क्षेत्रमा ध्यान दिने र जनशक्तिसहितको सेवा प्रवाहमा ध्यान दिइएको उनको भनाइ छ।
कृषि क्षेत्रलाई प्रवर्धन गर्न वडा २, ३, ९, १० र ११ वडामा तरकारी र धानबाली पकेट क्षेत्र र वडा १२, १३, १४, १५ र १६ लाइ कृषि पशुपालन तथा पर्यटन क्षेत्रका रूपमा विकास गर्ने रणनीति अख्तियार गरिएको छ। ‘यी योजना सम्पन्न गर्न नगरपालिकाले बजेट तय गरेर सरोकारवाला निकायसँग पनि समन्वयका लागि कदम अगाडि बढाइसकेका छौं,’ उनले भनिन्।
वीरेन्द्रनगर नगरपालिकामा रहेका महिलाहरुको आर्थिक सशक्तीकरणका लागि उनीहरूलाई उत्पादनसँग जोड्ने कुरामा समेत जोड दिइएको छ। ‘कमजोर आर्थिक अवस्था भएका महिलाको उत्थानका लागि सीप विकासका विभिन्न तालिम प्रदान गर्न बजेट तर्जुमा गरेका छौं। ‘त्यस्तै हिंसापीडित महिलाहरुका लागि सेफ हाउस पनि निर्माण गरेका छौं। एउटा कार्यविधि बनाएर त्यसलाई चाँडै सञ्चालनमा ल्याउने तयारीमा छौं,’ उनी भन्छिन्।
‘महिला स्वयं पनि जागरुक हुनु जरुरी छ’
मेयर भण्डारीको भनाइमा अहिले देशमा रहेका ऐन, नियम, कानुन महिलाको पक्षमा छन्। राज्यका सबै संरचनामा न्यायपूर्ण ढंगले महिला सहभागिताको आवाज उठिरहेका बेला महिला स्वयं पनि अधिकार प्राप्तिका लागि अग्रसर हुनुपर्छ भन्ने उनी ठान्छिन्। त्यसकारण आफ्नो पालिकामा महिलालाई अधिकार प्राप्तिका लागि सचेतना जगाउने सवालमा विशेष जोड दिइएको उनको भनाइ छ।
‘राज्यका सबै संरचनामा महिला सहभागिता हुनुपर्छ भनेर देशमा कानुन बनेकाले जस्तोसुकै चुनौती आए पनि त्यसलाई सहजताका साथ सामना गर्दै महिलाले अगाडि बढ्नुपर्ने हुन्छ,’ उनले भनिन्, ‘उपमेयर रहँदा गाउँपालिकामा महिलाहरूमा चेतना जगाउने र जागरण भर्ने कार्यमा सक्रियतापूर्वक लागें। त्यसको सकारात्मक अहिले प्रभाव परेको र परिणामहरु पनि देखिन थालेको महसुस गरेकी छु।’
महिला सशक्तीकरणको विषयमा आफूले भने परिवारलाई पहिले नै सहमत गराएको उनी बताउँछिन्। ‘मैले राजनीतिमा रहेर समाजसेवा गर्ने चाहनाबारे सुरुमा घरपरिवारलाई सुनाए अनिसहमत पनि गराएँ। परिवारको साथ पाइएकैले राजनीतिमा अघि बढेर उपमेयर हुँदै मेयर बन्न सफल भएकी छु,’ उनले भनिन्।
उनका अनुसार चुनौती हरेक क्षेत्रमा छ। जिन्दगीमा चुनौतीको सामना जोकोहीले गर्नैपर्छ। ‘तर पुरुषको तुलनामा महिलाले अलि बढी चुनौतीको सामना गर्नपर्छ। घरपरिवार र समाजलाई सम्झाइबुुझाइ गर्न सकेको खण्डमा अहिलेको परिप्रेक्ष्यमा राजनीतिमा आउन महिलाई त्यति धेरै कठिनाइ पनि छैन,’ उनले भनिन्। चुप लागेर बस्ने हो भने केही पनि नहुने भन्दै सबैलाई सम्झाउने गरेको उनको भनाइ छ।