Kathmandu Press

के हाे मुटुरोग ? यसबाट कसरी बच्न सकिन्छ ?

चुरोट, रक्सी, सुर्तीजन्य पदार्थ तथा मद्यपान गर्ने बानी त्यगिदिए मुटुरोगले आक्रमण गर्ने सम्भावना कम रहन्छ।
के हाे मुटुरोग ? यसबाट कसरी बच्न सकिन्छ ?

हाम्रो शरीरमा मुटु एक महत्वपूर्ण अंगका रूपमा रहेको हुन्छ। शरीरमा सबैतिर रगत सञ्चार गर्नु मुटुको मुख्य काम हो। मुटुले राम्रोसँग काम गरेन वा अन्य विभिन्न कारणले मुटुमा असर पर्‍यो भने विभिन्न समस्या निम्तिन सक्छन्। मुटुमा समस्या पैदा हुँदा लाग्ने रोगलाई मुटुरोग भनिन्छ। स्वस्थ र दीर्घ जीवनका लागि मुटुरोगबाट बच्नु जरुरी छ।

पछिल्लो तथ्यांकअनुसार नेपालमा वार्षिक रूपमा सरदर ३० हजार मानिसले मुटुरोगका कारण ज्यान गुमाउँछन्। मुटुरोगको समस्या सहरबजार बस्ने मानिसमा बढी देखिन्छ तर गाउँघरतिर पनि यो रोगको समस्या बढ्दो क्रममा छ।

भड्किलो जीवनशैली अपनाउने भएका कारण धनी र सम्पन्न व्यक्तिमा मात्र मुटुरोग हुन्छ भन्ने कथन अहिले गलत साबित भइसकेको छ। विपन्नताका कारण सामान्य जीवनशैली अपनाउनेलाई पनि यो रोग लाग्ने गरेको छ। जुनसुकै उमेर समूहका व्यक्ति पनि मुटुरोगबाट ग्रसित हुन सक्छन्।

Hardik ivf

मुटुरोग के हो? यसका के–कस्ता लक्षण हुन्छन्? यसबाट बच्न के–कस्ता उपाय अवलम्बन गर्न सकिन्छ? यी र यस्ता प्रश्नको उत्तर खोजी गर्न सके मुटुरोगबाट बच्ने सम्भावना उच्च हुन्छ भन्ने अपेक्षा राख्न सकिन्छ।

के हो मुटुरोग? 

मुटु शरीरको संवेदनशील अंग हो। सामान्यतया मुटुमा लाग्ने रोगलाई मुटुरोग भनिन्छ। यसलाई अर्को शब्दमा हृदयरोग पनि भनिन्छ। मुटुको रोग भन्नाले ‘हार्ट अट्याक’ वा ‘हार्ट फेल’ भनी बुझ्ने गरिएको पाइन्छ। तर यसलाई मात्र मुटुरोग भन्न मिल्दैन। यसका अतिरिक्त मुटुसम्बन्धी अन्य धेरै रोग रहेका छन्। मुटुरोगका मुख्य तीन प्रकार यस्ता छन्ः    

१. जन्मजात रूपमा लाग्ने मुटुरोग 

जन्मँदैदेखि लिएर आउने मुटुसम्बन्धी रोगलाई जन्मजात मुटुरोग भनिन्छ। जन्मँदा नै शिशुको मुटुमा प्वाल हुने, मुटुमा विकृति देखिने, मुटुमा चारवटा कोठाको सट्टा तीनवटा मात्र हुने वा पाँचवटा हुने, मुटुको रक्त नलीको नसाहरू बांगोटिंगो भएर जोडिने भएमा तिनलाई जन्मजात मुटुरोगअन्तर्गत राख्ने गरिन्छ।

