नाटक मीतज्यू : चाहेको सम्बन्ध बनेन तर नचाहेको सम्बन्ध कहिल्यै टुटेन
दयाहाङ राईको निर्देशन र सोमनाथ खनालको निर्देशन रहेको नाटक मीतज्यूमा चार चिजको महत्व दर्शाइएको छ - मीत, माया, समय र संस्कृति।काठमाडाैं : पर नेपथ्यमा ओझेल हुन लागेकी मनमाया (सिर्जना सुब्बा) लाई हर्क बहादुर ( बुद्धि तामाङ) नअगाउन्जेल हेर्छन्। मनमायाको आकृति हराएसँगै छेउमै रहेको आफ्ना मीत बिर्ख बहादुरतर्फ फर्कन्छन्।
एक मीत जोडी छन्, बूढा भइसकेका। उनीहरु रुख ढालेर काट्दै छन्। उनीहरुलाई च्याब्रुङ र डुंगा बनाउनुछ। बुझ्न सकिन्छ - च्याब्रुङ संस्कृति र डुंगा समयको विम्ब हो। उनीहरुले रुख काट्दै गरेको ठाउँमा धेरै वर्षपछि हर्कबहादुरकी जमानाकी प्रेमिका आउँछिन् र जान्छिन्। उनी आउँदै गरेको, केहीबेर अडिएको, केही संवाद बोलेको र पुनः आफ्नो बाटो लागेको दृश्य छोटो छ, तर त्यसले सारा नाटकको मर्म बोकेको छ। यो दृश्यको लगत्तै हर्कबहादुरको संवाद छ, ‘खासमा नि मीतज्यू चाहेको सम्बन्ध बनेन, नचाहेको सम्बन्ध चाहिँ कहिल्यै टुटेन।’
यो दृश्य र संवादसम्म आइपुग्न नाटक अलिकति पछाडि (फ्ल्यासब्याकमा) फर्कन्छ - समय, संस्कृति र सम्बन्धको कथा भन्छ।
दयाहाङ राईको निर्देशन र सोमनाथ खनालको लेखन रहेको नाटक मीतज्यूमा चार चिजको महत्व दर्शाइएको छ - मीत, माया, समय र संस्कृति।
किरात संस्कृतिसँगै नाटक अगाडि बढ्छ। मनमाया (सिर्जना सुब्बा) र हर्कबहादुर विवाह हुने कुरा थियो, तर, भाग्न राजी भएकी मनमायाले अकस्मात असहमति जनाउँछिन्। त्यसपछि हर्कले कहिल्यै बिहे गर्दैन। मनमायाको बिहे भने एक लाहुरेसँग हुन्छ। हर्कबहादुरको यी जीवनका घटना क्रममा साक्षी हुन्, उनका मीतज्यू बिर्खबहादुर माझी (विजय बराल)। जसले हर्कबहादुरलाई कहिल्यै एक्लो छाडेनन्। यी दुई दुःखसुखका साथी हुन पुग्छन्।
हर्कबहादुर र बिर्खबहादुरको मितेरी साइनो बन्नुको कथा पनि रोचक छ। यी दुई झगडा गरेर एकअर्कालाई मार्नेसम्मको धम्की दिन थालेपछि उपस्थित गाउँलेले यिनीहरुबीच मितेरी साइनो गाँसिदिन्छन्। यी दुई मीत बूढाहरु आफ्नो जमानाको कथा सुनाएर आनन्द मान्दैछन्।
यी मीत जोडीको उमेर ढल्छ। मर्नुअघि आफ्नो सीप नयाँ पुस्तामा हस्तान्तरण गर्न उनीहरू च्याब्रुङ र डुंगा क्रमशः बनाउने निधोमा छन्। बिर्खबहादुर भने डुंगा आफ्नो स्वर्गीय श्रीमतीको नाममा बनाउन लागेका छन्। हर्कबहादुरले बनाउँदै गरेको च्याब्रुङका सम्बन्धमा मनमायाले भन्छिन्, ‘बजाए बाजा, सजाए सम्झना।’
मानिसका सम्बन्ध र सम्झनाको पछाडि संस्कृति पनि आउँछ। मनमाया र हर्कबहादुरको प्रेम मेलाबाट सुरु हुन्छ र नदीसम्म पुग्छ । मनमाया प्रधानपञ्चकी छोरी हुन्। यिनको हात मागेर विवाह गर्न हर्कबहादुरको वर्ग मिल्दैन। उनको एउटा संवाद छ, ‘घोडा चढेपछि मान्छे नदेख्नेहरुसँग नसकिने रहेछ।’
हर्कबहादुरले मनमायालाई भगाएर नदीसम्म लैजान्छन्। नदी तर्ने बेला मनमायालाई माइती पक्षले सोध्छन्— यो विवाहमा तँ राजी होस् बिराजी ? मनमायाले बिराजी भएको बताउँछिन्।
यी दुईलाई नदी तार्न बिर्खबहादुर माझीले पाएनन् तर यी दुई मीत जोडी जीवनको दुःखसुखको डुंगामा सधैँ साथ रहे।
मनमायाले हर्कबहादुरलाई माया गर्थिन् तर किन बिराजी भइन् ? यसको जवाफ मनमायाको शब्दमा होइन, समाजमा खोज्नुपर्छ, महिलालाई माइतीको पनि माया लाग्छ।
यस नाटकको लय नदी जस्तो छ, कथा बग्छ र समय बग्छ तर दुःख बग्दैन। नाटकमा पात्रहरुको अभिनय अब्बल छ। गत चैत ८ गतेदेखि मण्डला थिएटरमा मञ्चन भएको मीतज्यू भोलिसम्म चल्दैछ, हेर्न जानुस्, एक दिन बाँकी छ।