Kathmandu Press

प्याङ संरक्षणमा प्याङगाउँ : ‘पहिले प्याङमा जति अट्छ, त्यति नै अन्न पाइन्थ्यो’

१५–१६ वर्षको उमेरमा बुबा–हजुरबुबाबाट प्याङ बनाउन सिकेका स्थानीय ८५ वर्षीय मानबहादुर महर्जनले जीवनमा कति प्याङ बनाए भन्ने कुनै हिसाब छैन। अहिले युवालाई सिकाउन पाउँदा खुसी लागेको उनी बताउँछन्।
प्याङ संरक्षणमा प्याङगाउँ : ‘पहिले प्याङमा जति अट्छ, त्यति नै अन्न पाइन्थ्यो’

काठमाडाैं, चैत ९ :  हामीले स्थल र पेसा अनुसारको थर सुन्दै आएका हौँ। जस्तो: डोटीको रेगम भन्ने स्थानबाट अन्यत्र गएकाहरूको थर रेग्मी भयो, दमाहा बजाउने पेसा भएकाहरू दमाई भए आदि। ललितपुरको गोदावरी नगरपालिका– ११, प्याङगाउँ यस्तो गाउँ हो, जुन गाउँको नाम यहाँका मानिसले अपनाउने पेसाबाट रहेको हो। यहाँका स्थानीयको पुख्र्यौली पेसा हो, प्याङ बनाउनु। बाँसका सामग्री, जसलाई मानापाथीका लागि प्रयोग गरिन्छ, त्यसैलाई प्याङ भनिन्छ।

स्थानीय ‘महादेव युवा क्लब’का अध्यक्ष मदन महर्जन पहिले यस गाउँलाई सीतापुर, शंखु समेत भन्ने गरेको आफूले सुन्दै आएको बताउँछन्। ‘मल्लकालीन राजाले यहाँका नागरिकलाई प्याङ बनाएर बेचिखान आदेश दिएका थिए भन्ने मैले सुन्दै आएको हुँ,’ उनी भन्छन्, ‘त्यतिबेला राजाले देशभरका जुनसुकै ठाउँमा गएर तामाबाँस काट्ने अनुमति दिएका थिए रे।’ उनका अनुसार, अहिले यस गाउँमा एक सय १५ हाराहारीमा घरधुरी छन्।

प्याङ बनाउन सिकाउँदै ८५ वर्षीय मानबहादुर महर्जन ।

Hardik ivf

प्याङ तालिम

ललितपुरको चापागाउँ बसपार्कदेखि नजिकै एउटा पोखरी र सँगै वाणीविलास मावि छ। यहाँदेखि सय मिटरजति अगाडि प्याङगाउँ प्रवेशद्वार आउँछ। संस्कृति झल्कने शैलीको प्रवेशद्वारबाट अघि बढ्न रातो इँटा ओछ्याइएको बाटो छ। दायाँबायाँ केही पुराना शैलीका र केही आधुनिक घर छन्।

घरअगाडि खुला ठाउँमा बसेर मंगलबार (४ माघ) बिहान यहाँका पाँच–सातजना पुरुष बाँस तास्दै थिए। बाँसलाई चिर्दै गरेका गरेका ५२ वर्षीय कर्ण महर्जन गत वर्षदेखि आफ्नो पुख्र्यौली पेसा प्याङ बनाउन सिक्दै छन्। ‘प्याङ बनाउन सजिलो छैन। मेसिनको प्रयोग नगरी हातैले एउटा आकार दिनुपर्छ,’ उनी भन्छन्, ‘मेहनतले बनाउनुपर्ने हुँदा सिक्न अलि समय लाग्छ। पुर्खाको पेसा लोप हुन लागेकाले सिक्न थालेको हुँ।’

उनीजस्तै पुर्खाको संस्कृति जोगाउने उद्देश्यले ३४ वर्षीय भूपेन्द्र महर्जन पनि प्याङ बनाउन सिक्दै छन्। पहिले उनका हजुरबुबाले प्याङ बनाएर धान, चामल, मकै आदिसँग साट्थे। धातुका भाँडाको प्रचलन पढेसँगै यसको प्रचलन हराउलाजस्तो भएपछि भूपेन्द्रले पुर्खाबाट प्याङ बनाउन सिकेनन्। ‘अहिले सिक्ने अवसर पनि मिल्यो,’ उनी भन्छन्, ‘गाउँको पहिचानसँग जोडिएका कारण संरक्षण गर्नैपर्ने ठानेर सिक्न थालेको हुँ।’

यतिखेर कर्ण र भूपेन्द्रले जस्तै यहाँका १३ स्थानीय युवाले प्याङ बनाउन सिकिरहेका छन्। गोदावरी नगरपालिका र स्थानीय महादेव युवा क्लबको सहकार्यमा प्याङ बनाउने एकमहिने तालिम दिइएको हो। ‘अहिले तालिम लिइरहेका १३ जनाले गत वर्ष पनि लिएका थिए । यस वर्ष पुनर्ताजगीको रूपमा तालिम दिएका हौँ,’ क्लबका अध्यक्ष महर्जन भन्छन्, ‘गोदावरी नगरपालिकाले पनि पुरानो कला–संस्कृति जोगाउन चासो दिएको छ।’

आकार अनुसार अन्न

स्थानीय ८५ वर्षीय मानबहादुर महर्जनले अहिले यहाँका युवालाई प्याङ बनाउन सिकाउँदै छन्। १५–१६ वर्षको उमेरमा बुबा–हजुरबुबाबाट प्याङ बनाउन सिकेका उनले जीवनमा कति प्याङ बनाए भन्ने कुनै हिसाब छैन। अहिले युवालाई सिकाउन पाउँदा खुसी लागेको उनी बताउँछन्।

