Kathmandu Press

के हो मध्यरातमा गरिने रातो मछिन्द्रनाथको दशकर्म ?

‘मच्छिन्द्रनाथको दशकर्म सुरु गर्नुअघि देवीदेवता तथा पितृपिशाच आदिलाई आह्वान गरी कर्म सफल पार्न यो पूजा गरिन्छ’
के हो मध्यरातमा गरिने रातो मछिन्द्रनाथको दशकर्म ?

काठमाडाैं, जेठ १९ : वैशाख त्रयोदशी तिथि (वैशाख १४)को मध्यरात। पाटन तः बहालस्थित मच्छिन्द्रनाथ मन्दिर परिसरमा चहलपहल थियो। रिपोर्टिङका लागि रातको करिब ९ बजे हामी पुग्दा अष्टमातृकाको आह्वानमा पूजाको भइरहेको थियो। पूजाका लागि लस्करै आठवटा डाला राखिएका थिए, जसमा काटिएका राँगाको नलीसँगै चिउरालगायत सामग्री थिए।

‘मच्छिन्द्रनाथको दशकर्म सुरु गर्नुअघि देवीदेवता तथा पितृपिशाच आदिलाई आह्वान गरी कर्म सफल पार्न यो पूजा गरिन्छ,’ दशकर्म हेर्न आएका रवीन श्रेष्ठले भने। उनी यस सम्बन्धमा अध्ययन गरिरहेका रहेछन्। पछिल्लो तीन वर्षदेखि यस कर्मलाई आफूले नियाल्दै आएको उनले बताए। 

Hardik ivf

मन्दिरको पूर्वपट्टि मच्छिन्द्रनाथको मुख्य आसनको देव्रेतर्फ सेतो कपडाले बेरिएर राखिएको थियो, मच्छिन्द्रनाथको मूर्तिलाई। मूर्तिसँगै उभिएका थिए– गम्भीर नेकु, जसले केही दिनअघि यस मूर्तिमा रंग लगाएका थिए।

रंग लगाउने काम पूर्ण भएपछि मूर्तिलाई छुने अधिकार समेत उनलाई हुँदैन। भक्तपुरबाट खड्ग बोकेर आउने एक वृद्धले मात्र यस मूर्तिलाई छुन्छन्, जो भक्तपुरका राजा नरेन्द्रदेवका पुस्ताका रूपमा चिनिन्छन्। 

अष्टमातृकाको पूजा अवधि करिब एक घन्टा हुने स्थानीय बताउँछन्। यसपछि मध्यराततिर सुरु हुन्छ, रातो मच्छिन्द्रनाथको दशकर्म। 

के हो दशकर्म ?

त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख तथा लुम्बिनी विश्वविद्यालयका निवर्तमान उपकुलपति गुर्जु (गुभाजु) डा. नरेशमान बज्राचार्यका अनुसार, आमाको गर्भदेखि विवाहसम्मका प्राकृतिक व्यवहारलाई दशकर्म भनिन्छ। ‘मानिसको जीवनकालमा हुने जन्म, पास्नी, विवाह आदि प्राकृतिक व्यवहार हुन्, जुन प्राकृतिक व्यवहारका रूपमा आइपर्छन्,’ डा. बज्राचार्य भन्छन्, ‘नाक, कान छेड्ने लगायत कर्म भने सामाजिक व्यवहार हुन्। जात व्यवस्था अनुसार १६ देखि ४८ कर्मसम्म आउँछन्।’

उनका अनुसार, नेवार समुदायका बौद्ध तथा हिन्दू धर्मावलम्बीले प्राकृतिक दशकर्म गर्ने गर्छन्। यही दशकर्म प्रतीकात्मक रूपमा रातो मच्छिन्द्रनाथलाई पनि गरिन्छ।

दशकर्म यस प्रकार छन् : १) गर्भाधानकर्म। २) पुंसवनकर्म। ३) सिमन्तोपनयनकर्म। ४) जातकर्म। ५) नामकर्म। ६) अन्नप्राशसनकर्म। ७) चूडाकर्म। ८) व्रतादेशनकर्म। ९) व्रतमोक्षणकर्म र १०) पाणिग्रहणकर्म।

डा. बज्राचार्यका अनुसार, दर्शकर्म अन्तर्गतका सबै कर्म रातो मच्छिन्द्रनाथको मूर्तिमा पनि गरिन्छ। मानिसको व्यवहारमा गरिने र रातो मन्छिन्द्रनाथको मूर्तिमा गरिने दशकर्म केही प्रतीकात्मक हुन्छन्। 

रातो मछिन्द्रनाथमा कसरी हुन्छ दशकर्म ? 

