किन सुक्दैछन् मूल ?
ओखलढुंगा र खोटाङका अधिकांश गाउँ बस्तीमा पानीको चरम अभाव छ । बस्ती नजिकका पानीका मुहान सुक्दै गएका छन् । गाउँका पुराना आहाल, कुवा मासिँदै छन् ।जलवायु परिवर्तनका कारण सिर्जित जलवायुजन्य प्रकोपमध्ये एक हो– खडेरी, जो नेपालका मध्य पहाडी जिल्लामा एक मुख्य चुनौतीका रूपमा देखापरेको छ । यसले विशेषगरी खेती प्रणाली र ग्रामीण जीविकोपार्जनमा प्रत्यक्ष असर पारेको पाइन्छ । ओखलढुंगा र खोटाङका अधिकांश गाउँ बस्तीमा पानीको चरम अभाव छ । बस्ती नजिकका पानीका मुहान सुक्दै गएका छन् । गाउँका पुराना आहाल, कुवा मासिँदै छन् ।
भिरालो भूभाग र पातलो माटोको तह भएको चट्टाने पहाड भएकाले अकासेपानी छिटै बगेर खोलामा पुग्छ । जमिनमा पानी सोँसिन पाउँदैन, जसले जमिनमा हुने पानीको पुनर्भरणमा कमी आउँछ । यसरी पर्याप्त पानी पुनर्भरण हुन नसक्दा माटोमा ओसिलोपनामा कमी आउनुका साथै उर्वरा शक्तिमा समेत ह्रास आउँछ ।
ओखलढुंगाको माने भञ्ज्याङ– ५ निवासी ५६ वर्षीय मानबहादुर खत्री पोखरी सुकेको कथा सुनाउँछन्, ‘गाईवस्तु चराउन ल्याउँदा पानी खुवाउने, आहाल बसाउनेदेखि चर्को घाममा गोठालाले समेत पौडिने पोखरी यही थियो, भोर्लेको पोखरी । गाईवस्तुहरू पोखरीको बीच भागमा जान सक्दैनथे । छेउछाउमै पानी खान्थे, आहाल बस्थे । ठाउँ हेरेर पोखरीमा चारदेखि १० मिटरको गहिराईसम्म पानी बस्थ्यो । ऐँजेरु र सिमलका रूख थिए पोखरीमा, ती पनि मासिए । अहिले पोखरीमा कमिला हिँड्छन् । आकाशे पानी अडिँदैन । पोखरी सुक्खा छ । करिब १५० घरधुरीका गाईवस्तुको चरन क्षेत्रमा गाईवस्तुले पिउने पानी छैन ।’
ओखलढुंगाकै सिद्धिचरण नगरपालिका– ४, रुम्जाटार निवासी ६७ वर्षीय सोमबहादुर विश्वकर्माको भोगाइ पनि उस्तै छ । उनी भन्छन्, ‘पहिले पहिलेका पानीका मुहान सुक्दै गए । कति मुहान त सडक निर्माणका क्रममा पुरिए । स्थानस्यलाई खानेपानीको जोहो गर्नै गाह्रो छ । एक गाग्री पानी भरेर ल्याउन आधा घन्टादेखि ४५ मिनेटसम्म लाग्छ । कतिपय घरमा महिलाको काम नै पानी बोक्ने हुन्छ । १५ वर्ष अघिसम्म प्राकृतिक पानीका स्रोतले गाउँलेलाई पुग्थ्यो । अहिले गाउँमा खानेपानीको अभाव छ । सिँचाइ गर्न, गाईवस्तुलाई पानी पु¥याउन मुस्किल छ । पानीको अभावले स्थानीयले गाईवस्तु पाल्न छाड्दै गएका छन् ।’
विश्वका करिब १.६ बिलियन मानिसले पानीको चरम अभाव भोगिरहेका छन् । पानीको अभाव आगामी दिनमा अझ विकराल अवस्थामा पुग्ने र सन् २०५० सम्म विश्वको ५२ प्रतिशत जनसंख्याले पानीको समस्या भोग्ने प्रक्षेपण गरिएको छ । विकासोन्मुख देशमा महिलाले आफ्नो परिवारका लागि आवश्यक पानीको व्यवस्थापन गर्छन् । टाढाबाट पानी बोक्नुपर्ने भएकाले महिलाको अधिकांश समय पानीको जोहामै बित्ने गर्छ । टाढाको स्रोतबाट पानी ल्याउनुपर्ने भएकाले महिलाको कार्य बोझ बढ्ने र स्वास्थ्यमा प्रतिकूल असर पर्ने हुन्छ ।
ओखलढुंगाको सिद्धिचरण नगरपालिका– ४, रुम्जाटार निवासी लालीमाया परियारको दैनिकी बिहान भिसमिसे उज्यालोमै डोकोमा रित्तो गाग्री अनि दुई हातमा दुई जर्किन (ग्यालिन) बोकेर सुरु हुन्छ । उनको घरबाट करिब १५ मिनेटको बाटो हिँडेपछि जंगलमा पानी मुहान छ, लोकिल खोल्सी । लालीमाया भन्छिन्, ‘पिउने पानी, सरसफाइ, गाईवस्तुलाई खानेपानी सबै गरी दिनमा सात पटकभन्दा बढी पानी भर्न ओहोर–दोहोर गर्नुपर्छ । दिन पानी ओसार्नमै बित्छ, अन्य काम गर्नलाई फुर्सदै हुँदैन । मजस्तै अन्य ५० घरधुरीले यही लोकिल खोल्सीको पानीले गुजारा गर्दै आएका छन् ।’
