Kathmandu Press

युवालाई बलात्कारको तक्मा लगाइदिने अदूरदर्शी कानुन  

गहिरो अनुसन्धान गरेर हेर्ने हो भने हिजोको तुलनामा आज यस्ता घटना घट्दै गएको हुनुपर्दछ । किनकि शैक्षिक विकास, समाजमा विकसित चेतना, विभिन्न संघ संस्थाबाट सञ्चालित चेतनामुखी कार्यक्रम एवं सञ्चार माध्यममा दिइने जानकारीमूलक विज्ञापन लगायतले यस्ता घटनाप्रति समाजमा सजगता पैदा भएको छ
युवालाई बलात्कारको तक्मा लगाइदिने अदूरदर्शी कानुन  

काठमाडौं, फागुन १७ : नेपालमा जबर्जस्ती करणीको सन्दर्भमा बढाइएको १८ वर्षे उमेरको हद यथार्थ धरातलसँग पटक्कै मेल खाँदैन । हाम्रो सामाजिक परिवेश, परम्परा, मूल्य–मान्यता र परम्परागत रूपबाट मानिआएको उमेरका आधार तथा नेपाली महिलाको शारीरिक बनावट समेतको आधारमा नयाँ कानुनको तादात्म्यता देखिँदैन । जसकारण अनाहकमा धेरै निर्दाेष आज अपराधी भइरहेका छन् । 

१९१० को मुलुकी ऐनको जबर्जस्तीको १३२ र १३३ नम्बरमा ११ वर्षमुनिका र ११ वर्ष माथिकीलाई जबर्जस्ती करणी गरेको सम्बन्धमा कानुनी व्यवस्था रहेको पाइन्छ । तर ती दुवै उमेर समूहको सम्बन्धमा प्रयुक्त शब्द सधवा, विधवा कन्या भन्ने नै रहेको छ । अर्थात्, विवाह भएकी तर विधवा भएकी र विवाह भएकी सधवा कन्यालाई जबर्जस्ती करणी गरेको सम्बन्धमा उक्त कानुनी प्रावधान लागू हुने स्पष्ट देखिन्छ । उक्त ऐनमा ११ वर्षमुनि वा ११ वर्ष माथिाका कन्यालाई वा विवाह नभएकी कन्यालाई राजीखुसीले करणी गरेको अवस्थामा जबर्जस्ती करणी हुने देखिँदैन । 

आधुनिक रूपमा रूपान्तरित मुलुकी ऐन, २०२० को महल १४ को जबर्जस्ती करणीको महलको १ मा कन्या, विधवा वा अर्काकी सधवा स्वास्नी मानिस भन्ने शब्द प्रयुक्त भएको स्पष्ट देख्न सकिन्छ । अर्थात्, विवाह भएकी, नभएकी वा विधवा भएकी १४ वर्ष मुनीकीलाई मञ्जुरीले करणी गरे पनि जबर्जस्ती करणी हुने भनिएको छ । तर, १४ वर्ष माथिकी विवाह नभएकी, विवाह भएकी वा विधवा कन्यालाई बिनामञ्जुरीले करणी गरेमा मात्र सजाय हुने कानुनी प्रावधान थप भएको देखिन्छ । तथापि विवाहिता पत्नीको सम्बन्धमा भने उमेरको कुनै हद तोकिएको पाइँदैन । 

Hardik ivf

१९१० सालको मुलुकी ऐनमा बालविवाहको व्यवस्था नगरिएको भए पनि २०२० सालको मुलुकी ऐनमा बाल विवाहको सम्बन्धमा नयाँ कानुनी व्यवस्थाको प्रादुर्भाव हुन गयो । अर्थात्, महिलाको उमेर १४ वर्षभन्दा कम भएमा र पुरुषको उमेर १८ वर्षभन्दा कम भएमा बालविवाह हुने र सोही महल अनुसार सजाय हुने कानुनी व्यवस्थाले प्रवेश पाएको छ । तैपनि अन्य कतिपय मुलुकमा जस्तो विवाहिता नै भए पनि उमेरको हदका आधारमा स्वेच्छाबाट भएको करणीलाई पनि सजाय गर्ने गरी कुनै कानुनी व्यवस्था भएको देखिन्न । 

मुलुकी ऐन, २०२० मा रहेको १६ वर्षे उमेरको हदलाई मुलुकी अपराध संहिता, २०७४ को दफा २१९ (२) मा बढाइएको छ । ‘मञ्जुरी लिएर भए पनि १८ वर्षभन्दा कम उमेरको कुनै बालिकालाई करणी गरेमा जबर्जस्ती करणी गरेको मानिने’ अपराध संहितामा उल्लेख छ । अर्थात् वैधानिक जबर्जस्ती करणी मानिने गरी उमेर बढाइयो । उक्त उमेर किन र कसको जोडबल, करबल, दबाब वा कुन आवश्यकताका आधारमा बढाइयो ? त्यो सम्बन्धित पक्षलाई नै थाहा होला । नागरिकता लिन १६ वर्षको उमेरमा साबालक हुने, सवारी चालक अनुमति लिन १६ वर्ष पर्याप्त हुने तर मञ्जुरीबाट हुने शारीरिक सम्बन्धका लागि साबालक हुन १८ वर्ष किन हुनुपर्ने ? 

