Kathmandu Press

जाति अनुसार संस्कार

हिन्दू धर्मशास्त्र अनुसार जीवनभर पापकर्म गरेको छ भने पनि एकपटक ‘नारायण’ नाम लियो भने पाप लाग्दैन, धर्म मिल्छ भन्ने मान्यता छ। यज्ञ, प्रायश्चित, तीर्थ, स्नान, दानपुण्य गरेपछि सबै पाप नष्ट हुन्छ भनिन्छ।
जाति अनुसार संस्कार

हिन्दू धर्मका साहित्यमा मान्छे केवल मान्छे हो भन्ने कुरालाई बिर्सिएको पाइन्छ। हरेक कुरा उच्च जात र निम्न जातमा विभाजन गरेर संस्कार गर्ने प्रथा चलाइनु आफैँमा मानवविरोधी कुरा हो।

सबै मान्छेको जैविक जन्ममरण प्रक्रिया एकै हो र हुन्छ पनि। तर, हिन्दू शास्त्रमध्येको एक तेत्तेरिय ब्राह्मण (३।१२।९) मा लेखिएको छ– वैश्य ऋग्वेदबाट, क्षेत्री यजुर्वेदबाट, ब्राह्मण सामवेदबाट जन्मे। निर्णयसिन्धुमा लेखिएको छ- ब्राह्मणको नामाकरण १० दिनपछि क्षेत्रीको १२ दिनपछि, वैश्यको १६ दिनपछि र शूद्रको ३१औँ दिनमा नामाकरण गर्नुपर्छ। आफन्त गुमाउनुको पीडा सबै मान्छेलाई बराबरी पर्ने हो। तर, पराशरस्मृतिका अनुसार ब्राह्मण १० दिनमा, क्षेत्री १२ दिनमा, वैश्य १५ दिनमा र शूद्र एक महिनामा आशौचबाट शुद्ध हुन्छ।

समाज विशाल भएपछि त्यसभित्रका मान्छेको कार्यविभाजन गर्नुपर्दछ नै। जङ्गली युगमा एकै परिवारले अन्न पैदा गर्ने, कपडाको धागो कात्ने, कपना बुन्ने, घर बनाउने सबै काम गथ्र्यो र स्वावलम्बी थियो। जङ्गली अवस्था पार गरेपछि मान्छेमा धेरै किसिमका कला विकास भए। एकै व्यक्ति सबै कुरामा निपुण नभएपछि मान्छेबीचमा काम विभाजन हुन थाल्यो। हिन्दूहरूमा त्यसैका लागि समाजलाई ब्राह्मण, क्षेत्री, वैश्य, शूद्रजस्ता जातमा बाँडियो। यो आर्थिक दृष्टिले समाजलाई विभाजन गरिएको थियो। संसारमा अन्य देशमा पनि कामको आधारमा जात बाँड्ने चलन त छ, तर हिन्दूको जस्तो ऊँचनीच व्यवहार भने अन्यत्र छैन। जातिका आधारमा ठूलो काम र सानो काम भनेर विभाजन गरेपछि हिन्दू समाज ठूलो संकटमा फस्दै गयो। जातजातिका आधारमा छुन बन्द, सँगै खानपान बन्द, आपसी विवाह बन्दजस्ता परिपाटी भिœयाइएपछि समाज अझ कुरूप बन्नु स्वाभाविकै हो। हिन्दूले पशुलाई भन्दा मान्छेलाई बढी भेदभाव गर्न थालेपछि मानवताको पक्षमा ठूलो धब्बा उत्पन्न भयो।

Hardik ivf

पाप गर्ने छुट

हिन्दू धर्मशास्त्र अनुसार जीवनभर पापकर्म गरेको छ भने पनि एकपटक ‘नारायण’ नाम लियो भने पाप लाग्दैन, धर्म मिल्छ भन्ने मान्यता छ। यज्ञ, प्रायश्चित, तीर्थ, स्नान, दानपुण्य गरेपछि सबै पाप नष्ट हुन्छ भनिन्छ। यसले जतिसुकै पाप गरे पनि धन खर्च गरेर दान, दक्षिणा र पूजा गरेपछि धर्म मिल्छ भन्ने मान्यताले धर्म होइन पाप गर्न प्रोत्साहन मिलेको छ।

