Kathmandu Press

नाटक ‘ऐया ! माया’ : ‘मानौं, म आफैँ मञ्चमा गएर चिच्याइरहेकी छु’ 

नाटकमा खासै संवाद छैनन्। एक दुई स्थानका आउने मोनोलग (स्वकथन) बाहेक शारीरिक हाउभाउले नै मञ्चलाई पूर्ण बनाएका थिए। सोही मोनोलग अनि दुई ठुला स्पिकरमा बज्ने आवाजले नाटकको पृष्ठभूमिलाई झल्काउँछ।
नाटक ‘ऐया ! माया’ : ‘मानौं, म आफैँ मञ्चमा गएर चिच्याइरहेकी छु’ 

काठमाडाैं, असार ३२ : स्कुलमा पढेकी थिएँ- खुसी, पीडा, रोदन, हर्ष, रिस, आक्रोशजस्ता मानव संवेग भाववाचक नाम हुन्। जसलाई छुन, देख्न सकिँदैन। केवल महसुस मात्र गर्न सकिन्छ।

त्यति बेला मेरो बालमस्तिष्कमा कुतूहला हुने गर्थ्याे, ‘यस्ता भावलाई पनि देख्न पाए हुने। ती कस्ता देखिन्थे होलान् ? 

बिहीबार टेकुस्थित कौसी थिएटरमा मञ्चन भइरहेको नाटक ‘ऐया ! माया’ हेर्न पुगेँ। नाटक सुरु हुनुअघि काउन्टरमा टिकटसँगै दिएको ब्रोसरमा यस नाटकका निर्देशक सुदाम सिकेको निर्देशकीय थियो, ‘नाटक केही बुझाउनका लागि बनाएको होइन। केही अनुभूति भयो, कहीँ आफूलाई भेट्नुभयो, कतै घुलिनुभयो भने सायद हामी सफल भयाैं। अर्धचेतमा रहेका तर, आफूलाई सताइरहेका कुराहरूलाई पोख्ने कोसिस हो।’

Hardik ivf

करिब एक घन्टाको नाटक हेरिसकेपछि आफैँलाई सोँधे, ‘के मैले मानव संवेगको अनुहार देखेँ !’ नाटक अवधिभर मञ्चमा उभिएका पात्र हाडछालाका थुप्रा मात्र थिएनन्, तिनले मानव अन्तस्करणमा गुम्सिएर बसेका भावनाका पुञ्जको पनि आभास गराउँथे। मभित्रका पीडा, छटपटी, रोदन, दुःख, खुसी, हर्ष, क्रोध, आक्रोश, डर, बेलाबेला महसुस हुने लधुताभास आदि सबै भाव नाटकका पात्रमार्फत व्यक्त भएको आभास मलाई भइरहेको थियो। मानौं, म स्वयं मञ्चमा गएर चिच्याइरहेकी छु, नाचिरहेकी छु र उफ्रिरहेकी छु। सायद, नाटक मेरै लागि थियो। म भौतिक रूपमा मञ्चमा नउभिए पनि मेरो संवेग त्यहाँ छल्किरहेका थिए। 

नाटक सकिएपछि फेरि ब्रोचर पल्टाएँ अनि उपरोक्त वाक्य पढेँ। हुन पनि नाटकमा बु्झ्नुपर्ने खासै केही थिएन। कुनै सन्देश दिने कथा थिएन। न कुनै विचार र सिद्धान्तको बोध गर्नुपर्ने थियो। केवल एउटा बिन्दु थियो, जहाँ दर्शक आफ्ना अर्धचेतमा रहेका भावनासँग घुलिन सक्थे। 

खाली मञ्च, भरिभराउ मस्तिष्क

मञ्च प्रायः खाली नै थियो। मञ्चमा उभिएका पाँच पात्र अनि प्रप्सका नाममा एउटा लामो डोरी, एउटा गुलाबी रंगको नोट बुक, पाँचवटा टुल अनि एउटा छाता। 

मञ्चमा रहेका पात्रले शारीरिक हाउभाउले कहिले आफूलाई फुक्काफाल छोड्छन् त कहिले आफूले आफैँलाई डोरीले कसेजस्तै कस्छन्। कहिले आकाशमा उडेका स्वतन्त्र पन्छीजस्ता देखिन्छन् त कहिले पिँजरामा थुनिएका चराजस्ता। कहिले आक्रोश र घृणाले उम्लिएका छन् त कहिले मुधर प्रेमभावमा लिप्त छन्। आँखाले दिमागलाई भन्छ, मञ्च खाली छ। तर, मस्तिष्कमा यिनै दृश्यका भावले भरिभराउ छ। 

