धार्मिक फितला कथाहरू सृष्टिका आधार कसरी हुन्छन् ?
प्राणी, मान्छे र संसारको सृष्टि, विकास र यथार्थता प्राकृतिक रूपमा घटित प्रणाली अनुसार चलिरहेछ। तर हरेक धर्मले मानवमूल्य र जगत्को अवस्थितिलाई फरक फरक ढङ्गले व्याख्या गरेका छन्।मान्छेको कल्पना र भयबाट ईश्वर र धर्मको सुरुवात भयो। उसको चेतनाको स्तर, वस्तुस्थिति र समय अनुसार ईश्वर र धर्मको सिर्जना ग¥यो। समय बित्दै जाँदा मान्छेको लागि यी दुवै सामाजिक बन्धन, आशा, निराशा र ठूलो भारको रूपमा स्थापित भए। वास्तवमा ईश्वर र धर्म नहुने हो भने मान्छे वास्तवमै स्वतन्त्र हुनसक्थ्यो तर धार्मिक जञ्जालमा फसेर मान्छेका सिर्जनात्मक क्षणहरू त्यसै बर्दाद भइरहेछन्।
प्रायः सबै धर्मले ईश्वरको कल्पना गरे। ईश्वर हुनुको प्रमुख गुण ‘अदृश्य’ हुनु हो भन्ने तर्क पनि अघि सारे। तर कुनै पनि धर्मले ईश्वर छ भन्ने प्रमाण दिन सकेको छैन। सृष्टि पनि ईश्वरले ग¥यो त भनियो तर सृष्टिका प्रकृया, चरण, विकास र यथार्थता कतैबाट पुष्टि हुन सकेको छैन। केवल ईश्वर र सृष्टिको बारेमा तर्क नगरेर ‘अदृश्य’ र ‘अलौकिक’ शक्तिबाट संसार चलिरहेछ भन्नु समयलाई पछि धकेल्न खोज्नु मात्र हो। सृष्टिका कल्पना प्रायः सबै धर्ममा कथानक रूपमा प्रस्तुत गरिएका छन्। फितला कथाहरू सृष्टिका आधार हुन सक्तैनन्।
धर्मशास्त्रको मतमा ईश्वर उपास्य हुन्छ। ईश्वरको अस्तित्व प्रमाणित गरिरहन जरुरी छैन भन्ने धर्मशास्त्रहरूको मत छ। ईश्वर अनिवार्य सत्ता हो र यो सर्वज्ञ र प्रज्ञावान पनि छ भन्ने उनीहरूको भनाई छ। कुनै पनि सत्ता कुनै गुण विना रहन सक्तैन र गुण विना कुनै पदार्थ सम्भव हुँदैन। ईश्वरमा पनि केही सर्वोच्च गुणहरू भएकाले अनिवार्य सत्ता र उपास्य सम्झिएको हो भन्ने उनीहरू मान्दछन्। तान्त्रिक दृष्टिकोण अनुसार ईश्वरलाई आध्यात्मिक, अनन्त, सर्वशक्तिमान, नित्य तथा निरपेक्ष सम्झिन्छ। धार्मिक दृष्टिकोणबाट भने ईश्वरलाई व्यक्तित्वपूर्ण, सृष्टिकर्ता, अनन्त, सर्वशक्तिमान, सर्वज्ञ, सर्वव्याप्त, शुभ–शिव, सहानुभूतिशील, कृपालु तथा पवित्र मानिएको छ।
