Kathmandu Press

बलात्कार, कलाकार र समाज

मानिस जतिसुकै ख्याति प्राप्त वा पदले ठूलो होस्, उसले पनि कानुनको नजरमा गल्ती गर्न सक्छ, उसको गल्तीलाई समाजले ढाकछोप गर्न सक्दैन र गर्नु हुँदैन, उसलाई कानुन बमोजिम सजाय हुनुपर्छ । 
बलात्कार, कलाकार र समाज

यतिखेर एक नाबालिग गायिकालाई जबर्जस्ती करणी गरेको भनी कलाकार पल शाहमाथि उजुरी परेसँगै सामाजिक सञ्जालदेखि सञ्चारमाध्यममा बहस सिर्जना भएका छन् । यस घटनामा तार्किक बहस नगरी विरोध र समर्थन गर्नेको भीड पनि अर्कोतिर छ । बलात्कार भनेको के हो र के होइन भनी मानिसहरू आ–आफ्ना मनगढन्ते तर्क गर्न लागिपरेको पनि देखिन्छ । 

नाबालिग गायिकाले पहिले सहमतिमा करणी गरिन् र पछि कुरा नमिलेपछि उजुरीसम्म पुगिन् भन्ने कतिपयको (कु)तर्क छ । यस्तो लाग्छ, उनीहरू यस्तो तर्क गर्दै छन्—  ८–१० वर्षकी बालिकालाई पनि सहमतिमा यौनसम्बन्ध राख्दा हुुन्छ । यौन सम्बन्धका लागि उमेर तोकिएको कानुनी व्यवस्थाप्रति उनीहरू बेखबर छन्, अथवा यसमा उनीहरू कुरा गर्नै चाहन्नन्, कुरा गरिहाले पनि गाउँठाउँमा हुने बालविवाहतिर लगेर आफ्ना (कु)तर्कलाई आड दिन खोज्छन् । 

समाजमा बालविवाह भइरहेको छ । अर्कोतिर बालविवाहलाई सोझै खारेज गर्ने कानुनी व्यवस्था पनि छ । मुलुकी अपराध संहिता भन्छ— २० वर्ष नपुगी कसैले विवाह गर्न वा गराउन हुँदैन, यस उपदफा विपरीत भएको विवाह स्वतः बदर हुनेछ ।

Hardik ivf

कानुनी व्यवस्था यस्तो भए पनि गाउँठाउँमा बालविवाह भइरहेकै छन् । कतिपय अवस्थामा गाउँठाउँमा हुने बालविवाहविरुद्ध उजुरी परेका समाचार पनि हामीले पढ्दै आएका छौँ । खासगरी दलित पुरुष र गैरदलित किशोरीबीचको विवाहमा बालविवाहको कानुनी कुरा उठाइएको पाइन्छ ।  

हामीले के बुझ्नुपर्छ भने गाउँठाउँमा बालविवाह भएको उदाहरण दिएर कानुनलाई छल्न सकिँदैन । अर्को कुरा, जब मुद्दा अदालतमा पुग्छ, त्यसमा फैसला वा व्याख्या पनि अदालतले नै गर्छ । 

हाम्रो मानसिकता कस्तो छ भने, अपराध सहेर बस्दासम्म समाज ठीक छ भन्छौँ, त्यसमा आवाज उठाउन वा उजुरी गर्न थालेपछि लैंगिक वा जातीय मुद्दा उचालेको आरोप लगाउँछौँ । 

नाबालिग गायिका र कलाकार पल शाहको मुद्दा जो छ, यसमा गायिकाले आफू अन्यायमा परेको महसुस गरेपछि उजुरीको कुरा आएको हो । कानुन अनुसार, १८ वर्षभन्दा कम उमेरकी बालिका वा किशोरीसँग सहमतिमा करणी गरे पनि त्यो अपराध ठहर्छ । 

मुलुकी अपराध संहिता भन्छ, ‘कसैले कुनै महिलालाई निजको मञ्जुरी नलिई करणी गरेमा वा मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरका कुनै बालिकालाई करणी गरेमा निजले त्यस्तो महिला वा बालिकालाई जबर्जस्ती करणी गरेको मानिनेछ ।’

‘१८ वर्षभन्दा कम उमेर’ भनी कानुनले तोकेको यस प्रावधानमा संशोधन हुनुपर्ने आवाज पनि पछिल्लो समय उठेको छ । १६–१७ वर्षमै किशोरीले सहमतिमा यौन सम्बन्ध राख्न चाहे कानुन बाधक बन्न हुँदैन भन्ने तर्क पनि आएका छन् । हामीले यसमा बहस गर्न सक्छौँ । तर भएको कानुनलाई नकार्न सक्दैनौँ । लोभ, जिज्ञासा, महत्वाकांक्षा आदिका कारण १०–१२ वर्ष उमेरका बालिका पनि करणीका लागि सहमत हुन सक्छन् । त्यसैले कानुनले उमेर तोक्नैपर्छ । कानुनले उमेर तोकेपछि र त्यस बमोजिम उजुरी परेपछि कारबाही पनि हुनैपर्छ । तर धेरैले सामाजिक सञ्जालमा कानुनलाई केटाकेटी खेल सम्झेजस्तो तर्क गरेको पनि पाइयो । 

हामीले समाजमा अपराध हुन नदिन र सामाजिक न्याय स्थापित गर्न कानुनलाई कडाईका साथ कार्यान्वयन गर्नैपर्छ । कानुन नै गलत हो भने त्यसलाई बदल्न बहस गर्नुपर्छ । र, एउटा परिपक्व कलाकारले यौनजन्य विषयमा देशको कानुन पनि बुझ्नैपर्छ । बुझेको छैन भने त्यससम्बन्धी घटनापछि कानुनले नै उसलाई सिकाउँछ । 

कलाकार शाहको मुद्दा हामी धेरैका लागि शिक्षा हो । यसले करणी सम्बन्धमा समाजलाई कानुनी कुरा सिकाउँछ । बालविवाहमा कमी ल्याउन र यौनको हकमा पनि कानुनी व्यवस्था गर्न यसले समाजलाई झकझकाउँछ । समाजका कतिपयले कलाकारलाई ‘रोल मोडल’ मान्छन् । खासगरी अविकसित देश र समाजमा कलाकारलाई ‘भगवान’ मान्ने पनि छन् । विशेषतः यस्तो उदाहरण भारतमा देखिन्छ ।हाम्रो समाजमा पनि कतिपय सर्वसाधारणले आफूले मन पराएको कलाकार, नेता वा सेलेब्रिटीको गल्ती–कमजोरी नै नदेख्ने प्रवृत्ति देखिन्छ, यसले समाजलाई हित गर्दैन । मानिस जतिसुकै ख्याति प्राप्त वा पदले ठूलो होस्, उसले पनि कानुनको नजरमा गल्ती गर्न सक्छ, उसको गल्तीलाई समाजले ढाकछोप गर्न सक्दैन र गर्नु हुँदैन, उसलाई कानुन बमोजिम सजाय हुनुपर्छ । 
 

प्रकाशित मिति: १२:१८ बजे, शुक्रबार, फागुन २०, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्