‘रथ बनाउन हाम्रा पुर्खा आसामदेखि मच्छिन्द्रनाथसँगै आएका थिए’
रातो मछिन्द्रनाथ रथको सबैभन्दा माथिल्लो भागलाई ‘याकख’ भनिन्छ । याकख राखेपछि मात्र रथले पूर्णता पाउँछ । याकख राख्ने काम पनि बाराहीकै हो । याकख राख्ने व्यक्तिले सन्तानस्वरूप छोरा पाउने जनविश्वास छ ।काठमाडौं, चैत २५ : पुल्चोकस्थित रातो मच्छिन्द्रनाथको पीठअघि ३२ हाते लामो काठ राखिएको छ । यतिखेर बाराही दं गुठीका गुठियारहरू रातो मछिन्द्रनाथको रथ मर्मतसम्भारमा खटिएका छन् । केही दिनदेखि गुठीका सदस्य ‘घःमा’ बनाउन व्यस्त छन् । ‘रथ तान्न प्रयोग हुने काठलाई घःमा भनिन्छ,’ मंगलबार (१५ चैत) घःमा ताछिरहेका नरेश बाराहीले भने।
हामीले नरेशसँग रथ निर्माणका सम्बन्धमा थप जिज्ञासा राख्यौँ । उनले भने- यो त नाइकेसँग बुझ्नुपर्छ । ‘बाराही दं गुठी’ का नाइके हुन्, दिलकुमार बाराही । उनी रथ निर्माणको चाँजोपाँजोमै व्यस्त छन् । घःमाकै लागि उनी एक महिना अघिदेखि खटिएका छन् । उनका अनुसार, घःमाका लागि काठ गएको ४ फागुनमा नुवाकोटको एक किसानको बारीबाट ल्याइएको हो । यो यमानको काठ नुवाकोटदेखि ल्याइएको भनी सुन्दा हामीलाई अचम्म लाग्यो।
‘क्रेनमा राखेर ल्याएका हौँ । यसलाई काट्नुअघि नै विधिपूर्वक पूजा गर्नुपर्छ,’ नाइके दिलकुमारले भने, ‘यसलाई अन्य काठलाई जस्तो फेदबाट काटिँदैन, जराको भाग नै आउने गरी काटिन्छ।’
दिलकुमारका अनुसार, १२ वर्षमा एकपटक रथ तथा घःमा परिवर्तन गर्ने चलन छ । तर २०७४ मा बनाएको घःमा रथ गुडाउने क्रममा धेरै लच्कियो, त्यसैले अहिले नयाँ बनाउनुपरेको हो । १२ वर्षअघि नै रथ तान्दा कुनै भाग बिग्रिएमा त्यसलाई फेरिन्छ । रथ पल्टिए वा भाँचिए अनिष्ट हुन्छ भन्ने जनविश्वास छ।
यसपालि घःमा तयार गर्न अझै एक हप्ता लाग्ने उनको अनुमान छ । यसलाई मेहनत र सीपपूर्वक तासेर एउटा आकारमा ल्याउनुपर्छ।
वैशाख ४ गते रातो मच्छिन्द्रलाई स्नान गराएपछि रथ निर्माणकार्य सुरु हुन्छ । अघिल्लो वर्ष रथजात्रा सकेपछि रथका विभिन्न भाग छुट्ट्याएर विभिन्न तोकिएको स्थानमा राखिएको हुन्छ । वैशाख ४ गतेको स्नानपछि तिनै पुराना काठलाई जोडेर रथ तयार गरिने हो । रथ निर्माण कार्यमा बाराही र बेदु समुदाय खटिने परम्परा रहेको दिलकुमार बताउँछन् । ‘रथमा तला थप्ने काम हामी (बाराही)ले गर्छौं । उहाँहरू (बेदु समुदाय)ले थपिएका तलामा बाँस तथा डोरी बाँध्ने काम गर्नुहुन्छ,’ नाइके दिलकुमार भन्छन्, ‘यसो हुँदा एक दिन बिराएर रथ निर्माणको काम अगाडि बढाउनुपर्छ।’
नाइके दिलकुमारका अनुसार, शिखर शैलीमा बन्ने रातो मच्छिन्द्रनाथको रथ नौतले र ४८ फिट अग्लो हुन्छ । रथलाई आड दिन सानो विमान रथको प्रयोग हुन्छ । घःमा जस्तै विमान रथलाई पनि आवश्यकता अनुसार मर्मतसम्भार हुने र १२ वर्षमा एकपटक बनाइने उनी बताउँछन्।
