नेवार समुदायको पहिलो चाड गथांमुगःका अनेक कथा, कार्य र विश्वास
गथांमुगःमा घन्टा झुन्ड्याउनेबारे विभिन्न लोकोक्ति सुन्न पाइन्छ । त्यतिबेला एकजना मानिस थिए, जो देवताको नाम सुन्न चाहँदैनथे । देउताको नाम सुन्नुपर्ला भनेर उनी कानमा ठुल्ठूला घन्टा झुन्ड्याएर हिँड्ने गर्थे ।नेवार जातिले खेतीपातीको काम सकिनेबित्तिकै अझ भनौ रोपाइँपछि मनाउने पहिलो चाड गठांमुगल (गथांमुगः) हो । यो श्रावणकृष्ण चतुर्दशी/दिलागाः १४ का दिन पर्छ ।
यसपछि अरू चाडबाड लहरै आउँछन् । त्यसैले यो पर्वलाई नेवारहरूको पहिलो चाड पनि भनिन्छ । कोही कोही यसलाई ‘छोरा पर्व (काय्मचा नखः)’ पनि भन्ने गर्छन् । इतिहासकार शंकरमान राजवंशीको भनाई अनुसार मानिस मर्दा अन्तिम संस्कारकै क्रममा छ्वास (टोलको दोबाटो) मा मरेका व्यक्तिको लुगाफाटो फाल्नुपर्छ । त्यही स्थानलाई गणस्थान मूलगढ भनिन्छ । यही ‘मूलगढ’ शब्दका केही अक्षरहरू यताउति गरी ‘गथांमुगः’ बन्न गएको हो । गथांमुगःलाई तीनवटा शक्तिहरू सत्व, रज, तममाथि तीन खुट्टा राखी उभ्याइने त्रिपद संवर भैरव पनि भनिन्छ ।
गठांमुगल कहिलेदेखि मनाउन थालियो भन्ने स्पष्ट नभए पनि गोपालराज वंशावलीमा गठांमुगलको सन्दर्भ उल्लेख गरिएको पाइन्छ । मनवज्र वज्राचार्यको २०२५ मा प्रकाशित पुस्तक ‘हाम्रो चाडपर्वहरुको विवेचना’बाट जयस्थिति मल्लको राज्यकालभन्दा अघि नै यो पर्व मनाउन थालिसकेको थाहा हुन्छ तर लिच्छविकालमा यसको चलन नभएको पनि धनवज्र वज्राचार्य र कमलप्रकाश मल्लद्वारा सम्पादित गोपालराज वंशावलीबाट प्रस्ट हुन्छ । गथांमुगःलाई घन्टाकर्ण पनि भन्ने गरिन्छ ।
गथांमुगःमा घन्टा झुन्ड्याउनेबारे विभिन्न लोकोक्ति सुन्न पाइन्छ । त्यतिबेला एकजना मानिस थिए, जो देवताको नाम सुन्न चाहँदैनथे । देउताको नाम सुन्नुपर्ला भनेर उनी कानमा ठुल्ठूला घन्टा झुन्ड्याएर हिँड्ने गर्थे । उनी गरिबहरूप्रति भने अत्यन्त सहानुभूति राख्ने गर्दथे । एकदिन त्यो व्यक्तिको मृत्यु भएछ । मृत्युपछि टोलमा पैसा उठाएर उनको सद्गति गरिएछ । त्यसैले गठांमुगलमा पैसा उठाउने चलन चलेको हो भनिन्छ ।
अर्काे कथन छ, उहिले एकजना यस्ता मान्छे थिए, जो सुनचाँदी भन्दा फलामको गहनामा विश्वास राख्थे । उनी ठूला विद्वान भए पनि जातमा भने साना थिए । एकजना धनी व्यक्तिकी छोरीसँग उनको प्रेम रहेछ । यो कुरा थाहा पाएर ती धनीले आफ्नी छोरी सानो जातको मान्छेसँग पोइल गएमा आफ्नो बेइज्जत होला भन्ने डरले तिनलाई जिउँदै जलाइदिएछन् ।
