Kathmandu Press

‘ह्विलचियरको मान्छे अकासेपुलबाट कसरी जाने ?’

देशकै राजधानीका भौतिक संरचना दृष्टिविहीन र अपांगमैत्री छैनन्।
‘ह्विलचियरको मान्छे अकासेपुलबाट कसरी जाने ?’

काठमाडौं, चैत १५ : स्वावलम्बन जीवन प्रद्धति केन्द्रका अध्यक्ष भोजराज श्रेष्ठ केही दिनअघि आफ्नो ह्विलचियरमा नयाँबानेश्वर पुगेका थिए । त्यहाँ जेब्रा क्रसिङबाट जान नपाइने भनेर डोरी बाँधिरहेको रहेछ । ‘सशक्तलाई अकासेपुलबाट जान भनिएको थियो, ह्विलचियरमा हिँड्ने हामी कसरी जाने ?’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘ह्विलचियर भएका कसरी हिँड्छन् भन्ने सोच्दै सोचिँदैन ।’

देशकै राजधानी सहरमा अपांग, बालबालिका र दृष्टिविहीनमैत्री बसपार्क, फुटपाथ लगायत भौतिक संरचना बन्न नसकेकामा उनी गुनासो गर्छन् । ‘अहिले जति पनि संरचना बनेका छन्, ती सबै सशक्त युवा वर्ग लक्षित छन्,’ उनी भन्छन्, ‘युवाका लागि बनेका संरचना बालबालिका अपांग, ज्येष्ठ नागरिक, दृष्टिविहीन, गर्भवती महिला, बिरामीका लागि सहज हुँदैन ।’

तस्बिर : सुजल बज्राचार्य

Hardik ivf

फुटपाथमा ह्विलचियर गुडाउँदै जाँदा कतै साँगुरो हुने, कतै बिजुलीका पोल, रुख, सवारीसाधनको पार्किङ त कतै फोहोरको थुप्रोले अवरोध पु¥याएको उनी बताउँछन् । ‘अपांगमैत्री फुटपाथ कहीँ छैन, भएका अलि–अलि फराकिला फुटपाथमा पनि वृक्षरोपण र सवारी पार्किङले भरिन्छन्,’ अध्यक्ष श्रेष्ठ भन्छन्, ‘ह्विलचियर सडकमा गुडाउँ भने ज्यान जाने डर छ ।’

अर्कोतिर विभिन्न कार्यका लागि सडक भत्काइँदा ह्विलचेयर गुडाउन समस्या भएको, सडकमा जोखिम मोलेर हिँड्नुपरेको र धेरै घुम्नुपरेको उनको गुनासो छ ।

दृष्टिविहीनका पीडा

एक साताअघि लाजिम्पाटस्थित होटल हिमालयअगाडि ३२ वर्षीय सुनित लामा उभिइरहेका थिए । दृष्टिविहीन उनलाई भृकुटीमण्डपसम्म पुग्नु रहेछ । तर, उनी गाडी आउनेभन्दा विपरीत दिशामा थिए । साँगुरो फुटपाथ त्यसमाथि टेकटायल नभएकाले उनलाई उभिन पनि समस्या भएको थियो, ओहोरदोहोर गर्नेहरुले उनलाई नछोई हिँड्न मिल्दैनथ्यो । उनले यात्रुलाई सोध्दै थिए, ‘रत्नपार्क जाने बस यहीँबाट आउँछ नि होइन ?’ 

कतिले उनको बोली सुनेनन्, सुन्नेले पनि के ठानेर वास्ता गरेनन् । हामीले उनलाई सडक काट्न सघायौँ, सडक काट्दै गर्दा उनले भने, ‘बिहान हिँडेको फुटपाथमा बेलुका खाल्डो परिसकेको हुन्छ । केही सडकमा टेकटायल राखिएका छन्, ती पनि पूर्ण छैनन्, बीच बीचमा खालि छन्, कुनै पोलमा ठोकिन्छन् ।’

जोरपाटी बस्ने उनले कुपोन्डोलको एक रेस्टुरेन्टमा काम गर्न थालेको तीन महिना  भयो । रेस्टुरेन्ट आउन–जान उनी सार्वजनिक यातायात प्रयोग गर्छन् । उनले भक्तपुरको सानो थिमीबाट स्नातक गरेका छन् । जागिर पाएसँगै उनी खुसी छन्, तर काठमाडौंका भौतिक पूर्वाधार दृष्टिविहीनमैत्री नभएकामा उनले दुःख व्यक्त गरे । 

‘टेकटायलको भर छैन’

