Kathmandu Press

हाम्रो मिर्गौलालाई कुनै रोगले बिगार्दै छ कि ?

कतिपय मानिसले मलाई दैनिक पानी कति पिउनुपर्छ भनेर पनि सोध्ने गरेका छन् । पानी कति पिउनेभन्दा पनि मिर्गौलाले पिसाब कति बनाइरहेको छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ ।
हाम्रो मिर्गौलालाई कुनै रोगले बिगार्दै छ कि ?

काठमाडौं, फागुन २७ : हाम्रो शरीरका मुख्य अंगमध्ये एक हो, मिर्गौला । मुटु, कलेजो, फोक्सो, मस्तिष्क र मिर्गौलालाई हाम्रो शरीरको मुख्य अंग मानिन्छ । यी अंगबिना हामी बाँच्न सक्दैनौँ । त्यसमध्ये पनि मिर्गौलाले हाम्रो शरीरभित्र साइलेन्ट (मौन) रूपमा काम गरिरहेको हुन्छ, जुन हामीले बाहिरबाट थाहा पाउन सक्दैनौँ । 

हामीले केही कुराको सेवन गर्दा त्यो हाम्रो आन्द्रामा जान्छ । र, नपचेका चिज पिसाबको रूपमा बाहिर निस्कन्छ । हामीले खाएका खानेकुराबाट आवश्यक इनर्जी शरीरले लिन्छ भने बाँकी अनावश्यक कुरा मिर्गौलाले शरीरबाट बाहिर निकाल्ने काम गर्छ । 

हामीले धेरै पानी खाँदा धेरै पिसाब लाग्छ, थोरै खाँदा कम । पानीलाई मिर्गौलाले नै पचाउने गर्छ । मिर्गौलाले रक्तचाप घटाउने र बढाउने दुवै काम गर्छ । यसले रगत बढाउने एक किसिमको हर्मोन पनि विकास गर्छ । मिर्गौलाले काम गर्न छाडेको अवस्थामा हाम्रो शरीरमा जतिसुकै रगत बढाउने तत्व भए पनि रगत बढ्न सक्दैन ।

Hardik ivf

शरीरमा भिटामिन ‘डी’को ‘एक्टिभेसन’ पनि मिर्गौलाले गराउँछ । जसले गर्दा हाम्रो शरीरमा क्याल्सियम फोस्फोरसभित्र छिर्न सहज हुन्छ । यसले हाम्रो हड्डीलाई बलियो बनाउन सहयोग गर्छ । यो सबै काम मिर्गौलाले मौन रूपमा गरिरहेको हुन्छ, मिर्गौला बिग्रेको पनि हामीलाई थाहा हुँदैन । 

मुटुरोग लाग्दा मुटु दुख्छ तर मिर्गौला रोग लाग्दा सुरुमा हामीलाई केही थाहा हुँदैन वा हामीले पहिचान गर्न सक्दैनौँ । मिर्गौलामा पत्थरी भयो वा इन्फेक्सन भयो भने केही दुखाइ महसुस हुन्छ । मिर्गौलालाई रोगले बिस्तारै बिगारिरहेको हुन्छ, जुन हामीलाई पहिचान गर्न गाह्रो हुन्छ । मधुमेह र उच्चरक्तचापका कारण पनि मिर्गौलामा असर पर्छ । यसले मिर्गौलामा भएको क्षति पहिचान गर्न गाह्रो हुन्छ । उच्च रक्तचाप बढ्दै जानु एक किसिमको मिर्गौला रोगको कारण हुन सक्छ । किनभने मिर्गौला बिग्रेपछि उच्च रक्तचाप बढ्दै जान्छ । 

कुनै पनि बिरामी उच्च रक्तचापको परीक्षण तथा उपचार गर्न आउँदा हामीले दुईवटा कुराको पहिचान गर्छौं । मिर्गौलामा समस्या आएर उच्च रक्तचाप बढेको हो वा उच्च रक्तचाप बढेसँगै मिर्गौलामा असर देखिन सुरु गरेको भन्ने यकिन गर्न निकै महŒवपूर्ण हुन्छ । 

लक्षण

सामान्यतः ७० देखि ८० प्रतिशत मिर्गौला बिग्रिसकेपछि मात्र लक्षण देखिन थाल्छ । बिरामी ८० प्रतिशत मिर्गौला बिग्रेपछि मात्र अस्पताल आउँछन् ।
बिरामीले जाँच नगरी बाहिरबाटै मिर्गौला रोग लागेको थाहा पाउन सक्छ । हाम्रो मिर्गौलाको ब्याकअप छ, केही समय बढी नै काम गर्न सक्छ । तर, पूर्ण रूपमा काम गर्न नसकेपछि मिर्गौलाले शरीरभित्रै अनावश्यक चिज फ्याँक्न थाल्छ । जसका कारण शरीर सुन्निने, युरिक एसिड बढ्ने, वाक्वाक् लाग्ने, खाना नरुच्ने, श्वासप्रश्वासमा समस्या आउने लगायत समस्या देखिन्छ । 

मुख्यतः रक्तचाप अनियमित रूपमा बढ्न थाल्यो, मधुमेहको समस्या छ भने समय–समयमा मिर्गौलाको जाँच गर्नुपर्छ । कुनै व्यक्तिको पिसाबमा रगत देखिने वा एक किसिमको फिँज देखिएमा धेरै हदसम्म सो व्यक्तिलाई मिर्गौलासम्बन्धी रोग लागेको अनुमान गर्न सकिन्छ । यी दुई कुरामा ध्यान दियौँ भने सुरुको चरणमै मिर्गौला रोगको पहिचान गर्न सकिन्छ, उपचार पनि सहज हुन्छ । 