त्यस्तै जन्मँदाखेरि कुनै बच्चा निलो पनि हुन सक्छ। निलो जन्मेका बालबालिकाको समयमै उपचार हुनु आवश्यक छ। यदि समयमै उपचार भएन भने बालबालिबाहिरको मृत्यु पनि हुन सक्छ। त्यसकारण जन्मजात मुटुको रोग सामान्यदेखि लिएर कडाखाले हुने गर्छ। 

२. बालबालिकालाई लाग्ने मुटुरोग 

पाँचदेखि १७ वर्ष उमेर समूहका अर्थात् स्कुल जाने उमेर समूहको बालबालिबालाई पनि मुटुरोग लाग्ने गर्छ। लामो समय घाँटी दुख्ने र टन्सिल बढ्ने समस्या भइरह्यो भने त्यस्ता बालबालिकामा बाथ मुटुरोग लाग्न सक्छ।

घाँटी दुख्ने र टन्सिल बढ्ने समस्या लामो समय निको भएन भने मुटुको भल्ब बिग्रन पुग्छ, त्यसलाई नै बाथ मुटुरोग भनिन्छ। तर यो रोगबारे धेरै अभिभावक अनभिज्ञ छन्। बालबालिकालाई पनि मुटुरोग हुन सक्छ भन्ने चेतना नहुँदा र रोग पहिचान गर्ने स्वास्थ्यकर्मीको अभाव हुँदा बाथ मुटुरोग बढिरहेको पाइन्छ। यो रोग लागेका बालबालिकामा दम बढ्ने, धेरै परिश्रम गर्न नसक्ने, जोर्नीहरू दुख्ने, घाँटी दुख्ने र टन्सिल भइरहने समस्या देखिन्छन्।

३. जीवनशैलीबाट लाग्ने मुटुरोग 

१८ वर्षभन्दा माथिको उमेर समूहमा देखापर्ने मुटुरोगलाई ‘जीवनशैली मुटुरोग’ भनिन्छ। उच्च रक्तचाप (ब्लड प्रेसर), मधुमेह (सुगर), हृदयाघात (हार्टअट्याक) आदि जीवनशैलीबाट लाग्ने मुटुरोग हुन्। जीवनशैलीबाट हुने मुटुरोग हाम्रो आहारविहार तथा व्यवहार नमिलेर लाग्ने गर्छ। मानसिक तनाव लिँदा, चुरोटरक्सी धेरै सेवन गर्दा यो रोग लाग्ने सम्भावना धेरै देखिन्छ।

यी तीन प्रकारका मुटुरोगमध्ये विश्वव्यापी रूपमा जीवनशैलीे मुटुरोगको मात्रा उच्च रहेको देखिन्छ। ब्लड प्रेसर पनि जीवनशैलीमा देखापर्ने मुटुरोगको एक कारण हो। त्यसैले गर्दा अहिले नेपालमा १८ वर्षभन्दा माथिको जनसंख्यामध्ये एक तिहाइजतिलाई यो रोगको समस्या रहेको छ। यसरी हेर्ने हो भने नेपालको जनसंख्याको करिब ३० देखि ३५ प्रतिशत जनसंख्यालाई मुटुरोग रहेको आकलन गर्न सकिन्छ। 

मुटुरोग लाग्नुका कारण

जन्मजात मुटुरोग लाग्नुको एउटा कारण गर्भवती हुँदा महिलाले अपनाउने व्यवहार हो। गर्भमा बच्चा रहँदा महिलामा पोषणयुक्त खानेकुरा कम भए, भिटामिनको अभाव रहे, कुनै रोग लागे वा संक्रमण भए, खानै नहुने औषधिहरू खाए र एक्सरेको विकिरण परे बच्चा जन्मेपछि मुटुको रोगले ग्रसित हुने सम्भावना बढ िहुन्छ। समय नपुगी जन्मिएको बच्चामा पनि जन्मजात मुटुरोगको समस्या देखिन सक्छ। आमाबुवालाई मुटुरोग छ भने बच्चालाई पनि त्यो रोग लाग्ने सम्भावना रहन्छ।

