Kathmandu Press

तरकारी खेतीबाट अन्नको जोहो

धान, मकै, गहुँ छाडेर तरकारी खेतीमा लागेका बझाङी किसानहरू अहिले तरकारी बेचेको पैसाले बजारबाट सजिलै अन्न खरिद गर्ने हैसियतमा पुगेका छन्। 
तरकारी खेतीबाट अन्नको जोहो

काठमाडाैं, असाेज ३ : बझाङका प्रायः स्थानीय तहमा धान, गहुँ, मकैजस्ता अन्नबाली हुँदै नहुने होइन। तर धेरैजसाे ठाउँमा सोचेजस्तो उत्पादन नहुँदा वर्षभरि खान नपुग्ने स्थिति किसानहरूले बेहाेर्दै आएका छन्। अहिले भने अवस्था अलिकति फेरिएको छ। अर्थात्, व्यावसायिक तरकारी खेतीबाट मनग्य आम्दानी हुन थालेपछि वर्षभरिलाई पुग्ने अन्नको जोहो त्यसैबाट गर्न सक्ने स्थितिमा किसानहरू पुगेका छन्।

धान, मकै, गहुँ छाडेर तरकारी खेतीमा लागेका बझाङी किसानहरूले अहिले तरकारी बेचेको पैसाले बजारबाट सजिलै अन्न खरिद गर्ने हैसियत बनाएका छन्। उनीहरूले विभिन्न जातिप्रजातिका फलफूलसँगै आलु, बन्दा, मुला, साग, काउलीलगायत तरकारीको व्यावसायिक खेती थालेका छन्। त्यसकारण अभावमा बाँच्दै आएका किसानहरूलाई अहिले घरखर्च टार्न कुनै मुस्किल नपर्ने वातावरण बनेको छ। 

यसका प्रतिनिधि उदाहरण हुन्, बझाङको बित्थडचिर गाउँपालिका-१ का महेश्वरी बोहरा, रमेश बोहरा र कलक बोहरा।समूह बनाएर तरकारी खेती थालेका उनीहरू  यतिखेर गाउँकै नमुना किसानमा दर्ज हुन सफल भएका छन्।

Hardik ivf

१. महेश्वरी बोहरा 

खाद्यान्न अभाव टार्न बित्थडचिर गाउँपालिका–१ आनन्दरपुर टोलका धेरै किसानले दुई वर्षअघि तरकारी खेतीको बाटो रोजे। जसका लागि उनीहरूले सयजनाको समूह नै बनाए। नाम राखे, ‘आनन्दपुर आलु तथा कृषि तरकारी समूह’। समूहमा आबद्ध भई उनीहरूले व्यावसायिक तरकारी खेती गर्दै आइरहेका छन्।

व्यक्तिगत रूपमा उत्पादन गरिएको तरकारी समूहले एकै ठाउँमा जम्मा पारेर बिक्री गर्ने व्यवस्था मिलाएको छ। समूहमा सय किसान जोडिए पनि २५–२६ जनाले मात्रै व्यावसायिक रूपमा तरकारी खेती गर्दै आइरहेको सोही समूहकी अध्यक्ष महेश्वरी बोहोरा बताउँछिन्। बाँकीले आफ्नो परिवारको खाँचो टार्न मात्रै तरकारी रोप्ने गरेको उनी सुनाउँछिन्।

maheshwori bohara1663582112.jpg

‘अन्य बाली लगाउँदा वर्षभरि खान नपुग्ने आनन्दरपुर टोलका किसानले व्यावसायिक तरकारी खेती थालेपछि अन्न अभावको समस्या हटेको छ,’ बोहोराले भनिन्, ‘अहिले तरकारी बेचेको पैसाले वर्षभरिका अन्नको जोहो गर्न कुनै गाह्रो पर्दैन। साथै मनग्य आम्दानी हुँदा अरु समस्या टार्न पनि सहज भएको छ,’ उनले भनिन्। 

३० वर्षीया महेश्वरीले दुई वर्षयता तरकारी खेती गर्दै आइरहेकी छन्। उनले सात रोपनी जमिनमा आलु, बन्दा, काउली, मुलाजस्ता तरकारी लगाउँदै आएकी छन्। अहिले व्यावसायिक तरकारी खेतीबाटै वार्षिक करिब २ लाख रुपैयाँसम्म आम्दानी गर्ने गरेको उनी सुनाउँछिन्।   

