‘स्याउ उत्पादन त बढ्याे तर बारीमै कुहाउनुपर्ने बाध्यता छ’
लटरम्म फलेको स्याउ देख्दा उमंगित किसान बारीमै कुहिएर खेर जाने हो कि भनेर पनि उत्तिकै पिरोलिएका छन्।काठमाडौं, भदौ ३१ : यसपालि दार्चुलाका स्याउ किसान औधी खुसी छन्। कारण, विगतका वर्षहरूको तुलनामा यो वर्ष स्याउ उत्पादन निकै राम्रो भएको छ। लटरम्म फलेको स्याउ देख्दा उमंगित उनीहरू बारीमै कुहिएर खेर जाने हो कि भनेर पनि उत्तिकै पिरोलिएका छन्। बिक्री भइहाले पनि उचित मूल्य नपाइने हाे कि भन्ने चिन्ता पनि कम छैन।
खासगरी दार्चुलाका चार गाउँपालिका अपि हिमाल, व्यास, नौगाड र दुहुमा व्यावसायिक स्याउ खेती निकै फस्टाएको छ। अपि हिमाल–१, ४ र ५, व्यास–१, २ र ३ नौगाड–१ र २ तथा दुहु–१ र २ मा व्यावसायिक स्याउ खेतीको विस्तार गरिएको छ। दार्चुलामा यी ठाउँलाई समेटेर सरकारले २०७५ सालमा स्याउ जोन घोषणा गरेको छ। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दार्चुलाले बिरुवा दिएर त्यहाँका किसानलाई सघाउँदै आएको छ।
त्यसो त यो क्षेत्रमा १५ वर्षअघिदेखि नै स्याउ खेती हुँदै आएको छ। तर कृषि जोन घोषणा भई इटालियन जातको बिरुवा रोपेपछि मात्र स्याउ उत्पादन राम्रो हुन थालेको किसानहरु बताउँछन्। असिनापानीले सताउने, विभिन्न रोग लाग्ने, ढुवानी हुन नसक्ने, बिक्री नहुने, उचित मूल्य नपाइनेजस्ता अनेक समस्यासँग यहाँका किसान जुधिरहेका छन्। यस्ता समस्यासँग जुध्न सरकारबाट उचित सहयोग पाइने अपेक्षा पनि उनीहरूमा छ।
‘इटालियन बिरुवा रोपेपछि स्याउ खेती फस्टायो’
अपि हिमाल–४ की महिला उद्यमी बालकुमारी बोहोरा कृषि फार्म दर्ता गरेर दुई वर्षदेखि स्याउ खेतीमा संलग्न छिन्। उनले पाँच रोपनी जमिनमा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दार्चुलामार्फत इटालियन बिरुवा रोपेर स्याउ खेती थालेकी हुन्। अहिले उनको फार्ममा पाँच सयको हाराहारी स्याउबोट छन्।
स्याउ जोन सञ्चालन समन्वयन समिति संयोजकसमेत रहेकी बालकुमारी बोहोराले गत वर्ष पहिलोपटक इटालियन जातको स्याउको बिरुवा रोपेकी थिइन्। उनका अनुसार सोही वर्ष नै केही बोटमा स्याउ उत्पादन भएको थियो। पहिलो वर्ष बोट सानै भएकाले डेढ क्विन्टल मात्र उत्पादन भएको उनले बताइन्। ‘यो वर्ष बोट गत वर्षको तुलनामा बढी फल्यो। बोटहरू हुर्केकाले झन्डै २२ क्विन्टल उत्पादन भयो,’ उनले भनिन्, ‘यसरी नै बोटहरू हुर्कंदै जाने भएकाले आगामी वर्ष अझै उत्पादन बढ्दै जाने देखिन्छ।’
त्यसो त उद्यमी बोहोराको परिवारले १२/१३ वर्षपहिले नै भारतबाट केही स्याउको बिरुवा ल्याएर नरोपेका होइन। ती बोटमा स्याउ फलेको पनि थियो तर निकै थोरै। आफूहरूलाई खान र आफन्तलाई बाँड्दै ठिक्क हुने गरे पनि अहिले भने त्यस्तो अवस्था नरहेको उनले बताइन्।