हिन्दू धर्ममा देवता भनेका चाकडीका अपेक्षकजस्ता लाग्दछन्। देवताको नाम पटकपटक पुकार्नु भनेको आफ्ना कतूर्त पखाल्नु बनेका छन्। प्रायः सबै पुराण तपस्याका कुराबाट भरिएका छन्। विष्णुको तपस्याले शिवको आसन डगमगाएको, शिवको तपस्याले विष्णुको आसन डगमगाएको, ध्रुवको तपस्याले विष्णु दौडेर आएका, रावणले तपस्या गरेपछि ब्रह्माले वरदान दिएका कथा धर्मशास्त्रमा लेखिएका छन्। मौन तपस्याले नै सबै कुरा हुन्छ भन्नु बेकारको कुरा भएको छ। विश्व शान्तिका लागि जपतप गर्नु पनि त्यस्तै कुरा हो। यसले यथार्थताभन्दा बाहिर पु¥याइरहेको छ।

धर्मप्रति अन्धश्रद्धा भएका मान्छेहरू खराब काम गरेपछि मन्दिर धाउँदै आफ्नो इच्छा पूरा हुने विश्वास गर्दछन्। सम्पन्न मान्छे थप सम्पन्नताका लागि र विपन्न मान्छे न्यूनतम जीवन जिउने आशामा धर्म र देवताको पछि लाग्ने गरेको देखिन्छ। धर्मको नाममा बर्सेनि गरिएको खर्च अरु उत्पादनशील कार्यमा लगाउने हो भने संसारको स्वरूप निकै उज्यालो हुने थियो।

अन्धविश्वासको बिगबिगी

मान्छेको जन्म, मृत्यु र जीवन केही पनि अदृश्य शक्तिमै मात्र निर्भर छ भन्ने हिन्दूहरूको मान्यता छ। रोगको कारण नभई ग्रहदशा बिग्रेर मान्छे बिरामी हुन्छ भन्ने विश्वास गर्नु, रोगको चिकित्सकीय उपचार गर्नुभन्दा लागु, भागु र देवी देवताको पूजातिर दौडिनु, ब्राह्मणलाई भोजन गराएपछि र दान दिएपछि पुत्र प्राप्त हुन्छ भन्ने विश्वासमा धामी, झाँक्री, ब्राह्मण र देवीदेवता खुसी पार्न दौड्नु, संसारको सबै स्थिति थाहा भइसकेर पनि पृथ्वी कछुवाको पिठ्युँ र शेषनागको फँणामा अडिएको छ भन्ने अफवाह फैलाइरहनु, त्रिकालदर्शी, सर्वज्ञ, योगी जस्ता उपमाले कसैको विश्वासमा फस्दा धनसम्पत्ति, शरीर सबै दुःखमा फस्नु जस्ता अन्धविश्वासले हिन्दू धर्म भरिएको छ। कतिपय कल्पनालाई सत्य मानेर विश्वास गर्दा मानवीय सिर्जनशीलतामै धक्का परेको छ। साँप र मान्छेको बिहे भएको, जनावरले मान्छेसँग कुरा गरेको, हनुमानले पहाड नै उठाएर बोकेर टाढा पु¥याएको, मत्स्येन्द्रनाथ, गोरखनाथ आदिले मानव हुनुभन्दा फरक चमत्कार देखाएको वर्णन आफैँमा वैज्ञानिक र प्रामाणिक छैन। तथ्य नै नभएका कुरालाई पनि विश्वासपूर्वक अघि बढाएको छ हिन्दू धर्मले।

