Kathmandu Press

‘अपांगता भएका व्यक्तिलाई कोटा त छ, जागिर दिनलाई अपांगमैत्री पूर्वाधार छैन’  

स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष श्रेष्ठ ह्विलचियरमा हिँडडुल गर्छन्। काठमाडौंका सडक र पूर्वाधार अपांगतामैत्री नहुँदा अनेक कष्ट भोग्नुपरेको उनको अनुभव छ।
‘अपांगता भएका व्यक्तिलाई कोटा त छ, जागिर दिनलाई अपांगमैत्री पूर्वाधार छैन’  

काभ्रे, साउन २७ : काभ्रेको पनौती नगरपालिकाकी मञ्जु पराजुलीको दायाँ हातको कुइनोभन्दा तलको भाग छैन। जन्मजात अपांगता रहेकी उनलाई सोही कारण छरछिमेकका मानिसले होँच्याउने डर हुन्थ्यो। त्यसैले बाल्यकालमा उनी बिनापछ्यौरी बाहिरफेर हिँडडुल गर्दिनथिन्। 

‘पहिले समाजले के भन्छ भन्ने डर लाग्थ्यो र सधैँ पछ्यौरीले हात छोपेर हिँड्थेँ,’ ३४ वर्षीया मञ्जु भन्छिन्, ‘अहिले आफूमा आत्मविश्वासको विकास गरेकी छु, आफ्नो अपांगतालाई स्विकारेकी छु।’ 

गत वर्षको माघमा उनले चितवनका जगतबहादुर खड्कासँग विवाह गरिन्। स्नातकोत्तर जगतले दुर्घटनाका कारण बायाँ हात गुमाएका छन्। अहिले यो जोडी जागिरको खोजीमा छ। 

Hardik ivf

यसअघि यो जोडीले विभिन्न संस्थामा काम गरिसकेको छ। पछिल्लो समय कोरोनाका कारणले जागिर गएपछि दुवैले पुनः जागिर पाउन सकेका छैनन्। ‘पहिले पढाउँथेँ। कोरोनाका कारण विद्यालय बन्द भए, पछि स्कुल खुलेपछि सोही ठाउँमा जागिर पाउन सकिनँ,’ जगत भन्छन्। 

काठमाडौंको मनमैँजुमा डेरा गरी बस्ने उनीहरू यतिबेला अपांगता भएका व्यक्तिको हकहितमा काम गर्ने विभिन्न संघसंस्था धाइरहेछन्। आइतबार बिहान यो जोडी जागिरकै खोजीमा ललितपुरस्थित ‘इन्डिपेन्डेन्ट लिभिङ सेन्टर (स्वावलम्बन जीवन पद्धति केन्द्र,ललितपुर)मा पुगेको थियो। यस केन्द्रले शारीरिक अपांगता भएका व्यक्तिलाई रोजगारीका लागि पहल गरिदिने, सचेतनात्मक तालिम दिने लगायत काम गर्दै आएको छ।

केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ भन्छन्, ‘अपांगता भएका धेरैजसो व्यक्ति घरबाहिर निस्किनै मान्दैनन्, निस्किएकालाई जागिर पाउन गाह्रो छ। अपांगता भएका व्यक्तिलाई समाजले हेर्ने दृष्टिकोणमा परिवर्तन आइसकेको छैन। अपांगतालाई समाजले अझै पनि पापको भागिदार भएको सम्झन्छ।’उनका अनुसार, अपांगता भएका व्यक्तिले समाज र परिवारबाट दुर्व्यवहार  सहनुपर्छ, मानवहीन भएको पटक–पटक महसुस गर्नुपर्छ। 

देशभर कति संख्यामा अपांगता भएका व्यक्ति छन् भन्ने यकिन तथ्यांक राष्ट्रिय अपांग महासंघसँग छैन। महासंघका अध्यक्ष मित्रलाल शर्माका अनुसार, विभिन्न समस्या लिएर दैनिक एक वा दुईजना अपांगता भएका व्यक्ति महासंघको कार्यालय आएकै हुन्छन्। ‘अपांगता भएका व्यक्तिका लागि सरकारले आवश्यक सेवासुविधा दिन सकेको छैन। नीति–नियम त बनेका छन् तर कार्यान्वयन हुन सकेको छैन,’ उनले भने।

अपांगतामैत्री छैनन् सडक र पूर्वाधार

स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष श्रेष्ठ ह्विलचियरमा हिँडडुल गर्छन्। काठमाडौंका सडक र पूर्वाधार अपांगतामैत्री नहुँदा अनेक कष्ट भोग्नुपरेको उनको अनुभव छ। ‘देशैभरि अपांगतामैत्री सवारीसाधन, फुटपाथ र शौचालय छैनन्,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘हामीलाई हिँडडुल गर्न कठिन छ।’ 