शारीरिक रूपमा फूर्तिला उनीसँग चर्को स्वरमा कुरा गर्नुपर्छ, कान अलि कम सुन्छन्। ‘पहिला चार–पाँच दिन लगाएर तामाबाँस काट्न टाढा–टाढा जान्थ्यौँ,’ मानबहादुर भन्छन्, ‘महिनौँ लगाएर बाँस काटेर सुकाएर हापा बोकेर ल्याउने गर्थ्यौं।’

महादेव क्लबका अध्यक्ष मदन महर्जन । तस्बिरहरू : सुजल बज्राचार्य ।

मानबहादुरले प्याङ बेचेरै जीविका चलाउँथे। यसबाहेक उनको अर्को पेसा थिएन। उनका अनुसार पहिले प्याङ जत्रो छ, त्यति नै धान, मकै, गहुँ, कोदो, फापर आदि अन्नबाली साट्न पाइन्थ्यो। ‘घरबाट खाली प्याङ बोकेर जाँदा हलुका हुन्थ्यो,’ उनी भन्छन्, ‘फर्कंदा अन्नको भारी।’

कसरी बन्छ प्याङ ?

प्याङ तामा बाँसबाट मात्र बनाइन्छ। अन्य बाँस प्रयोग हुँदैन। मानबहादुरका अनुसार, प्याङका लागि प्रयोग हुने तामाबाँस पहिले जताततै पाइन्थ्यो। प्याङगाउँका मानिसलाई तामा बाँस काट्न सरकारले नै छुट दिएको थियो। ०४६ साल अगाडिसम्म जहाँ गएर पनि बाँस काट्न पाइन्थ्यो। अहिले भने यो बाँसको अभाव छ।

यो बाँस कतै–कतै पाइए पनि बाँसधनी कृषकले काट्न नदिने गरेको क्लबका अध्यक्ष महर्जन बताउँछन्। ‘तामाको बाँस काटेपछि पलाउँदैन। झ्याङ नै मासिने डरले कृषकले तामा बाँस काट्न दिँदैनन्,’ उनले भने।

प्याङ बनाउनका लागि तामा बाँसलाई काटेर १५–२० इन्चका टुक्रा–टुक्रा बनाइन्छ। टुक्रालाई मध्यभागबाट चिरेर दिनभर घामका सुकाउनुपर्छ। त्यसपछि सुकाइएको बाँसलाई आगोमा तताउँदै चिम्टाले पेलेर पत्ता जस्तो बनाइन्छ, जसलाई हापा भनिन्छ।

हापालाई १५–२० दिन आगोको धुँवामा राखेपछि पानीले भिजाउँदा कागजजस्तै नरम हुन्छ। ‘नरम भएको बाँसको हापाबाट आवश्यक अनुसार र आकार अनुसार प्याङ बनाउन सकिन्छ,’ क्लबका अध्यक्ष महर्जन भन्छन्, ‘यो काम पुर्खाले बर्खाको समयमा घरमा बसेर गर्ने गरेको पाइन्छ।’अध्यक्ष महर्जनका अनुसार, हापाबाट माना, पाथीको नापोमा प्याङ बनाइन्छ। ‘बाँस राम्ररी सुकेन भने प्याङ चाउरिन्छ र नापो मिल्दैन,’ अध्यक्ष मदन भन्छन्, ‘नापो नमिलेका प्याङ अन्य कामका लागि प्रयोग हुन्छन्।’

प्याङ बनाउन कुनै पनि मेसिन प्रयोग गरिँदैन। प्याङ सिलाउने धागो समेत बाँसकै बनाइन्छ। पछिल्लो समय फलामको सियो प्रयोग गरेर आकार अनुसारको आकृति दिएर सिलाउने गरिएको अध्यक्ष मदन बताउँछन्।

स्थानीय सरकारको चासो

क्लबका अध्यक्ष महर्जनका अनुसार, प्याङ तालिमबाट गोदावरी नगरपालिकाबाट दुई वर्षमा चार लाख ५० हजार रुपैयाँ बजेट आएको छ। ‘अघिल्लो वर्ष (२०७७÷७८) मा दुई लाख रुपैयाँ र चालू आर्थिक वर्षमा दुई लाख ५० हजार रुपैयाँ बजेट पायौँ,’ क्लबका अध्यक्ष महर्जन भन्छन्, ‘अहिले नगरपालिकाले पनि पुरानो कला–संस्कृति जोगाउन ध्यान दिएको छ। गत वर्ष राम्रोसँग नसिकेकाले पुनः सिकाएका हौँ।’

प्याङलाई व्यावसायिक बनाउने : नगरपालिका

गोदावरी नगरपालिकाका प्रवक्ता मिलन सिल्वाल प्याङ बनाउने तालिम दिई संस्कृतिको संरक्षण गर्न स्थानीय महादेव युवा क्लबलाई पछिल्ला दुई वर्ष (दुईपटक) चार लाख ५० हजार रुपैयाँ बजेट दिएको बताउँछन्।

उनका अनुसार, पहिलो वर्ष ०७७÷७८ मा दुई लाख रुपैयाँ र चालू आर्थिक वर्षमा दुई लाख ५० हजार रुपैयाँ दिइएको हो। प्रवक्ता सिल्वाल भन्छन्, ‘प्याङलाई व्यावसायिक रूपमा अगाडि बढाउने महानगरको योजना हो। गत वर्ष सिकेकालाई नै यस वर्ष सिकाएका हाँै, गत वर्ष माना बनाउन, टोकरी बनाउन सिकाएका थियौँ। अहिले माना, पाथी लगायतका सामान बनाउन सिकाइरहेका छौँ।’

प्रकाशित मिति: २०:१२ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्