धर्म तथा देवीदेवताको नामले केही स्वार्थी मान्छे सिधासाधालाई कठपुतली बनाउँदै छन् र आफ्नो इसारामा नचाउँदैछन्। धर्मान्धहरू धर्मको अति विश्वासका कारण आफ्नो सम्पूर्ण धनसम्पत्ति उडाउन पनि बेर मान्दैनन्।

कतिपय पाखण्डी साधु अनेकौँ प्रपञ्च रच्ने, आफ्ना चमत्कारका किस्सा सुनाउने र दुःखी गरिबको साधनस्रोत हत्याउने कार्यमा अघि बढेका छन्। स्वघोषित बाबा, स्वामी र संन्यासीले आफ्ना खुट्टा ढोगाएर पुण्य मिल्ने र चिताएको कुरा मिल्ने। भ्रम फैलाउने र धन तथा शरीर लुट्ने काम पनि गर्दै आएका छन्। हाम्रा कैयौँ बन्धु आफू भोकै रहेर धूर्तहरूलाई मेवामिष्ठान्न खुवाउन बाध्य छन्। मान्छे आफ्ना बच्चालाई दूध खुवाउन सक्ने क्षमतामा छैनन्, तर देवीदेवताको मूर्तिमा दूध चढाइरहेछन्। देवीदेवतालाई चढाउने नाममा कैयौँ क्विन्टल चामल, मिठाई र अरु सामाग्री नष्ट पारिरहेछन्। धर्मको नाममा कैयौँ मान्छे पेसेवर भिखारी बनेका छन्। जप, तप, ध्यान, वर्त, तीर्थ भनेर कैयौं मान्छे कहिले यता कहिले उता रल्लिरहेछन् र कर्मकाण्डको नाममा कैयौं समय र धन सम्पत्ति नष्ट गरिरहेछन्। यसले गरिबी नास हुने र समाज सुन्दर हुने कार्यमा अवरोध सिर्जना भएको छ।

हिन्दू समाजमा जन्मदेखि मृत्युपछिसम्म यति धेरै धार्मिक क्रियाकलाप सञ्चालन गर्ने प्रावधान छन् कि ती सबैमा प्रयोग गरेको धन सम्पत्ति र समय राष्ट्रनिर्माणमा लगाउने हो भने देशको मुहार अझ आकर्षक हुने थियो। मान्छेहरू तिहारमा लक्ष्मीपूजा हरेक वर्ष विशेष ध्यानपूर्वक पूजा त गर्दछन् तर उनीहरूको आर्थिक स्थिति सुध्रिन सकेको देखिँदैन। पर्व, मेला र तीर्थयात्रामा गरेको खर्च बचाएर शिक्षा स्वास्थ्यको उन्नतिमा लगाउने हो भने समाज बरु सुन्दर हुने थियो।

शक्तिको पक्षधर

धर्म असहायलाई सहयोग गर्ने, अन्याय परेकालाई न्याय दिने, सर्वतन्त्रपूर्वक बाँच्न र जीवनयपन गर्न मद्दत पु¥याउने हुनुपर्ने हो। तर, हिन्दू धर्म शक्ति र धनीमानीको पक्षमा छ। जसले धेरै खर्च गरेर सप्ताह। पुराण, पूजा लगाउन सक्यो, तरह तरहका मन्दिर धाउन सक्यो, उसलाई धेरै पुण्य मिल्छ भन्ने मान्यता छ। देवता सबैको हुनुपर्नेमा ब्राह्मणको पेवा, क्षेत्रीको चाकडी र शूद्रका लागि अछुत बनेर बसेको छ।