पछि टोलवासीले वास्तविकता थाहा पाएर सम्मानपूर्वक उनको अन्त्येष्टि गरेछन् । त्यस्तै अर्काे भनाइ पनि छ, उपत्यकामा गठांमुगल भन्ने एउटा राक्षसले साह्रै दुःख दिने गरेको रहेछ । एक दिन त्यसलाई मार्न एक तान्त्रिक भ्यागुताको रूप लिई राक्षस आउने बाटोमा ढुकेर बसिरहे । राक्षस आउनेबित्तिकै भ्यागुताले राक्षसलाई जिस्क्याउन थाल्यो । रिसले चुर भएको राक्षसले भ्यागुतालाई मार्न खोज्यो । तर भ्यागुतो उफ्रेर भाग्यो । राक्षसले पनि लखेट्न थाल्यो ।
भाग्दै गरेको भ्यागुतो एउटा पानी जमेको दलदलभित्र लुक्न पुग्यो । राक्षस पनि दलदलमै पस्यो । भ्यागुतो दलदलबाट निस्क्यो, राक्षस त्यहीँ फसेर म¥यो । पछि टोलमा जगात उठाएर एउटा पोडेको हातबाट उक्त राक्षसको अन्त्येष्टि गराइयो । त्यसैले गठांमुगलको अन्त्येष्टि समाजको सबैभन्दा तल्लो जातलाई गर्न लगाउने चलन चलेको हो भनिन्छ । यसरी गठांमुगलबारे प्रचलित सबै लोकोक्तिमा गठांमुगलसँग सम्बन्धित विभिन्न प्रसंंगहरू जोडिएको पाइन्छ । तिनमा गठांमुगलबारे कुनै न कुनै कुरा लुकेर बसेको देखिन्छ ।
गठांमुगलबारे विभिन्न धारणा
गठांमुगललाई त्रिपदसंवर भैरव पनि भनिन्छ, किनभने गठांमुगललाई नर्कटको तीनखुट्टा बनाई ठड्याइन्छ । तीन खुट्टामा उभ्याउनु भनेको त्रिपद संवर भैरवको प्रतीक हो । यो भैरवलाई त्रिशक्ति (सत्व, रज र तम) माथि तीन पाइला राखी उभ्याइन्छ । गठांमुगल शिव शक्तिको प्रतीक अर्थात अर्धनारीश्वर हुन् । त्यसैले गठांमुगल ठड्याउँदा कतैकतै एकातिर नारीलिंग र अर्काेतिर पुरुष लिंग लेखेर टाँस्ने गरिन्छ ।
गठांमुगललाई सृष्टिको प्रतीकका रूपमा पनि लिने गरिन्छ । कुनै गठांमुगल भैरव भए कुनैलाई अजिमा मान्ने गरिन्छ । क्षेत्रपालमा ठड्याइने गठांमुगललाई भैरव र छ्वासमा ठड्याइने गठांमुगललाई अजिमा मानिन्छ । त्यस्तै गठांमुगलमा भैरव वा अजिमा अथवा राक्षस वा राक्षसनीको मुखौटो राखेर तलतिर लिंग लेख्ने वा बनाउने चलन पनि छ ।
गुफा राखिसकेका केटीहरूलाई पुरुष गठांमुगल ढोगाउने चलन छ । गुफा राख्नु भनेकै यौनसम्बन्धी ज्ञान दिने संस्कार हो । गुफा संस्कारपछि उन्मत्त भैरव वा पुरुष गठांमुगलमा ढोग्न लाउनु भनेको नारीलाई सृष्टिक्रियाबारे परोक्ष रूपमा परिचित गराउनु पनि हो । त्यस्तै गठांमुगललाई भूत मान्ने चलन पनि छ । यिनलाई हिन्दूहरू शिवपार्वतीका रूपमा लिन्छन् भने बौद्धमार्गीहरू भैरव वा अजिमाको रूपमा मान्छन् । विधि फरक भए पनि गठांमुगललाई पुरुष र स्त्री दुवै रूपमा लिने चलन भने व्यापक छ ।
