Kathmandu Press

क्यानभासोले बनाउँछ, आठ सयमै तपाईंको पाेट्रेट

अमन व्यवस्थापन संकायका विद्यार्थी हुन्। यद्यपि, उनलाई सानैदेखि चित्रकलाको सोख थियो। सन् २०१६ मा कक्षा ११ मा पढ्दा उनले ‘हाउस अफ प्यालेट’ नामक एक संस्थामा चित्र कोर्ने काम गरे, त्यहीँबाट कलाप्रति दिल बस्यो उनको।
क्यानभासोले बनाउँछ, आठ सयमै तपाईंको पाेट्रेट

काठमाडौं, चैत १ : तपाईं कलाको पारखी हुनुहुन्छ, वा कसैलाई कला उपहार दिन चाहनुहुन्छ भने सस्तो मूल्यमै अर्डर गर्न सक्नुहुन्छ। यो सेवा तपाईंलाई क्यानभासो नेपालले आठ सयदेखि हजार रूपैयाँमै दिन्छ। 

वृत्त आकारका स–साना मिनी क्यानभासलाई सानो चिटिक्कको इजेल (क्यानभास अड्याउने काठ) मा मिल्ने गरी बनाइएको हुन्छ, जसलाई तपाईंले उपहार पनि दिन सक्नुहुन्छ। आफ्नो वा कसैको पोट्रेट, आफूले चाहेको कला कोर्नका लागि अर्डर गर्न सकिन्छ। साथी वा कसैलाई जन्मदिनको लगायत अन्य उपहार दिन क्यानभासोलाई सम्झन सकिन्छ।

Hardik ivf

आफूलाई आवश्यक क्यानभासका लागि क्यानभासो नेपालको फेसबुक पेज, इन्स्टा, ह्वाट्सएपबाट अर्डर गर्न सकिन्छ। 

क्यानभासो नेपाल एउटा उदाउँदो कम्पनी हो, जसले स–साना मिनी क्यानभास बनाउने गर्छ। क्यानभासोको नामकरण भने चित्र कोर्ने ‘क्यानभास’को पहिलो नाम र विश्वविख्यात कलाकार ‘पाब्लो पिकासो’को अन्तिम नाम मिलाएर राखिएको हो। ‘गाडी, बाइकदेखि हरेक सामानका मिनियचर फर्म (साना स्वरूप) बजारमा पाइन्छ भने क्यानभास किन नहुने,’ क्यानभासो नेपालका संस्थापक तथा कलाकार अमन शाक्य भन्छन्, ‘यसै पनि ठुल्ठूला क्यानभासमा बन्ने आर्ट महँगो र आम मानिसको पहुँचमा हुँदैन। हामी अर्डर अनुसारका पोट्रेट तथा अन्य आर्ट सुपथ मूल्यमा बनाउँछाैं।’

सोच 

अमन व्यवस्थापन संकायका विद्यार्थी हुन्। यद्यपि, उनलाई सानैदेखि चित्रकलाको सोख थियो। सन् २०१६ मा कक्षा ११ मा पढ्दा उनले ‘हाउस अफ प्यालेट’ नामक एक संस्थामा चित्र कोर्ने काम गरे, त्यहीँबाट कलाप्रति दिल बस्यो उनको। 

सानो आकृतिमा क्यानभास बनाउने सोच अमनलाई सन् २०१७ तिरै फुरेको हो। तर, पहिलो लकडाउनका बेला उनको सोचले मूर्त रूप लियो। लकडाउनका कारण घरभित्रै थुनिएका बेला उनले आफ्नो सोच अनुरूपको काम थाले। आफ्नो कलाको बजार खोज्दै उनले सुरुमा विभिन्न पसल पुगे। विशेषतः पर्यटक पुग्ने पसलबाट राम्रो प्रतिक्रिया आउन थाल्यो। 

सुरुमा उनले पोट्रेट नभई ल्यान्डस्केप बनाउथे। बिस्तारै उनलाई आफन्तजन तथा शुभचिन्तकबाट सुझाव आयो– विभिन्न सेलिब्रिटी तथा सामाजिक सञ्जालमा चर्चित व्यक्तिको पोट्रेट बनाएर आफ्नो कलाको प्रमोट गर्ने।

त्यसपछि उनले स्ट्यान्डअप कमेडियन साजन श्रेष्ठदेखि युट्युबर आशुतोष, मिस्टर फुडी भ्लगरजस्ता सोसल मिडियामा चर्चित व्यक्तिलाई आफ्ना कला उपहारस्वरूप पठाउन थाले। विशेषतः प्रोट्रेट बनाई उपहार पठाउँदा उनले भिडियो पनि बनाई आफ्नो फेसबुक पेजमा पोस्ट गर्छन्। यसले उनको कामको राम्रै प्रचार भएको छ। 

४५ हजारको सेयर बेचेर लगानी

सामाजिक सञ्जालबाट प्रचार हुन थालेपछि उनी व्यावसायिक रूपमा अगाडि बढ्न चाहे। आत्मविश्वास र योजना दुवै थियो अमनसँग, अभाव थियो त पुँजीको। यसका लागि घरका सदस्यसँग सहयोग लिन चाहेनन्, किनभने आफैँ केही गर्ने उनको सोच थियो। साथीभाइलाई भन्दा २० रुपैयाँमा पनि नपाएको उनको गुनासो छ। कतिपयले यो बिजनेस चल्दैन नगर भनी उनलाई निःशुल्क सल्लाह पनि दिए।