अपांगता भएका व्यक्तिलाई सरकारले जागिरका लागि कोटा छुट्ट्याए पनि सो अनुरुपको पूर्वाधार नभएको उनी बताउँछन्। ‘ह्विलचियर कहाँ गुडाउने ? सडकमा दुर्घटनाको खतरा हुन्छ। फुटपाथ कतै साँगुरा छन्, कतै बीच–बीचमा रुख त कतै बिजुलीका पोल छन्,’ उनी भन्छन्। अपांगतामैत्री पूर्वाधारमा सरकारले जोड दिनुपर्ने उनको माग छ। 

पूर्वाधार नहुँदा अपांगता भएका व्यक्तिलाई सरकारले जागिर दिनै समस्या भएको उनको बुझाइ छ। ‘हामीलाई जागिर दिएपछि अपांगतामैत्री पूर्वाधार चाहियो। ह्विलचियर दिनुप¥यो। जहाँ पायो त्यहाँ सरुवा गर्न मिलेन। सडकदेखि कार्यालयको संरचना, सार्वजनिक शौचालय आदि अपांगमैत्री हुनुपर्छ,’ उनी भन्छन्, ‘यत्रो झन्झटले गर्दा अपांगता भएका व्यक्तिलाई जागिरबाटै वञ्चित गराइएको पाइन्छ। अन्तर्वार्तामै फालिन्छ। अपांगता भएका व्यक्तिलाई पाँच प्रतिशत कोटा छुट्ट्याइएको छ तर सोअनुरूप पदपूर्ति गरिँदैन।’ 

स्वावलम्बन जीवन पद्धति केन्द्रका अध्यक्ष भाेजराज श्रेष्ठ

अपांगता भएका व्यक्ति सबैले सबै काम गर्न नसके पनि सक्ने जतिलाई अपांगताको प्रकृति र बौद्धिक क्षमता हेरी रोजगारी दिनुपर्ने उनी बताउँछन्। उनका अनुसार, अपांगताका १० प्रकार छन् तर ०६३ सालदेखि अपांगता भएका व्यक्तिलाई चार प्रकार (रातो, नीलो, पहेँलो र सेतो)का परिचयपत्र वितरण गरिएको छ। रातो कार्डले पूर्ण अशक्त, नीलोले अति अशक्त, पहेँलोले मध्यम अशक्त र सेतोले सामान्य अशक्तलाई बुझाउँछ। ‘सामान्य र मध्यम अशक्तले काम गर्न सक्छन्। पूर्ण र अति अशक्त अरुको सहारामा जिउनुपर्छ,’ अध्यक्ष श्रेष्ठ भन्छन्।

‘ह्विलचियर बनाउने ठाउँ समेत छैन’

केन्द्रका अध्यक्ष श्रेष्ठका अनुसार, नेपालमा अपांगता भएका व्यक्तिका लागि ह्विलचियर छानेर किन्ने बजार समेत छैन। सरकारी तथा गैरसरकारी संस्थाले कहिलेकाहीँ वितरण गर्ने सर्जिकल ह्विलचियर सडकमा गुडाउन नमिल्ने खालको कमजोर हुने उनी बताउँछन्। ‘बजारमा पाइने सर्जिकल ह्विलचियर सडकमा गुडाउने हो भने दश दिन पनि टिक्दैन,’ उनले भने, ‘अपांगता भएका व्यक्तिलाई अटोमेटिक ह्विलचियर दिनुपर्छ, त्यस्तो ह्विलचियर माग गरेपछि विदेशबाट व्यपारीले ल्याइदिन्छन्।’

उनका अनुसार, सडकमा गुडाउन मिल्ने एउटा ह्विलचियरलाई एक लाखदेखि १० लाख रुपैयाँसम्म पर्छ। प्रायः अपांगता भएका व्यक्ति आफैंले ह्विलचियर चलाउन सक्दैनन्, त्यसैले कुनै बटन क्लिक गरेपछि आफैँ खालको ह्विलचियर हुनुपर्छ। 

याे पनि ः

४० वर्षको उमेरमा आएर राजु लठ्ठीको सहाराले उभिन सक्ने भए

‘एक्लै हिड्न सकिँदैन, अरुले छुनै डराउँछन्’

‘ह्विलचियरको मान्छे अकासेपुलबाट कसरी जाने ?’

प्रकाशित मिति: १५:२५ बजे, शुक्रबार, साउन २७, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्