कसै कसैको विचारमा गठांमुगल र घन्टाकर्ण एउटै होइन भन्ने पनि छ । उनीहरूका अनुसार घन्टाकर्ण एक कट्टर शिवभक्त हुन् । भगवान शिवबाहेक अरूको नामै सुन्न नपरोस् भनी उनले कानमा घन्टा झुन्ड्याएका हुन् । काशी क्षेत्रमा घन्टाकर्णको पोखरी छ । त्यहाँ शिवलिंग धारण गरेका घन्टाकर्णको मूर्ति पनि रहेको छ । उक्त पोखरीको नामै ‘घन्टाकर्ण पोखरी’ हो । यो ठाउँमा घन्टाकर्णको मूर्ति स्थापना गरी काशीका जनताले उनलाई दानवको रूपमा होइन, ईश्वरको रूपमा मान्ने गरेका छन् । त्यसैले गठांमुगल र घन्टाकर्ण एउटै हो भन्न नरुचाउनेहरू पनि छन्, (श्रेष्ठ ः सन्ध्या टाइम्स, दिल्लागाः १३, १११७) ।
गठांमुगल : रोपाइँ सुध्याउने कार्य
गठामुंगः चतुर्दशीलाई कृषिकर्म सुध्याउने दिन पनि भनिन्छ । गठांमुगः अघि वैशाख संक्रान्तिका दिन दोबाटोहरूबाट भूत तानेर घरघरमा भित्र्याउने गरिन्छ । यो भनेको खेतीपाती बलियोसँग सम्पन्न गर्न सकियोस् भनेर हो । उक्त दिन खेतबाट फर्केर जो घर पस्छ उनीसँगै भूत पनि पस्ने भएकाले गठांमुगलको दिन कृषिकर्म सुध्याउने चलन छ । कृषिकर्म सुध्याउनु भनेको घरमा बढारकुढार गर्नु, घर लिप्नु र घरमा रहेका लुगाकपडा धुनु हो । रोपाइँ अलि पहिले नै सकिए गथांमुगल अघि नै कृषिकार्य सुध्याउने कार्य गरे पनि हुन्छ । सुध्याउनु भनेको रोपाइँ सकिनेबित्तिकै पूरा घर चोख्याई आफ्नो शरीर शुद्ध पार्नु हो । गठांमुगः भन्दा अघि नै सुध्याउनेहरूले रोपाइँमा आफूलाई सहयोग गर्नेहरू सबैलाई बोलाई धन्यवादसहित तुच्चा (चियापान) र खाना खुवाउने चलन छ ।
केही गरी गथांमुगःसम्म पनि रोपाइँ सकिएन भने गथांमुगःकै दिन पनि कृषिकर्म सुध्याउने कार्य गरिँदैन । सुध्याइसकेका मानिसहरूले सुध्याउन बाँकी रहेका मानिसलाई छुने पनि गर्दैनन् । साथै तिनीहरूको घरमा पनि पस्दैनन् । किनभने सुध्याई कार्य बाँकी रहेको घरमा जाँदा त्यहाँ बसेका भूत पुनः आफूसँगै घर फर्कन सक्छ भन्ने विश्वास गरिन्छ ।
घरघरमा गठांमुगःको पूजा
नेवार समाजमा गठांमुगःको छुट्टै स्थान छ । यो पर्व विशेष गरी चोखोनितो भएर मनाइने भए पनि उक्त दिन घरघरमा मासु, रगतमासी, छाला, हाड, आन्द्राभुँडी आदि थरीथरीका काँचो मासु, जाँड, लसुन, छ्यापी बौस्वां इत्यादी च्वकाबजि (च्यूरा) मा बौ राखी पन्छाउने चलन छ । बौ राख्दा त्यसमा रक्सी तथा जाँडको कः (जाँड निकालिसकेपछिको चोकर) पनि राख्ने चलन छ । यसरी बलि भाग पन्छाउन लाँदा कसैले बिहानै पूजा गरेर त्यसलाई गठांमुगः भएको ठाउँमा राख्ने गर्छन् भने कसैले दोबाटो वा पीठमा पन्छाउने गर्छन् । त्यसरी चढाइने बलिभागमा रक्सी वा जाँड तर्पण गरी पूजा गर्ने चलन पनि छ ।