बालबालिकामा मुटुरोग देखिनुमा जन्मजातबाहेक अन्य कारणमा तयारी खाजाखाना (फास्ट फुड) धेरै खानु मुख्य रहेको छ। घाँटीको समस्या वा टन्सिलका कारण पनि बालबालिकामा मुटुको समस्या देखापर्छ। अर्थात् वंशाणुगत र वातावरणीय प्रभावका कारणले बालबालिकामा मुटुरोग देखा पर्न सक्छ।

त्यसैगरी जीवनशैली मुटुरोगको मुख्य कारण आहारविहारमा ध्यान दिन नसक्नु हो। अनावश्यक चिन्ता लिने, मद्यपान र धूमपान नियमित रूपमा गर्ने र तेलमा तारेको वा वनस्पति घिउमा पकाएको खानेकुरा धेरै खाने गर्दा यस किसिमको मुटु।ोग लाग्न सक्छ। धेरै मोटोपनको समस्या भएमा पनि मुटुरोग हुन सक्छ। 

मुटुरोग महिलामा बढी कि पुरुषमा?  

५ देखि १७ वर्षसम्म देखापर्ने मुटुरोग सुरुका उमेरमा बालिकामा बढी रहेको देखिन्छ। खासगरी महिनावारी सुरु हुनुअघि बालिकामा मुटुरोग बढी देखिन्छ। महिनावारी हुन थालेपछि भने मुटुरोग महिलाको संख्या पहिलाको तुलनामा कमी आउँछ। पछिल्ला उमेरमा भने बालक र बालिका वा किशोर र किशोरी दुवैमा मुटुरोग लगभग बराबर संख्यामा हुने गर्छ।

त्यस्तै जीवनशैलीमा देखापर्ने मुटुरोग उमेरका हिसाबले ५० वर्षभन्दा कम उमेर समूहमा महिलाहरूमा कम र पुरुषमा बढी हुने गरेको छ। ५० वर्षमाथि भने महिला–पुरुष दुवैलाई बराबर संख्यामा मुटुरोग हुने सम्भावना देखिन्छ। 

सुरुमा देखिन्न  मुटुरोगकाे लक्षण

मुटुरोगले सुरुमा लक्षण देखाउँदैन। त्यसकारण मानिसले मुटुसम्बन्धी रोग भएको छ भनेर चालै पाउँदैनन्। रोग बढ्दै गएपछि बल्ल लक्षण देखापर्दै जान थाल्छ। त्यसकारण मुटुरोग समयमै पत्ता लगाएर समयमै औषधि उपचार गराउनु आवश्यक देखिन्छ। समयमै पत्ता लागेन अथवा समययमै उपचार भएन भने मुटुरोग बढ्दै गएर जटिलता निम्तिन थाल्छन्। 

जटिलता भन्नाले ब्लड प्रेसर भएका व्यक्तिले समयमै उपचार भएन भने हार्ट हृदयाघात (अट्याक वा हार्ट फेल) हुने, मस्तिष्कघात (ब्रेन हेमरेज) हुुने, पक्षाघात (प्यारालाइसिस) हुने, आँखा ज्योति गुम्ने, किड्नी फेल हुनेजस्ता जटिलता ल्याउने गर्छ। अहिले ब्लड प्रेसरको समयमै उपचार नहुँदा धेरै व्यक्तिले अल्पायुमै ज्यान गुमाएका छन्। 

त्यसकारण रोगको समयमै परीक्षण गरी रोग पत्ता लाग्नु आवश्यक छ। मुटुरोगले सुरुवाती चरणमा कुनै लक्षण देखाउँदैन। मानिसलाई ब्लड प्रेसर बढ्दा, सुगर बढ्दा, कोलेस्टोरल बढ्दा मुटुका नसाहरू साँघुरो भएको अवस्थामा लक्षण केही नदेखिन सक्छ, लक्षण केही नदेखिए पनि समयसमयमा जाँच गराएर रोग छ कि छैन भनेर पत्ता लगाउन सकिन्छ। यसरी समयमै परीक्षण गरी रोग पत्ता लाग्यो भने त्यो रोगबाट हुने जटिलताबाट बच्न सकिन्छ। 

