४० वर्षको उमेरमा आएर राजु लठ्ठीको सहाराले उभिन सक्ने भए
कैलालीको धनगढी उपमहानगरपालिका, फूलबारीका राजु शर्माले जीवनका ४० वर्ष हातखुट्टाको सहारामा घिस्रिएर बिताए ।काठमाडाैं, साउन २२ : जीवनका ४० वर्ष हातखुट्टाको सहारामा घिस्रिएर बिताए, कैलालीको धनगढी उपमहानगरपालिका, फूलबारीका राजु शर्माले। जन्मँदा उनी सामान्य नै थिए। आमाबाबुलाई विश्वास थियो– छोरो उमेरसँगै उभिएर हिँड्नेछ। तर दुई वर्षको हुँदासम्म राजु उभिन समेत सकेनन्।
त्यसपछि उनलाई परिवारले विभिन्न सरकारी तथा निजी अस्पताल पु¥यायो। तैपनि उनको अवस्थामा सुधार आएन। ‘उति साह्रो पैसा थिएन। देश–विदेशका ठुल्ठूला अस्पताल लैजान त सकिएन,’ राजुकी आमा लक्ष्मी भन्छिन्, ‘वरपर लगेर डाक्टरलाई देखाएका हौँ। निको हुने छाँटै देखिएन। भगवानले हामीलाई यस्तै सन्तान दिए भनी चित्त बुझाएरै हेरचाह ग¥यौँ।’
अहिले ४० वर्षको उमेरमा राजु लठ्ठीको सहारामा उभिन सक्ने भएका छन्। यति मात्रै होइन, यतिखेर राजुले दुई–चार पैसा कमाउँछन्।
थेरापी र परामर्श
अपांगता भएका व्यक्तिको हकहितमा काम गर्ने संस्था ‘स्वावलम्बन जीवन पद्धति केन्द्र’ले गत वर्ष राजुको अवस्थाको बारेमा थाहा पायो। र, गएको चैतमा केन्द्रका पदाधिकारी राजुलाई भेट्न घरमै पुगे। राजुको अवस्था नियालेपछि उनीहरूलाई लाग्यो– केही मात्रामा भए पनि राजुको अवस्थामा सुधार ल्याउन सकिन्छ कि ! त्यसपछि उनीहरूले राजुलाई काठमाडौं लिएर आए।
‘हामी लिन जाँदा पनि राजु घुँडा टेकेरै हिँडिरहेका थिए। उनको इच्छा अनुसारै हामीले उनलाई काठमाडौं ल्याएका थियौँ,’ केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ भन्छन्, ‘काठमाडौं ल्याएर अपांगता भएका व्यक्तिले नै उनलाई परामर्श दिए। फिजियोथेरापी गराइयो। १० दिनसम्म विभिन्न तालिम, थेरापीसँगै परामर्श दिएर उनलाई अपांगता बोझ नभई वरदान भएको कुरा विश्वास दिलायौँ। फिजियोथेरापीले उनी लठ्ठी टेकेर उभिन सक्ने भएका हुन्। घरमा पनि थेरापी र व्यायाम गर्न भनेका छौँ।’
त्यसपछि केन्द्रले राजुलाई उनकै घर पठायो। यही वर्षको वैशाखदेखि उनले घरमै खुद्रा पसल सञ्चालन गरेका छन्। यो जोहो उनलाई केन्द्रले नै गरिदिएको हो।
छोरो लठ्ठीको सहारामा उभिएर पसल चलाएको देख्दा आमाबुवा दंग छन्। ‘अहिले उसले दैनिकी तीन–चार सय रुपैयाँको व्यापार गर्छ। पसलमा चाउचाउ, बिस्कुट जस्ता सामान सकियो भने हामीले ल्याइदिन्छौँ,’ राजुकी आमा लक्ष्मीले टेलिफोनमार्फत भनिन्, ‘यही पनि हामीलाई धेरै भएको छ। आशा छ, छोराले अब आफ्नो सम्पूर्ण हेरचाह आफैँ गर्न सक्ने हुनेछ।’
घुँडाको सहारामा घरको चौघेरामा यताउता गर्ने राजुले अचेल घरको आँगनमै व्यापार गर्छन्। जीवनमा केही गर्ने आत्मविश्वास छोरामा बढेको आमा लक्ष्मी बताउँछिन्।
९५० व्यक्तिलाई परामर्श तथा तालिम
केन्द्रले पछिल्लो तीन वर्षमा नौ सय ५० अपांगता भएका व्यक्तिलाई परामर्श दिएको छ। अपांगता भएका व्यक्तिका शारीरिक र मानसिक अवस्था हेरेर तालिम तथा परामर्श दिने गरेको केन्द्रका अध्यक्ष श्रेष्ठ बताउँछन्। ‘केन्द्रले अपांगता भएका व्यक्तिको इच्छालाई प्राथमिकतामा राखेर काम गरिरहेको छ,’ उनले भने।
उनका अनुसार, केन्द्रले अहिलेसम्म एक सय ७० अपांगतालाई फिजियोथेरापी, ६२ जनालाई उनीहरूको इच्छा अनुसारको भ्रमण, ५० जनालाई सीप तथा उद्यम, नौजनालाई स्पेसल सपोर्ट सामग्री, एक सय ८५ जनालाई सहायक सामग्री वितरण गरेको छ। यीबाहेक अन्य व्यक्तिलाई दौँतरी परामर्श तथा अन्य सेवा–सुविधा दिइएको छ।
दौँतरी परामर्श भनेको अर्को उस्तै व्यक्तिले आफ्नो अनुभवसहित प्रेरित गर्नु हो। जीवनमा आफ्नो क्षमता बमोजिम अगाडि बढ्ने अवसर पाएको एक अपांगता भएको व्यक्तिले अर्को अपांगता भएको व्यक्तिलाई परामर्श दिँदा लाभदायी भएको केन्द्रका अध्यक्ष श्रेष्ठ बताउँछन्। अधिकांश अपांगता भएका व्यक्ति घरबाट निस्कनै पाएका हुँदैनन्। उनीहरूलाई बाहिरी संसार, सम्भावना र आफ्नो हकअधिकारका बारेमा थाहा हुँदैन। ‘सबैभन्दा पहिले त अपांगता भएका व्यक्तिलाई परामर्श आवश्यक हुन्छ। त्यसपछि उनीहरूले गर्न सक्ने किसिमको सीप, तालिम दिइनुपर्छ,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘त्यसैले अपांगता भएका व्यक्तिलाई सरकारले रोजगारी, स्वरोजगारीको व्यवस्था गरिदिनुपर्छ।’
अहिले सरकारले पूर्ण अशक्तलाई तीन हजार नौ सय ९० रुपैयाँ र अति अशक्तलाई दुई हजार एक सय २८ रुपैयाँ मासिक भत्ता दिइरहेको छ। योसँगै सरकारले अपांगता भएका व्यक्तिका इच्छा चाहना बुझेर काम गर्नुपर्ने अध्यक्ष श्रेष्ठ बताउँछन्।
याे पनि
‘एक्लै हिड्न सकिँदैन, अरुले छुनै डराउँछन्’
‘ह्विलचियरको मान्छे अकासेपुलबाट कसरी जाने ?’