अन्य देशको कानुनी व्यवस्था हेर्दा १६ वर्षबाट १८ वर्षको उमेर बढाउन हामी परिपक्व भइनसकेको विभिन्न घटनाक्रम र उदाहरणबाट देखिएको छ । हामीले यस सम्बन्धमा अन्य मुलुकमा रहेको कानुनी व्यवस्था र प्रचलनको अध्ययन गर्ने हो भने पनि पर्याप्त दृष्टान्त पाउँछौँ । छिमेकी मुलुक भारतकै उदाहरण लिन सकिन्छ । भारतमा दिल्लीको निर्भया बलात्कार काण्डपछि सन् २०१३ मा भारतीय अपराध संहिताको जबर्जस्ती करणीसम्बन्धी कानुनमा संशोधन गरियो । उक्त संहिताको दफा ३७५ मा १८ वर्षको प्रावधान राखेको पाउँछौँ । उक्त दफाको अपवाद खण्डमा १५ वर्षभन्दा कम उमेरकी पत्नी नभएमा सहमतिबाट भएको यौन सम्बन्धको विषयलाई जबर्जस्ती करणी नमानिने भन्ने स्पष्ट कानुन व्यवस्था थपिएको देखिन्छ । जुन पहिलेका ऐनहरूमा थिएनन् । 

संयुक्त राज्य अमेरिकामा भएको कानुनी व्यवस्था हेर्ने हो भने राज्यपिच्छे फरकफरक रहेको छ । अमेरिकाको टेक्सास राज्यमा ‘रोमियो एन्ड जुलियट ल’ बहाल रहेको छ । जुन कानुनमा १४ वर्षभन्दा माथि उमेर भएका र तीन वर्षभन्दा कम उमेर अन्तरका महिला वा पुरुषबीच भएको यौन सम्बन्धलाई जबर्जस्तीको करणीको परिभाषामा पारिएको छैन । तर, त्यही अर्काे राज्य क्यालिफोर्नियामा भने १८ वर्षभन्दा कम उमेरकी बालिकासँग १८ वर्षभन्दा बढी उमेरको पुरुषले यौनसम्बन्ध राखेको विषय उमेरको अनुपातमा जबर्जस्ती करणी अन्तर्गत सजाय गरिन्छ । तर सो उमेर समूहले विवाह गरी यौनसम्बन्ध राखेमा अपराध मानिँदैन । कहीँ नाबालकबीच सहमतिबाट भएको यौन सबन्धमा दुवैलाई सजाय गर्ने कानुनी व्यवस्था पनि नरहेको होइन । 

अमेरिकाका कतिपय राज्यमा कानुनी उमेर समूहभन्दा कम उमेरको भए पनि समान लिंगबीच यौन सम्बन्ध कायम भएको छ भने जबर्जस्ती करणी नमानिने कानुनी व्यवस्था समेत छ । तथापि जहाँ सजायको व्यवस्था गरिएको छ, त्यहाँ पनि सजाय सहमति वा सहमतिबिना भएको यौन सम्बन्धका आधारमा निर्धारण गरिन्छ । संसारको जुनसुकै कानुनी व्यवस्था हेर्ने हो भने १४ वर्षभन्दा माथिकी विवाहिता पत्नीलाई सहमतिबाट करणी गरेको विषयमा सजायको कुनै पनि प्रावधान रहेको पाइँदैन । अन्य मुलुकमा जे जति कानुनी व्यवस्था रहेका छन्, ती केवल उमेरको हदलाई आधार मानेर विवाहिता पत्नीबाहेक अन्य महिलासँग करणी गरेको अवस्थासँंग मात्र सीमित रहेको पाइन्छ । 

अर्काे उदाहरणका रूपमा फ्रान्समा हालसालै पास भएको नयाँ कानुनमा १५ वर्षको प्रावधान राखिएको छ । आफन्तबीचको करणीका सम्बन्धमा भने त्यहाँ १८ वर्षे प्रावधान राखिएको छ । जो पास हुनुअघि निकै विवादमा परेको थियो । फ्रान्समा उमेरको हदलाई लिएर विवाहिता पतिपत्नी बीचको यौन सम्बन्धका सम्बन्धमा कुनै कानुनी प्रावधान सोचिएको पाइन्न । वैधानिक जबर्जस्ती करणीका सम्बन्धमा सबैभन्दा कम उमेर अंगोला तथा फिलिपिन्समा रहेको पाइन्छ । त्यहाँ १२ वर्ष उमेर कायम गरिएको छ । अधिकांश युरोपियन मुलुकमा १६ देखि १७ वर्षको हद तोकिएको छ । यता अस्ट्रिया, इटाली, जर्मन र पोर्चुगलमा १४ वर्षको उमेर हद तोकिएको छ । अमेरिकामा राज्यपिच्छे छुट्टै कानुन भए पनि १६ देखि १८ वर्ष बीचमा रहेको पाइन्छ । 

