Kathmandu Press

काम गरेर खान पनि समाजसँग डराउनुपर्ने?

मानिसका आआफ्ना दुःख छन्, सबैले दुःख देखाउन चाहन्नन्। अचेल विशेषतः युट्युबमा घरघरका झगडादेखि घरघरका दुःखलाई सार्वजनिक गरिन्छ। अरुका कथालाई बेचिखाने ‘वस्तु’ बनाइएको पनि देखिन्छ।
काम गरेर खान पनि समाजसँग डराउनुपर्ने?

सोमबार बिहान ११ बजे, रिपोर्टिङका लागि म टेकुस्थित नेपाल प्रहरी परिसरमा थिएँ। म्यादी प्रहरीमा आवेदन दिन कुन वर्ग र कुन उमेर समूहका व्यक्ति आएका छन् भनी रिपोर्टिङ गर्नु थियो। आवेदनका लागि लाइनमा उभिएका विभिन्न व्यक्तिसँग कुराकानी गर्ने क्रममा एक महिलाले मसँग सुरुमा कुराकानी गर्न रुचि देखाइनन्। मैले आफ्नो बारेमा र समाचारको विषय बताएपछि उनले भनिन्, ‘ए, मैले त युट्युबर भनेर पो!’ 

उनले नाम उल्लेख नगर्ने र फोटो नखिच्ने सर्तमा कुराकानी गर्न चाहिन्। उनी श्रीमानसँग आएकी थिइन्, उनका श्रीमान पनि म्यादी प्रहरीकै आवेदन दिने लाइनमा थिए। दुवैको उमेर २५ रहेछ, १८ वर्षमा विवाह गरेका र एसएलसीसम्मको शिक्षा लिएका उनीहरुसँग हाल कुनै रोजगारी र व्यवसाय रहेनछ। श्रीमान् चाहिँले कोरोनाअघि गाडी चलाउने गर्दा रहेछन्, कोरोनाले गर्दा त्यो पनि खोसिएछ। 

मानिसका आआफ्ना दुःख छन्, सबैले दुःख देखाउन चाहन्नन्। अचेल विशेषतः युट्युबमा घरघरका झगडादेखि घरघरका दुःखलाई सार्वजनिक गरिन्छ। अरुका कथालाई बेचिखाने ‘वस्तु’ बनाइएको पनि देखिन्छ।

Hardik ivf

सामाजिक सञ्जालमा आउने भिडियो हेरेका, समाचार पढेका यी दम्पती भने विशेषतः युट्युबरदेखि त्रसित रहेछन्। उनीहरुमध्ये श्रीमती चाहिँले भनिन्, ‘आआफ्नो दुःखसुख हुन्छ, किन अरुलाई देखाउनू। मेरा अधिकांश आफन्तले राम्रो पेसा र जागिर गर्छन्। हामीले म्यादी प्रहरीमा फर्म भरेको थाहा पाए नराम्रो मान्न सक्छन्।’

युट्युबरसँग किन बोल्नै नचाहेको त ? मेरो प्रश्नमा श्रीमती चाहिँले भनिन्, ‘घरको दुःख बाहिर ल्याएको मलाई मन पर्दैन। युट्युबरले त्यही त गर्छन्।’ मलाई अचम्म लाग्यो, एउटी साधारण युवतीको युट्युबरप्रतिको घृणा र मिडियाप्रतिको सजगता देखेर। 

युट्युबरको कुरा एकातिर भयो, अर्कोतिर हामीले समाचारका नाममा मानिसको ‘प्राइभेसी’लाई ध्यान दिएकै रहनेछौँ भन्ने बोध पनि भयो। हाम्रो समाजमा कामलाई हेर्ने दृष्टिकोणमा परिवर्तन आएको छैन। गरिखान पनि छिमेकी र आफन्तसँग डराउने अवस्था छ। 

केही दिनअघि मैले एक रिक्सा चालकसँग कुराकानी गरेकी थिएँ। मैले मिडियाकर्मी भनेर आफ्नो परिचय दिएपछि उनले मसँग कुरा गर्न अप्ठेरो माने। ‘लेख्नका लागि होइन, यत्तिकै बुझ्न खोजेकोे’ भनेपछि उनले भने, ‘मेरो नाम र फोटो त नल्याइदिनुस् है।’

मैले सोधेँ– किन र दाइ, समस्याचाहिँ के हो, भन्न मिल्दैन ?

उनले भने, ‘मैले यही रिक्सा चलाएर छोरी पढाएँ, अहिले छोरीले जागिर गर्छिन्। उनका साथीहरु छन्। मैले रिक्सा चलाएको उनलाई नराम्रो लाग्ला। भन्न त उनले केही भनेकी छैनन्। तर पनि मलाई अप्ठेरो लाग्छ। आफूले जानेको काम यही हो, काम नगरी पनि दुःखै छ।’ 

यहाँ काम गरेर खानेहरु पनि समाजसँग डराइरहेका छन्, यसको पछाडिको कारणमा समाजका मूल्य–मान्यता नै आउँछन्। यो ब्लग लेखिरहँदा सहकर्मी शलिना कुवँरले तयार गरेको सामग्री काठमाडौं प्रेसमा प्रकाशित भएको छ, ‘युवा कृषक : ‘फलानाको छोराले त्यत्रो पढेर पनि खेतीपाती गर्दै छ’ शीर्षकमा। काठमाडौंबाट स्नातकोत्तर गरेर गाउँ (बाजुरा) फर्केका तिलक जैसी खेतीपातीमा लागेपछि छरछिमेकमा कतिले चर्चा गर्न थालेछन्– फलानाको छोराले त्यत्रो पढेर पनि केही गर्न नसकी खेतीपाती गर्दै छ।

केही दिनअघि मेरी सहकर्मी प्रबिता श्रेष्ठले सडक सफा गर्नेहरुको फिचर गरेकी थिइन्। उनीहरुमध्ये अधिकांशको गुनासो थियो— सडक सफा गर्ने भनेर हामीलाई समाजले हेप्छ।

हाम्रो समाजले कामलाई हेर्ने दृष्टिकोण बदल्ने बेला भएन र ? समाजले मानिसको काम, कमाई, पद र प्रतिष्ठा हेरी व्यवहार गर्छ। ठग्नु, भ्रष्टाचार गर्नु भन्दा त काम गरिखानु महान् होइन र ? यो कुरा समाजलाई बुझाउने जिम्मा मिडियाको पनि होला, सरकारको पनि होला। 

मलाई कता कता मनमा लाग्यो— कतै गरिखाने वर्गलाई मिडियाले पनि कुनै किसिमले होँच्याइरहेको त छैन। यो समाजमा काम गरेर खानेहरु होइन, ठगेर खानेहरु डराउनुपर्छ। 
 

प्रकाशित मिति: १५:२६ बजे, बिहीबार, चैत १०, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्