तन्त्रसन्त्र होइन, कायापलट गर्ने मन्त्र जपौँ
राजनीति पनि एउटा समाजसेवा हो। यो व्यापार होइन, यसलाई सेवाकै रूपमा स्थापित गरौं। यो संस्कारको विकास गर्नका लागि अबका निर्वाचनमा उम्मेदवार दिनेले सयपटक सोचौं र भोट हाल्नेले पनि पटक–पटक सोचौं।आज हाम्रो देशको जुन अवस्था छ, त्यो अवस्थाको दोषी को हो ? यस प्रश्नमा अधिकांशको साझा जवाफ ‘नेता’ अर्थात् ‘राजनीतिक नेतृत्व’ भन्ने हुन सक्छ। अन्तर्य केलाउने हो भने दोषी नेता मात्र होइनन्, जनता पनि हुन्। समय र परिस्थितिको मूल्यांकन गरी देशले विकासको गति लिन नसक्दा अझै पनि हामी विश्वका अन्य देशको तुलनामा धेरै पछि छौं। हरेकपटकको निर्वाचनमा जनताले मतदानको हक त प्राप्त गर्छन्, तर त्यसबाट सन्तोषजनक उपलब्धि हासिल हुन सकिरहेको देखिँदैन। आसन्न स्थानीय तहको निर्वाचनमा जनतालाई सही उम्मेदवार छनोट गर्ने अवसर छ। आगामी ३० वैशाखमा हुन गइरहेको निर्वाचनमा मतदाताको एक भोटले पाँच वर्षका लागि जनप्रतिनिधि आउँदैछन्। यही बेला देशभर चुनावी माहोल पनि तातेको छ। राजनीतिक दलका सम्भावित उम्मेदवारले घरदैलो चहार्न थालिसकेका छन्। त्यस्तो बेला उम्मेदवारले पार्न सक्ने विभिन्न प्रलोभनबाट पनि अब मतदाता चनाखो बन्न ढिलाइ गर्नु हुन्न।
विश्वका शक्तिसम्पन्न देशको वर्तमान अवस्था एकैपटक सम्भव भएको होइन। ती सबै देशको आ–आफ्नै संघर्षका कथा छन्, जसलाई हाम्रो देशले पनि अनुशरण गर्नुपर्छ। हाम्रो देशमा विभिन्न राजनीतिक परिवर्तन भए। जनताको त्याग, बलिदान र गौरवमय संघर्षकै कारण विगतमा जहानियाँ राणा शासनदेखि पञ्चायत र राजतन्त्र ढले। आज सबैले भन्ने गरेकै छन्, ‘व्यवस्था परिवर्तन भएर केही भएन, अब अवस्था परिवर्तन गर्नुपर्छ।’ यही अवस्था परिवर्तन अब कसले, कसरी, कहिले गर्ने ? भन्ने प्रश्न हाम्रा अघि छ।
देशमा वर्तमान आर्थिक अवस्था, सुशासन, सामाजिक न्याय, सामाजिक विभेद, लैंगिक असमानता र विकासको अनुभूतिजस्ता गम्भीर विषयमा राजनीतिक नेतृत्वको ओठे भक्तिबाहेक जनताले परिवर्तनको अपेक्षा कहिलेसम्म गरिरहने ? यस्ता प्रश्न हामीले तबसम्म गरिरहनुपर्छ, जबसम्म हामीलाई यी कुराको महसुुस गर्दैनौं। हामी अझै मौन बस्यौँ भने त्यो हाम्रा लागि मात्र होइन, भावी पुस्ताका लागि पनि हितकर हुन सक्दैन। त्यसैले परिवर्तन सम्भव छ, अब व्यक्ति, परिवार र समाजले चनाखो हुनुपर्ने बेला आएको छ। आसन्न निर्वाचन आफ्नो एक मतले कुशल नेतृत्व छान्ने अवसर पनि हो। यस्तो बेला आज पनि कैयौं नवयुवा देशको नेतृत्वप्रति यति असन्तुष्टि पोखेर निराश बनिरहेका छन् कि ‘कसलाई भोट दिएर के हुने हो ?’ भन्ने प्रश्न गरिरहेका छन्। यस्ता युवालाई विश्वास दिलाउन नेतृत्व चुकिरहेको छ। तर, हामी आशावादी बन्नैपर्छ, दलीय व्यवस्थालाई अँगालिरहेका हामीले राजनीतिक संस्कारलाई समयसापेक्ष बनाउँदै लैजानुपर्छ।
