Kathmandu Press

‘धरानलाई रेमिट्यान्सले धानेको छ, यसलाई उपभोक्तामुखी होइन, उत्पादनमुखी बनाउनेछौँ’

धरानको मुख्य समस्या खानेपानी हो । स्वास्थ्य सेवातर्फ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विकृति सुधार्नुपर्नेछ । बजारको व्यवस्थापनदेखि सुकुम्बासीका समस्या छन्। ती समस्या समाधान गर्नुपर्छ।
‘धरानलाई रेमिट्यान्सले धानेको छ, यसलाई उपभोक्तामुखी होइन, उत्पादनमुखी बनाउनेछौँ’

धरान उपमहानगरपालिकाको मेयरमा निर्वाचित भएसँगै स्वतन्त्र उम्मेदवार हर्कराज राई साम्पाङको चर्चा चुलिएको छ । खोटाङको खार्तम्छामा लाहुरे परिवारमा २०३९ सालमा जन्मिएका साम्पाङ २०५५ सालतिर धरान झरेका थिए, उच्च शिक्षाका लागि । महेन्द्र बहुमुखी क्याम्पसबाट राजनीति र समाजशास्त्रमा स्नातक गरेका साम्पाङ एक दशकयता सामाजिक अभियन्ताका रूपमा सक्रिय छन् । 

२०७२ सालतिर धरान–धनकुटे रोड किनारका सयौं परिवारलाई उठिबास लगाउने भएपछि संघर्ष समिति बनेको थियो, जसमा उनी सहसंयोजक थिए । धरानमा हुने बेथितिका विरुद्ध उनले निरन्तर आवाज उठाइरहे, प्रश्न गरिरहे । अहिले उनलाई धराने जनताले जिम्मेवार निकायमा पु¥याएका छन् ।
जनताले चुनेका मेयर राईसँग धराने जनताका समस्या समाधान गर्ने के कस्ता योजना छन् त ? प्रस्तुत छ, यसै सन्दर्भमा रहेर नवनिर्वाचितमेयर राईसँग काठमाडौं प्रेसकर्मी प्रबिता श्रेष्ठले गरेको वार्ताको सम्पादित अंश :

धरान उपमहानगरको मेयरमा निर्वाचित भएकामा यहाँलाई बधाई छ । स्वतन्त्र उम्मेदवार भएर निर्वाचित हुनुभयो, दलगत राजनीतिप्रतिको यहाँको बुझाइ वा विश्लेषण के छ ?

Hardik ivf

दल भनेको संगठन हो । संगठनको आफ्नै जमात हुन्छ । स्वतन्त्र भनेको एक्लो व्यक्ति हो । तर, चुनाव जनताको अभिमत हो । यता, भोट व्यक्तिको निजी अभिमत हो । जनताको मतदानबाटै जनप्रतिनिधि छानिने हुन्, चाहे दलका हुन् वा स्वतन्त्र ।

लोकतन्त्र भनेको जनताको शासन हो । पहिले जनताले राजा मानेका थिए, राजतन्त्र कायम थियो । त्यसपछि लोकतन्त्र आयो । दलप्रतिको वितृष्णाका कारण मैले स्वतन्त्र उम्मेदवारी दिएको हुँ । 

जनप्रतिनिधिका रूपमा पद सम्हालेकाहरू जनताका समस्याप्रति इमानदार हुन सकेनन् । आवाज उठाएर विरोध मात्र गरेर नहुने भएपछि मैले आफैँ स्वतन्त्र रूपमा उम्मेदवारी दिने निर्णय गरेको हुँ । आखिर जनताले जे मन पराउँछन् त्यही हुन्छ ।

हिजोसम्म प्रश्न उठाउँदै आउनुभयो, आज स्वयं जवाफदेही ठाउँमा पुग्नुभएको छ, यहाँले देखेको धरानका प्रमुख समस्या के हुन् ? यी समस्या समाधानमा यहाँको योजना के छ ?

धरानको मुख्य समस्या खानेपानी हो । स्वास्थ्य सेवातर्फ बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानका विकृति सुधार्नुपर्नेछ । बजारको व्यवस्थापनदेखि सुकुम्बासीका समस्या छन् । ती समस्या समाधान गर्नुपर्छ भनेर हिजो कराइयो । कराएर हुँदैन, त्यहाँ पुगेर काम गर्नुपर्छ भन्ने लाग्यो । आफैँ त्यहाँ जान मैले मात्र चाहेर हुँदैनथ्यो । यसमा सम्पूर्ण धराने जनताले चाहनुभएको रहेछ, जसको परिणाम स्वरूप आज स्वतन्त्र उम्मेदवारले जितेको छ । 

तत्काल सुधार गर्नुपर्ने कुरा छन् । मर्मतसम्भार तथा व्यवस्थापन गर्नुपर्नेछ, यसमा जोड दिइनेछ । यसका साथै स्रोत थप्नुपर्नेछ । यी यावत् विषयमा विचार–विमर्श गरी कर्मचारी प्रशासन र स्थानीयसँगको हातेमालोमा काम–कारबाही अघि बढाउनेछाैँ । 

धरानको स्थानीय उत्पादन वा आयस्रोतका सम्भावना के के हुन् ? यी उत्पादनको प्रवद्र्धन गर्न र सम्भावनालाई मूर्त रूप दिन यहाँसँग के कस्ता योजना छन् ? 