बलि पन्छाउने एउटै भए पनि भिन्नभिन्न तरिकाले पूजा गरेको देखिन्छ । तान्त्रिक पूजा गर्नेहरूले सिन्हः पूजा वा कलश पूजा गरी त्यसमा प्रसाद समेत चढाउने गर्दछन् । यसरी बलि दिँदा बलि पन्छाउन गएका मानिस घर फर्केपछि घरको ढोकापिच्छे पूजा गरी भूतप्रेत भित्र पस्न नसक्ने मन्त्र लेखिएको महाजन्त्र ढोका माथि टाँसेर चौकोसमा तीन काँडे स्वकिं वा फलाम ठोकेर पूजा गरिन्छ । योसँगै विभिन्न किसिमका धूपहरू, सस्र्यू, रायो, बेसार आदि राखेर बाल्ने गरिन्छ ।
यसको धुँवाले लामखुट्टे लगायत विषालु किरा फट्यांग्राहरू निर्मूल हुन्छ भन्ने मान्यता रहेको छ । यसरी पूजा गरिसकेपछि बाहिरैदेखि पूजा गर्दै ढोका पनि बन्द गर्दै आउने गरिन्छ । कोही कोही यसरी ढोका थुनेर आइसकेपछि पुरूसं बसेर पूजा गर्नेहरू पनि छन् । कसै कसैको भने बलि मन्छाउनु अघि नै पूजा गर्ने चलन पनि छ । यी सबै कार्य सकेपछि भोज खाने चलन छ ।
भोज खानु अघि बलिमा लसुन, छ्यापी, अदुवा, खोर्सानी, हाकु छ्वय्ला राखी समय्बजी चढाएर खाने गरिन्छ । गठांमुगःमा ढोका ढोकामा मात्र फलामे काँटी ठोक्ने नभई ससाना बालबालिकालाई फलामको कल्ली लगाई दिने, ठूलाहरूले पञ्चधातु – फलाम, पित्तल, तामा, चाँदी वा सुनको औंठी लगाउने चलन छ । त्यस्तै तुनामा खाइसि बाँधी दिने चलन पनि छ । यसरी खाइसि बाँध्ने, फलाम वा पञ्चधातुको औंठी लगाउनाले भूत प्रेत नलाग्ने मात्र होइन उनीहरू ठाउँ छोडेर भागेरै जान्छन् भन्ने भनाइ छ ।
केटीहरूले गथांमुगः मनाउने तरिका
गथांमुगः पर्वमा घर चोखो गरी बलि राख्ने र धुप बालेर पूजा गरी समय्बजी खाने मात्र नभई बिहे भइनसकेका किशोरीले यसलाई आफ्नै तरिकाले मनाउने चलन पनि छ । केटीहरू विशेष गरी कपडाको पुतली बनाएर खेल्ने गर्छन् । बिहानैदेखि दोबाटो चौबाटोमा ठड्याइराखेका गथांमुगःमा आफूले बनाइराखेका वा यसै अवसरका लागि भनेर बनाएको कपडाका पुतलीहरू झुन्ड्याउने चलन छ ।
आफूसँग भएका अरू पुतलीहरू पनि बोक्सीले उडाउला भनी अध्याँरो ठाउँमा केही गह्रौं वस्तुको मुनि लुकाएर राख्ने गरिन्छ । गथांमुगःमा एउटा मात्र पुतली झुन्ड्याउने भए केटी पुतली, दुइटा झुन्ड्याउने भए एउटा केटी र एउटा केटा पुतली झुन्ड्याउने गरिन्छ । गथांमुगःमा पुतली नचढाए पुतलीहरू बोक्सी भएर मुसाजस्तै कराउन थाल्छन् भन्ने विश्वास रहेको छ । बिहे नभएका केटीहरूले बीचमा प्वाल भएको पैसा पनि चढाउने गर्छन् । त्यसो त अहिले त्यस्तो प्वाल भएको चार पैसे ढ्याक र कपडाको पुतली खेल्ने चलन हराइसकेको छ । त्यस बेलासम्म धानका बाला पनि ठूलो भइसकेका हुन्छन् । यही बेला केटीहरूले हातमा मेहन्दी (लैंचा) लगाउने पनि गरिन्छ ।
