Kathmandu Press

धादिङमा गठबन्धनबीच भागबण्डा मिल्यो, कसलाई कुन पालिका ?(सूचीसहित) 

जिल्लाको १३ मध्य १२ स्थानीय तहमा सहमति भएको छ । जसमध्य कांग्रेसको भागमा एक नगरपालिका र ६ गाउँपालिका, माओवादी केन्द्रको भागमा तीन गाउँपालिका र एकिकृत समाजवादीको भागमा एक नगरपालिका र एक गाउँपालिका परेको छ।
धादिङमा गठबन्धनबीच भागबण्डा मिल्यो, कसलाई कुन पालिका ?(सूचीसहित) 

धादिङ, वैशाख ९ : लामो छलफल र चर्को रस्साकस्सीपछि स्थानीय तहको निर्वाचनका लागि धादिङमा गठबन्धनबीच भागबण्डाको टुंगो लागेको छ। जिल्लामा एक सातादेखि गठबन्धन दलका नेताहरुबीच भागबण्डाको विषयमा छलफल भएपनि सहमति जुट्न नसकेपछि शुक्रबार प्रदेश मार्फत टुंगो लगाइएको हो।

भागबण्डा नमिलेपछि जिल्लाको नेतृत्वमा रहेका गठबन्धनका नेताहरु शुक्रबार अपरान्ह प्रदेश कमिटीलाई गुहार्न पुगेका थिए। प्रदेशस्तरीय नेतासहितको छलफलबाट शुक्रबार साँझ जिल्लाका १३ मध्य १२ स्थानीय तहमा भागबण्डा मिलेकाे नेपाली कांग्रेस धादिङका सभापति रामनाथ अधिकारीले काठमाडौं प्रेसलाई जानकारी दिए। 

कांग्रेसको भागमा १ नगरपालिका र ६ गाउँपालिका प्रमुख

Hardik ivf

सभापति अधिकारीका अनुसार नेपाली कांग्रेसको भागमा एक नगरपालिका र ६ गाउँपालिका परेको छ। उनका अनुसार नीलकण्ठ नगरपालिका, ज्वालामुखी गाउँपालिका, सिद्धलेक गाउँपालिका, गजुरी गाउँपालिका, त्रिपुरासुन्दरी गाउँपालिका, खनियावास गाउँपालिका र गंगाजमुना गाउँपालिकाको प्रमुख  कांग्रेसले पाउने भएकाे छ।

यसअघिको निर्वाचनमा कांग्रेसले नीलकण्ठ नगरपालिका, ज्वालामूखी गाउँपालिका र खनियावास गाउँपालिकाको प्रमुख जितेको थियो। 

माओवादीलाई ३ गाउँपालिका र जिसस प्रमुख

बैठकबाट माओवादी केन्द्रलाई तीन गाउँपालिका र जिल्ला समन्वय समितिको प्रमुख दिइने निर्णय भएको पनि कांग्रेस जिल्ला सभापति अधिकारीले जानकारी दिए। थाक्रे गाउँपालिका, वेनिघाट रोराङ गाउँपालिका र रुवीभ्याली गाउँपालिकाको अध्यक्ष पदमा गठबन्धनबाट माओवादीले उम्मेदवारी दिने निर्णय भएको हाे। यसअघिको निर्वाचनमा माओवादी केन्द्रले वेनिघाट रोराङ गाउँपालिकाको अध्यक्ष जितेको थियो।

धुनिवेशी र गल्छी एकीकृत समाजवादीलाई

अन्य जिल्लामा भन्दा धादिङमा बलियो अवस्थामा रहेको एकीकृत समाजवादीले एक नगरपालिका र एक गाउँपालिकाको प्रमुख पद पाउने भएको छ। अधिकारीका अनुसार एकीकृत समाजवादीको भागमा धुनिवेशी नगरपालिका र गल्छी गाउँपालिका परेको छ। 

नेत्रावतीमा सहमति जुट्न सकेन

जिल्लाको नेत्रावती गाउँपालिकामा भने गठबन्धनबीच सहमति जुट्न नसकेको अधिकारी बताउँछन्। त्यहाँ कांग्रेस र माओवादीले नै दाबी गरेपछि सहमति जुट्न नसकेको हाे। 

अघिल्लो निर्वाचनमा नेत्रावतीबाट १ हजार ६४६ मतसहित एमालेका उम्मेदवार अध्यक्ष निर्वाचित भएका थिए। कांग्रेस र माओवादीले क्रमशः १ हजार ५७१ र १ हजार ५१० मत ल्याएको थियो। कांग्रेस र माओवादीको हैसियत लगभग बराबर भएको र दुबैले आ–आफ्नो दाबी नछाडेपछि सहमति हुन नसकेको हो। 

उपप्रमुख पदमा सहमति हुनै बाँकी

१२ वटा स्थानीय तहमा प्रमुखको भागबण्डा करिबकरिब टुंगो लागिसकेको भएपनि उपप्रमुख पदका लागि भने अझै निर्णय भइसकेको छैन। उपप्रमुखमा भने तीन वटै दलबीच बराबर भाग लगाउने गरी छलफल भएको उनले बताए। कांग्रेस, माओवादी केन्द्र र एकीकृत समाजवादीले चार / चार पालिकामा उपप्रमुख  पाउने गरी प्रस्ताव गरिएको अधिकारीले जानकारी दिए।प्रमुख पदमा उम्मेदवारी दिने पार्टीले उपप्रमुख नपाउने गरी सहमतिकाे प्रस्ताव गरिएकाे र चाँडै सहमति जुट्ने उनले बताए। 

जसपालाई वडामा समेटिने

जिल्लामा कमजोर संगठन रहेको जनता समाजवादी पार्टीले यसपटकको स्थानीय तहको निर्वाचनमा पालिका प्रमुख र उपप्रमुख नपाउने भएको छ। पार्टीको अवस्था हेरेर वडाहरुमा सहभागी गराइने गठबन्धनका एक नेताले जानकारी दिएका छन्।

याे पनि
धादिङमा चार दलीय गठबन्धनले एमालेको गढ भत्काउला ?

 
 

प्रकाशित मिति: २०:१४ बजे, शुक्रबार, वैशाख ९, २०७९
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्