६ प्रकारको काठ आवश्यक
नाइेक दिलकुमारका अनुसार, रातो मच्छिन्द्रनाथको रथ निर्माणका लागि ६ प्रकारका काठ आवश्यक पर्छ । ‘घःमाका लागि नुवाकोटबाट ल्याइएको काठ सौद जातको हो । रथ गुडाउन घःमालाई आड दिन अन्य काठको प्रयोग गरिन्छ, जसलाई घःमा पासा भनिन्छ,’ उनी भन्छन्, ‘घःमा पासाका लागि फलादको काठ चाहिन्छ, जुन गोदावरीबाट ल्याउने गरेका छौँ । रथका पांग्राका लागि सानन्त जातको काठ चाहिन्छ, जुन चितवन र मकवानपुरबाट आउँछन्।’
उनका अनुसार, देवता राख्ने चारवटा कुनामा लाँकुरीको काठ प्रयोग गरिन्छ । त्यस्तै, रथ तान्दा ब्रेक लगाउने काठ भने ‘मलय’ जातको हुन्छ । पहिलेदेखि नै रातो मच्छिन्द्रनाथको रथका लागि यी ६ प्रकारका काठ प्रयोग हुँदै आएको उनी बताउँछन्।
नौतले रथ र जोखिम
दिलकुमारका अनुसार, रातो मछिन्द्रनाथ रथको सबैभन्दा माथिल्लो भागलाई ‘याकख’ भनिन्छ । याकख राखेपछि मात्र रथले पूर्णता पाउँछ । याकख राख्ने काम पनि बाराहीकै हो । याकख राख्ने व्यक्तिले सन्तानस्वरूप छोरा पाउने जनविश्वास छ । ‘यसकारण प्रायः नवविवाहित पुरुषलाई याकख राख्न दिने चलन छ,’ दिलकुमारले भने।
मछिन्द्रनाथको नौतले रथलाई आकार दिनु जोखिममुक्त काम होइन । त्यसैले यसको निर्माणमा खटिने मानिस नियम रहनुपर्ने मान्यता छ । ‘रथमा तला थप्ने काम सुरु भएसँगै रथ बनाउनेहरू नीति–नियममा बस्नुपर्छ,’ नाइके दिलकुमार भन्छन्, ‘रथ निर्माण गर्नेले माछामासु, लसुन खानु हुँदैन । घरबाहिर पनि खान मिल्दैन । अहिलेका युवाहरू कहिलेकाहीँ लापरबाही गरेर होटलमा खाएर आइदिन्छन्,’ दिलकुमार भन्छन्, ‘त्यस्तो बेला रथबाट खस्ने, लड्ने आदि हुने गरेको छ । आजसम्म ठूलो चोटपटक भएको सुन्नुपरेको छैन ।’ रथ बनाउनुअघिदेखि बनाइसक्दासम्म १० पटक विभिन्न पूजा हुने गरेको दिलकुमार बताउँछन्।
पांग्रामा भैरवका आँखा
मन्दिर तथा विभिन्न सम्पदाका टुँडालजस्तो कलाकृति भने रथ निकै कम बन्ने नाइके बाराही बताउँछन् । रथमा केही चित्र भने कोरिएको हुन्छ । जस्तो ः सेतो मच्छिन्द्रनाथको रथका प्रत्येक पांग्रामा तीन–तीनवटा आँखा कोरिएका हुन्छन्।
‘ती भैरवका तीनवटा आँखा हुन् । रथका चार पांग्रामा चार भैरवका तीन–तीन आँखा कोरिन्छन् । लुभुको भैरव, हरिसिद्धि भैरव, टीका भैरव र इखालुख भैरव,’ उनले भने, ‘जनविश्वास अनुसार बुङमतीबाट यी नै चार भैरवले मच्छिन्द्रनाथको रथलाई पाटन बोकेर ल्याएको मान्यता अनुसार पांग्रामा आँखा कोरिएका हुन्।’
त्यस्तै, घःमाको अघिल्लो भागमा भने कर्कट नागका रूपमा मान्छन् । घःमाको अघिल्लो भागमा भैरवको मुखाकृति पनि चित्रांकन गरिएको हुन्छ।
रथ बनाउनका लागि नेपालमै बसाइ
