Kathmandu Press

‘जैसीदेवलस्थित कृष्णदास श्रेष्ठको घर, जहाँ सिथि कुमार सिद्ध भएका थिए’

कुमार पूजाको चार दिनअघि जेष्ठ शुल्क पक्ष तृतीयाका दिन काठमाडौंको जैसीदेवलस्थित कृष्णदास श्रेष्ठको घरमा स्थापना गरिएको सिथि कुमारको मूर्तिमा ‘न्हवँ’ गरिन्छ । रक्त वर्णका सिथि कुमारको महास्नान यसपटक जेठ १९ गते बिहीबार गरियो ।
‘जैसीदेवलस्थित कृष्णदास श्रेष्ठको घर, जहाँ सिथि कुमार सिद्ध भएका थिए’

काठमाडाैं, जेठ २२ : जेष्ठ शुल्क षष्ठीका दिन नेवार समुदायले सिथि नखः पर्व मनाउने गर्छ। यो विशेषतः कृषिकार्य तयारीका लागि मनाइने पर्व पनि हो। सिथि नखःलाई कुमार पष्ठी पनि भनिन्छ।

संस्कृतिविद् चुन्दा बज्राचार्यका अनुसार, नेवार समाजमा कुनै पनि कार्य गर्नुअघि गणेशको पूजा गरिन्छ। गरेको कार्य सफल रूपले सम्पन्न होस् भन्ने उद्देश्यले घरको मूलढोका अगाडि रहेको पिखालखुमा कुमारपूजा पनि गरिन्छ। हरेक नेवार घरको मूलढोका अगाडि पिखालखु रहन्छ, त्यो पिखालखु रहने स्थान नै कुमारको स्थान हो। हिन्दू पौराणिक कथा अनुसार, कुमार शिव–पार्वतीका कान्छा पुत्र हुन् भने गणेश जेठा।

यस दिन नेवार समुदायका सदस्यले आ–आफ्नो शरीर, घरआँगनसँगै टोलटोलमा रहेका इनार, जरुवा, पानीको मूल, चोकको ढल सफा गर्छन्। घरदेखि टोलसम्म सफा नराख्ने हो भने बर्खामा पानी परेसँगै फोहोर हुन सक्छन्, विषाणुले रोग फैलाउन सक्छन् भन्ने चेतनाले यस पर्व मनाइएको बुझिन्छ।

Hardik ivf

अर्कोतिर, जुन ५ तारिखमा विश्व वातावरण दिवस मनाइन्छ। विश्व पर्यावरणप्रति विश्वस्तरमा राजनीतिक र सामाजिक जागृति ल्याउने उद्देश्यले संयुक्त राष्ट्रको आह्वानमा सन् १९७३ देखि यो दिवस मनाउन सुरु गरिएको हो।

सिथि नखः भने नेवार समुदायले मौसम वा वातावरण हेरी मनाउने तिथिमा आधारित पर्व हो। संयोगले आज यी दुई (पर्व र दिवस) एकै दिन परेका छन्।

रोइरहेको बालकको कथा

जेष्ठ शुक्ल षष्ठीका दिन सिथि कुमारको पूजा गरिन्छ। कुमार पूजाको चार दिनअघि जेष्ठ शुल्क पक्ष तृतीयाका दिन काठमाडौंको जैसीदेवलस्थित कृष्णदास श्रेष्ठको घरमा स्थापना गरिएको सिथि कुमारको मूर्तिमा ‘न्हवँ’ गरिन्छ। रक्त वर्णका सिथि कुमारको महास्नान यसपटक जेठ १९ गते बिहीबार गरियो।

सिथि कुमार गुठीका मुल नाय (नाइके) कृष्णदास श्रेष्ठ हुन्। आफ्नो घरमा कुमारको मूर्ति स्थापना भएको सम्बन्धमा आफ्ना पितापुर्खाले एउटा कथा सुनाउँदै आएको मूल नाय श्रेष्ठ बताउँछन्।

उहिले एकपटक कुमारले सानो बालकको रूप धारण गरी बलम्बुमा रुँदै हिँड्न थालेछन्। त्यहीबेला कृष्णदासका पुर्खा काम विशेषले बलम्बु पुगेका थिए। बलम्बु पुग्दा रोइरहेको बच्चाको आवाजले कृष्णदासका पुर्खा (बाजेबराजु)को ध्यान कुमारतिर तानियो। रोइरहेको बालकको कोही आफन्त थिएनन्, त्यसैले उनीहरूले बालकलाई जैसीदेवलस्थित आफ्नै घरमा ल्याए।

‘त्यो दिन सिथि नखः परेको थियो। त्यही कारण मेरा बाजे–बराजुले बारा र चटामारी खुवाउन बालकलाई एक कोठामा राखी चोटा (माथिल्लो कोठा) मा जानुभएछ,’ मूल नाय श्रेष्ठ भन्छन्, ‘तल झर्दा त बालकलाई जहाँ राखिएको थियो, त्यहीँ सिद्ध भए। त्यस दिनदेखि यही ठाउँमा सिथि कुमार सिद्ध भएको जनविश्वास छ।’

मूर्तिको प्राचीनतादेखि कुन धातु वा काठबाट कसरी बन्यो, कसले स्थापना ग¥यो, मूर्तिको ऐतिहासिक पाटोबारे हालसम्म कुनै पनि शिलापत्र तथा ताम्रपत्र समेत नभएको श्रेष्ठ बताउँछन्।

‘पितापुर्खाले भने अनुसार, उनी साँच्चै नै कुमार थिए र यहाँ स्थापना गरिएको हो भन्ने पनि लाग्छ बेला–बेला,’ श्रेष्ठ भन्छन्, ‘यस कारण घरमा भएको यस मूर्तिप्रति हाम्रो विश्वास छ।’

मच्छिन्द्रनाथलाई जस्तै महास्नान, रंगरोगन र दशकर्म

हिजो भर्खर सकिएको रातो मच्छिन्द्रनाथको रथ यात्राजस्तै सिथि कुमारको पनि महास्नान हुन्छ। महास्नानपश्चात् उनलाई मयुरमा विराजमान गराइन्छ। महास्नानका लागि बाजा बजाउन बलम्बुबाट र पुजारी ललितपुरको सिद्धिपुरबाट आउने गर्छन्।

बलम्बुबाट बाजा बजाएर आउनुको कारण छ, यसले आफ्नो हराएको सन्तानलाई लिन आएको संकेत गर्ने सत्यनारायण नेमकुल बताउँछन्। सिद्ध भएको बालकको मूर्तिलाई पूजाआजा गरी फर्कने चलन रहेको समेत उनले थपे।

यसपटक सत्यनारायणसहित अन्य चार नेमकुल परिवारले संयुक्त रूपमा रंगरोगन गरेका छन्। आफ्नो खलकको संख्या बढ्ने क्रममा हाल १३–१४ वर्षमा एकपटक रंगरोगनको सौभाग्य मिल्ने उनले बताए। रंगरोगन गर्न नेमकुल परिवार सिद्धिपुरबाट आउँछन्। रंगरोगनपश्चात् रातो मच्छिन्द्रनाथझैँ उनको पनि दशकर्म हुन्छ।

यो पनि...

के हो मध्यरातमा गरिने रातो मछिन्द्रनाथको दशकर्म ?

सिथि नखःको महत्व स् ६ वटी आमाबाट जन्मेका कुमारलाई किन राखियो पिखालखुमा ?

प्रकाशित मिति: १९:१२ बजे, आइतबार, जेठ २२, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्