आफ्नै पहलमा बनेको समूहबाट यो वर्ष मात्रै ८० क्विन्टल रातो आलु र २०० सय क्विन्टल सेतो आलु कैलालीको सदरमुकाम धनगढी निर्यात गरेको उनी बताउँछिन्। ‘जसमध्ये १५ क्विन्टल रातो आलु  र २४ क्विन्टल सेतो आलु मेरै बारीबाट उत्पादन भएको थियो,’ उनी भन्छिन्। उनका अनुसार यतिखेर धेरै कृषकको बारीमा बन्दा फलेको छ।

तरकारी राम्रै उत्पादन भए पनि बजार र ढुवानीको भने समस्या हुने गरेको गुनासाे उनी गर्छिन्। ‘पहिले उत्पादन भएन भन्ने समस्या थियो, अहिले उत्पादित वस्तु कहाँ कसरी लगेर बेच्ने भन्ने समस्याले पिरोल्ने गरेको छ,’ उनी भन्छिन्।  

तरकारी राम्रै उत्पादन भए पनि बजार र ढुवानीको भने समस्या हुने गरेको गुनासाे उनी गर्छिन्। ‘पहिले उत्पादन भएन भन्ने समस्या थियो, अहिले उत्पादित वस्तु कहाँ कसरी लगेर बेच्ने भन्ने समस्याले पिरोल्ने गरेको छ,’ उनी भन्छिन्।   

व्यावसायिक कृषकका लागि कृषि ज्ञान केन्द्रबाट विभिन्न खालका सहयोग मिल्दै आएको अध्यक्ष महेश्वरी बताउँछिन्। 

‘कृषि ज्ञान केन्द्रबाट आलु, बन्दा, गाजर र मुलाजस्ता तरकारीको बिउ निःशुल्क वितरण हुँदै आएको छ,’ उनी भन्छिन्, ‘यसका अतिरिक्त समय समयमा ज्ञान केन्द्रबाट तरकारी कसरी रोप्ने, कुन समयमा सिँचाइको व्यवस्था गर्ने र बिरुवा ठुलो भइसकेपछि पनि अनुगमन गर्ने हुँदा एकदमै सहज भएको छ।’

यसरी कृषि ज्ञान केन्द्रबाट सहयोग पाइरहेकोमा स्थानीय सरकारले भने कुनै सहयोग नगरेको गुनासो उनको छ।

२. रमेश बोहरा

बित्थडचिर–१ आनन्दपुर टोलकै २५ वर्षीय रमेश बोहाराले पनि पाँच वर्षदेखि तरकारी खेती गर्दै आएका छन्। करिब सात रोपनी जमिनमा उनको तरकारी खेती फस्टाएको छ्। 

तरकारी खेती थाल्नुअघि उनले बर्खामा मकै र हिउँदमा गहुँ खेती गर्दै आएका थिए। उत्पादित गहुुँ र मकैले उनको परिवारलाई चारपाँच महिना पनि खान पुग्दैनथ्यो। अहिले बर्खायामकै तरकारी बिक्रीबाट हुने आम्दानीले खाद्यान्नको अभाव झेल्नुपर्ने अवस्थाबाट मुक्ति दिएको उनी सुनाउँछन्। बर्खायामकै तरकारीले करिब एक लाख रुपैयाँको आसपासमा आम्दानी हुने गरेको उनको भनाइ छ। त्यो रकम अन्न किन्न पर्याप्त हुने उनकाे भनाइ छ।

रमेश कृषिका विद्यार्थी पनि हुन्। त्यसकारण परम्परागत शैली त्यागेर आधुनिक तौरतरिकाबाट तरकारी खेती गर्न उनलाई खासै गाह्रो भएन। सुरुमा उनले आधा कट्ठा जमिनमा लगाएको रायोको बिउले प्रशस्त साग उत्पादन गरे। उत्पादनले राम्रै आम्दानी दिएपछि आफू व्यावसायिक खेतीतर्फ हौसिएको उनी सुनाउँछन्।

