भौचरमा आधारित छात्रवृत्ति र स्थानीय सरकारको प्राथमिकता
स्थानीय सरकार र अभिभावकका लागि भौचरमा आधारित छात्रवृत्ति अतिनै उपयोगी हुन्छ। बच्चाको पढाइ खर्च भर्न नसक्ने अभिभावक तथा पालिकामा आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन गर्न...स्थानीय सरकार र अभिभावकका लागि भौचरमा आधारित छात्रवृत्ति अतिनै उपयोगी हुन्छ। बच्चाको पढाइ खर्च भर्न नसक्ने अभिभावक तथा पालिकामा आवश्यक प्राविधिक जनशक्तिको व्यवस्थापन गर्न र स्थानीय सरकार जन(उत्तरदाई बनाउन भौचरमा आधारित प्राविधिक शिक्षा छात्रवृत्ति आजको आवश्यकता हो।
नेपालको संविधान २०७२ ले नागरिकको मौलिक हक भित्र 'शिक्षा र स्वास्थ्य राज्यको दायित्व हुनेछ' भनिएकाले प्राविधिक शिक्षाको दायित्व पूरा गर्नु पनि हो। यो छात्रवृत्तिमा नेपालका तीन तहका सरकारको ध्यान जानुपर्दछ। नागरिकको निःशुल्क पढ्न पाउने हक कायम गर्दै लैजानु संविधान कार्यान्वयन गर्नु हो। तसर्थ यो भौचरमा आधारित छात्रवृत्ति स्थानीय सरकारले लागु गर्नु उपयुक्त हुन्छ।
देशको अर्थतन्त्र सवल नहुँदा सम्म प्राविधिक शिक्षामा मात्र लगानी गर्ने। सीप, दक्षता र रोजगारी सँग जोडिएको प्राविधिक शिक्षा पहिलो रोजाइ हुनुपर्छ। विद्यार्थीलाई स्थानीय सरकारमार्फत भौचरमा आधारित प्राविधिक शिक्षा छात्रवृत्ति उपलब्ध गराउँदै जानुपर्छ।
केही वर्षमा स्वास्थ्य, कृषि, भेटेनरी, होटल व्यवस्थापन, इन्जिनियरिङ र अन्य आवश्यक प्राविधिक दक्ष जनशक्ति सबै पालिकामा सजिलै उपलब्ध हुने उपाय हो यो। जब देश आर्थिक रुपमा सवल हुन्छ तब प्राविधिक शिक्षामा मात्र हैन साधारणा शिक्षामा पनी छात्रवृत्ति उपलब्ध गराउनुपर्छ।
तर हालको शिक्षा नीति पुनः सीपहीन र बेरोजगार प्राविधिक जनशक्ति उत्पादन गर्ने तर्फ उन्मुख छ। यसलाई रोक्नुपर्छ। अहिले प्रत्येक पालिकामा शिक्षालय खोल्ने तर विद्यार्थीलाई रोजेको विषय पढ्न नपाउने अवस्था छ। गाउँमा एउटा प्राविधिक शिक्षाको कार्यक्रम सञ्चालन गर्न समेत धौधौ छ। चारपाँचवटा कार्यक्रम कसरी चलाउने? धेरै वटा विषय नभई विद्यार्थीले विषय छनोट गर्ने अवसर पाउदैन। तब ऊ सहर पस्न बाध्य हुन्छ। गाउँमा कक्षा कोठा खाली हुन्छन्। सरकारले दिएको अनुदान बालुवामा पानी हुन्छ।
गाउँमा पढाउने शिक्षक पाइँदैन। एउटा विषयको शिक्षालय चलाउन कम्तीमा ११ जना प्राविधिक शिक्षक चाहिन्छ। एक वा दुई जनालाई पढाउन दिदा प्राविधिक शिक्षाको परिचय मात्र पढ्ने हो। झन् दुई वर्षे प्राविधिक धारमा पढ्ने विद्यार्थीले त प्राविधिकको सर्टिफिकेट मात्र हातमा लिने हुन। प्रयोगात्मक अभ्यास नभएर उनिहरु श्रम बजारमा अयोग्य ठहरिन्छन्। यसरी प्राविधिक बेरोजगार उत्पादन गर्नु सामाजिक अपराध हो।
भौचरमा आधारित छात्रवृत्ति प्रदान गर्दा विद्यार्थी आफैले आफु पढ्ने कलेज खोज्छ। पढ्ने विषय आफै रोज्छ। शुल्कको यकिन उसैले गर्छ। तर पढ्न पठाउने विद्यार्थीको छनोटचाहिँ पालिकाले गर्नुपर्छ। छनोट भएका विद्यार्थीले मात्र छात्रवृत्ति पाउँछन्। विद्यार्थीले कलेजमा बुझाएको शुल्कको रसिद पालिकामा बुझाउने हो। पालिकाले रसिद अनुसार भौचर खडा गरी विद्यार्थीको नाममा भुक्तानी दिने हो। पढ्न भौचरमा लिएको रकम पढाइपछि विद्यार्थीले पालिकामा काम गरेर फिर्ता गर्ने हो। यो पद्धति नै भौचरमा आधारित छात्रवृत्तिको आधार स्तम्भ हो।