ईश्वरको सम्बन्धमा व्यक्त ती विचारहरू कतै प्रमाणित भने भएका छैनन्। उपास्य विषय सबै दृष्टिकोणबाट उत्कृष्ट हुनुपर्ने हो र सबै वस्तुभन्दा श्रेष्ठ प्रमाणित हुनुपर्ने हो तर ईश्वर त्यसरी प्रमाणित भएको छैन। ईश्वरलाई अधिक विशेषण त दिइयो तर त्यो कतैबाट पुष्टि हुन सकेको छैन। जस्तो कि ईश्वरलाई ‘सबै मान्छेको पिता’ भनियो। पिता त शारीरिक गुणले हुन्छ भावनामा हुँदैन। पिता जवान र बूढो पनि हुन्छ, तर ईश्वर त्यस्तो हुँदैन। पिता मर्छ पनि तर ईश्वरलाई सर्वकालिक र सर्वज्ञ बनाइएको छ। फेरि ईश्वरको अस्तित्वलाई मान्छेले जीवनमा गर्न नसकेर मृत्युपछिका कुराहरू दर्शाउँदै ईश्वर छ भन्ने कुरा फलाको हालेको छ। जीवनबाट पुष्टि गर्न नसकेपछि मृत्युपछिका कल्पनाहरूले ईश्वर पुष्टि गर्न खोज्नु भ्रम फैलाउनु मात्र हो।
प्राणी, मान्छे र संसारको सृष्टि, विकास र यथार्थता प्राकृतिक रूपमा घटित प्रणाली अनुसार चलिरहेछ। तर हरेक धर्मले मानवमूल्य र जगत्को अवस्थितिलाई फरक फरक ढङ्गले व्याख्या गरेका छन्। सृष्टि, धर्म, पाप, स्वर्ग, पुण्य, मोक्ष आदिलाई आ–आफ्नै ढङ्गले बयान गर्नु सत्यको नजिक नपुग्नु हो। सत्ता सबैको दृष्टिमा एकै हुनुपर्छ र हुन्छ पनि। घामलाई सबैले उज्यालोको रूपमा देख्ने हो, कसैले अँध्यारोको रूपमा देख्ने प्रश्न नै उठ्दैन। प्राणीको गर्भाधान, जन्म, जीवन र मृत्यु एकै किसिमको हुनेमा फरक फरक ढङ्गले परिभाषित गर्नुको पनि औचित्य के छ र?
हिन्दू र इसाई धर्मग्रन्थहरूमा लेखिएको छ— ‘सृष्टिअघि नै पानी थियो।’ इस्लाम धर्मले भन्छ— ‘सृष्टिअघि पृथ्वी, आकाश र पानी थियो।’ यी सबै परस्पर विरोधी तर्क छन्। सृष्टि अघि नै पानी, आकाश र पृथ्वी हुनु भनेको सृष्टिको अस्तित्व रहिसक्नु हो। सृष्टि भैसकेको प्राकृतिक अवस्थालाई ईश्वरले सृष्ट गरे भनेर धर्महरूले फलाको हाल्नु अफवाह फैलाउनु मात्र हो।
धर्मग्रन्थले संसारको सृष्टि गर्न, विकास गर्न र सञ्चालन गर्न फरक फरक मान्छेहरू संसारमा आए र पछि देवता बने भन्ने उल्लेख गरेका छन्। यी सबै धर्ममा लाग्ने वा प्रवर्तन गर्नेका तर्क मात्र हुन्। हरेक धार्मिक समूहले आफ्नै समूहको ईश्वर कल्पना ग¥यो, सृष्टिको कल्पना ग¥यो र ईश्वरको अवतारको पनि कल्पना ग¥यो। सबै धर्ममान्नेहरूको संसार एउटै छ तर, एक धर्मले र अर्को धर्मले फरक समय र फरक प्रकृयाद्वारा सृष्टि भएको र आपूmले भनेको ईश्वर र देवतानै सर्वोच्च भएको दावी गर्छ।