दार्चुलामा प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना लागु गरिएपछि विदेशी जातको स्याउका बिरुवाबाट छोटो समयमै धेरै उत्पादन गरी आम्दानी लिन सकिने कुरा बोहोरालाई थाहा भयो। त्यसपछि उनले फार्म नै दर्ता गरेर स्याउ व्यवसाय थालेकी हुन्। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ जोनका लागि किसानलाई दिएको ५० प्रतिशत अनुदानमा इटाली जातको बिरुवा ल्याएर रोपेकी हुन्।
यो वर्ष उत्पादन भएको २२ क्विन्टल स्याउ स्थानीय बजारमै बिक्री भएको उनले सुनाइन्। उनले तीजको अवसर परेकाले स्थानीय महिलालाई सस्तोमै बेचेकी थिइन्। ‘केजीको सयका दरले बेच्दा पनि करिब डेढ लाख रुपैयाँ आम्दानी भयो,’ उनले भनिन्। उनका अनुसार बजारको व्यवस्था भए या यहाँ उत्पादन भएको स्याउ अन्य जिल्लाहरूमा पुर्याउन सकेको भए यसबाट निकै राम्रो आम्दानी गर्न सकिन्थ्यो। अहिले पनि गाडी चल्ने सडकसम्म जान करिब पाँच घन्टा पैदल हिँड्नुपर्ने अवस्था रहेकाले स्याउ स्थानीय बजारमा सस्तोमै बिक्री गर्नुपर्ने बाध्यता रहेको उनले सुनाइन्।
जसोतसो पाँच घन्टा बोकेर सडकसम्म स्याउ पुर्याए पनि ढुवानीको समस्या झेल्नुपर्ने अर्को पीडा पनि उनले व्यक्त गरिन्। ‘त्यसैले सस्तोमै स्थानीयलाई बिक्री गर्दा खर्च र आम्दानी बराबर हुुने गरेको छ,’ उनले भनिन्, ‘अबको दुई वर्षभित्र अपि हिमालमा पनि सडक आइपुग्छ। त्यसपछि स्याउसँगै अन्य व्यवसायबाट पनि राम्रै उपलब्धि गर्न सकिने अपेक्षा छ।’
स्याउको व्यावसायिक खेतीमा बजार र प्राविधिकको समस्या रहेको उनले बताइन्। ‘स्थानीय तहबाट अनुगमन गरी बिरुवामा रोग लागे कुन औषधि प्रयोग गर्दा राम्रो हुन्छ भनेर तालिमको व्यवस्था गर्न सके व्यवसायी अझ प्रेरित हुन्थे,’ उनले भनिन्।
‘इटालियन बिरुवाले रोपेकै वर्ष फल दिन थाल्छ’
अपि हिमाल–३ थुम्कीका कृषक अनन्तराम मन्याल पनि चार वर्षयता प्रधानमन्त्री कृषि आधुनिकीरण परियोजना दार्चुलासँग जोडिएका छन्। उनले पनि बोहराले जस्तै व्यावसायिक स्याउ खेती गर्दै आइरहेका छन्।
अपि हिमाल गाउँपालिकामा स्याउ खेती सुहाउँदो हावापानी भएकाले १५ वर्षअघि गाउँका धेरै किसानले भारतको हिमाञ्चल प्रदेश र सिम्लाबाट स्याउको बिरुवा ल्याएर रोपेको मन्यालले जानकारी दिए। उनका बुवाले भारतबाट स्याउको सयवटा बिरुवा ल्याएर रोपेका थिए। प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले २०७५ सालमा स्याउ खेती गर्न चाहने कृषकलाई इटालियन स्याउको बिरुवा बाँडेपछि भने मन्यालले स्याउ खेतीलाई व्यवसायका रूपमा विस्तार गर्ने मनशाय बनाएका थिए।