धरानलाई रेमिट्यान्सले धानेको छ । धरान मात्र नभई हाम्रो देश नै रेमिट्यान्सले चलेको देश हो । यद्यपि, आयस्रोतका दृष्टिकोणबाट हेर्ने हो भने धरान पर्यटनको हब बन्न सक्छ । धरान पर्यटनका लागि राम्रो ठाउँ हो । तमोरतिर ¥याफटिङदेखि बराही क्षेत्र, बुढासुब्बा लगायत धार्मिक पर्यटनको सम्भावना बोकेको ठाउँको रूपमा आन्तरिक पर्यटनमा अभिवृद्धि गराउन सकिन्छ ।

अब धरान उपभोक्तामुखी मात्र भएर हुँदैन । उत्पादकको रूपमा पनि धरानलाई विस्तार गर्ने मेरो सोच–विचार छ । यहाँ अधिकांश आवासीय क्षेत्र छ । विशेषतः धरानका चारवटा वडा (४, ५, ६, र २०) कृषिजन्य उत्पादनको सम्भावित क्षेत्र हुन् । यी क्षेत्रमा कृषि उत्पादन गर्न सके धरान आत्मनिर्भर हुन सक्छ, यसका लागि उन्नत कृषि प्याकेज ल्याउनेछौँ । 

सर्दु र सेउती खोलामा बालुवा निकाल्ने विषय चर्चामा छ । यसप्रति यहाँको धारण के हो र विकास निर्माणको अर्को पाटो हो प्रकृतिको विनाश वा उत्खनन, यसमा विकल्प के सोच्नुभएको छ ? 

बालुवा उत्खननको विरोधमा छु म । यस विषयमा मैले आन्दोलत समेत गरेको थिएँ । उहाँहरूले उत्खनन किन गरिरहनुभएको छ भन्ने पनि म बुझ्छु । प्राकृतिक क्षयमा मैले रोक लगाउनेछु । जहाँसम्म प्राकृतिक संरचनाको विनाशको विकल्पको कुरा छ, यसमा विज्ञसँगको सहकार्यमा दीर्घकालीन योजनासहित अघि आउनेछाैँ। 

धरान पहिले विजयपुर राज्यअन्तर्गत पर्थ्याे भनिन्छ । यसको ऐतिहासिकता जोगाउने र धार्मिक स्थलको प्रवद्र्धनमा यहाँको योजना के छ ?

विजयपुर सांस्कृतिक एवं ऐतिहासिक सम्पदा बोकेको थलो हो । पहिले यसलाई विजयपुर भनेर पनि चिनिन्थ्यो । बिस्तारै विजयपुरको फेदीमा रहेको समथल क्षेत्रमा बस्ती बस्न थाले । पछि त्यसैलाई धरान भन्न थालियो । यो पुरातात्विक हिसाबले महत्वपूर्ण गढी र पुराना मठमन्दिर भएको क्षेत्र हो । धार्मिक श्रद्धा राख्ने श्रद्धालुका लागि यो क्षेत्र अति राम्रो गन्तव्य स्थान बन्न सक्छ । यसको व्यवस्थापन खासै राम्रो हुन सकेको छैन । यसको व्यवस्थापन र संरक्षणमा जोड दिने योजना छ। 

धरानलाई लाहुरेले बनाएको सहर पनि भनिन्छ, लाहुरे परिवारका सम्बन्धमा केही सोच्नुभएको छ कि?

लाहुरेहरूले बस्ती बसाएको सहर मानिन्छ, धरान । हाल धरानबाट लाहुरे बस्ती हराउन थालेको छ । यसले ठूलो घाटा पनि पारेको छ । भूतपूर्व लाहुरेहरू उतै बस्न थालेपछि जुन रेमिट्यान्स यहाँ भित्रिन्थ्यो, त्यसमा ह्रास आएको छ । सुन्नमा आए अनुसार, एक वर्षमा करिब ८५ करोड रुपैयाँ पेन्सन आदि भित्रिन्थ्यो । ती सबै बाहिरै बस्न थाल्दा एक प्रकारले आर्थिक मन्दी पनि देखिएको छ । अबका लागि लाहुरेलाई धरानमै बस्नुपर्छ भन्ने बुझाउनुपर्नेछ । यो समस्यालाई मैले बुझेको छु । 

धरानमा युवायुवती कुलतमा फसेको चर्चा पनि सुनिन्छ, युवालाई इलम, अध्ययनमा लगाउने कुनै योजना छन् कि ?

युवायुवती कुलतमा लाग्नु धरानको मात्रै नभई राज्य र विश्वकै समस्या हो । यसमा सकारात्मक तरिकाले जानुपर्छ । यस कार्यकालमा उपलब्ध स्रोतसाधन, अधिकार क्षेत्र बमोजिम युवालाई उद्देश्यसँग जोड्नेछौँ ।

उद्देश्यविहीन मान्छेलाई नशा चाहिन्छ । उसलाई समय बिताउनु छ, त्यो पनि रमाइलो तरिकाले । कारण, काम नभएपछि मानिसले रमाइलो खोज्छ । व्यस्त रहँदा त्यस्ता रमझम चाहिँदैन । रमाइलो खोज्ने क्रममा व्यक्ति बिस्तारै कुलतमा फस्छ । यसकारण मानिसलाई कामसँग जोड्नुपर्छ ।

कामसँग जोड्नका लागि पहिले उद्देश्यसँग जोड्नुपर्छ । जीवनमा केही बन्नका लागि उद्देश्यसँग जोड्नुपर्छ र जोड्नेछौँ । मेरा यी भनाइ भावनात्मक लाग्न सक्छन्, परिवर्तनमा हाम्रा भावना र चेत दुवैले महत्व राख्छन् । त्यो स्तरबाट म धरानलाई उठाउनेछु ।
 

प्रकाशित मिति: १२:२० बजे, बुधबार, जेठ ११, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्