Kathmandu Press

घन्टाघरको कथा : हरेक घन्टामा चारपटक र दिउँसो १२ बजे एक मिनेटसम्म घन्टी बज्थ्यो 

घन्टाघरको डिजाइन त्यतिबेला लन्डनमा रहेको ‘जिलेट एन्ड जोनसन’ कम्पनीले गरेको इतिहासकार त्रिरत्न मानन्धर बताउँछन्।
घन्टाघरको कथा : हरेक घन्टामा चारपटक र दिउँसो १२ बजे एक मिनेटसम्म घन्टी बज्थ्यो 

काठमाडैं, चैत २१ : ‘९० सालको भूकम्पअघि घन्टाघरमा एक घन्टामै चारपटक घन्टी बज्ने गर्थ्याे,’ इतिहासकार त्रिरत्न मानन्धर भन्छन्, ‘समय जनाउ दिनका लागि त्यसरी घन्टी बज्थ्यो, त्याे चलन अहिले पनि छ।’

उनका अनुसार, पहिलो घन्टी १५ मिनेटमा चारपटकसम्म बज्थ्यो। त्यसपछि आधा घन्टामा आठपटक, पौने हुँदा १२ पटक र एक घन्टामा १६ पटक ट्याङट्याङ गरी घन्टी बजेको आवाज आउँथ्यो। 

एक घन्टामा १६ पटक घन्टी बजिसकेपछि पनि दिन वा रातको समय अनुसार जति बजेको छ, त्यति नै पटक घन्टी बज्ने उनले बताए। 

Hardik ivf

‘तर दिनको १२ बज्दाको घन्टी भने ठ्याक्कै एक मिनेटसम्म बज्थ्यो। त्यो चलन हाम्रो समयसम्म थियो,’ ७८ वर्षीय मानन्धरले भने, ‘१२ बजेको क्लासमा हामीलाई पढाउने शिक्षकदेखि हामी पनि एक मिनेटसम्म चुप लागेर बस्थ्र्यौं।’

यो २०१६–२० सालको कुरा हो, जति बेला मानन्धरले त्रिचन्द्र कलेजमा पढ्थे। 

काठमाडौंमा अहिलेजस्तो घना बस्ती थिएन, जसकारण पहिले बेलुका र बिहान ठँहिटीमा समेत क्वार्टर बेल बजेको समेत सुनिन्थ्यो,’ उनी भन्छन्, ‘यता गल्कोपाखा ठमेलमा पनि राति र बिहानको समयमा सुन्न सकिन्थ्यो।’

इतिहास

इतिहासकार मानन्धरका अनुसार, घन्टाघर आजभन्दा एक सय २६ वर्षअघि (सन् १८९६ मा) बनेको हो। तत्कालीन राणा प्रधानमन्त्री वीरशमशेरले नागरिकलाई समयको जनाऊ दिन घन्टाघर बनाउन लगाएका थिए। घन्टाघरको डिजाइन भने त्यतिबेला लन्डनमा रहेको ‘जिलेट एन्ड जोनसन’ कम्पनीले गरेको इतिहासकार मानन्धर बताउँछन्।

‘पश्चिममा रानी पोखरीदेखि पूर्वमा कमलादी गणेश स्थानसम्मको जग्गा घन्टाघर निर्माणका लागि प्रधानमन्त्री वीरशमशेरले लिएका थिए,’ इतिहासकार मानन्धर भन्छन्, ‘उक्त समय वीरशमशेरको सेतो दरबारबाट देखिने गरी उनले रानीपोखरीको पूर्वमा घन्टाघर राख्ने योजना बनाएका थिए।’

इतिहासकार मानन्धरका अनुसार, वीरशमशेरले कलकत्तामा पढेका थिए। त्यतिबेला कलकत्ता, इलाहावादतिर यस्ता चारमुखे ‘क्लक–टावर’ बनिसकेका थिए। त्यसलाई देखेर नै वीरशमशेरले पछि नेपालमा पनि घन्टाघर बनाउन लगाएको हुन सक्ने इतिहासकार मानन्धर बताउँछन्। 

जग्गा

इतिहासकार मानन्धरका अनुसार, घन्टाघर निर्माणका लागि एक सय ६० रोपनी जग्गा तत्कालीन राजा पृथ्वीवीरविक्रमबाट प्रधानमन्त्री वीरशमशेरले ‘बक्सिस’ लिएका थिए। पछि घन्टाघरका लागि मात्रै वरपर गरी करिब १६ रोपनी जग्गा प्रयोगमा आएको थियो।