त्यसपछि उनले आफ्नो ६० हजार रूपैयाँको सेयर बेचे, १५ हजार रूपैयाँ घाटामा, अर्थात् ४५ हजार रूपैयाँमा। यही पैसाले उनले आवश्यक सामान किने र उनको बिजनेस अगाडि बढ्यो। २२ वर्षीय अमन अहिले दिनको १४ घन्टा यसमै खटिन्छन्। मासिक एक लाख रूपैयाँसम्म आम्दानी हुने बताउँछन्। क्यानभासो नेपालमा उनीसहित १२ जनाको टिम छ। जसमा उनीसहित चारजना परिवारकै सदस्य हुन्। यसबाहेक पाँच आर्टिस्ट, डेलिभरी र मार्केटिङमा उनका अन्य दुई साथीले सहयोग गर्दै आएका छन्।

इन्स्टाग्रामदेखि अन्य सामाजिक सञ्जालमा आउने अर्डर तथा रिक्वेस्ट उनकी प्रेमिका र बहिनीले हेर्छन्। यता बक्स प्याकेजिङको काममा उनलाई बुवा र आमाको सहयोग छ। क्यानभासोका हरेक प्याकिङ अमनको ललितपुरस्थित पाटन हखाटाेलमा रहेकाे घरमै बन्छ। 

भ्यालेन्टाइनमा चाप

भ्यालेन्टाइनमा उनको व्यापार राम्रो भयो। विशेषतः मायालु जोडीहरुले क्यानभासो नेपालमा अर्डर गरे, भ्यालेन्टाइनमा उपहार दिनका लागि। उसो त आफ्ना ग्राहक नै १६ देखि ३४–३५ उमेर समूहका हुने अमन बताउँछन्। 

‘भ्यालेन्टाइनको एक महिना अघिबाटै अर्डर आउन थालेको थियो,’ अमन भन्छन्, ‘बुकिङ भ्याउन नसक्ने भनी कतिपय ग्राहकलाई अनुरोध समेत गर्नुप¥यो।’ अहिले अमनले दुई हप्तासम्म दिने गरी मात्रै अर्डर लिन्छन्।

सुरुमा उनलाई आफन्त र चिनजानकै साथीबाट बढी अर्डर आउँथ्यो। अहिले देशदेखि विदेशबाट अर्डर आउने गरेको छ। दुबई, सिंगापुर, कतार, युएस, युके जस्ता देशमा बसिरहेका नेपालीबाट पनि अर्डर आइरहेको छ। तर, सिपिङ चार्ज (ढुवानी खर्च) का कारण उनले काम गरेका छैनन्। 

‘यहाँ क्यानभास बन्ने रकमभन्दा दोब्बर–चौबर सिपिङ चार्ज पर्छ,’ अमन भन्छन्, ‘तर, सामान सानो भएकाले नेपालबाट जाने मानिसमार्फत पु¥याउने योजना पनि छ।’

कसरी बन्छ ?

क्यानभासो नेपालमा पाँच आर्टिस्टमध्ये दुई स्केच आर्टिस्ट छन्, जसले प्रारम्भिक चरणको स्केच तयार गर्छन्। अन्य दुई आर्टिस्ट सोही स्केचमा कलर अथवा पेन्ट भर्छन्। फिनिसिङ भने अमन तथा बाँकी एक आर्टिस्टले गर्छन्। यहाँ भनेजस्तो सजिलै क्यानभास बन्ने होइन। अमनले विभिन्न सोचका ग्राहकको चित्त बुझाउनुपर्छ। 

‘मानिसको नेचर कस्तो हुन्छ भने आफ्नो अनुहारको कोठी समेत पोट्रेटमा आवोस् भन्ने चाहन्छन्। एक तरिकाले भन्ने हो भने पोट्रेट फेसकपी नै हो,’ अमन भन्छन्। 

पोट्रेटका लागि अर्डर गर्दा फोटो पठाउनुपर्छ। अनुहारको स्पष्ट आकृति ल्याउन सुरुमा फोटोलाई एउटा एपमा राखेर हेरिन्छ। सोही अनुसार आर्टिस्टले क्यानभासमा उतार्छन्। 

एउटा पोट्रेटमा पाँच आर्टिस्टको हात चलेको हुन्छ। ‘यो टिमवर्क हो,’ अमन भन्छन्, ‘एकैजनाले मात्र सम्पूर्ण काम गर्यो भने त्यो बन्दैन। बिग्रने चान्स बढी हुन्छ।’ 

सस्तोमा तयार भए पनि उनका कल कमसल छैनन्। कलाका लागि आवश्यक रङ, काठ नेपालमै किन्ने भए पनि क्यानभास उनले चीनबाट ल्याउँछन्।


 

प्रकाशित मिति: १९:०६ बजे, मंगलबार, चैत १, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्