भिरकोट नगरपालिका : भावी नेतृत्वका लागि अवसर र चुनौती
स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै यतिबेला सम्पूर्ण राजनीतिक दलहरू यतिबेला निर्वाचनको तयारीमा जनताका घरघरमा पुगिरहेका छन्।दिनहुँजसो टोलटोलमा भेलासहितका कार्यक्रमहरूलाई तीव्रता बढाइरहेको देखिन्छ।...स्थानीय तहको निर्वाचन मिति घोषणा भएसँगै यतिबेला सम्पूर्ण राजनीतिक दलहरू यतिबेला निर्वाचनको तयारीमा जनताका घरघरमा पुगिरहेका छन्।
दिनहुँजसो टोलटोलमा भेलासहितका कार्यक्रमहरूलाई तीव्रता बढाइरहेको देखिन्छ। स्थानीय तहको पहिलो कार्यकालको सिकाइ र अनुभव अब चुनाव जितेर आउने नीतिनिर्माताहरूका लागि मार्गदर्शन बन्न सक्छ।
अझ भनौं उक्त अनुभवले आउँदो नेतृत्वका लागि दरिलो अभिभावकको रूपमा प्रस्तुत भई आगामी नयाँ नेतृत्वलाई सफल बनाउने कडीका रूपमा उदारता प्रस्तुत गर्ने सुअवसरसमेत हुनेछ। गण्डकी प्रदेशको स्याङ्जा जिल्ला भिरकोट नगरपालिका राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले गरेको कार्यसम्पादन मूल्यांकनमा गण्डकी प्रदेशमा छैटौं र स्याङ्जा जिल्लामै प्रथम हुन सफल भएको छ।
भिरकोट नगरपालिकाको प्रशासकीय भवन पूर्ण रूपमा सञ्चालनमा आइसकेको छ भने अधिकांश वडा कार्यालय आफ्नो भवन निर्माण भई सञ्चालनरत रहेका छन्। प्रत्येक वडामा स्वास्थ चौकी अथवा सहरी स्वास्थ्य केन्द्रका रूपमा समेत सञ्चालित रहेका छन् भने नगरपालिकाले कालिका सामुदायिक अस्पताललाई आफ्नो मातहतमा लिई भिरकोट नगर अस्पतालका रूपमा सञ्चालनमा ल्याएको छ।
नगरपालिकाद्वारा नै फोहोरमैला व्यवस्थापन गरी प्रांगारिक मल बनाउने कार्यलाई तीव्रताका साथ अघि बढाएको छ । साथै सोही वडामा नै अति सुन्दर आँधीखोलाका छेउको रमणीय दृश्यवलोकन गर्न सकिने गरी अत्यन्तै राम्रो पार्क निर्माणाधीन अवस्थामा रहेको छ। वडा ६ स्थित भाग्दोय उच्च मावि विद्यालय नमुना विकास कार्यक्रममा छनोट भई कार्यान्वयन प्रक्रिया चलिरहेको अवस्थालगायत अन्य स्तरका कार्यहरू नगरपालिकाद्वारा स्फूर्त रूपमा सञ्चालन त भएका छन्।
वर्तमान नेतृत्वको कार्यकालमा धेरै कार्यहरू सम्पन्न भएको भए पनि केही अधुरा कार्यहरू सम्पन्न गर्नुका साथै समृद्व भिरकोटका लागि नयाँ थुप्रै कार्यसमेत सम्पन्न गर्ने चुनौतीसमेत रहेको छ। स्थानीय तहको नेतृत्वमा पछिल्लो समयमा देखा परेका नेतृत्वगत कमीकमजोरी विकास एवं समृद्धिसँग जोडिएका पक्ष दुवैलाई केलाएर विश्लेषण गर्ने हो भने आगामी नेतृत्वका लागि अझ धेरै चुनौतीसँगै अवसरसमेत रहने कुरामा कुनै दुई मत रहेको देखिन्छ।
मूलतः आँधिखोलाको दायाँ र बायाँ रहेको पहाडी भेग अनि पुतलीबजार र वालिङ नगरपालिकाका बीचमा अवस्थित भिरकोट नगरपालिका डाँडाकाँडाले घेरिएको पहाडी भूबनोट भएको स्थानीय तह भएकाले नगरभित्रका अधिकांश पुराना तथा नयाँ खोलिएको सडकको चौडाइ हाल ३–३.५ लाई ६ मिटरसम्म बढाउने, ती सडकहरूमा नाला खोल्ने जस्ता उचित व्यवस्था गर्न नसक्नुले बर्सेनि पहिरोको कारण अवरुद्ध हुने त्यस्ता सडकलाई साधारण स्तरोन्नतिले समेत काम चलाउन सकिने अवस्था रहने देखिन्छ।
त्यस्तै धार्मिक एवं पर्यटकीय दृष्टिकोणले प्रचुर अवसरको सम्भावना बोकेको वडा ५ स्थित स्वर्गको टुक्रा स्वरेक मैदान प्याराग्लाइडिङ हुँदै प्रसिद्ध गडहरे गुफासम्मको सडकलाई कालोपत्रे गर्न सक्नु अर्को महत्वपूर्ण विषय मान्न सकिन्छ।