खोटाङको रावाबेसी गाउँपालिका– १ निवासी ६० वर्षीया सीता माझी धाराबाट खेर गएको पानी एउटा सानो पोखरीका जम्मा गरेर आफ्नो करेसाबारीमा सिँचाइ गर्छिन् । सीता भन्छिन्, ‘खेती गर्नका लागि जमिन छ, तर सिँचाइ छैन । सिँचाइका लागि पानीका स्रोत छैनन् । दूधकोसीको पानी बोकेर सिँचाइ गर्न सकिँदैन । यहाँका पाखा बारीमा पनि सिँचाइको व्यवस्था भए हिउँदमा पनि पाखा बारी हराभरा हुने थिए । मजस्तै अन्य महिला दिदीबहिनीका साथै स्थानीयले आयआर्जन गर्न सक्ने थिए ।’
सिद्धिचरण नगरपालिका–४, तिलिंगे निवासी तारादेवी रार्ई पानीको अभावले सिंगो गाउँलाई नै सकस भएको बताउँछिन् । उनी भन्छिन्, ‘करिब ३५ घरधुरी बाटो छेउमै भएको पानीको मूलको पानीमा निर्भर छौँ । बिहान ५ बजेदेखि पानी भर्नेको भीड लाग्छ । पालो कुरेर दुई गाग्री पानी भर्दा बिहान बित्छ । तल खोला बगेको छ, माथि गाउँ सुकेको छ ।’
पानीको कुल उपलब्धतामा कमी तथा भएको पानीको समेत उचित व्यवस्थापन हुन नसकेका कारण स्थानीयले पानीको सास्ती बेहोर्नुपरेको छ । स्थानीय, प्रदेश र संघीय सरकारहरूको सहयोगमा केही विद्युतीय पानी लिफ्टिङका आयोजना सञ्चालनमा आएको भए पनि स्थानीय पानीको माग सम्बोधन गर्नका निमित्त पर्याप्त छैनन् ।
समुदायहरूले खडेरीबाट सिर्जित समस्यासँग जुध्न केही अनुकूलनका प्रयास गरेका छन् । खेर जाने फोहोर पानी संकलनका लागि स–साना प्लास्टिक पोखरी निर्माण र प्रयोग, थोपा सिँचाइ प्रविधिको प्रयोग, वृक्षरोपण, वैकल्पिक खेती प्रणालीको खोजीजस्ता अनुकूलनका अभ्यास स्थानीय समुदायले गर्न थालेका छन् ।
खडेरी सहन सक्ने बाली प्रजातिको प्रवद्र्धन, कृषि वनका अभ्यास अवलम्बन, बाली पात्रोमा समयानुकूलन, पानी संकलन तथ व्यवस्थापनका लागि स–साना भौतिक पूर्वाधारको निर्माण, अकासेपानी संकलन, संरक्षण पोखरीको निर्माण, सिँचाइ व्यवस्थापन, रैथाने परम्परागत ज्ञान तथा सीपको व्यवस्थापन जस्ता क्रियाकलाप प्रवर्धन गर्नाले स्थानीय समुदायको संकट्टासन्नतालाई घटाई अनुकूलन क्षमता अभिवृद्धि गर्न सकिन्छ । साथै समुच्च खाडल र पुनर्भरण खाडलको निर्माण, पानी मुहान संरक्षणका क्रियाकलाप, पुराना कुवा तथा आहालको संरक्षण, गैरकाष्ठ वन पैदावरको प्रवद्र्धनमार्फत आयआर्जन सुधारका क्रियाकलाप एकीकृत तवरमा गर्न सके जलाधारको व्यवस्थापन गर्दै स्थानीय बासिन्दाको संकट्टासन्नता र जोखिमतालाई घटाउन मद्दत गर्न सकिन्छ ।
नीतिगत तहमा स्थानीय सरकारले एकीकृत जलवायुमैत्री जलाधार व्यवस्थापन, जलवायु परिवर्तन तथा विपत् व्यवस्थापन सम्बन्धी ढाँचा, नीति–नियम, तथा निर्देशिका तर्जुमा गर्न सकेमा खडेरी र यस्ता जलवायुजन्य विपद्सँग जुध्न सघाउ पुग्छ । साथै स्थानीय स्तरमा जलवायु परिवर्तन तथा जलवायुजन्य विपद् सम्बन्धी सचेतना अभियान सञ्चालन गर्ने, विषयगत क्षेत्रमा जलवायु परिवर्तनले पारेका असरको आकलन तथा सो बमोजिमका योजनाको निर्माण र कार्यान्वयन, जलवायु परिवर्तन र विपद् जोखिमलाई स्थानीय विकास योजनामा मूल प्रवाहीकरण गर्ने, विशेष ज्ञान, सीप र क्षमता भएका आदिवासी जनजाति लगायत समुदाय, महिला, दलित तथा अन्य सीमान्तकृत जातजाति तथा समुदायको अर्थपूर्ण सहभागिता, क्षमता अभिवृद्धि गर्दै लैंगिक समानता तथा सामाजिक समावेशीकरणको सिद्धान्तलाई अनुशरण गर्न सके जलवायु परिवर्तनका असरसँग अनुकूलन, अनुकूलन क्षमताको अभिवृद्धि र विपद् जोखिम न्यूनीकरण गर्न सकिन्छ ।