Kathmandu Press

मतदाता ‘मूर्ख’ ठान्ने बार उम्मेदवारलाई ठेगान लगाउन एउटा प्रस्ताव 

अब मतदाताले कुनै कठोर र सुविचारित कदम नचालेमा आफैँ केही नजान्ने अर्कालाई मूर्ख बनाउन खोज्ने पनि पदाधिकारी बन्ने कारणले बारलाई साँचो अर्थमा बार बनाउन सकिने देखिँदैन।
मतदाता ‘मूर्ख’ ठान्ने बार उम्मेदवारलाई ठेगान लगाउन एउटा प्रस्ताव 

नेपाल बार एसोसिएसनको चुनाव नजिकिँदो छ। चुनावमा प्रतिस्पर्धा गर्ने उम्मेदवारले मत माग्दा ‘संवैधानिक सर्वोच्चता’, ‘विधिको शासन’, ‘कानुनी राज्य’, ‘सुशासन’, ‘मानव अधिकार’, ‘स्वतन्त्र र सक्षम न्यायपालिका’, ‘न्यायपालिकाको विकृति विसंगति’ भन्ने र यस्तै अरू थुप्रै सैद्धान्तिक र बजारु कुरा पठाएर मत मागेको पाइयो। 

वास्तवमा न्याय प्रणाली बिगार्ने प्रमुख र स्थायी प्रदूषक कानुन व्यवसायी नै हुन्। कानुन व्यवसायीको इज्जत र प्रतिष्ठा रसातलमा पुर्‍याउने क्रियाकलाप पनि कानुन व्यवसायीबाटै भएका हुन्। कानुन व्यवसायीको विरुद्धमा परेका उजुरीमा कारबाही नगरी अनेकौँ तिकडम गरेर उजुरीहरूलाई बेकम्मा बनाउने पनि बारका पदाधिकारी र/वा महान्यायाधिवक्ता (नेपाल कानुन व्यवसायी परिषद्का पदेन अध्यक्ष) बनेका कानुन व्यवसायी नै हुन्। विपक्षीलाई सल्लाह दिएर निवेदकको पक्षमा बहस गरी कानुन व्यवसायीको आचार संहिताको उल्लंघन गर्दै आफू निष्कलंक भएको ढोंग गर्ने पनि कानुन व्यवसायी नै हुन्।

बारमा उम्मेदवार बनेका कानुन व्यवसायीले यो तीतो वास्तविकतालाई स्वीकार गर्न आवश्यक छ। यसर्थ मतदातासमक्ष उम्मेदवारले भन्न सक्नुपर्छ– मैले त्यस्तो गरेको छैन र गर्दिनँ पनि। गरेको पाएमा लुकाएको कुरालाई सार्वजनिक गर्दै मलाई मत नदिनुस्। मैले यति कर तिरेको छु। मैले यति र/वा यसरी सार्वजनिक सेवालाई पेसागत सहयोग उपलब्ध गराएको छु। यस्तै, बारमा निर्वाचित भएमा पदमा रहेकै अवस्थामा वा पदावधि सिद्धिएपछि यति वर्षसम्म कुनै पनि सार्वजनिक पद धारण गर्दिनँ। नेपाल बारको पदाधिकारीको पदलाई निजी स्वार्थ पूरा गर्ने भर्‍याङ बनाउँदिनँ। मसँग यति सम्पत्ति छ। 

Hardik ivf

तर सम्पत्ति सार्वजनिक गरेर मसँग भएको सम्पत्तिको स्रोत यो हो भनेर कसैले देखाएका छैनन्। यस अघिको चुनावमा अध्यक्षका उम्मेदवार अधिवक्ता सुनील पोखरेलले सम्पत्ति विवरण सार्वजनिक गरेर उदाहरणीय र अनुकरणीय काम गरेको मेरो स्मरणमा छ। यस्ता विकृतिलाई सार्वजनिक रूपमा स्वीकार गरेर आफू निर्वाचित भएमा यस्तालाई नियन्त्रण गर्न यस्ता योजना छन् भनेर देखाउनुको सट्टा माथि उद्धरण गरिएका जस्ता उडन्ते र बजारु कुरा लेखेर मतदातालाई ‘मूर्ख’ र ‘हुस्सु’ बनाउने प्रयास गरेको धेरै देखियो। 

बारको चुनावका मतदाता कानुन व्यवसायी नै हुन्। कानुन व्यवसायी हुनका लागि निश्चित शैक्षिक योग्यता हुनैपर्छ। २०५२ सालपछाडि हो भने पेसागत इजाजतको परीक्षा पनि पास गर्नुपर्ने भएकाले तिनीहरूले पनि केही बुझेका हुन्छन् भन्ने हेक्का नराखी आफैँले नजानेका (जस्तो : माथि उल्लिखित ‘विधिको शासन’ र ‘कानुनी राज्य’ उही कुराहरू हुन् भन्ने पनि थाहा नपाउने) कुरा देखाएर मूर्ख बनाउन खोजेको देखियो। बारको स्तर तीव्रतर गतिमा निरन्तर खस्किरहेको छ। 