‘अहिले सागका अलावा आलु, बन्दा, काउली, मुलाजस्ता तरकारी राम्रै उत्पादन गर्न थालेको छु,’ उनी भन्छन्, ‘यो वर्ष ३५–४० हजार रुपैयाँ त आलु बेचेरै कमाएँ।’  

ramesh1663582113.jpg

बित्थडचिरको किसानहरुले झेलिरहेको मुख्य समस्या भनेको उत्पादित तरकारीको बजारीकरण गर्न ढुवानी अभाव रहेको उनको भनाइ छ।

‘नजिकै बजार नहुँदा सस्तोमै तरकारी बेच्नुपर्दा मार पर्ने गरेको छ,’ उनी भन्छन्, ‘पहिले कसैकसैले मात्र तरकारी खेती गरेका थिए। व्यापारी पनि आउँदैनथे। अहिले धेरै किसान व्यावसायिक रुपमै तरकारी खेतीमा जुटेकाले गाउँमै व्यापारी पनि आइपुग्छन्। जसले गर्दा उचित मूल्य लिएर तरकारी बेच्न अलि सहज भएको छ।’ तर पनि ढुवानी सहज भए किसानहरूलाई धेरै सहज हुने उनको भनाइ छ। 

कृषि ज्ञान केन्द्रले सहयोगले व्यावसायिक खेती सहज बनेको रमेशको भनाइ छ। ‘केन्द्रले आलु, बन्दा, काउली आदिको बिउबिजन दिनुका साथै विविध प्राविधिक सहयोग पनि गर्दै आएकाले किसानलाई ठुलो राहत भएको छ। कृषि ज्ञान केन्द्रजस्तै स्थानीय सरकारबाट पनि केही सहयोग पाउन सके किसानहरू अझ सुदृढ ढंगले खेतीमा पे्ररित हुने  विश्वास उनले लिएका छन्।

‘स्थानीय सरकारले किसानहरुको मर्म बुझेर भन्दा पनि राजनीतिक हिसाबले आफ्नो विरोध गर्नेको मुुख टाल्ने काम गरिरहेको छ,’ उनी भन्छन्। उनका अनुसार पालिकाले पनि कहिलेकाहीँ तरकारीको बिउबिजन वितरण गर्ने गरेको छ। तर ती बिउ गुणस्तरीय नहुने उनको भनाइ छ। ‘न उचित प्राविधिक सहयोग न आवश्यक अनुगमन, पालिका लैबरी पारामा चलेको छ,’ उनी भन्छन्, ‘किसानको मर्म पालिका सरकारले बुझोस्।’

३. कलक बोहरा

बित्थडचिर–१  आनन्दपुर टोलकै कलक बोहोराले पनि पाँच रोपनी जमिनमा तरकारी खेती गर्दै आइरहेका छन्। उनले व्यावसायिक रूपमा तरकारी खेती गर्न थालेको चार वर्ष भयो। त्यसअघि उनी भारतमा जागिर गर्ने गर्थे। आफ्नै गाउँठाउँमा केही गर्नुपर्छ भन्ने हिसाबले उनी तरकारी खेतीमा होमिएका हुन्। 

‘तरकारी खेतीबाट आम्दानी कति भयो कति भएन भन्दा पनि मेरो हकमा अहिले वर्षभरि परिवारलाई खानलाउन समस्या हुन्न,’ उनी भन्छन्, ‘स्थानीय सरकारले पनि किसानका लागि उपयुक्त कार्यक्रम ल्याउन सके अझै राम्रो आम्दानी गर्ने सक्थ्यौं।’ 

अहिले कृषि ज्ञान केन्द्र बझाङबाट तरकारीको बिउ र प्राविधिक सहयोग मिल्दै आएकाले व्यवसायमा थप हौसला मिलेको उनको भनाइ छ। 

‘कृषि ज्ञान केन्द्रको भूमिका महत्वपूर्ण’ 

बित्थडचिरलगायत जिल्लाका विभिन्न स्थानका तरकारी किसानहरूले त्यसै तरक्की मारेका भने होइनन्। उनीहरूको होस्टेमा हैंसे गरिदिने कृषि ज्ञान केन्द्रको भूमिकालाई कम आँक्न मिल्दैन।