हिन्दूहरू सनातन वैदिक धर्मका श्रुति, स्मृति, वेद, उपनिषद्, भागवत् गीता, पुराण आदि सहित भविष्य पुराणलाई प्रमुख मान्दै सम्पूर्ण पुराणहरू व्याँसले सङ्कलन गरेका हुन् ती सबै ग्रन्थ र संसारका वास्तविक रचनाकार त स्वयम् ईश्वर हुन भन्दछन्। इस्लाम धर्मावलम्वीहरू इस्लाम धर्मका ग्रन्थ पवित्र कुरआनको वर्णन गर्दै कुरआनलाई सम्पूर्ण गुणले परिपूर्ण इस्लाम कानुन सरिअत र मुहम्मदका वाणी उपदेश अभ्यास आदिलाई ‘हरिस’ को रूपमा स्वीकार्दै ‘अल्लाह’ मात्र एक ईश्वर हुन् र मुहम्मद अल्लाहका इतका रूपमा संसारमा आए भन्दछन्। ईशाईहरू भने प्रभु क्राइष्टले नै संसारको सिर्जना, विकास र पालन गरेका हुन् भन्ने तर्क उनीहरूको धार्मिकग्रन्थ ‘पवित्र वाइबल’ मार्फत प्रक्षेपण गरेका छन्। हिन्दूहरूको प्रसिद्ध ग्रन्थ ‘श्रीमद् भगवद्गीता’ मा कृष्ण स्वयं भन्छन्— ‘हे भरतवंशी अर्जुन ! जहाँ जहाँ र जहिले जहिले धर्मको पतन र अधर्मको उन्नति हुन लाग्छ त्यस बखत त्यस ठाउँमा मैले अवतार लिन्छु।’
‘यदा यदा हि धर्मस्य ग्लानिर्भवति भारत
अभ्युत्थानम्धर्मस्य तदात्मानं सृजाम्यहम्’
– श्रीमद्भगवद्गीता ४.७
धर्मको काम नै समाजमा भातृत्व, अव्यवस्था र सहिष्णुता कायम गर्ने हो। तर, धर्माधिकारीहरू र धर्मावलम्वीहरू आ–आफ्ना धर्मनै महान र पवित्र भन्ने ढोल पिटाइरहेछन्। अर्काको धर्मलाई भने भएभरका शब्द प्रयोग गरेर गाली गलौज गर्ने तर आफ्नो धर्ममा भने कुनै पनि खोट छैन भन्ने प्रवृत्तिले धर्मको कारण मानव समाजनै झन् असहिष्णु र द्वेषपूर्ण बन्दै गइरहेछ। हिन्दूहरू, ईशाईहरू र ईस्लामहरू बीच एक अर्कासँग पानी बाराबारको स्थिति छ। यिनीहरूमा मौका परे फरक धर्मावलम्वीलाई भौतिक आक्रमण गर्नसम्म पछि नपर्ने प्रवृत्तिले बेलाबेलामा धार्मिक युद्धको कारण असंख्य जनधनको समेत नोक्सान हुने गरेको छ। आफ्नो धर्मका अवगुणहरूलाई पर्दाले छोप्ने तर अर्काको मुटुसमेत उधिन्ने प्रवृत्तिले संसारमा धर्म झगडाको बीउ बनिरहेछ।
हिन्दू धर्मका ग्रन्थ पढ्दा थाहा हुन्छ— ‘हिन्दू धर्मको विरुद्ध चल्नेहरूलाई सहज रूपमा चल्न दिनु हुँदैन’ भन्ने सन्देश। आपूm अनुकूल नचल्नेलाई नाश गर्नु भन्ने सन्देश पनि कतिपय शास्त्रमा लेखिएको छ। महाभारतको अध्ययन गर्दा थाहा हुन्छ कि चार्वाक नामक भौतिकवादी दार्शनिकले तर्कका आधारमा निर्णयमा पुग्नुपर्छ भने। उनले युधिष्ठिरको राज्यलिप्साको विरोध गर्दै विश्वशान्तिको आवाज उठाउँदा उनलाई ‘राक्षस’ भनेर मारियो। धार्मिक रूपमा वैचारिक भिन्नता देखाउनेलाई बहिष्कार गर्नुपर्छ, उसको नजिक रहन पनि हुँदैन भन्ने भावना धर्मगुरुहरूले नै फैलाउदै आएका छन्। स्वयं मनुस्मृतिमा लेखिएको छ कि– जो व्यक्ति तर्कको आधारमा वेद र स्मृतिहरूको विरोध गर्छ उसलाई बहिष्कार गर्नुपर्छ।