भाषा वंशावली अनुसार, मच्छिन्द्रनाथलाई राजा नरेन्द्र्रदेवका पालामा कामारुकामाक्ष (आसाम प्रान्त, भारत)बाट काठमाडौं ल्याएइको हो।
त्यतिबेला रथ बनाउनकै लागि आफूहरू पनि भारतको कामारुकामाक्षबाट मच्छिन्द्रनाथसँगै नेपाल छिरेको दिलकुमार बताउँछन् । ‘हरेकपटक जात्राका लागि रथ बनाउन कतिपय बाराही उहाँदेखि नेपाल आइरहन चाहेनन्,’ दिलकुमार भन्छन्, ‘तत्कालीन राजाले हाम्रा पुर्खालाई यतै राखेको कथा मैले सुन्दै आएको हुँ।’
पुस्र्तौंदेखि मच्छिन्द्रनाथको रथ बनाउँदै आएको बाराही आफ्ना पछिल्ला पुस्ताप्रति आशावादी छन् । वर्षमा एकपटक हुने कार्यका लागि सबैले बिदा मिलाउने गरेको दिलकुमार बताउँछन्।
बिदेसिएका युवा पनि उनीसँग सल्लाह गरेर रथ बनाउने समयमा बिदा लिएर आउने गरेको उनले बताए । ‘हामीमा जस्तै युवा वर्गमा पनि मच्छिन्द्रनाथप्रति उत्तिकै आस्था छ ।’ भविष्यमा रथ कसले बनाउने भन्ने डर खासै नभएको उनले बताए।
किन आवश्यक छ, रथयात्रा ?
इतिहासकार त्रिरत्न मानन्धरका अनुसार, काठमाडौं, भक्तपुर, पाटन, दोलखा, नुवाकोट आदि क्षेत्रका प्रायः मन्दिरमा वर्षमा एकपटक वा ६ महिनाको अन्तरालमा जात्रा हुने गर्छ । यी जात्रामा मन्दिरका मुख्य देवताका मूर्तिलाई नगर तथा टोल परिक्रमा गराइन्छ । ‘प्रायः मन्दिरमा देवताका मूर्ति ढुंगाका हुन्छन् । उनीहरूको असली मूर्ति द्येंछेँ अर्थात् देवताको घरमा राखिएको हुन्छ,’ इतिहासकार मानन्धर भन्छन्, ‘देवताको घरमा राखिएको मुख्य मूर्तिलाई वर्षको एकपटक जात्राकै क्रममा मन्दिरमा राखिन्छ । सोही मूर्तिलाई जात्रा अवधिभर नगर परिक्रममा गराई पुनः ‘द्येंछेँ’मा राखिन्छ।’
मुख्य मूर्तिलाई मन्दिरमा प्राणप्रतिष्ठा गरी नगरभर परिक्रमका लागि जात्राको प्रचलन सुरु भएको इतिहासकार मानन्धर बताउँछन् । ‘जात्राबाट हर्षोल्लासका साथै नगरमा देवताको सदैव करुणा कायम हुने जनविश्वास हुन्छ,’ उनले भने, ‘हरेक मन्दिरको जात्रा दुई किसिमले हुन्छन्– रथ गुडाएर वा खट बोकेर । रथ अथवा खट बोकेर गरिने जात्राको तुलनामा गुडाएर चलाइने रथको जात्रा निकै कम संख्यामा हुन्छ।’
मानन्धरका अनुसार, रातो मच्छिन्द्रनाथ, सेतो मच्छिन्द्रनाथ, बिस्का जात्रा, मीननाथको रथ, दोलखा मच्छिन्द्रनाथजस्ता केही सीमित गुडाएर गरिने रथ हुन् । नेपालका करिब ९० प्रतिशत जात्रा खटजात्रा अर्थात् रथ बोकेर गरिने जात्रा रहेको उनको भनाइ छ।
प्रायः खट प्यागोडा शैली र रथ भने शिखर शैलीमा हुन्छ । तर, इन्द्रजात्रामा परिक्रमा गराइने कुमारीको रथ भने अपवाद भएको उनी बताउँछन् । कुमारीलाई परिक्रमा गराइने उक्त रथ गुडाएर परिक्रममा गराइन्छ । साथै, रथ तीनतले प्यागोडा शैलीमा रहेको पनि उनले उल्लेख गरे । यद्यपि, त्यसबाहेक अन्य समयमा कुमारीलाई कुमारीको अर्को खटमा बोकेर नगर परिक्रमा गराइन्छ।