अब नयाँ आउने नेतृत्वले बानेथोक–३ स्थित बराह मन्दिर, कोखे झरनालगायत पर्यटकीय सम्भावना बोकेको क्षेत्रको संरक्षण एवं प्रचारप्रसारलाई व्यापक बनाउनुपर्ने जरुरी देखिन्छ।
यस्तै बिरुवा गाउँपालिका र भिरकोट नगरपालिका गरी दुई पालिका जोडने सडकको स्तरोन्नतिको कार्य प्राथमिकतामा राखेर गरिनुपर्ने देखिन्छ। भिरकोट–७ स्थित प्रसिद्ध मन्दिर खिलुङ कालिकाकोट पुग्ने बलमाटा खिलुङ सडक स्तरोन्नति तथा कालोपत्रेको योजनालाई सम्पन्न गर्न र उक्त क्षेत्रमा पनि प्याराग्लाइडिङ सेवा सञ्चालन गर्न सक्ने व्यवस्था मिलाउन सकियो भने नगरलाई मात्र नभई समग्र स्याङ्जा जिल्लाकै पर्यटनमा टेवा पुग्नेछ। यस्ता महत्वपूर्ण सम्भावनाहरूलाई सार्थक तु्ल्याउन आउँदो नेतृत्वका लागि सम्भावित स्रोत जुटाउने जमर्को गर्न सक्ने ‘भिजन’ सहितको नेतृत्व अबको आवश्यकता रहेको छ।
संविधानले गाँउगाँउमा नै सिंहदरबार पु¥याएको अनुभूति दिलाए पनि अझै स्थानीय तहका जनप्रतिनिधिहरूले आफ्नो अधिकार क्षेत्रमा अलमल हुँदा, केन्द्रीय सरकारबाट उचित समन्वयन नहुँदा, जनप्रतिनिधिले जनभावनाको सम्मान र कदरतर्फ ध्यान नदिँदा अझै पनि जनताले गाउँमै सिंहदरबारको अनुभव गर्न पाएका छैनन्।
धार्मिक, सामाजिक शिक्षा सांस्कृतिक, महिला तथा बालबालिकाको हकमा नगरले प्रोत्साहनमूलक विभिन्न कार्यक्रमहरू सञ्चालनरत त रहेका छन्, ती कार्यक्रमहरू नतिजामूलकभन्दा पनि बजेट सकाउनेमा मात्र निहित भएका त्यस्ता कार्यक्रमहरूलाई नतिजामूलक बनाउनु अर्को महत्वपूर्ण चुनौती रहेको छ।
मूलतः नगरपालिका हाक्नका निमित नेतृत्वका लागि चयन भएका जनप्रतिनिधिहरूबीचको सहकार्य तथा समन्वयबीचको तालमेल नै उत्कृष्ट नतिजाको सूत्रका रूपमा रहेको हुन्छ। सर्वसाधारण र स्थानीय निकायकाबीच सेतुका रूपमा महत्वपूर्ण भूमिका निर्वाह गर्ने माध्यमका रूपमा चुनेर पठाइएका हुन्छन्। जनप्रतिनिधिहरू जसको मूल ध्येय भनेको सेवाग्राही, सर्वसाधारण वा जनताको न्यूनतम आवश्यकताको परिपूर्ति एवं सन्तुष्टता नै जनप्रतिनिधिको सफलताको मापन चित्रका रूपमा लिने गरिन्छ। स्रोत साधन भलै अति कम हुन्छन् तर सो कमी कमजोरीलाई प्रत्यक्ष सकारात्मक सम्बोधनले गर्न पनि सकिने हुनुपर्छ।
नगरभित्र अबको मूल ध्येय उत्पादनमुखी एवं रोजगारमूलक उद्यमशीलता उन्मुख रहनु आवश्यक रहेको देखिन्छ। कम्तीमा पनि कृषि तथा पशुपालनलाई प्रमुख एजेन्डा बनाएर यस्तो पहाडी बस्तीहरूमा क्षेत्र तथा स्थानअनुसारको उपयुक्त बाली, सब्जी फल तथा पशुपालनसहित अन्य आर्जन उन्मुख कार्यमा जोड दिई नगरपालिकाले सरकारद्वारा समय समयमा आहवान गरिने अनुदानहरू ग्रामीण क्षेत्रका जनतासम्म पु¥याउनुपर्ने अर्को प्रमुख दायित्वको रूपमा देखा परेको छ।
महिलाहरूलाई उत्पादनमूलक कार्यमा अभ्यस्त बनाउन कृषि तथा सीपमूलक पेसा व्यवसाय गर्न सक्ने गरी सशक्तीकरण प्रदान गर्दै रोजगार उन्मुख बनाउनेलगायत थुप्रै कार्यहरू प्राथमिकतामा राखेर अगाडि बढाउनुपर्ने देखिन्छ।
(भिरकोट नगरपालिका उपमेयरको दाबेदारी रहेकी अर्याल भिरकोट महिला बहुउद्देश्यीय सहकारी संस्थाकी अध्यक्षसमेत हुन्)