अब मतदाताले कुनै कठोर र सुविचारित कदम नचालेमा आफैँ भुत्लोभाङ केही नजान्ने अर्कालाई मूर्ख बनाउन खोज्ने पनि पदाधिकारी बन्ने कारणले बारलाई साँचो अर्थमा बार बनाउन सकिने देखिँदैन। बारलाई कुहीगन्धे हुनबाट बचाउन र मतदातालाई मूर्ख सम्झने यस्ता उम्मेदवारलाई ठेगान लगाउन जरुरी छ। बारलाई वर्तमान स्तरबाट माथि उकासी न्यायपालिकालाई पनि गर्वलायक बनाउन (किनभने, जस्तो बार उस्तै बेन्च भनिन्छ) एउटा काम गर्न आवश्यक छ। यसपालिको चुनाव आउन अझै समय बाँकी छ। त्यसैले अहिलेबाटै सुरु गरौँ।

यसर्थ उम्मेदवारले व्यक्तिगत वा समूहगत मत माग्दा लेखेका सैद्धान्तिक र दार्शनिक कुराको विषयमा उसले के बुझेको छ ? कति बुझेको छ ? त्यो भन्न लगाउनुपर्छ। यसो गरियो भने उसले बुझेरै बोले–लेखेको रहेछ कि अरूलाई ‘मूर्ख’ बनाउन खोज्ने फाइँफुट्टे वञ्चक बन्न खोजेको रहेछ भन्ने चिनिन्छ। यस्तै, जति उम्मेदवार हुन्छन् ती प्रत्येकसँग जवाफ मागौँ— तपाईंको उम्मेदवारी किन ? तपाईंले के गर्नलाई उम्मेदवारी दिएको हो ? प्रस्तावित लक्ष्य हासिल गर्न तपाईंसँग के योजना छन् ? प्रत्येक उम्मेदवारलाई ठेगान नलगाउने हो भने अमुक समूहको अमुक प्रतिनिधि भनेर आउनाले ‘गणेशहरू’ (सम्बन्धित पार्टीमा गणेश घुमाइ गरेर टिकट पाउनेहरू) बच्ने हुन्छन्। 

अर्को यदि उसले मत माग्दा गरेको प्रतिज्ञा पूरा नगरेमा त्यसबापत के गर्ने ? त्यो पनि सम्बन्धित उम्मेदवारबाटै मागौँ र त्यसलाई स्थायी सार्वजनिक अभिलेखका रूपमा नेपाल बार एसोसिएसनमा राखौँ। त्यसले बार शुद्धीकरणमा र बारको संस्थागत स्मरणका लागि धेरै महत्वपूर्ण काम गर्छ। र, आफू निर्वाचित भएमा पदमा रहुञ्जेल र त्यसपछि पनि कम्तीमा तीन वर्षसम्म कुनै पनि सार्वजनिक पदमा नियुक्ति नलिने प्रतिबद्धता लिऊँ।

कम्तीमा यति गर्न सकियो भने बारको मर्यादा पनि स्वतः बढ्दै जानेछ। न्यायपालिकामाथि दोष थुपारेर कानुन व्यवसायी चोखो देखिने अर्थात् काम्लो ओढेर घिउ खाने प्रवृत्ति निमिट्यान्न नभए पनि न्यूनीकरण हुन्छ। अन्ततः त्यसले बार शुद्धीकरणमा मद्दत गर्नेछ। यी सवालमा मतदातालाई चित्त बुझ्ने जवाफ दिन सम्बन्धित उम्मेदवारले बार र अदालतको विषयमा र वर्तमान न्यायिक परिपाटी बुझ्न जरुरी हुन्छ। कानुन व्यवसायीको परिचय–पत्र बोकेर पार्टीका नेतालाई गणेश घुमाइ गरेर टिकट लिने प्रवृत्ति घट्छ। त्यसो भएमा बारको नेतृत्व गर्ने पदाधिकारीमा गैरअदालती–अभ्यासी, आक्कलझुक्कल–अभ्यासी, मतदानको दिन उपस्थित हुने र दलको उर्दीमा हुने कार्यक्रममा उपस्थित हुने ‘कानुन व्यवसायी’बाट बार मुक्त भई वास्तविक कानुन व्यवसायीबाट बार सञ्चालित हुन्छ र उल्लिखित प्रकारका ‘कानुन व्यवसायी’बाट वास्तविक कानुन व्यवसायी शासित हुने दिनको पनि अन्त्य हुन्छ।

प्रकाशित मिति: १४:४८ बजे, बुधबार, चैत ९, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?