एसइईपछि प्राविधिक शिक्षा : स्वदेशसँगै विदेशमा रोजगारीको सम्भावना
प्राविधिक शिक्षा वा तालिम आफैँमा सीपमूलक हुन्छ । यो शिक्षा लिएपछि विद्यार्थीले आफ्नो तरिकाले व्यापार, व्यवसाय सञ्चालन गर्न सक्छ । साथै, स्वदेश तथा विदेशमा रोजगारीको प्रचुर सम्भावना रहन्छ ।माध्यमिक शिक्षा परीक्षा (एसइई) पछि विद्यार्थीमा के पढ्ने भन्ने अन्योल हुन्छ। नेपालको अहिलेको शिक्षा नीतिले प्लस टु (कक्षा १२) सम्मलाई माध्यमिक शिक्षा मानेको छ। बर्सेनि फेरिने सरकार अनि सँगसँगै फेरिने शिक्षा नीतिले विद्यार्थीलाई मात्र होइन, अभिभावकलाई पनि हैरान बनाएको छ। अभिभावकले आफ्ना छोराछोरीलाई यो पढाउँछु भनी तयारी गरिरहेका हुन्छन्, विद्यार्थीले ८ कक्षाबाट माथि लाग्दै गर्दा आफूले पढ्ने क्षेत्रबारे चासो राखेको पाइन्छ। तर, बारम्बार फेरिने शिक्षा नीतिले अन्योल सिर्जना गरेको छ।
हामीकहाँ विद्यार्थीको रोजाइका साथै परिवारको चाहना र परिवारको आर्थिक क्षमतामा विद्यार्थीले पढ्ने विषय निर्भर हुन्छ। सबैभन्दा पहिले आफूले के पढ्ने भन्नेबारे विद्यार्थी नै स्पष्ट हुनुपर्छ। आफ्ना बालबच्चाको सोचाइ वा रोजाइबारे अभिभावक पनि स्पष्ट हुन जरुरी छ। यसो भए विद्यार्थीलाई आफ्नो पढाइ र करिअरबारे निर्णय लिन थप सहज हुन्छ। यसका लागि विद्यार्थी र अभिभावकले सम्बन्धित विषय अध्ययन गरेका विश्वासिला शिक्षित व्यक्तिसँग समेत परामर्श लिन सक्छन्।
प्राविधिक शिक्षा वा तालिम लिने व्यक्तिले रोजगारी पाउने वा स्वरोजगार बन्ने सम्भावना रहन्छ। प्राविधिक विषय भएकै कारण विद्यार्थीले आफैँ सम्बन्धित काम गर्दै शिक्षा लिन सक्छ। आफैँ खर्च जुटाएर अध्ययन गर्न सकिने र स्वदेश तथा विदेशमा रोजगारको सम्भावना भएकाले अहिले प्राविधिक शिक्षा लिने विद्यार्थीको संख्या विश्वमै बढी छ।
विश्वका विकसित राष्ट्रले आफ्नो शिक्षा नीतिमा प्राविधिक शिक्षालाई बढी प्राथमिकतामा राखेका छन्। उनीहरुले छोटो समयमै हरेक क्षेत्रबाट दक्ष जनशक्ति उत्पादन र परिचालन गरी हरेक क्षेत्रमा फड्को मारिरहेका छन्। प्राविधिक शिक्षा तथा तालिम लिएका नेपालीको माग विकसित देशमा समेत छ।
कहाँ हुन्छ पढाइ ?
प्राविधिक शिक्षा तथा व्यावसायिक तालिम परिषद् (सिटिइभिटी) बाट सम्बन्धन लिई सिटिइभिटीकै पाठ्यक्रममा आधारित रहेर देशैभरका विभिन्न सरकारी, आंगिक, सामुदायिक र निजी शिक्षण संस्थाबाट विभिन्न क्षेत्रमा पठनपाठन हुने गरेको छ।
सिटिइभिटी अन्तर्गत डिप्लोमा र प्रि–डिप्लोमा तहमा गरी विविध विषय समेटिएको छ।
ग्रेड वा जिपिए
कम्तीमा एसइई उत्तीर्ण गरिसकेपछि विभिन्न विषयमा आफ्नो ग्रेड अनुसार अध्ययन गर्न सकिन्छ। जसअन्तर्गत विद्यार्थीले कृषि, स्वास्थ्य, इन्जिनियरिङ, सामाजिक परिचालन, कार्यालय व्यवस्थापन, पर्यटनतर्फका १८ महिने प्रि–डिप्लोमा तथा तीनवर्षे डिप्लोमा लेभलका विभिन्न कार्यक्रम अध्ययन गर्न सक्छन्।
प्रि–डिप्लोमा तहको अध्ययन गर्न न्यूनतम एसइई परीक्षा उत्तीर्ण गरेर सिटिइभिटीबाट लिइने प्रवेश परीक्षा पास गरे पुग्छ। डिप्लोमा तहमा अध्ययनका लागि विद्यार्थीले स्वास्थ्य तर्फका विषयमा अंग्रेजी, गणित र विज्ञानमा ‘सी’, गणितमा ‘सी’सँगै कम्तीमा १.६ जिपिए ल्याउनुपर्नेछ। यस्तै विज्ञान र अंग्रेजीमा भने न्यूनतम ‘डी’ ल्याउनैपर्ने हुन्छ।
शुल्क
१८ महिने प्रि–डिप्लोमा कोर्सका लागि विषयअनुसार आफ्नो व्यक्तिगत खर्च बाहेक करिब ८० हजारदेखि एक लाख २० हजार रुपैयाँसम्म र तीनवर्षे कोर्सका लागि आफ्नो व्यक्तिगत खर्चबाहेक विषयअनुसार ३ देखि ५ लाखसम्म सिटिइभिटीले नै जारी गरेको शुल्कका आधारमा पढ्न सकिनेछ। पढाइ र क्याम्पस अनुसार सरकारी, आंगिक, सामुदायिक र निजीमा केही रकम फरक पर्न सक्छ।
रोजगारीको सम्भावना
प्राविधिक शिक्षा वा तालिम आफैँमा सीपमूलक हुन्छ। यो शिक्षा लिएपछि विद्यार्थीले आफ्नो तरिकाले व्यापार, व्यवसाय सञ्चालन गर्न सक्छ। साथै, रोजगारीको प्रचुर सम्भावना देखिन्छ। यसबाट विदेशमा रोजगारी पाउने र विदेशमा थप अध्ययन गर्न पाउने पनि सम्भावना रहन्छ। अहिले विशेषगरी दुई देशबीच सरकारी स्तरमै सम्झौता गरी स्वास्थ्य प्राविधिकलाई ‘केयर गिभर’ र ‘नर्सिङ केयर’ लगायत क्षेत्रमा रोजगारी दिएको पनि देखिन्छ।
(शर्मा गण्डकी टेक्निकल इन्स्टिच्युट प्रालि पोखराका अध्यक्ष हुन्।)