‘चोरको स्वर’ : चेली भगाएपछि सुरु हुने दुई गाउँको कथा
नाटकले सिधै सन्देश नदिए पनि समाजको एउटा कालखण्ड र चेतनालाई देखाएको छ । लिम्बु समुदायको जीवनशैली, जीवन संघर्षसँगै उनीहरुले अधिकारका लागि गरेको आन्दोलनको बाछिटा पनि नाटकमा समेटिएको छ ।काठमाडाैं, असार ४ : शेर्मा गाउँकी सीमालाई चेम्जोङ गाउँका भीमहाङले भगाएर ल्याएका हुन्छन्। यी दुई गाउँबीच विभिन्न मनमुटाव रहँदै आएका छन्– विकासका नाममा, राजनीतिमा नाममा, चेली भगाएको निहुँ आदिमा।
नाटकले लिम्बु संस्कृतिसँगै यी दुई गाउँको दैनिकीलाई देखाएको छ। नाटकको कथा भने भीमहाङको घरमा रीत अनुसार सीमालाई भित्र्याएपछि सुरु हुन्छ।
विवाहपछि सामान्य दैनिकी चल्दै गर्दा सीमा र उनकी सासुआमाबीच भलाकुसारी हुन्छ। सासुआमाले सीमालाई सोध्छिन्– तिमी राजीमा आएकी हौ कि बिराजीमा। केटीको सहमतिमा भएको विवाहलाई राजी र सहमतिविना जबर्जस्त भएको विवाहलाई बिराजी भनिन्छ। सीमाले भीमहाङसँग राजीखुसीमै विवाह गरेकी हुन्छिन्। सासुआमाको भने बिराजीमा विवाह भएको रहेछ।
यसपछि ‘चोरको स्वर’ बुझाउन केटा पक्ष केटीको घरमा जानुपर्छ। केटाले केटी भगाएको केही दिनमा केटा पक्ष केटीको घरमा गई चेलीको बारेमा अवगत गराउनुलाई चोरको स्वर भनिन्छ।
चोरको स्वर रीत सहज भने नहुँदो रहेछ। आफूले हुर्काएकी चेलीलाई कसैले भगाएपछि माइतीपक्ष रुष्ट हुने नै भए। जब केटा पक्ष चोर स्वरको बुझाउन केटीको माइतीमा जान्छ, केहीबेर चोरको स्वर अस्वीकार गरे पनि अन्ततः केटी पक्षले स्वीकार गर्छ। नाटकमा यी दृश्य रमाइलोसँग प्रस्तुत गरिएको छ।
नाटकका संवादले कथाभित्र कथा खोल्छन्। सीमा सानै हुँदा उनकी आमाको निधन भएको हुन्छ, उनलाई भाउजु मनमायाले स्याहार गरेकी हुन्छिन्। घरको कमजोर आर्थिक स्थितिको बाबजुद पनि दाइभाउजुले सीमाको बिहे धुमधामले गरिदिन्छन्।
०६२÷६३ को आन्दोलनपछिको समय बुझाउने यस नाटकमा माओवादी जनयुद्ध, लिम्बुवान आन्दोलन, विकासका लागि गाउँमा पुगेको डोजर, बिजुलीको कथा समेत जोडिएर आएका छन्। चिहानडाँडामा डोजर पुगेर जग्गा प्लटिङ हुँदा शेर्मा गाउँका एक वृद्धलाई चिन्ता हुन्छ– मैले चिहान पाउँछु कि पाउँदिनँ !
शेर्मा गाउँमा आउनुपर्ने बिजुली राजनीतिक चलखेलका कारण चेम्जोङ गाउँमा पुग्छ। यसले पनि यी दुई गाउँबीचको सम्बन्धमा चिसो थप्छ। यसले पनि यी दुई गाउँबीचकाे सम्बन्धमा चिसाेपन थप्छ तर, सम्बन्धकाे याे रीत भने राेकिदैन। यस्तो लाग्छ, यही प्रचलनले यी दुई गाउँलाई जोडेको छ।
सीमाको चोरको स्वर रीत फर्काउने क्रममा सीमाका भाइ सेसेहाङले चेम्जोङ गाउँकी चेली भगाउँछ। यता सौहार्द रूपमा सम्पन्न हुन लागेको सीमा र भीमहाङको विवाहमा एक्कासि भाँडभैलो मच्चिन्छ।
नाटकले लिम्बु जीवनशैली, जीवन पद्धति र संस्कृतिका कथालाई बुनेको छ। नवीन चौहानको कथा रहेको यस नाटकमा एउटा समुदायको जीवनशैलीलाई जीवन्त रुपमा देखाइएको छ।
नाटक अनुसार, शेर्मा गाउँको तुलनामा चेम्जोङ गाउँ विकसित छ। संस्कृति र परम्पराको लहरो एकातिर छ, अर्कोतिर यी दुई गाउँ भिन्न राजनीतिक विचारधाराले विभाजित पनि छन्। यसरी नाटकले गणतन्त्रको संघारमा विकसित राजनीतिक चेतलाई पनि देखाएको छ।
नाटकले लाहुरे संस्कृतिको प्रभावलाई पनि देखाएको छ। ‘स्ट्रगल’ नामका नाटकका पात्र बाउबाजेजस्तो लाहुरे बन्न चाहँदैनन्। उनलाई फुटबल खेलाडी बन्नुछ। त्यस्तै अर्को पात्र फेसनेले जिन्स पाइन्ट लगायत लुगा लगाएर आधुनिकतालाई पछ्याएको छ।
नाटकले मातृसत्ताको पनि झलक दिन्छ। पैतृक सम्पत्तिमा आफ्नो पेवामाथिको हकदेखि वाक् स्वतन्त्रता महिलाले उत्तिकै स्थान पाएका छन्। नाटकका पात्र सुनुहाङ गाउँका नेता हुन्छन् तर उनकी श्रीमती मनमाया निसंकोच उनको विरोधमा बोल्न डराउँदिनन्। उनी आफैँ पनि निर्णय लिन सक्छिन्।
नाटकले सिधै सन्देश नदिए पनि समाजको एउटा कालखण्ड र चेतनालाई देखाएको छ। लिम्बु समुदायको जीवनशैली, जीवन संघर्षसँगै उनीहरुले अधिकारका लागि गरेको आन्दोलनको बाछिटा पनि नाटकमा समेटिएको छ।
अनिल सुब्बा र अन्वेश राई थुलुङको परिकल्पना तथा निर्देशक रहेको नाटकमा अनिल सुब्बा, रुपेश लामा, प्रयास बान्तवा राई, रेश्मा लिम्बु, सुनील तामाङ, उदय लिम्बु, प्रतिना राई, लक्ष्मी योङहाङ, संगीता थापा मगर, वेदना राई, इँगिहोपो कोइँच, रमिता राई, नुसा लिङ्देन लगायत कलाकारको अभिनय रहेको छ। थापागाउँस्थित मण्डला थिएटरमा २० जेठदेखि मञ्चन भएको यस नाटक असार १५ सम्म चल्नेछ।