मूर्तिहरू कुँद्ने, मन्दिर बनाउने, काठको काम गर्ने र देवताका लत्ता कपडा सिलाउनेहरू नै दलितको वर्गीकरणमा परेर मन्दिर पस्न नपाउने, देवप्रसाद चाख्न र लगाउन नपाउने र देवमूर्ति छुन समेत हक नभएका वर्गमा पर्नाले धर्म झन् घाँडो र समाजका केही वर्गका लागि घाउ साबित भएको छ। देवमन्दिरहरूमा पनि बढी भेटी, प्रसादी चढाउनेको विशेष मान्यता राख्ने संस्कार व्याप्त भएको छ। जसले धेरै भेटी चढाउने उसैलाई बढी धर्म हुन्छ भन्ने भ्रम पनि बेस्सरी बाँडिएको छ। त्यस अतिरिक्त देवताहरू र देवीहरूलाई खुसी पार्ने नाममा निरीह कुखुरा, परेवा, बोका, बाख्रा, भैँसी, मुसा जस्ता जनावरहरू बलि दिनुले अझै पनि जङ्गली युगको समाप्ति भइनसकेको झल्को दिन्छ।

धर्मका ठेकेदार दाबी गर्ने पुजारी, पण्डित तथा महन्त आफू चरित्रहीन हुँदाहुँदै पनि सर्वसाधारणलाई सतचरित्रको गुड्डी हाँक्दै हिँडिरहेछन्। उनीहरू आफैँ गाजा भाङ, धतुरो, रक्सी, जाँडमा डुब्ने र परस्त्री गमनमा व्यस्त बनेर पनि अरुलाई स्वच्छ चरित्रको भाषण छाँटिरहेछन्।

धर्मको पतन

हिन्दू धर्मग्रन्थ अनेकौँ अव्यावहारिक र अवैज्ञानिक तथ्य र घटनाले भरिएकाले यो पतनको बाटोमा उन्मुख छ। धर्मलाई आडम्बरको रूपमा स्विकारिनु, धर्माधिकारी, पण्डित र ब्राह्मणमै भाषागत ज्ञानको अभावका कारण शास्त्रको सही अर्थ लगाउन नसक्नु, ब्राह्मण र पूजारीले आफू अनुकूल धर्मकर्म र कर्मकाण्ड सञ्चालन गरिदिनाले धर्म शोषण र अविश्वासको पोको मात्र बनेको छ। धर्म र मन्दिरको नाममा समाजका धनाढ्य मान्छेहरूले जग्गा, धन सम्पत्ति सुम्पेका छन्। पुजारी र धर्माधिकारीहरू त्यसको व्यापारमा फाइदा कमाइरहेछन्।

हिन्दू जगत्मा अनेकौँ ‘भगवान्’ र ‘अवतार’ विशेषण बोक्ने क्रम रोकिएको छैन। झूटा प्रचारको सहाराले यस्ता नव अवतारवादीले समाजलाई कम क्षति पु¥याएका छैनन्। हिन्दू एउटा धर्म मात्र होइन, एउटा जीवनपद्धति पनि हो। ह्रासोन्मुख चिन्तकको मारमा परेर हिन्दू जीवन प्रगतिशील बन्न सकेको छैन। नयाँ वैज्ञानिक ढंगले हिन्दू परिपाटी, प्रावधान र शास्त्रहरूको व्याख्या गर्नुपर्नेमा त्यसो हुन नसक्नु अर्को दुर्भाग्य हो।

धर्म भनेकै आफ्नो शक्ति, समय र सहिष्णुताको अर्काको लाभका लागि उपयोग गर्नु हो। त्यस्तै, आफ्नो र जगत्को हितका लागि स्वेच्छाले विवेकपूर्वक कष्ट सहनु तप हो। हिन्दू धर्म झूटा तपहरूमा न विवेक देखिन्छ, न आफ्नो वा अरूको हितका लागि केही हुन सक्छ। दुनियाँलाई ठग्न मात्र यस्ता तपहरू भएका देखिन्छन्। त्यस्ता तप गर्नुको न कुनै कार्यकारण छ न त्यसको कुनै सामाजिक प्रतिफल नै। पञ्चाग्नि ताप्ने, झाडीमा लुक्ने, महिनौसम्म हात तथा खुट्टा उचाल्ने, महिनौ उपवास बस्ने, ठण्डी रातमा चिसो ढुंगामा बस्ने, गर्मीमा आगो ताप्ने, तिखा किलामा टेकेर उभिने, शरीरबाट रगत निकाल्ने, कोर्राले हिर्काएर शरीरको छाला मार्ने, रातदिन नसुत्ने जस्ता क्रियाकलापहरूले न आफ्नो भलो हुन्छ न अरूको।