‘योऽवमन्येत ते मूले हेतुशास्त्राश्रयांद् द्विज,
स साधुभिर्वहिष्कार्यो नास्तिको वेदनिंदक’
मनुस्मृति २.११
मनुस्मृति भन्छ— शूद्रको राज्यमै कोही नबस्नु। वाल्मीकि रामायणमा त बौद्ध धर्मका संस्थापक बुद्धलाई चोर भन्दै दण्डनीय समेत भनिएको छ। बुद्धले वेदको विरोध गरे र ब्राह्मणवादको विरोध गरे भनेर त्यसो भनिएको हुनुपर्छ।
‘यथा हि चोर : स तथा हि बुद्ध :’
अयोध्या काण्ड १०९.३४
ब्रह्मसूत्र २.२.३२ शंकर भाष्यमा शंकराचार्यले बुद्धलाई ‘दुनियाँको दुश्मन’ भएकाले कल्याण चाहनेले बुद्धको आदर नगर्नु समेत भनेका उल्लेख छ।
हिन्दू धर्मग्रन्थहरूले जैनधर्मको पनि घोर विरोध गरेका छन्। पद्मपुराण, भूमिखण्ड (२।३८।२६–२७) मा ‘जैन धर्म सारा पापले भरिएको छ, जो त्यो धर्म ग्रहण गर्छ उ पापी हो’ भनिएको छ।
हिन्दू धर्म भित्रकै पनि एक संप्रदायले अर्को सम्प्रदायलाई अनेकौ शब्दले गाली गलौज गर्नु र अर्को सम्प्रदायप्रति छड्के आँखाले सम्म हेर्न नदिनु हिन्दू भित्रै असहिष्णुताको कालो बादल मडारिरहेको स्पष्ट हुन्छ। भागवत पुराणले विष्णुको प्रशंसा गर्छ र वैष्णव सम्प्रदायलाई अघि बढाउँछ। स्वयं भागवतपुराणमा लेखिएको छ कि— ‘जो शिवको ब्रत धारण गर्ने वा शिवको अनुयायी हो, ऊ सही शास्त्रको दोषी र पाखण्डी हो।’ यसकारण मुक्ति चाहनेले शिवको डरलाग्दो मूर्ति त्यागेर नारायणको शान्त रूपको ध्यान गर्नुपर्छ।
‘भवव्रतधरा ये च ये च तान् समनुव्रता :
पाखंडिनस्ते भवन्तु सच्छास्त्र परिपन्थिन :
– भागवतपुराण ४.२.२८
पद्मपुराण भने शिवको प्रशंसा गर्दै विष्णुलाई होच्याउन मस्त छ। त्यसमा लेखिएको छ— ‘विष्णुलाई नजिक देख्नुनै शिवको द्रोह गर्नु हो। शिवको द्रोह गर्ने मान्छे नरक जान्छ। यसकारण विष्णुको नामसम्म लिनु हुँदैन।’
‘विष्णुदर्शनमात्रेण शिवद्रोह : प्रजायते,
शिवद्रोहान्न संदेहो नरकं याति दारुणम्
तस्मात् विष्णुनामापि वक्तव्यं न कदाचन’
– पद्मपुराण
धर्म देवतावादमा टिकेको छ। धर्ममा लागेकाहरूमा धर्मप्रति अन्धश्रद्धा छ।
पृथ्वी र नक्षत्रको उत्पत्तिको सम्बन्धमा ऋग्वेदले परस्पर विरोधी तर्क पेश गरेको छ। कतै इन्द्रले, कतै विश्वकर्माले र कतै बृक्षले संसार सृष्टि गरेको कुरा उल्लेख छ। बृक्ष आफैँ पृथ्वीमा खडा हुन्छ भने वृक्षबाट संसार कसरी सृष्टि हुन्छ। विश्वकर्माले पृथ्वीको सृष्टि गरे भनिएको छ, तर विश्वकर्माले पृथ्वीमै नबसी कसरी पृथ्वीको सृष्टि गरे ?