त्यसैले उनले स्याउ जोनमार्फत सुरुकै वर्ष ५० वटा बिरुवा रोपेका थिए। खेती विस्तार गर्दै लाने क्रममा अहिले नयाँ र पुराना गरी ६ सयको हाराहारीमा स्याउबोट रहेको उनले सुनाए। यसरी इटालियन जातको बिरुवाले लगाएकै वर्ष फल दिने बताए। ‘बिस्तारै बिरुवा हुर्कंदै जाँदा उत्पादन बढ्दै जान्छ,’ उनले भने। गत वर्ष असिनापानीले गर्दा सबै स्याउ कुहिएको, एक दाना पनि बिक्री गर्न नपाइएको गुनासो उनले गरे। यो वर्ष भने स्थानीय बजारमा बिक्री गरेर ८–१० हजार रुपैयाँ कमाएको उनले बताए।
उनका अनुसार स्याउको उत्पादन कम भएका बेला स्थानीय बजारमा पनि केजीको २ सयसम्ममा बेच्ने गरिन्छ। स्याउको उत्पादन राम्रो भयो भने १००–५० रुपैयाँमा त कहिले बजारको अभाव हुँदा कुहिएर जाने अवस्था आएपछि सित्तैमा पनि बाँड्ने गरेको उनले बताए। असिना परेपछि बोट नै रोगाएर स्याउ खेतीमा असर पर्ने समस्या किसानले भोगिरहेकाले सरकारले जालीको व्यवस्था गरिदिएको राहत हुने धारणा उनले राखे। सडक नहुँदा स्याउ बाहिर लगेर बेच्न असम्भव भएको उनले सुनाए।
‘बारीमै स्याउ कुहिने समस्या पनि झेल्नुपर्छ’
व्यास गाउँलिकाका स्याउ कृषक जितसिंह बाेहराले पनि स्याउ किसानले धेरै समस्या भोग्दै आएको सुनाए। उनले पनि आठ रोपनी जमिनमा विगत १५ वर्षदेखि स्याउ खेती गर्दै आएका छन्।
१५ वर्षअघि भारतको सिम्लाबाट स्याउको बिरुवा ल्याएका उनले पाँच वर्षयता मात्र स्याउबाट उत्पादन लिन पाएका हुन्। स्याउ खेती गरेर राम्रो उत्पादन गर्ने अपेक्षा राखेका धामीले अहिलेसम्म यसबाट केही पनि नाफा लिन नसकेको बताउँछन्। उनको बारीमा ६ सय स्याउबोट छन्। तीन वर्षअघि कालापानीको बोर्डरमा भारतीय सैनिकलाई ७० आइसी ९११२ रुपैयाँ० को दरमा स्याउ बिक्री गरिएको थियो। त्यो समयमा स्याउ बिक्री गर्दा ५ लाख आम्दानी भएको उनले बताए।
‘बोर्डरमा भारतीय सेनालाई स्याउ बिक्री गरेको अर्को वर्षबाट कोरोना आएपछि त्यहाँ पनि बेच्न पाइएन,’ जितसिंहले भने, ‘अहिले नेपालमै स्याउ बेचे बाटो र गाडीको व्यवस्था नहुँदा बारीको स्याउ बारीमा नै कुहिँदै गएको छ।’ गत वर्ष असिना परेकाले केही स्याउ काटेर सुकुटी र रक्सी बनाएको र बाँकी सबै स्याउ बारीमा नै कुहिएको उनी बताउँछन्। स्याउ खेतीमा धेरै मेहेनत र लगानी चाहिने उनको भनाइ छ।
स्याउ व्यवसाय सञ्चालन पछि प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजना दार्चुलामार्फत सिचाइका लागि ८५ हजार सहयोग र कृषि ज्ञान केन्द्रमार्फत खनजोत गर्ने ट्याक्टरबाहेक केही सहयोग नमिलेको उनको भनाइ छ। उनी स्याउ ढुवानीका लागि सडक निर्माण र असिनाबाट स्याउ जोगाउन स्थानीय सरकारबाट जालीको व्यवस्था हुने पर्खाइमा छन्।