१) गर्भाधान

डा. बज्राचार्यका अनुसार, दशकर्ममध्ये पहिलो हो, गर्भाधानकर्म। मछिन्द्रनाथमा यो कर्म प्रतीकात्मक रूपमा गरिन्छ। 

२) पुंसवनकर्म

गर्भाधानसँगै भ्रूणको विकासमा लिंगको विकास हुन्छ। यस कर्मलाई पुंसवनकर्म भनिन्छ। यो कर्म पनि मछिन्द्रनाथको हकमा प्रतीकात्मक रूपमा गरिने डा. बज्राचार्य बताउँछन्।

३) सिमन्तोपनयनकर्म

व्यावहारिक जीवनमा गर्भाधानपछि बिस्तारै शिशु आमाको योनितर्फ धकेलिन्छ। यो कर्मलाई सिमन्तोपनयनकर्म भनिन्छ, अर्थात् शिशु सीमा (योनि)तर्फ धकेलिएको अवस्था। यो कर्म पनि मछिन्द्रनाथको हकमा प्रतीकात्मक रूपमा गरिन्छ। 
 
४) जातकर्म

योनिबाट हुने जन्मलाई जातकर्म भनिन्छ। डा. बज्राचार्यका अनुसार, निष्प्राण मूर्तिमा प्राणप्रतिष्ठा गरेसँगै रातो मच्छिन्द्रनाथको जन्म भएको जनविश्वास चलिआएको छ। ‘रातो मच्छिन्द्रनाथको हकमा पुंसवनकर्म र सिमन्तोपनयनकर्म जातकर्मसँगै गाभिन्छ,’ उनले भने।

ज्येष्ठ गुर्जु (गुभाजु) पुण्यरत्न बज्राचार्यका अनुसार, महास्नानका क्रममा रातो मच्छिन्द्रनाथको मूर्तिबाट प्राण निकालिएको हुन्छ। ‘स्नानपश्चात् रंगरोगनको कार्यदेखि दशकर्म विधिसम्म मूर्ति निष्प्राण नै रहन्छ,’ गुभाजु बज्राचार्य भन्छन्, ‘जनविश्वास अनुसार, स्नानदेखि दशकर्मको अवधिसम्म उनको प्राण कलशमा राखिएको हुन्छ। तान्त्रिक विधिबाट उक्त प्राण सारेर रातो मच्छिन्द्रनाथको मूर्तिमा सारिन्छ, जसलाई उनको जन्म भएको संज्ञा दिइन्छ।’

गुभाजु बज्राचार्यका अनुसार, जन्मपश्चात् मच्छिन्द्रनाथलाई दृष्टि दान गरिन्छ। रंगरोगनपछि सेतो कपडामा पूर्ण रूपमा बेरिएको मच्छिन्द्रनाथलाई भक्तपुरका राजा नरेन्द्रदेवका पुस्ताले विधिवत खोल्छन्। त्यसपछि मात्र अन्य कर्म अघि बढ्छ। साथै, मूर्तिमा रंग लगाउने जिम्मा पाएका गम्भीर नेकु पनि दशकर्म विधिमा सहभागी हुन्छन्।

५) नामाकरणकर्म

दशकर्ममध्येको अर्को हो– न्वारन, अर्थात् नामकर्म वा नामाकरण। नामले मानिसको परिचय दिन्छ। संसारमा जन्म भएपछि आफ्नो परिचयसँगै एक बालक संसारमा आफ्नो जीवनअघि बढाउन थाल्छ,’ डा. बज्राचार्य भन्छन्, 
‘मछिन्द्रनाथको मूर्तिको निधारमा बज्रले टीका लगाउने विधिलाई नामाकरणको रूपमा मानिन्छ।’

६) अन्नप्राशनकर्म

यस कर्मअन्तर्गत मछिन्द्रनाथको मूर्तिका लागि काँसका ठूला ६ वटा भाँडामा प्रतीकात्मक रूपमा चौरासी व्यञ्जन राखिएको हुन्छ। विधि अनुसार, मछिन्द्रनाथको मूर्तिलाई ६ पटक उक्त भोजन खुवाउनुपर्ने हुन्छ। त्यस दिन गम्भीर नेकुले एक हातका एक–एक औँलाले पाँचपटक र अन्तिममा एकमुष्ठ रूपमा पाँचै औँलाले भोजन खुवाए, योसँगै मछिन्द्रनाथको अन्नप्राशन कर्म पूर्ण भयो। 

७) चुडाकर्म

अन्नप्राशनपछि गुभाजु (गुर्जु)ले केही मन्त्र उच्चारण गर्न थाले। गम्भीर नेकुलाई सँगै रहेका एक बज्राचार्य परिवारका सदस्यले पातलो सुनको पत्ता दिए। जसलाई गम्भीरले मूर्तिको शिरमा छुवाए। बज्राचार्य परिवारको गुठीबाट प्रतिवर्ष एक परिवारले दशकर्म गर्ने पालो आउने रहेछ। 