यो हाम्रा लागि एउटा महत्वपूर्ण अवसर र चुनौतीपूर्ण घडी हो। यो समयमा हामी चुप लागेर बस्यौँ भने अवश्य हाम्रो भावी पुस्ताले हामीलाई सराप्ने छ। राणाशासनदेखि गणतन्त्रसम्म आइपुग्दा देशले गति लिन नसक्नु आफैँमा गम्भीर कुरा हो। आजसम्मको अवस्थालाई हेर्दा ढुक्क भएर भन्न सकिन्छ कि यो सबै बेथितिका पछाडि प्रत्येक संयन्त्रमा खराब संस्कार हाबी छ। त्यसैले हामीले अब राजनीतिक नेतृत्वलाई मात्र दोष दिएर हुँदैन, हाम्रो माझमा भएका असल संस्कारको अनुशरण गर्दै, खराबलाई छाड्दै वा समयसापेक्ष परिमार्जन गर्दै अगाडि पढ्नुपर्छ। हामीले समाज र राष्ट्रका लागि नेतृत्व छान्दा पूर्ण विवेकको प्रयोग गरेर हाम्रो मान्छे भन्दा पनि राम्रो वा सम्बन्धित क्षेत्रको विज्ञ व्यक्तिलाई छनोट गर्नुपर्छ। नत्र एक मिनेटमा हालेको एक मतका कारण हामीले पाँच वर्षसम्म पश्चाताप मान्नुपर्ने अवस्था आउन सक्छ।
निर्वाचनमा हामीले असल, सक्षम मान्छे छान्न सकेनौं भने त्यसबाट बेथिति स्वतः मौलाउँछन्, जुन कुरा हाम्रो विगतले पनि छर्लंग पारेको छ। हामीले एउटा १०–१५ रूपैयाँको डटपेन किन्दा राम्रोसँग लेखेन भने हाम्रो मन कति खिन्न हुन्छ, त्यस्तै खिन्नता देशको स्रोत, साधनको दुरूपयोग हुँदा आयो भने मात्र देशले गति लिन सक्छ। नेतृत्व कुशल र असल नहुँदा देशको स्रोत–साधनको दुरूपयोग हुन जान्छ। स्रोत र साधनको दुरूपयोगले देशको अवस्था खस्किँदै गइरहेको छ। यसबारे अब तपाईं हामी संवेदनशील हुनु जरुरी छ। सबैभन्दा ठूलो कुरा देशको माया हुनुपर्छ, देश छ र त हामी छौँ भन्ने बोध हुनुपर्छ।
आजसम्मका चुनावमा दोहोरिएका परिणाम अबको चुनावमा आउन दिनु हुँदैन। २१औं शताब्दी हो, आजको शिक्षा, चेतना, प्रविधिले गर्दा अब निश्चित रूपमा पहिलाको जस्तो प्रतिफल आउँदैन भन्नेमा म विश्वस्त छु। म गोंगबु आवास क्षेत्रमा बस्छु। गोंगबु आवास क्षेत्र सुधार समितिमा मलाई दुईवटा भोटको अधिकार छ। कार्यसमिति छनोट प्रक्रियामा मतदान गर्दै गर्दा आफ्नो भोटको सुरक्षा गर्न मैले मेरी छोरीलाई मतदान गर्न जाऊ भने। मेरी छोरी २० वर्षकी भइन्, ब्याचलर पढ्दै छन्, उनले मेरो प्रस्तावलाई सिधै अस्वीकार गरिन् र भनिन्, ‘मैले कसलाई भोट गर्ने ?’
‘म भन्छु नि कसलाई भोट हाल्ने भन्ने’ भनी मैले जवाफ दिँदा मेरी छोरीले भनिन्, ‘मतदान भनेको के हो र कसले कसलाई गर्ने ? कुनै पनि मतदान गर्दा आफूले बुझेर गर्नुपर्छ। यदि तपाईंले भनेको व्यक्तिलाई भोट गर्ने हो भने मेरो मतको अर्थ के ! मतदाता अधिकार भनेको त्यस्तो होइन।’ म छोरीको कुराले निःशब्द भएँ।
मलाई छोरीको कुराले भित्रभित्रै खुसी लाग्यो। अबको पुस्ता विवेकशील छ। अबको पुस्ता आफ्नो निर्णय आफैँ गर्न सक्षम छ। यति कुरा निश्चत छ, अबको निर्वाचनमा मेरी छोरीले जस्तै सबैले आफ्नो निर्णय आफैँले गर्नेछन्।
अब हामीलाई तन्त्रसन्त्र होइन, कायापलट हुने मन्त्र आवश्यक छ। त्यो मन्त्र तपाईं हाम्रै हातमा छ। स्थानीय चुनाव कति आए, कति गए, को कसले कतिपटक जिम्मेवारी पाए, कतिले जिम्मेवारी निर्वाह गरे– त्यो मूल्यांकन गर्न सक्नुपर्छ। फेरि पनि पहिलाको जस्तै हामीले गल्ती गरे हाम्रो भविष्य अन्धकार हुने छ। हरियो रूख सुकेर जान सक्छ, सूर्यलाई बादलले छेक्न सक्छ, हँसिया हथौडा खिएर काम नलाग्ने भई धोका दिन सक्छ तर हामीले अपनाएको विवेकले हामीलाई कहिल्यै धोका दिने छैन। आफैँले आफैँलाई धोका दिने काम कसैले नगरौं।
राजनीति पनि एउटा समाजसेवा हो। यो व्यापार होइन, यसलाई सेवाकै रूपमा स्थापित गरौं। यो संस्कारको विकास गर्नका लागि अबका निर्वाचनमा उम्मेदवार दिनेले सयपटक सोचौं र भोट हाल्नेले पनि पटक–पटक सोचौं।
जय संस्कार।
(लेखक संस्कार समाज नेपालका अध्यक्ष हुन्।)