‘दार्चुलाकाे २३६ हेक्टर क्षेत्रफलमा स्याउ खेती’
२०७५ असोजमा स्थापना भएको प्रधानमन्त्री कृषि आधुनिकीकरण परियोजनाले स्याउ खेतीका लागि अनुकूल हावापानी भएकाले स्याउ जोनका लागि चार गाउँपालिका अपि हिमाल, व्यास, नौगाड र दुहु स्याउ जोन दार्चुला प्रमुख विष्णुप्रसाद ओझाले बताए। केही किसानल १५ वर्षअघिदेखि नै भारतको सिम्ला, हिमाञ्चल प्रदेशबाट स्याउको बिरुवा ल्याई स्याउ खेती गर्दै आएकाले पनि स्याउ जोन घोषणाका लागि सहज भएको उनको भनाइ छ।
‘परियोजना सुरु भएपछि विदेशबाट उन्नत जातको स्याउको बिरुवा ५० प्रतिशत अनुदानमा सहयोग गर्ने गरेकाले धेरै किसान स्याउ खेतीमा आकर्षित भएका छन्,’ उनले भने, ‘हामीले २०७६ सालदेखि इटालियन जातको बिरुवा ५० प्रतिशत अनुदानमा बिक्री गर्दै आइरहेका छौं। यो बिरुवाबाट एक वर्षमै फल पाइने हुँदा धेरै कृषक स्याउ खेतीमा जोडिएका छन्।’
उनका अनुसार गत आर्थिक वर्षसम्म जिल्लामा २३६ हेक्टर क्षेत्रफलमा स्याउ खेती विस्तार भएको छ। सोही आर्थिक वर्षमा स्याउ जोनबाट १ हजार २१५ मेट्रिक टन स्याउ उत्पादन भएको छ। ‘असार मसान्तसम्मको तथ्यांकअनुसार कृषक समूह, निजी उद्यमी, सहकारी गरेर २ सय २३ जना कृषक स्याउ खेतीमा संलग्न छन्,’ उनले भने। यो वर्ष पनि धेरै नयाँ कृषक थपिने अपेक्षा उनको छ। ‘यो वर्ष राम्रो उत्पादन भएकाले गत वर्षभन्दा ठ्याक्कै दोब्बर उत्पादन हुन सक्छ,’ उनले भने, ‘परार वितरित बिरुवाले राम्रो उत्पादन दिने बेला हो हो।’
स्याउ खेतीमा किसानको आकर्षण बढाउन परियोजना कार्यालयले बिरुवा ढुवानीको सेवा पनि दिइँदै आएको उनी बताउँछन्। ठुला बिरुवाहरूलाई काटछाट गर्न कृषि औजारहरू ५० प्रतिशत अनुदानमा वितरण गरिँदै आएको पनि उनले जानकारी दिए।
सडक नहुँदा बजारमा लान समस्या
स्याउ खेती हुँदै आएका धेरैजसो स्थानमा सडक नहँुदा किसानहरूले स्याउ बिक्रीवितरणमा समस्या भोग्नुपरेको परियोजना प्रमुख ओझाले बताए। ‘बाटो नहुँदा स्याउ अन्य जिल्लामा पुर्याउन सकिएको छैन,’ उनले भने, ‘अहिले किसानहरूले सस्तो मूल्यमा भए पनि स्थानीय बजार र नेपाल–भारत सीमा जोडिएकाले लिपुलेक र कालापानीको सीमामा सस्तोमै बिक्री गर्नुपर्ने स्थिति छ।’
गत वर्ष अपि हिमाल गाउँपालिकामा उत्पादित स्याउ स्थानीय मार्मा र खण्डेश्वरी बजारमा बिक्री भएको थियो भने व्यास गाउँपािलकामा उत्पादन भएको स्याउ भारतीय सैनिकहरूलाई केजीको डेढ सय रुपैयाँ मूल्यमा बिक्री गरेको उनले बताए। ‘यो वर्ष सबै किसानले बिक्री वितरण गरी नसकेकाले यो वर्ष के, कती स्याउ उत्पादन भएको छ त्यसको तथ्यांक आइसकेको छैन,’ कार्यालय प्रमुख ओझाले भने।