गथांमुगःलाई यौनजन्य धार्मिक कार्यको प्रतीकको रूपमा पनि लिन सकिन्छ । केटीहरूले हातमा मेहन्दी लगाउनाले एक किसिमको श्रृंगार रस प्रदर्शन हुन्छ भने गथांमुगःमा पुतली बाँध्ने कार्यले यौनकार्यको आभास हुन्छ । साथै यसमा आफ्नो सीपको पनि प्रदर्शन हुन्छ किनभने गथांमुगःमा आफूसँग भएका सबैभन्दा राम्रो पुतली नै झुण्ड्याउने गरिन्छ ।
केटाहरूले मनाउने गथांमुगः
घर भित्रका धेरैजसो काम घरका वरिष्ठ सदस्यले गर्ने भए पनि गथांमुगःमा बाहिरका धेरै जस्तो काम भने पुरुष केटाहरूले गर्ने गर्छन् । बिहानै नरकट वा निगालोको तीन मुठा बनाएर ठड्याउने र त्यसमा गथांमुगःको नक्सा बनाएर टाँस्ने काम गरिन्छ । उक्त बाटो भएर आउने बटुवासँग डोरी टाँगेर जगात उठाउने गरिन्छ । त्यो खास गरी ‘आजु जय’ भनी गथांमुगःको लाश उठाउन चन्दा मागिएको हो ।
दिनभरि गथांमुगः ठड्याएर टोलमा कोही आफन्त नभएका कुनै पोडे वा हालाहुलुलाई उक्त क्षेत्र भित्रका घर घरमा पैसा माग्न पठाइन्छ । जानुअघि उनलाई भोज ख्वाएर ‘आजु जय’ भनी भट्याउन लगाइन्छ र उनको पछि पछि जाने केटाहरू ‘हाऽ हाऽ’ भनी कराउँदै जान्छन् । आजु जय भट्याउनेले गठांमुगः म¥यो, अब त्यसको अन्त्येष्टि गर्न पैसा चाहियो भनी माग्ने भएता पनि केटाहरूले भने उनलाई धपाउन ‘हाऽ हाऽ’ गरी कराउँदै जाने गरेको हो । यसरी जाँदा भुस्याहा कुकुरहरू पनि सँगसँगै जाने गरेको देखिन्छ ।
कोही आफन्त नभएका आजु जय माग्नेको भुस्याहा कुकुरसँग अपनत्व हुनु स्वाभाविकै हो । उनीसँगै हिँड्ने, उनीसँगै सुत्ने भएकाले उनी आजु जय भट्याउँदै जहाँ जहाँ जान्छन्, भुस्याहा कुकुरहरू पनि त्यहीँ त्यहीँ जाने गर्दछन् । आजु जय मागिसकेपछि उनलाई भोज ख्वाएर चौबाटोमा ठड्याइराखेको गठांमुगः ढालेर उनलाई पनि त्यसैमाथि राखेर तानेर लाने गरिन्छ । यसरी तानेर नदी किनारमा पुगेपछि गथांमुगःलाई आजु जयले नै दाग बत्ति दिएर अन्येष्टि गर्ने चलन छ । गथांमुगः स्त्री र पुरुष दुबै हुने भएकाले गथांमुगः ढाली घिसारेर ल्याउँदा एउटा टोलको गथांमुगःमाथि अर्काे टोलको गथांमुगः घोप्ट्याइदिने चलन पनि छ ।
कतै कतै स्त्री गथांमुगः ठड्याउने टोलमा पुरुष गथांमुगः नल्याउन्जेल पर्खेर बस्ने र पुरुष गथांमुगः आइपुगे पछि दुवैलाई एकैठाउँ खप्ट्याएर दुवै तर्फका केटाहरूले सँगै घिसारेर लाने चलन पनि छ । काठमाडौंमा वंगः (इन्द्रचोक) को गथांमुगःलाई घिसारेर ल्याउँदा किलागल पुग्ने बित्तिकै किलागलको गथांमुगः पनि ढाल्ने र त्यसैमाथि इन्द्रचोकको गथांमुगः चढाएर सँगै घिसार्ने गरिन्छ ।
किलागलको गथांमुगःलाई स्त्री र इन्द्रचोकको गथांमुगःलाई पुरुष मानिन्छ । यसरी गथांमुगः घिसार्दा कतै कतै अश्लील गफ गर्दै जाने चलन पनि छ । न्यतमदु अजिमा (नरदेवी) टोलको गथांमुगः तानेर लाँदा न्यतमदु अजिमा स्वयम् विराजमान हुने हुँदा हेर्नु हुँदैन भनेर घरघरै झ्याल ढोका लगाउने गरिन्छ ।