पृथ्वीवीरविक्रमले बक्सिस स्वरूप दिए पनि उक्त जग्गा केही व्यक्तिको र केही गुठीको नाममा थियो। ‘जग्गा जोसुकैको नाममा भए पनि राणा प्रधानमन्त्रीहरूले राजाबाट बक्सिस लिने गर्थे,’ इतिहासकार मानन्धर भन्छन्, ‘राणाकालीन समयको सबैभन्दा गलत पक्ष त्यही थियो। त्यस बखत व्यक्तिगत जग्गा हडपेबापत प्रतिरोपनी दुई सय रूपैयाँ मुआब्जा जग्गा धनीलाई दिएको थियो।’

इतिहासकार मानन्धरका अनुसार, अहिले घन्टाघर रहेको जग्गा पहिले खेतको रूपमा थियो। त्यतिबेला नागरिकले प्रतिरोपनी दुई सय रूपैयाँ मुआब्जा पाउनु निकै ठूलो रकम भएको मानन्धर बताउँछन्। ‘२००७ सालतिर पनि त्यस वरपर प्रतिरोपनी जग्गाको मूल्य डेढ सयको हाराहारीमा थियो,’ उनी भन्छन्। उनका अनुसार, त्यहाँ जग्गा हडपेबापत सरकारले गुठीका लागि भने अन्तै जग्गाको व्यवस्था गरिदिएको थियो। 

देवशमशेरपछि चन्द्र शमशेरको पालामा घन्टाघरको बाँकी जग्गामा त्रिचन्द्र कलेज बन्यो।

तोप पड्काउने चलन

घन्टाघर स्थापनापछि देवशमशेरले दिनको १२ बजे टुँडिखेलमा तोप पड्काउने चलन सुरु गरे। ‘घन्टाघरको घडीको तुलनामा तोप त भयंकर बज्ने,’ मानन्धर भन्छन्, ‘२०२०–२२ सालतिर हामीले नै मध्याह्न १२ बजे ड्यांग तोप पड्केको ठूलो आवाज सुन्थ्यौँ। काठमाडौं नै गुन्जायमान हुन्थ्यो।’

शासकले जस्तोसुकै ध्येयले आफ्ना नाममा स्मारक अथवा भवन बनाए पनि घन्टाघर निर्माणले भने जनतालाई एक प्रकारको सहजता प्रदान गरेको उनी बताउँछन्।

‘विशेषतः किसानलाई दिनको १२ बजेको जनाउ हुन्थ्यो,’ उनी भन्छन्, ‘त्यसताका कृषि नै मुख्य पेसा थियो। कृषकहरू बिहान ७ बजे खाना खाएर खेतमा काम गर्न जान्थे। दिउँसोेको खाजा खाने समय तोपले तोकिदिन्थ्यो।’

फेरिएको संरचना 

पहिलोपटक बनेको घन्टाघर र अहिलको घन्टाघरको संरचना निकै फरक छ। पहिले बनेको चारतले घन्टाघर लन्डनस्थित बिग बेलको शैलीमा बनेको थियो। यस सम्बन्धमा पुरानो घन्टाघरको तस्बिर राखेर ब्रह्मशमशेरले पुस्तक लेखेका छन्, ‘नेपालको महाभूकम्प’। पुरानो घन्टाघरमा तलापिच्छे खुला स्थान थिए, (तस्बिरमा हेर्नुस्।)। 

इतिहासकार मानन्धरका अनुसार, प्रारम्भिक घन्टाघरको भुइँतलाको कोठामा वीरशमशेरले लाइब्रेरी स्थापना गरेका थिए, जसलाई वीर लाइब्रेरी भनिन्थ्यो। ‘उक्त लाइब्रेअीमा हस्त लिखित पुस्तक राखिएका थिए,’ मानन्धर भन्छन्, ‘जुन पछि राष्ट्रिय अभिलेखालयमा सारियो।’

१९९० को भूकम्पले पुरानो घन्टाघर ध्वस्त भयो। पछि बनाइएको घन्टाघरमा पुरानो शैली त्यति पाइँदैन। 

पुरानो घन्टाघरमा चारवटा ‘क्वार्टर बेल’ थिए। जसमध्येको एउटा क्वार्टर बेल हाल कीर्तिपुरस्थित उमा महेश्वर मन्दिरमा राखिएको छ। कीर्तिपुरका तत्कालीन द्वारे जगतबहादुर प्रधानको पहलमा एउटा क्वार्टर बेल कीर्तिपुर लगिएको मानन्धर बताउँछन्।

त्यस्तै, दोस्रो क्वार्टर बेल सिंहदरबार राखिएको थियो। सिंहदरबारका कर्मचारीलाई साँझ ५ बजेको जनाउ घन्टी बजाउन कुनै समय उक्त बेल प्रयोग भएको उनी बताउँछन्। बाँकी दुई क्वार्टर बेल भक्तपुर र पचली हनुमानघाटमा राखिएको थियो। 

पछि बनेको घन्टाघरमा नयाँ क्वार्टर बेल राखिएको मानन्धर बताउँछन्। 

प्रकाशित मिति: १८:३० बजे, सोमबार, चैत २१, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्