कीर्तिपुर बस्ने नेपाल नेत्रहीन संघ, वागमती प्रदेशका अध्यक्ष भोजराज पाण्डेलाई मिटिङ, भेटघाटमा हिँडडुल गरिरहनुपर्छ । बुधबार (चैत ८ मा) उनी कीर्तिपुरदेखि रत्नपार्कसम्म बसमा आए । ‘यहाँ यति भीडभाड हुन्छ कि गाडीबाट ओर्लेदेखि हामीलाई समस्या हुन्छ,’ उनले भने, ‘सुन्धारा–रत्नपार्कतिरको फुटपाथ सधैँ अस्तव्यस्त र दृष्टिविहीनका लागि जोखिम बन्दै गएको छ ।’ 

भीडभाड क्षेत्रमा जानुपर्दा प्रायः आफूले घरपरिवारबाटै सहयोगी लैजाने गरेको उनले बताए । आँखा देख्नेहरूले आफूहरुलाई बाटो नछोडिदिएको, हिँड्नका लागि नसघाएको उनको गुनासो छ ।

पछिल्लो समय काठमाडौं उपत्यकामा भौतिक पूर्वाधार निर्माणका कारण सडक तथा फुटपाथ भत्काउने र बनाउने प्रक्रिया चलिरहेको छ, यसले दृष्टिविहीनहरुलाई यात्रामा असहज भएको उनी बताउँछन् । 

‘फुटपाथमा टेकटायल दृष्टिविहीनका लागि राखिएको हो,’ अध्यक्ष पाण्डे भन्छन्, ‘तर टेकटायल कतै बिजुलीको पोल त कतै पुलमा गएर ठोकिन्छ । हिँड्दा खाल्डोमा पर्ने र पोलमा ठोक्किने डर हुन्छ । टेकटायलको भरमा हिँड्न सक्ने अवस्था छैन ।’फुटपाथको ढल, फुटपाथ पसल, टेकटायलको बीचैमा पर्ने पोल आदिले दृष्टिविहीनलाई हिँड्न समस्या हुने गरेको उनी बताउँछन् । ‘त्यसमाथि भएको टेकटायलको बीचमा यात्रु उभिइदिन्छन् र दृष्टिविहीनलाई उताबाट जानु भन्दै आग्रह गर्छन्,’ उनले भने, ‘दृष्टि भएकाहरुले दृष्टिविहीनका समस्या नबुझेजस्तो गर्छन् ।’ यसमा सचेतना आवश्यक रहेको उनको भनाइ छ । 

फुटपाथ पसल उठाएर महानगरको आम्दानी 

काठमाडौं महानगरपालिकाका प्रवक्ता ईश्वरमान डंगोल कतिपय ठाउँमा सडक साँगुरा  भएकाले फुटपाथ बनाउन समस्या भएको बताउँछन् । उनी भन्छन्, ‘६ मिटरभन्दा साँघुरा सडकमा फुटपाथ बनाइँदैन । भएका फुटपाथका अवरोध हटाउन महानगरले प्रयास गरिरहेकै छ ।’ 

फुटपाथमा प्रमुख समस्या हो, फुटपाथ पसल । ०७५ मै महानगरले फुटपाथमा व्यवसाय गर्न नदिने घोषणा गरेको थियो । तर, कार्यान्वयन गर्न कठिन भएको प्रवक्ता डंगोल बताउँछन् । 

अहिले महानगरले फुटपाथ पसललाई उठाएर लिलामी गर्ने गर्छ । महानगर प्रहरीको गाडी देख्नासाथ फुटपाथका व्यापारी सामान बोकेर भागदौड गर्छन् । व्यापारीको यस्तो दृश्य सुन्धारा आसपासका फुटपाथमा दैनिकजसो देख्न पाइन्छ । पछिल्लो केही दशकदेखि यो रमिता महानगरमा निरन्तर चलिरहेको छ।

‘हामी फुटपाथ व्यापारीलाई हटाउँछौँ । तर, व्यापारी पुनः आएर बस्छन्,’ प्रवक्ता डंगोल भन्छन्, ‘फुटपाथमा जफत गरिएको सामग्री फिर्ता दिने गरिएको छैन, तर व्यापारी बस्न छाड्दैनन् ।’ फुटपाथमा बसेका व्यापारीका सामग्री जफत गरेर लिलामी गर्दा वार्षिक ४०-५० लाख रुपैयाँ आम्दानी गरिरहेको प्रवक्ता डंगोलको भनाइ छ । 

‘२०७७ जेठ २८ गते काठमाडौं महानगरपालिकाभित्रका फुटपाथ पसल हटाउन युवाको एउटा समूह गठन भएको थियो,’ प्रवक्ता डंगोलले भने, ‘समूह परिचालन गर्दा समेत व्यवसायी आक्रोशमा आउने, झडप गर्ने भएपछि महानगरले भेट्दा व्यापारीको समान जफत गर्न थालेका हौँ ।’ 
 

प्रकाशित मिति: ११:१३ बजे, मंगलबार, चैत १५, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्