मञ्चको छेउमै तबला र गितार बजाउने दुई वाद्यकले मञ्चमा भएका गतिविधि तादात्म्यता अझ लोभलाग्दो बनाएको थियो। नाटक संवेग र संगीतको करिब करिब पर्फेन्ट उदाहरण थियो। लोचन रिजालको ‘चेतना’, एआर रेहमानको ‘तु हि रे’, नाइटको, ‘डाँडा काँडा’ र अभया एन्ड द स्टिम इन्जिनको ‘लैजाउ मलाई’ बोलको गीत नाटकमा सुन्दर रूपमा संयोजन गरिएको छ। संगीतले मानिसलाई हरेक भावमा साथ दिने कारण पनि हुन सक्छ यहाँ संवादभन्दा पनि संगीतलाई स्थान दिइयो।

सामाजिक परिधिको बाछिटा

नाटकमा खासै संवाद छैनन्। एक दुई स्थानका आउने मोनोलग (स्वकथन) बाहेक शारीरिक हाउभाउले नै मञ्चलाई पूर्ण बनाएका थिए। सोही मोनोलग अनि दुई ठूला स्पिकरमा बज्ने आवाजले नाटकको पृष्ठभूमिलाई झल्काउँछ। 


यौनिक अल्पसंख्यकहरूमाथि समाजले लगाएको अंकुश, बलात्कृत भएकी महिलामाथि नै चरित्रको प्रश्न, भाइरल ट्रेन्डका कुरा, दलितले कोठा नपाउनु आदि आवाजले मञ्चलाई गुञ्जायमान बनाउँछन्।

मानिस र व्यक्तिपिच्छेका भोगाइ फरक छन्। कोही जात व्यवस्थाले अन्यायमा परेका छन्, कसैको चरित्रमाथि प्रश्न, प्रेम गरेकै कारण कोही मारिनु, विछोडिनु आदि आफ्नै संवेगका आफ्नै कारण। स्पिकरमा बज्ने यी कारणसँगै पात्रहरू अझ दुखित, उग्र, अझै तनावग्रस्त देखिन्छन्। मनोविद्हरूका अनुसार, मानसिक प्रताडनाले शारीरिक चोटभन्दा पनि बढी असर गर्छ र बिस्तारै शारीरिक पीडा पनि दिन थाल्छन्। 

नाटकमा एउटा दृश्य निकै लोभलाग्दो र सशक्त छ। एक पात्र डोरीले बाँधिन्छन्। अनि बाँकी रहेका पात्र ती बाँधिएका व्यक्तिको इसारामा रुने, हाँस्ने, कराउने गर्छन्। सोही व्यक्तिको इसारामा अन्य पात्र कठपुतली जस्तै नाच्छन्। जसरी हाम्रा भावनाले हामीले नचाउँछ। साबिकका नाटकमा प्रयोग हुने शब्द नभई व्यक्तिको मानसपटलमा चल्ने विभिन्न भावनात्मक संवेगको अन्तरद्वन्द्व नाटकमा देखिन्छ। 

नाटक हेरिसकेपछि आफैँलाई लाग्यो, सायद हामी हाम्रा भावनालाई सही रूपमा प्रस्तुत वा अभिव्यक्ति हुन दिदैँनौँ। अपेक्षा, अनपेक्षा, माया, घृणा, उत्साह, आक्रोश, निरुत्साह लगायत संवेगलाई दबाएर राख्छाैं। भावनालाई सही रूपमा अभिव्यक्त हुन नपाउँदा सायद त्यसले भित्रभित्रै दुखाउँछ, ऐया ! गराउँछ।

कुनै कुराले सताउँदा हुने छटपटाहट, तनाव, खुसी, हर्ष, आक्रोशलगायतका मानव संवेगको सजीव चित्रण हो, ऐया ! माया। मेरा लागि नाटकले दिएको ‘कथार्सिस’ साँच्चै नै अनुपम थियो। 

मञ्चमा

आकाश नेपाली
आयान खड्का
पवित्र राई
मुक्ति
शिशिर सापकोटा
सरिता कठायत

प्रकाशित मिति: १८:२२ बजे, शनिबार, असार ३२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्