शिवउपासकहरूका अनुसार पृथ्वीको उत्पत्ति शङ्करले गरे, त्यो पनि भस्मको गोलाबाट। विष्णुका उपासकहरू भने अर्कै कथन राख्छन् सृष्टि सम्बन्धमा। उनीहरूका अनुसार समुद्रमा शेष नागमाथि बसिरहेका विष्णुको नाभीबाट कमल उत्पन्न भयो। कमलमा ब्रह्माजी उत्पन्न भए। त्यसपछि उनले पृथ्वीको सृष्टि गरे। ब्रह्मा कमलको पूmलमाथि बसेर पृथ्वीको सृष्टि गरे भनिएको छ। ब्रह्माले आपूm बसेको कमलको एक पत्र चुँडेर गोला बनाएर समुद्रमाथि फालिदिए त्यही पृथ्वी हो र त्यो समुद्रमाथि स्थिर छ भनियो। पृथ्वीको परिधिनै पच्चीस हजार माइलको छ भने त्यो कमलको पूmल कति लाख माइल चौडा थियो ? त्यो त कतै छैन। फेरि आज हामीलाई थाहा छ पृथ्वीमा हिन्द महासागर, आन्ध्र महासागर, प्रशान्त महासागरजस्ता अनेकौ समुद्रहरू पृथ्वीमा छन्, समुद्रमाथि पृथ्वी होइन। यसबाट के देखिन्छ भने सृष्टिको सम्बन्धमा धर्मशास्त्रहरूले कल्पना मात्र गरेका छन्, त्यो पनि अमिल्दो र कपोकल्पित।
सृष्टिको सम्बन्धमा वैज्ञानिक मत अर्कै छ। उनीहरूको अनुसार पृथ्वी र ग्रहहरूको उत्पत्ति दुई अरब वर्ष पहिले भयो। सूर्य एउटा बलिरहेको ग्यासको पिण्ड मात्र हो। सूर्य र ताराहरू आ–आफ्नै धुरीमा घुमिरहेका बेला कुनै ताराको आकर्षण शक्तिले सूर्यको ग्यासीय –वाष्पिय) पिण्डको एक भाग बेस्सरी तान्यो। त्यो भाग सूर्यबाट छुट्टियो र टुक्राटुक्रा बन्यो। छुट्टिएको ती सबै टुक्राहरू पनि सूर्यको वरिपरि घुम्न थाले, त्यसमध्येको एक हाम्रो पृथ्वी पनि हो। सूर्य केवल वाष्पिय छ तर सूर्यबाट टुक्रिएका बाष्प पिण्डहरूले बरफ जसरी ठोस रूप धारण गरेका हुन्। तातो फलाम चिसो भएपछि जुन पाप्राहरू जम्छन् त्यही पाप्राहरूनै माटो हो, जहाँ हामी रहन्छौँ। पृथ्वी भित्र त सूर्य जस्तै तातो लेदो छ र वाफको हिस्सा पानीको रूपमा यत्रतत्र रहेको छ। प्रकृतिमा हुने गर्मी, वर्षा र शीतको क्रमले जीव र वनस्पतिको विकास पनि पृथ्वीमा भयो।
धर्मशास्त्रहरूले कल्पना गरे। यथार्थ र प्रमाण केलाउनतिर लागेनन्। धर्मशास्त्रको विपरीत सोच्नु र नयाँ खोज गर्नु पाप हो भन्ने धर्मका ठेकेदारहरू्को भनाइले मान्छे गुमराहमै बाँचिरह्यो। उसले नयाँ तथ्य खोज्नै पाएन र चाहेन पनि। यो धर्मभीरुताको अत्यन्त नकारात्मक पक्ष हो।