के हो कोलेस्टेरोल ?
एकातिर कोलेस्टेरोल हाम्रो शरीरलाई नभई नहुने चिज हो, अर्काेतिर यसको मात्रा बढी भयो भने यसले शरीरमा विभिन्न नकारात्मक असर देखाउने गर्छ।१८ वर्षभन्दा माथि उमेर समूहमा गरिएको एक अध्ययनले एक चौथाइ जति नेपालीलाई कोलेस्टेरोल बढ्ने समस्या देखाएको थियो। पछिल्लो समय यसको संख्या झनै बढ्दो छ।
सामान्य भाषामा भन्दा कोलेस्टेरोल शरीरभित्र हुने चिल्लो पदार्थ हो। यो हाम्रो शरीरलाई आवश्यक पर्छ, दिमागको कार्यका लागि कोलेस्टेरोल आवश्यक हुन्छ। त्यसैले मानिसको दिमाग, नसा र लिभरहरूमा कोलेस्टेरोल रहेको हुन्छ। कोलेस्टेरोलबाट भिटामिन पनि बन्ने गरेको छ। एकातिर यो हाम्रो शरीरलाई नभई नहुने चिज हो, अर्काेतिर यसको मात्रा बढी भयो भने यसले शरीरमा विभिन्न नकारात्मक असर देखाउने गर्छ।
कोलेस्टेरोल राम्रो र नराम्रो गरी दुई किसिमका हुन्छन्। राम्रो कोलेस्टेरोलले हाम्रो शरीरमा फाइदा गरी मुटुका रोगलाई घटाउने, रक्त नलीमा जमेको बोसोलाई सफा गर्ने गर्छ, यस्तो कोलेस्टेरोललार्ई हाई डेन्सिटी लिपोप्रोटिन (एचडिएल) कोलेस्टेरोल भनिन्छ।
शरीरमा नराम्रो खालको कोलेस्टेरोल धेरै भयो भने रक्त नलीको भित्री भागमा जम्मा भएर रक्त नलीलाई साँघुरो बनाउँछ। जसकारण शरीरमा रगत राम्रोसँग सञ्चार हुन पाउँदैन र शरीरमा विभिन्न किसिमका समस्या देखापर्छन्।
कोलेस्टेरोल कसरी बढ्छ ?
हाम्रो शरीरमा नराम्रो कोलेस्टेरोल बढ्नुका कारण धेरै हुन्छन्। चिल्लो पदार्थ (जस्तै ः धेरै तताएको तेल, बोसो, रातो मासु र अन्डाको पहेँलो भाग लगायत) मा नराम्रो कोलेस्टेरोलको मात्रा बढी हुन्छ। त्यसकारण यस्ता वस्तुको बढी सेवनले शरीरमा कोलेस्टेरोल मात्रा बढ्न जान्छ।
अहिले कोलेस्टेरोलका बारेमा नयाँ धारणा पनि आएका छन्। नयाँ धारणामा पहिले कोलेस्टेरोललाई जति हानिकारक भनिन्थ्यो, आजको अवस्थामा त्यति हानिकारक छैन। हामीले खानेकुराले रगतमा खासै कोलेस्टेरोल बढाउँदैन। हाम्रो शरीरको भित्री प्रक्रिया बिग्रेर शरीरमा कोलेस्टेरोल बढ्ने हो भन्ने नयाँ अवधारणा रहेको छ।
पहिले घिउ खाँदा कोलेस्टेरोल बढाउँछ भन्ने थियो, तर अहिले ठिक्क मात्रा खायो भने यो फाइदाजनक छ, बेफाइदा पु¥याउँदैन। त्यस्तै दिनमा एउटा मात्र अन्डा खाँदा मुटुलाई हानि गर्दैन, फाइदा नै गर्छ भन्ने नयाँ अवधारणा छ।
अहिले ‘ट्रान्स फ्याट’ले बढी कोलेस्टेरोल बढाउने गरेको छ। ‘ट्रान्स फ्याट’ भनेको तेललाई तताउँदा हावामा भएको हाइड्रोजन तेलमा मिसिएर तेल बिग्रनु हो। यसलाई पार्सेली हाइड्रोजेनिक ओइल (पिएचओ) भनिन्छ, जुन शरीरका लागि हानिकारक हुन्छ। त्यस्तै, बजारमा पाइने वनस्पति घिउले पनि कोलेस्टेरोल बढाउने गरेको छ।चाउचाउ, बिस्कुट, केक, आइसक्रिमजस्ता बजारिया खाद्यपदार्थ वनस्पति घिउबाटै बनेका हुन्छन्।
लक्षण
विशेषतः मोटो मानिसमा कोलेस्टेरोल धेरै हुने गर्छ। शरीरमा अलिअलि कोलेस्टेरोल बढ्दा खासै लक्षण देखिँदैन, तर बढ्दै जाँदा कुन ठाउँमा गएर कति मात्रामा जम्छ, सोही आधारमा लक्षण देखापर्न थाल्छन्।
मुटुमा धेरै मात्रामा कोलेस्टेरोल जम्मा भयो भने छाती दुख्न सक्छ। यस्तै, किड्नीको नसामा जम्मा भयो भने किड्नीले राम्रोसँग काम नगर्ने, आँखाका नसाहरूमा जम्यो भने आँखाका नसा साँघुरो भएर दृष्टिमा असर पुग्ने हुन सक्छ। ब्रेनको नसामा जम्मा भयो भने टाउको दुख्नुका साथै स्ट्रोक (पक्षघात)को समस्या आउन सक्छ। शरीरमा कोलेस्टेरोल बढ्दा कतिपय मानिसको परेलाको माथि अथवा तल्लो
भागमा पहेँलो–पहेँलो दाग देखिन्छ, आँखाको नानीको वरिपरि सेतो–पहेँलो घेरा देखिन सक्छ। कोलेस्टेरोल बढ्दा मुटुको रोग र क्यान्सरजस्ता रोग पनि देखिएको छ।
रोकथाम
कोलेस्टेरोल रोकथामका लागि विशेषतः खानापानमा ध्यान दिन आवश्यक छ। चिल्लो र कोलेस्टेरोल बढी भएका खानेकुरा खानुहुँदैन। जस्तो : रातो मासु नखाने, अन्डाको पहेँलो भाग दिनमा एउटाभन्दा बढी नखाने, बजारिया फास्ट फुड खानु नखाने, वनस्पति घिउको प्रयोग भएका खाद्यपदार्थ नखाने।
सागपात, गेडागुडीको मात्रा बढाउनुपर्छ। शरीरमा कोलेस्टेरोलको मात्रा बढी छ भने मोटोपनलाई घटाउनुपर्छ। यसका लागि शारीरिक व्यायाम गर्न आवश्यक देखिन्छ। विशेषतः खानपान, व्यायाममा ध्यान दियौँ भने कोलेस्टेरोल बढ्नबाट जोगिन सकिन्छ। दैनिक ३० मिनेट जति हिँड्ने बानी बसाल्नुपर्छ। यदि शरीरमा कोलेस्टेरोल बढी हाल्यो भने घटाउने औषधि हुन्छ।
(काठमाडाैं प्रेसकर्मी शलिना कुँवरसँगकाे कुराकानीमा आधारित)