‘यो विधि यति छिटो हुन्छ छ कि कतिपयले देख्नै पाउँदैनन्। उक्त विधिलाई चुडाकर्म भनिन्छ,’ डा. बज्राचार्य भन्छन्, ‘जसपश्चात् व्रतबन्ध सुुरु हुन्छ।’

८) व्रतादेशनकर्म (व्रतबन्ध र इहि)

नेवार समुदायको सामाजिक थितिमा व्रतबन्धमा केटालाई लँगौटी लगाइदिने गरिन्छ। यससँगै उसको शारीरिक विकासको संकेत र आगामी दिनमा मान्नुपर्ने सामाजिक नीतिनियम आउँछन्। रातो मच्छिन्द्रनाथको मूर्तिमा भने काँचो धागोको माला लगाइन्छ, जसलाई व्रतबन्धको प्रतीकका रूपमा मानिने गुभाजु पुण्यरत्न ब्रजाचार्य बताउँछन्। 

डा. बज्राचार्यका अनुसार, रातो मच्छिन्द्रनाथको शरीरलाई ढाक्ने गरी लगाएको रातो वस्त्रले इहिको संकेत गर्छ। सँगै इहिपटासी (बेल विवाहमा मात्र लगाइने विशेष कपडा) पनि बेरिन्छ। ‘बोधिसत्व पुरुष वा नारी जसले पनि प्राप्त गर्न सक्छ। यसकारण रातो मच्छिन्द्रनाथ नर वा नारी जो पनि हुन्छन्,’ डा. बज्राचार्य भन्छन्, ‘हामी उनलाई स्त्री र पुरुष दुवै मान्छाँै। लैंगिकताको सम्मान गर्दै पुरुषलाई गरिने व्रतबन्धसँगै महिलालाई गरिने इहि कर्म दशकर्म विधिअन्तर्गत पर्छ।’

९) व्रतमोक्षणकर्म

डा. बज्राचार्यका अनुसार, व्रतबन्धकर्म र इहि कर्मपछि मछिन्द्रनाथको मूर्तिलाई व्रतमोक्षणकर्म गरिन्छ। मानिसको लेखपढ र जागिरे उमेरको अवधि यसमा पर्छ। यसलाई ब्रह्माचार्यको अवधिका रूपमा पनि मान्न सकिन्छ। मछिन्द्रनाथको हकमा भने यो कर्म प्रतीकात्मक रूपमा गरिन्छ।

१०) पाणीग्रहणकर्म

मछिन्द्रनाथलाई गरिने दशकर्म अन्तर्गतको अन्तिम कर्मका रूपमा पाणीग्रहणकर्म (शुभ–विवाह) लाई लिइन्छ। डा. बज्राचार्यका अनुसार, प्राणी जगत्मा स्त्री र पुरुषको विवाह हुन्छ, तर रातो मच्छिन्द्रनाथको विवाह कुनै स्त्री वा पुरुष नभई प्रज्ञासँग हुन्छ। दार्शनिक रूपमा बौद्ध धर्ममा ज्ञानपछि प्रज्ञा आउने मानिन्छ।

‘यस विवाहपछि रातो मच्छिन्द्रनाथले बुद्धत्व प्राप्त गर्ने जनविश्वास चलिआएको छ,’ डा. बज्राचार्य भन्छन्, ‘दशकर्मको अन्तिममा मुकुट लगाइदिने गरिन्छ। मुकुटसँगै पञ्चाभिषेक पनि हुने गर्छ। दशकर्मभित्र नपरे पनि यस विधिले रातो मच्छिन्द्रनाथले बुद्धत्व प्राप्त गरेको संकेत गर्छ।’

(पाठकको स्पष्टताका लागि नोट : यस सामग्रीका लागि विशेष रूपमा त्रिभुवन विश्वविद्यालय बौद्ध अध्ययन केन्द्रीय विभागका प्रमुख तथा लुम्बिनी विश्वविद्यालयका निवर्तमान उपकुलपति गुर्जु (गुभाजु) डा. नरेशमान बज्राचार्यसँग र बुंगमतिका ज्येष्ठ गुर्जु (गुभाजु) पुण्यरत्न बज्राचार्यसँग कुराकानी गरिएको हो। आलेखमा कहीँकतै छोटकरी रूपमा नरेशमान बज्राचार्यलाई ‘डा. बज्राचार्य’ र पुण्यरत्न बज्राचार्यलाई ‘गुभाजु बज्राचार्य’ मात्रै लेखिएको छ।)
 

प्रकाशित मिति: १८:२१ बजे, बिहीबार, जेठ १९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्