किसानलाई सघाउने उद्देश्यले नै बझाङमा कृषि ज्ञान केन्द्र खुलेको हो। केन्द्रका प्रमुख टेकबहादुर विष्टका अनुसार कृषि ज्ञान केन्द्र प्रदेश मन्त्रालयअन्तर्गतको एक निकाय हो। प्रदेश कृषि मन्त्रालयले किसानलाई व्यावसायिक तरकारी खेतीतर्फ उन्मुख गराउन यो केन्द्रसँग समन्वय गर्ने गरेको छ। केन्द्र किसानसँग सिधै जोडिने गरेको छ। 

विगतका वर्षहरूदेखि नै केन्द्रका लागि वार्षिक रूपमा बजेट छुट्टिँदै आएको छ। यो वर्ष केन्द्रले १० करोड ७० लाख पाएको प्रमुख विष्टको भनाइ छ। उक्त बजेट फलफूल खेती, तरकारी खेती, बिउ उत्पादन, कृषि औजार, कोसेली घर, फूल व्यवसाय, धान, गहुँ, मकै, कोदोलगायत शीर्षकमा कार्यविधि बनाएर सूचना जारी गरेर किसानको उत्थानमा खर्च हुँदै आएको उनको भनाइ छ। 

बझाङमा १२ पालिका छन्। धेरै पालिकामा वर्षायाममा बाटाहरू अवरुद्ध हुन्छन्। चाहेर पनि सबै ठाउँमा पुग्न नसकिने उनको भनाइ छ। सम्भव भएका ठाउँमा आफैं गएर किसानसँग भलाकुसारी गर्ने, विभिन्न तरकारीको बिउबिजन निःशुल्क वितरण गर्ने, कुन बिउ कसरी लगाउने भनेर सिकाउने र किसानले गरेको क्रियाकलाप स्थानीय पत्रपत्रिका वा रेडियोबाट प्रसारण गर्ने गरेको उनी बताउँछन्।

bista1663582112.jpg

‘पत्रपत्रिका र रेडियोबाट किसानको क्रियाकलाप प्रसारण भएपछि भने किसानहरु खुसी हुँदै व्यवसायमा प्रेरित हुने गरेका छन्,’ उनले भने। कृषि समूह बनाएर व्यावसायिक खेती गर्दै आएका किसानलाई कृषि ज्ञान केन्द्रबाट आलु, मुला, गाजर, बन्दा, काउलीको बिउ पनि निःशुल्क वितरण गर्दै आएको कार्यालय प्रमुख विष्टले बताए।

उनका अनुसार यो वर्ष बित्थडचिर गाउँपालिकामा आलु उत्पादन राम्रो भयो। ढुवानीको समस्या टार्न ज्ञान केन्द्रले विशेष भूमिका खेल्यो।  उनका अनुसार किसानहरूले तरकारी राम्रै उत्पादन गरे पनि ढुवानीको समस्या झेलिरहेका छन्। ‘यसमा स्थानीय सरकारले पनि ध्यान दिन जरुरी छ,’ उनी भन्छन्, ‘ढुवानी समस्या समधानार्थ केही पालिकासँग समझदारी पनि भएको छ।’

सदरमुकामसम्म स्थानीय सरकारले ढुवानीको व्यवस्था गरिदिने र सदरमुकामदेखि प्रदेश सरकारसम्म कृषि ज्ञान केन्द्रले तरकारी पुर्‍याउने जिम्मेवारी लिए सहज हुने उनी बताउँछन्। ‘प्रत्येक वर्ष कृषि ज्ञान केन्द्रले करिब ६ लाख रुपैयाँ तरकारी ढुवानीमै खर्चिंदै आएको छ,’ उनी भन्छन्।  

अहिले जिल्लाभरि दुई सयवटा कृषक समूहले व्यावसायिक तरकारी खेती गर्दै आएको विष्ट बताउँछन्। बझाङको बित्थडचिर अति विकट स्थानमा पर्ने भएकाले त्यहाँका बासिन्दालाई ज्यान पाल्नै धौधौ पर्ने अवस्था रहेकोमा तरकारी खेती वरदान नै साबित भएको उनी बताउँछन्। 
 

प्रकाशित मिति: १५:१६ बजे, सोमबार, असोज ३, २०७९
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्