उपचार तथा रोकथाम 

विज्ञानप्रविधिको विकासका कारण मुटुरोगका उपचार पद्धतिहरू धेरै छन्। मुटुरोग निको पार्ने मूल विधि औषधि सेवन र शल्यक्रिया हुन्। रोग लागी उपचार गर्नुभन्दा रोगै लाग्न नदिनेतर्फ सचेत हुनु अत्यावश्यक छ। 

तीन प्रकारको मुटुरोगका रोकथामका उपाय पनि फरकफरक रहेका छन्। जन्मजात मुटुरोगको रोकथामका लागि गर्भवती महिलाले पोषणयुक्त खानेकुरा खाने, जे पायो त्यही औषधि सेवन नगर्ने, भाइरसको संक्रमणबाट जोगिनुपर्छ। त्यस्तै गर्भवती अवस्थामा चुरोट र रक्सी त पटक्कै सेवन गर्नुहुँदैन। 

बालबालिकालाई हुने बाथ मुटुरोगको रोकथाम वा उपचारका लागी घाँटी दुख्ने, टन्सिल भएमा नुनपानी, बेसारपानी खाने विधि मात्र गरेर घरमा राखिरहनुहुँदैन। तुरुन्त अस्पताल लगी जाँच गराएर एन्टिबायोटिक वा चिकित्सकको सल्लाहअनुसार कुनै औषधि प्रयोग गर्नुपर्छ। 

त्यस्तै जीवनशैलीबाट हुने मुटुरोगबाट बच्न खानपानलाई मुटुमैत्री बनाउनु आवश्यक छ। अर्थात्, खानेकुरामा हरिया सागपात, गेडागुडी, फलफूलको मात्रा बढाउनुुपर्छ। गुलियो, कार्बाेहाइड्रेट, तेलमा धेरै तारेको खानेकुरा, वनस्पति घिउमा पकाएको तयारी खानेकुरा धेरै खानुहुँदैन। खानेकुरा धेरै मात्रामा खानु पनि हुँदैन। ठिक्क मात्र खाने गरे र मोटोपन घटाउनेतिर लागे यो रोगबाट बच्न सकिन्छ।

चुरोट, रक्सी, सुर्तीजन्य पदार्थ तथा मद्यपान गर्ने बानी त्यगिदिए मुटुरोगले आक्रमण गर्ने सम्भावना कम रहन्छ। दैनिक आधा घन्टादेखि एक घन्टा व्यायाम गर्ने, मानसिक तनाव नलिने, बढी उत्तेजना आउनेजस्ता कार्यलाई नियन्त्रण गरे मुटुलाई बचाउन सकिन्छ, मुटुरोगबाट टाढा रहन सकिन्छ।

९० प्रतिशत मुटुरोगको रोकथाम सम्भव छ। नियमित व्यायाम गरे, आहारविहारमा ध्यान दिए, मद्यपान तथा धूमपानबाट टाढा रहे र बेलाबेलामा स्वास्थ्य जाँच गराई कुनै समस्या पत्ता लागेको अवस्थामा तत्काल उपचार गराए मुटुरोगबाट बच्न सकिन्छ। 

(मुटुरोग, यसका लक्षण र रोकथामका

उपाय सम्बन्धमा मुटुसम्बन्धी रोगका विशेषज्ञ डा. प्रकाशराज

रेग्मीसँग काठमाडौं प्रेसकर्मी शलिना कुँवरले गरेको कुराकानीमा आधारित।)

प्रकाशित मिति: १३:५५ बजे, शुक्रबार, भदौ १७, २०७९
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्