पृथ्वीनारायण पालाको औँसी–पूर्णे बिदादेखि हप्तामा दुईदिने बिदासम्म
त्यतिबेला पेट्रोल र डिजेलको मूल्यवृद्धि भएकाले त्यसको खपतमा कमी ल्याउन, बिजुली र टेलिफोनको खपतमा कमी ल्याउन बिदा उचित हुने भनिएको थियो ।०७९ जेठ १ देखि लागू हुने गरी सरकारले हप्ताको दुई दिन सार्वजनिक बिदा दिने निर्णय गर्यो। यो पहिलोपटक गरिएको निर्णय भने होइन। आजभन्दा २३ वर्षअघि पनि यस्तै व्यवस्था गरिएको थियो। त्यो व्यवस्था दुई वर्ष केही महिनामा उल्टियो। त्यति बेला म त्रिभुवन विश्वविद्यालय अन्तर्गत मानविकी संकायको डिन थिएँ।
त्यतिबेला पेट्रोल र डिजेलको मूल्यवृद्धि भएकाले त्यसको खपतमा कमी ल्याउन, बिजुली र टेलिफोनको खपतमा कमी ल्याउन बिदा उचित हुने भनिएको थियो। त्यस्तै, साताको पाँच दिन ८–८ घन्टा गरी ४० घन्टा काम हुने पनि दलिल पेस गरिएको थियो।
उक्त निर्णय सरकारी तथा गैरसरकारी कार्यालयमा लागू भयो। विद्यालय तथा विश्वविद्यालयमा लागू गरिएन। त्रिभुवन विश्वविद्यालयमा पनि उक्त निर्णय लागू गर्ने योजनाका साथ तत्कालीन उपकुलपतिले एक समितिको गठन गर्न आदेश दिए। तत्कालीन विज्ञान संकायका डिन डा. कृष्ण मानन्धरको संयोजकत्वमा समिति गठन भएको थियो। जसमा मानविकी संकायका डिनको तर्फबाट म पनि सदस्य थिएँ।
केही प्रोफेसर, प्रशासनका कर्मचारी, अभिभावक र विद्यार्थीसँगको छलफलबाट विश्वविद्यालयमा दुईदिने बिदा कार्यान्वयन नहुने निर्णय भयो। छलफलका क्रममा प्रशासनतर्फका केही कर्मचारीले अन्य सरकारी तथा गैरसरकारीसरह बिदा नपाउँदा आफूहरूप्रति न्याय नहुने जिकिर गरेका थिए। प्रशासनका कर्मचारीबिना विश्वविद्यालय सञ्चालन हुन नसक्ने भनेपछि उहाँहरू पनि मान्नुभयो।
०५६ साउन ६ मा भएको दुईदिने बिदाको निर्णय २०५९ वैशाखमा उल्टियो। तत्कालीन प्रधानमन्त्री शेरबहादुर देउवाबाट निर्णय उल्ट्याउँदा सुरुमा पेस गरिएका दलिलमा कुनै प्रकारको सकारात्मक परिवर्तन आउन नसकेको बताइएको थियो।
त्यतिबेला पेट्रोल डिजेलको खपतमा कुनै कमी आएन, उल्टै बढ्यो। बिजुलीको बिलमा पनि खासै कमी आएन। प्रशासन, बैंकिङ तथा स्वास्थ्य सेवामा जनताले व्यापक विरोध गरे।
एक मन्त्रीले उक्त निर्णयको ढाकछोपमा एकपटक असफल भयो भन्दैमा फेरि पनि असफल हुने सोच्न नहुने तर्क दिएका थिए। अहिले एक हप्ता नबित्दै अवस्था उस्तै भइसक्यो।
बैंकिङ क्षेत्र, अस्पताल, प्रशासनिक सेवामा देखिने कामको चापले जनता आजित हुन थालिसके। भक्तपुर नगरपालिका र काठमाडौं महानगरपालिकाले दुई दिनको बिदा नमान्ने भएको छ।
शिक्षातर्फ अझ यसले विकृति निम्याउँछ। विद्यार्थी अझ बरालिन थाल्छन्। कक्षा ६ देखि ८ पढ्ने विद्यार्थीलाई अनुशासनमा राख्नुपर्ने उमेर हो। दुई दिन बिदाले उनीहरू बरालिन्छन्।
यसपालि बिदाको निर्णय गर्दा पनि २३ वर्षअघिकै दलिल पेस गरिएको छ। अहिले बिनाअध्ययन र गृहकार्य सातामा दुई दिन बिदा दिइँदा अव्यावहारिक भएको गुनासो आएसँगै सरकारले पुनरवलोकनको तयारी थालेको छ। मेरो विचारमा सरकारले पुनरवलोकनमा समय नष्ट नगरी चाँडै उक्त निर्णयलाई बदर गर्नु उचित हुन्छ।
जहाँसम्म अन्तर्राष्ट्रिय परिपेक्ष्यमा दुई दिनको व्यवस्थाको विषय छ, यसमा हाम्रो पूर्वाधारदेखि सरकारको सिस्टम, प्रशासन, अस्पताल तथा अन्य सेवा अन्तर्राष्ट्रियस्तरको दाँजोमा छैन। त्यहाँका जनताको सेवासुविधा पहिल्यैबाट स्थापित छ।
प्रशासनिक बिदाको इतिहास
बिदा सम्बन्धमा मध्यकालअघि के थियो भन्ने मलाई जानकारी छैन। पृथ्वीनारायण शाहको पालामा भने प्रशासनिक कर्मचारीलाई औँसी र पूर्णिमामा बिदाको व्यवस्था भएको ज्योतिषीबाट मैले सुनेको थिएँ। कहिलेकाहीँ एकादशीमा पनि दिइन्थ्यो रे। यसको प्रमाण भने मसँग छैन। त्यतिबेला बार अनुसार नभई तिथि अनुसार बिदा दिने गर्थे। औंसी, पूर्णिमा वा एकादशीको बिदा अपुग भएपछि बीचको तिथि अष्टमीमा पनि बिदा दिन थालियो भनिन्छ।
बारबमोजिम बिदा दिने चलन भने राणा प्रधानमन्त्री भीम शमशेरको पालादेखि सुरु भएको हो। उनले शनिबार बिदा दिने घोषणा गरे। त्यस समयसम्म बेलायती कर्मचारी पनि यहाँ आइसकेका थिए। उनीहरू आइतबार बिदा बस्ने गर्थे। तत्कालीन प्रधानमन्त्री भीम शमशेरले भने शनिबारै बिदा दिए। अपुष्ट जानकारी अनुसार, भीमशमशेर शनि देवताका भक्त थिए, त्यसैले शनिबार बिदा दिने चलन चलाए।
मेरो बुझाइमा, नेपालमा दिनको गन्ती आइतबारबाट सुरु हुन्छ। रोज एक अर्थात् आइतबार, रोज दुई अर्थात् सोमबार भनिन्छ। यसरी सातौँ रोज अर्थात् शनिबार साताको अन्तिम दिन भएका कारण शनिबार बिदाको व्यवस्था भएको हुन सक्छ।
(इतिहासविद् मानन्धरसँग काठमाडौं प्रेसकर्मी प्रबिता श्रेष्ठले गरेको वार्तामा आधारित।)