मरु टोलस्थित छ्वासपाखाको गथांमुगः बिष्णुमतीतिर घिसार्दा पनि बाटामा पर्ने घरहरूको झ्याल ढोका लाउनु पर्छ भनिन्छ ।
बोक्सी विद्या सिक्ने दिन
गथांमुगःका दिन महिलाहरू विभिन्न अजिमा थानमा गई तान्त्रिक बलद्वारा बोक्सी विद्या सिक्ने गरिन्छ भन्ने भनाइ छ । विशेष गरी कंग अजिमा, न्यत अजिमा, लुंमरि अजिमा, म्हय्पि अजिमा, मैती अजिमा थानमा राति पूजा गरी कुविद्या सिक्ने कथन छ । यो विद्या सिक्दा अजिमालाई खुसी पार्न आफ्नै लोग्नेको बलि दिने र यसो गर्दा बोक्सी विद्यामा निपुण हुन्छ भनिन्छ ।
त्यस्तो पूजामा जाँदा महिलाले आफ्नै चोर औंलालाई टुकीझैं बालेर जाने गर्छन् पनि भनिन्छ । तर अहिले यस्तो कथन कमै मात्र सुन्न पाइन्छ । पहिले पहिले शिक्षाको अभावले गर्दा पनि यस्ता कुराहरू प्रचारमा आएको हुनुपर्छ । बिजुली नभएको त्यस बखत कहीँ जानुपर्दा पुल्ठो बालेर जाने भएकोले त्यसैलाई बोक्सी विद्या सिक्न गएको पनि भनिएको होला ।
बाजा निकालिने दिन
रोपाइँ सुरु गर्दा थन्क्याएका विभिन्न सांस्कृतिक बाजागाजाहरू पनि गथांमुगःकै दिन फुकुवा गरी निकाल्ने गरिन्छ । रोपाइँको चटारो सकिसकेको हुनाले त्यतिबेला फुर्सदको समय पनि हुन्छ । त्यसैले गथांमुगःकै दिनदेखि नयाँ केटाकेटीहरूलाई नासःद्यःकहाँ पूजा गराई बाजा सिकाउने कार्यको थालनी गरिन्छ । बाजा वा नृत्य सिकाउन पहिले नासःद्यः नै पूजा गर्ने नेवार जातिको चलन भएकोले त्यति बेला गरिने नासः पूजालाई गठांमुगःको नासःद्यः पनि भन्ने गरिन्छ ।
यसरी विभिन्न दृष्टिकोणले हेर्दा गठांमुगःको साँस्कृतिक पक्ष अति महत्वपूर्ण देखिन्छ । सृष्टिदेखि अन्त्यसम्मकै जीवनको मनोविज्ञान समेटिएको यो पर्व हिन्दू र बौद्ध दुवै धर्मावलम्बीले उतिकै आस्थापूर्वक मनाउँदै आएको पाइन्छ ।
गथांमुगःमा चाहिने सरजाम
बौस्वां, च्वका बजि, बौपाः, राँगाको रगत, हाड, आन्द्राभुँडी, फोक्सो, कलेजो, छाला, रक्सी, जाँड र जाँडको ठोस आदि साम्रगी गथामुगःमा आवश्यक हुन्छ ।
कालो भटमास, अदुवा, स्या बजी, च्यूरा, छ्वय्ला, लसनु, छ्यापी फलामको स्वकुंपाः, फलामको काँटी, फलाम वा पञ्चरत्न, औँठी धुप – सस्यूँ, मुजुरको प्वाँखको धुलो, श्रीखण्ड, बेसार, धुपको धुलो आदि मिलाएर बनाइको धुप चाहिन्छ ।
हाकु छ्वय्ला पोलेर घरमा मासुको धुँवा लाउने चलन पनि छ । त्यतिबेला घरघरमा बलि दिने मात्र नभई भूतप्रेत आदि खराब तत्वहरू घरमा प्रवेश नहोस् भनेर मूलढोकाका साथै कोठाहरूमा पनि जन्तर टाँस्ने चलन छ । कसै कसैले भूतप्रेत भगाउन छ्वाली बालेर घरभरी धुँवा लगाउने पनि गर्छन् ।