अनौठो कार्य गरेर अरूको ध्यान तान्न खोज्नु तप र धर्म होइन। त्यस्ता तपले भक्त, सहयोगीहरू उत्तेजक त बन्छन्, समाजका सिधासाधाको ध्यान तान्न पनि सकिन्छ तर त्यसबाट सही प्रतिफल प्राप्त हुन सक्तैन। अरु र आफैँलाई फाइदा नहुने कार्य गर्नु धर्म होइन, केवल बरबादी मात्र हो। तपलाई हिन्दू धर्मले केही गर्ने बाटो बन्द गरिदिएको छ। कुनै पनि समस्या समाधान त्यतिकै हुँदैन। गाँठो फुकाउन केही प्रयास गर्नै पर्छ। हिन्दू धर्म तपको नाममा चुपचाप चमत्कारिक काम गरेपछि आफ्नो माग पुरा हुने विश्वास बाँड्न खोज्छ। विष्णुको तपले शिवको आसन ढल्यो, शिवले तप गरेपछि विष्णुको आसन ढल्यो, ध्रुवले तप गरेपछि विष्णु उपस्थित भए, ऋषिको तपले इन्दुको आसननै डगमगायो, रावणले तप गरेपछि ब्रह्माले बरदान दिए- जस्ता उदाहरणहरूले धार्मिक पुस्तकहरू भरिएका छन्। मानौ तप बालहठ हो, जो हठपूर्वक अर्काको ध्यान आकृष्ट गरेपछि आफ्नो माग पुरा हुन्छ।

विज्ञानसम्मत ढङ्गले नसोची देवता वा ग्रह रिसाएका कारण बिरामी भएको भने झारफुकमा लाग्ने, ब्राह्मणलाई भोजन गराएर पितृलाई मिल्छ भन्नेमा लाग्ने, पृथ्वी शेषनागको फणामा अडिएको छ भन्ने, तन्त्र मन्त्रले सब समस्या समाधान हुन्छ भन्ने, भविष्यवाणीको नाममा भय, दुस्मनी र हत्यामा उत्प्रेरित गर्ने, त्रिकालदर्शी र सर्वज्ञको पदवी आफैँले सिर्जना गरेर अभिमानी बन्ने जस्ता क्रियाकलापहरूले पनि हिन्दूधर्म झन् पतोन्मुख बनेको छ।

समयको फेरबदलसँगै संसारका हरेक कुराहरू उन्नतिमा अघि बढ्दैछन्। हिन्दू धर्म भने संसार झन् झन् पतन भएको विश्वासमा अघि बढिरहेछ। पुरानो समयमा सामन्तवाद थियो, दास प्रथा थियो, नारीहरूको अधिकार कुण्ठित पारिएको थियो, मान्छेलाई जातमा विभाजन गरेर छुन समेत नहुने बनाइएको थियो, वर्तमानमा ती सबैमा सुधार आएको छ। मानव जगत्ले नयाँ नयाँ सभ्यता संस्कृति रचिरहेछ। तर हिन्दू धर्म सत्य, त्रेता, द्वापर र कलीयुगमा क्रमशः संसार पतनतिर ढल्केको भन्छ। त्यतिमात्र होइन हिन्दू बाहेक अरु धर्म मान्न पनि पतनतिर लाग्नु हो भन्छ हिन्दू धर्मले।

प्रकाशित मिति: ११:२२ बजे, शनिबार, चैत २६, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?
अङ्ग्रेजले हारेको त्यो दिन
अङ्ग्रेजले हारेको त्यो दिन