अधिकतम उमेरको हद हेर्ने हो भने दक्षिण कोरियामा २० वर्ष र बहराइनमा २१ वर्ष कायम गरिएको छ । जहाँसम्म जापानको प्रश्न छ । त्यहाँको कानुनमा सबै टापुको कानुनमा १३ वर्ष रहेको देखिन्छ । हङकङको कानुनमा भने प्राकृतिक यौन सम्बन्धका सम्बन्धमा सहमतिको उमेर न्यूनतम १६ वर्ष छ । त्यहाँ अप्राकृतिक यौन सम्बन्धका सन्दर्भमा २१ वर्ष कायम भएको देखिन्छ । कतिपय मुसलमान बाहुल्य देशमा जबर्जस्ती करणी गरेमा विवाह गर्नुपर्ने प्रावधान समेत रहेको छ । 

हालै एक संस्थाले गरेको एक सर्वेक्षणमा कतिपय मुद्दा चलाइएका व्यक्ति एवं बालकलाई १८ वर्षे प्रावधान संशोधन भएको आफूलाई थाहा नभएको भन्ने जवाफ रहेको पाइएको तथ्य प्रकाशमा आएको छ । नेपाली समाजमा धेरै संख्यामा महिला १६ वर्षमा साबालक हुन्छन् र कानुन पनि त्यसै अनुसारको छ भन्ने धेरैको मान्यता छ । आज दैनिक रूपमा नाबालकलाई जबर्जस्ती करणी गरेको समाचार प्रायः सुन्ने गर्दछौँ । यस्ता घटना बढ्दै गएका टिप्पणी पाउँछौँ । तर वास्तविकता त्यस्तो होइन । यो सञ्चार माध्यमको विकास र सुलभताका कारण बढेको जस्तो देखिएको मात्र हो । हिजो आम सञ्चारमाध्यमको अभावमा छिमेकमा घटेको घटना थाहा हुँदैनथ्यो । तर आज नेपालको कुनै पनि कुनामा घटित कुनै पनि समाचार दुई सेकेन्डमा हातहातै थाहा पाइन्छ । 

गहिरो अनुसन्धान गरेर हेर्ने हो भने हिजोको तुलनामा आज यस्ता घटना घट्दै गएको हुनुपर्दछ । किनकि शैक्षिक विकास, समाजमा विकसित चेतना, विभिन्न संघ संस्थाबाट सञ्चालित चेतनामुखी कार्यक्रम एवं सञ्चार माध्यममा दिइने जानकारीमूलक विज्ञापन लगायतले यस्ता घटनाप्रति समाजमा सजगता पैदा भएको छ । यस्ता कुरा लुकाएर राख्नु हुँदैन भन्ने भावना समेतको विकास भएको छ । साथै नक्कली मुद्दाको बाहुल्यका कारणबाट पनि संख्यामा बढी देखिएको हो भन्ने मेरो अनुमान र पेसागत अनुभव रहेको छ ।

यसर्थ नेपालमा १६ वर्षको उमेरको हदलाई १८ वर्ष गर्नुको कुनै औचित्य देखिँदैन । यो दुई वर्षको उमेर बढाइएका कारण जबर्जस्ती करणी सम्बन्धी अपराधमा आज धेरै युवाको भविष्य अन्धकारमय भइरहेको छ । अन्य मुलुकमा न्युनतम र अधिकतम जतिसुकै भए पनि औसत उमेर १६ वर्ष नै रहेको पाउँछौँ । यसरी जबर्जस्ती करणीका सन्दर्भमा बनाइएको उमेरको हदलाई पुनः १६ वर्ष कायम गर्न आवश्यक छ । अन्यथा, बलात्कारीको तक्मा बोकी हाम्रा अधिकांश युवा जीवनपर्यन्त अँध्यारो सुरुङमा भासिन बाध्य हुने खतरा छ । परिणामतः मुलुक असफल राष्ट्र कहलिन पुग्छ । सर्वदृष्टिबाट हेर्दा हाम्रो परिप्रेक्ष्यमा साबिकको मुलुकी ऐनको १६ वर्षे उमेरको हद नै औचित्यपूर्ण रहेको देखिन्छ । र, हालको उमेर हद संशोधनको पर्खाइमा रहेको तथ्य स्पष्ट छ । 

(चार दशक बढी कानुनव्यवसाय गरेका मैनाली फौजदारी कानुनका ज्ञाता तथा वरिष्ठ अधिवक्ता हुन् ।)
 

प्रकाशित मिति: १६:०८ बजे, मंगलबार, फागुन १७, २०७८
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्
थप समाचार
मैले चिनेका दमन दाइ
मैले चिनेका दमन दाइ
दशैंकाे भाग
दशैंकाे भाग
दसैं हिन्दुको कि नेपालीको?
दसैं हिन्दुको कि नेपालीको?