हाम्रो शरीरको कुनै पनि अंगलाई बिग्रन नदिन सर्वप्रथम खानपानमा विशेष ध्यान दिनुपर्छ । स्वस्थ मिर्गौलाका लागि आवश्यक मात्रामा पानी र नुन कम खाने गर्नुपर्छ । नुन बढी सेवन गर्दा मिर्गौलाको रोग देखिने सम्भावना बढी हुन्छ । 

स्वस्थ जीवन जिउनका लागि आवश्यक व्यायाम, स्वस्थ खाना, आवश्यक मात्रा पानी पिउनमा ध्यान दिनुपर्छ । चिकित्सकको सल्लाहबिना कुनै पनि औषधि खानु हुँदैन । मादक पदार्थ वा सूर्तीजन्य पदार्थको सेवनबाट टाढा रहँदा पनि मिर्गौला रोगबाट बच्न सकिन्छ । विशेषतः पेनकिलर वा ब्रुफिनले हाम्रो मिर्गौलालाई बढी असर गरेको हुन्छ । कसैले दैनिक वा धेरैजसो पेनकिलर खान्छ भने उसलाई पनि मिर्गौलासम्बन्धी रोग देखिने सम्भावना बढी हुन्छ । 

मिर्गौलालाई कम असर गर्ने औषधि भनेको प्यारासिटामोल हो । तर, त्योभन्दा माथिको औषधि (निम्स, ब्रुफिन, फ्लेक्जन आदि)ले तुरुन्तै मिर्गौलामा असर गर्छ । कतिपय अवस्थामा यस्ता औषधिको एक चक्कीले मात्र पनि मिर्गौलामा असर गरेको पाइएको छ । त्यसकारण अति आवश्यक भएमा मात्र चिकित्सकको सल्लाह अनुसार मात्र कुनै पनि औषधि सेवन गर्न हामी सुझाउँछौँ । 

कति पानी पिउने ?

कतिपय मानिसले मलाई दैनिक पानी कति पिउनुपर्छ भनेर पनि सोध्ने गरेका छन् । पानी कति पिउनेभन्दा पनि मिर्गौलाले पिसाब कति बनाइरहेको छ भन्ने कुरा बढी महत्वपूर्ण हुन्छ । 

दिनमा एकदेखि डेढ लिटर पिसाब बन्ने गरी पानी खानुपर्छ । मौसम र भूगोल अनुसार पानी सेवनको मात्रामा फरक हुन्छ । पहाडी क्षेत्रमा वा कुनै अफिसभित्र काम गरिरहेका छौँ भने दुई लिटरसम्म पानी खाँदा डेढ लिटर पिसाब आउँछ भने बाहिर घाममा वा तराई क्षेत्रमा बस्दा आठदेखि १० लिटर पानी खानपर्ने हुन सक्छ । यसमा पिसाब कसरी नाप्ने भन्ने एकदमै गाह्रो कुरा हो । सामान्य रूपमा बिहान उठ्दा पिसाब पहेँलो देखिनुलाई सामान्य मानिन्छ, त्यसपछि दिनभरिको पिसाब सेतो वा सफा छ भने मिर्गौलामा कुनै समस्या छैन भनेर बुझ्न सकिन्छ । 

यसबाहेक हरेक व्यक्तिले प्रत्येक वर्ष कम्तीमा एकपटक मिर्गौला परीक्षण गर्नुपर्छ । हामीकहाँ मिर्गौलाको समस्या लिएर आउने अधिकतम बिरामी ८० प्रतिशत मिर्गौला बिग्रेपछि मात्र आउने गरेको पाइएको छ । त्यसकारण हरेक वर्ष परीक्षण गराउँदा समयमै रोग पहिचान हुन्छ र उपचार गर्न सकिन्छ । 
हामी कुनै एउटा बाइक वा साधन किन्दा त्यसलाई बिग्रन नदिन महिना–महिनामा सर्भिसिङ गराउँछौँ । तर समय समयमा आफ्नो शरीरको परीक्षण गराउनुपर्छ भन्ने चेतना सर्वसाधारणमा देखिएन । 

मिर्गौलासम्बन्धी रोग विशेषतः युवादेखि वयष्क र वृद्धवृद्धामा बढी देखिएको छ । यसको उपचारको सन्दर्भमा भन्नुपर्दा सुरुमा कुन रोगका कारण मिर्गौलामा असर गरेको हो भन्ने पहिचान गर्नुपर्छ । जुन रोगले मिर्गौला बिगारेको हो, त्यसको उपचार गरेमा धेरै हदसम्म मिर्गौलाको पनि उपचार हुन्छ । स्वस्थ मिर्गौलाका लागि सन्तुलित भोजन, दैनिक व्यायाम, शरीरको नियमित परीक्षण र प्रशस्त पानी पिउनमा ध्यान दिनुपर्छ । चिकित्सकको सल्लाहबिना औषधि सेवन गर्नु हुँदैन । 

(वरिष्ठ सल्लाहकार चिकित्सक र नेफ्रोलोजिस्ट डा. पोखरेलसँग सोनी शाहीले गरेको कुराकानीमा आधारित ।)
 

प्रकाशित मिति: १०:५० बजे, शुक्रबार, फागुन २७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?