यसको नाम 'भौचरमा आधारित प्राविधिक शिक्षा छात्रवृत्ति कार्यक्रम' राखिएको छ। विद्यार्थीले जती अवधिको पढाईका लागी भौचर लिएको हुन्छ। त्यति नै अवधि पालिकाले तोकेको तलब र पदमा बसी कामगर्नु गर्छ। र, तोकिएको प्रतिशतका आधारमा तलबबाट रकम कट्टा गरी सम्पूर्ण भौचर फिर्ता गर्नुपर्छ। यो छात्रवृत्तिको प्रचलन विकसित देशहरुमा धेरै वर्षअघिदेखि छ। तर हाम्रो देशमा नौलो हो।
भौचरमा आधारित प्राविधिक शिक्षा छात्रवृत्तिका सकारात्मक पक्षहरु
भौचरमा आधारित प्राविधिक शिक्षा छात्रवृत्ति प्राप्त गर्दा विद्यार्थीका अभिभावकले पढाई सुल्कको भार बोक्नु पर्दैन। विद्यार्थीले सुल्क बुझाउने तनाव बिना अध्यन पुरागर्छ। पालिका जनउत्तरदाई देखिन्छ।
आफ्नै पालिका भित्रका उपयुक्त विद्यार्थीलाई छनोट गरी दक्ष प्राविधिक बनाउने अवसर जन प्रतिनिधिलाई हुन्छ। जसले समाज परिवर्तनमा अतिनै महत्व राख्दछ।
सबै पालिकाहरुमा दलित, जनजाति, आदिवासी, लोपाेन्मुख, हलैया, कमैया, सीमान्तकृत, महिला र विपन्न वर्गका परिवारमा जन्मेका बच्चाहरुले समेत प्राविधिक शिक्षामा दक्षता हासिल गर्ने मौका प्राप्त गर्नेछन्। र, सानो तहबाट सरकारी सेवामा प्रबेसगरी राज्यको उच्च तहमा पुगेर निती निर्माण गर्न सक्ने हुन्छन्।
पालिकाले विद्यार्थीलाई अध्यन अवधीमा भुक्तानी गरेको भौचर रकम आफ्नै पालिकामा काम गरेर फिर्ता दिने अवसर पाउँछन्। स्थानीय नागरिकले दक्षजनशक्तिबाट सजिलै सेवा प्रप्त गर्छन्। यो छात्रवृत्ति बाट संविधानको भावना समेटिन्छ। त्यसैले यो नेपालका लागी अपरिहार्य छ।
यो छात्रवृत्ति दिँदा पालिका, विद्यार्थी र अभिभावकबीच लिखित सम्झौता गरी तिनै पक्षले प्रतिबद्धता जनाउनुपर्छ। सम्झौता उलंघन गर्दा क्षतिपूर्ति दिने व्यवस्था हुनुपर्दछ। साथै विद्यार्थीको रोजाइमा परेको कलेजसँग पालिकाले पढाइ अवधिमा बुझाउनु पर्ने रकमको फेरिस्ता माग्नुपर्छ।
त्यसकै आधारमा भौचरको रकम भुक्तानी गर्नुपर्छ।विद्यार्थीको नाममा जसरी वार्षिक रुपमा रकम भुतानी गरिन्छ। त्यसैगरी उसले तलब लिदा वार्षिक रुपमै तोकिएको अवधिभित्र सम्पूर्ण रकम फिर्ता हुनेगरी मासिक रुपमा कट्टा गर्नुपर्दछ।
प्राविधिक शिक्षा भौचरमा आधारित छात्रवृत्तिका उपलब्धिहरु
१. संविधानबमोजिमको शिक्षा सम्बन्धी मौलिक हकको कार्यान्वयन हुन्छ।
२. आफ्नो पालिकालाई आबस्यक पर्ने प्राविधिक जनशक्ती आफैले उत्पादन गर्न पाउने अवसर हुन्छ।
३. स्थानीय नागरिक बाट प्राप्त भएको राजस्व प्रत्यक्ष रुपमा स्थानीय नागरिकले उपयोग गर्न पाउँछन्।
४. पालिकाले गरेको लगानीको प्रतिफल पालिकाकै नागरिकले सहजै उपभोग गर्न पाउँछन्।
५. उत्पादित प्राविधिक जनशक्ति सजिलै रोजगार हुने, दक्षता हासिल गर्ने, नागरिकले सेवा पाउने र पालिकाको शैक्षिक सुधार।