सिला चह्रे अर्थात् शिवरात्रि : पोथी मृगिणी र सिकारीको कथा
एउटी मृगिणी पानी खान त्यहाँ आएको देखी सिकारीलाई सिकार गर्न मन भएछ । यो देखी पोथी मृगले ‘अहिले मलाई नमार, मेरा बच्चाहरूलाई म दूध खुवाएर आउँछु अनि मेरो सिकार गर’ भनी बिन्ती गरेछ । सिकारीले पनि त्यस मृगिणीलाई छाडिदिएछन् ।काठमाडौं, फागुन १७ : बेलुकाको महत्व भएको चाडबाडमध्ये शिवरात्रि हो । नेवार समुदायले केही चाडपर्व सन्ध्याकाल वा राति मात्र पूजा गरी मनाउने गर्दछन् । पाहाँचह्रे मनाउँदा साँझपख र लुकुमाद्यःको पूजा बेलुकी गरी भोज खाने चलन छ । चौथीमा पनि चन्द्रमा आकाशमा उदाइसकेपछि पूजा गरी चाड मनाउने गर्दछन् । त्यस्तै, लक्ष्मीपूजा र म्हपूजा पनि बेलुका नै मनाउने चलन छ ।
फागुन कृष्ण चतुर्दशीको दिनलाई शिवरात्रि वा महाशिवरात्रि पर्वका रूपमा मनाउने गरिन्छ । यस दिन महादेवको उत्पत्ति भएको भन्ने भनाइ छ । र मानिसको मोक्ष हुने वा मन शुद्ध हुने पनि यही दिन हो भनिन्छ ।
सिकारी र बेलको पातको कथा
यस सम्बन्धमा एउटा कथा प्रचलित छ । एक दिन एक सिकारीले दिनभरि जंगल चहार्दा एउटै सिकार फेला पार्न सकेनन् । साँझमा थकाई मार्न एउटा बेलको बोटमुनि बसे । त्यस बोटमुनि एउटा पानीको पोखरी पनि रहेछ । त्यस पोखरीमा बेलपत्रले छोपिएको महादेवको एउटा मूर्ति पनि रहेछ । सिकार गर्न नपाएका ती सिकारीले बेलको पात एकएकवटा टिप्दै पोखरीमा झार्दै गरिरहेका रहेछन् । र, उनले खसालेका बेलका पात पोखरीमा रहेको महादेवको मूर्तिमा परेछन् । त्यसै बेला एउटी मृगिणी पानी खान त्यहाँ आएको देखी सिकारीलाई सिकार गर्न मन भएछ । यो देखी पोथी मृगले ‘अहिले मलाई नमार, मेरा बच्चाहरूलाई म दूध खुवाएर आउँछु अनि मेरो सिकार गर’ भनी बिन्ती गरेछ । सिकारीले पनि त्यस मृगिणीलाई छाडिदिएछन् । त्यसपछि त्यहाँ धेरै पशुपन्छी आए । उनीहरूलाई पनि सिकारीले त्यसरी नै छाडिदिएछन् । पछि मृगिणी र अन्य पशुपन्छी सबै आ–आफ्नो काम सकी ‘लौ, अब मलाई सिकार गर’ भनी आएछन् । त्यस बेला सिकारीलाई हिंसा गर्ने इच्छा भएनछ ।
फागुन कृष्ण चतुर्दशीको दिनमा महादेवलाई बोलपत्र चढाएकाले उनको मनबाट हिंसा गर्ने भावना मरेर गएछ, मन शुद्ध भएछ । यसरी मन शुद्ध भएकाले महादेवका दूत आई सिकारीलाई शिवलोकमा पु¥याई मोक्ष प्रदान गरेछन् ।
त्यसपछि मोक्ष प्राप्त हुने सम्झी यस दिन मानिसले स्नान गरी शुद्ध लुगा लगाई चोखो भई अर्काे जन्म लिन नपरोस्, मोक्ष प्राप्त गरी शिवलोकमा बास पाइयोस् भनी शिवको पूजाआजा गरी प्रार्थना गर्ने गर्दछन् ।
महादेव भनेको नै शक्ति हो । शिवको अर्काे नाम पशुपति हो । वरिष्ठ संस्कृतिविद् सत्यमोहन जोशीको भनाइ अनुसार, पशुपतिको अर्थ नै आत्मालाई मोक्ष दिने मोक्षदायक हो ।
किन मनाइन्छ ?
शिवरात्रि किन मनाइन्छ भन्नेबारे संस्कृतिविद् पुण्यरत्न बज्राचार्यको भनाइ यस्तो छ – फागुण महिना शिशिर ऋतुको पछिल्लो महिना पर्दछ । माघमा महादेवको रुद्रतत्वको कारण अर्थात् जगत्को कल्याण गर्ने तत्वले गर्दा सुकेर गएका पालुवा आउने कार्य गर्दछ । त्यसरी जीर्ण भएका वस्तुलाई नयाँ रूप दिई शिवत्व प्राप्त हुने महिना भएकाले फागुनलाई शिवरात्रिका रूपमा मनाउने गरेको हो । शिवरात्रिको महत्वबारे लिंग पुराणमा शिववचन भनी यसरी उल्लेख भएको छ– फागुन कृष्ण त्रयोदशीको दिन नुहाई, व्रत बसी, त्यसै रात जाग्राम बसी त्रयोदशी सकिएर चतुर्दशी लाग्ने बेलामा महादेवको मूर्ति वा शिवलिंगमा अघ्र्य चढाई शिवरात्रिमा जाग्राम बसी होम गरेको खण्डमा सर्वसिद्धि लाभ हुन्छ ।
त्यस्तै ‘भारतीय व्रतोत्सव’ नामक धार्मिक पुस्तकमा शिवरात्रिको महत्वबारे शिवले पार्वतीलाई यसरी सम्झाउनुभएको छ– सबैभन्दा ठूलो व्रत कुन हो भनी पार्वतीले शिवजीलाई जिज्ञासा राख्दा सबैभन्दा ठूलो व्रत भनेको शिवरात्रि नै हो भनी सम्झाउनुभयो । यस दिन व्रतालुले स्वचित्त स्वमन राखी चोखोनितो गरी शिवजीको व्रत बसे यमलोक जान नपरी एकैचोटि मुक्त भई स्वर्गलोकमा पुगिन्छ भन्नुभएको छ । त्यसकारण मानिसले अघिल्लो रात अर्थात् त्रयोदशीको रातदेखि नै जाग्राम बसी शिवरात्रिमा व्रत बसी महादेवको पूजा गर्ने गर्दछन् । शिवरात्रिमा शिवलिंग अगाडि यज्ञकुण्ड बनाई होम यज्ञ गरी जाग्राम बस्ने गर्दछन् । यस दिन दिनभरि महादेवको पाठ गर्ने गर्दछन् ।
सत्यमोहन जोशीज्यूले पशुपतिलाई मोक्षदायक भन्नुभएको छ भने पूण्यरत्न बज्राचार्यज्यूले ‘झीगु नखःचखः’ पुस्तकमा शिवरात्रिलाई वैज्ञानिक ढंगबाट प्रकृतिले ल्याएको परिवर्तनशीलता भन्नुभएको छ । उहाँको भनाइमा रुद्र वा शिव भन्नु नै परिवर्तन हो । दैनिक रूपमा घटिरहेको सृष्टि र विनाश नै शिव हो । विनाश नभई सृष्टि हुँदैन । सृष्टि नभई विनाश हुँदैन । सृष्टि र विनाश नै प्रकृतिको रीत हो, शक्ति हो । शिवशक्ति अर्थात् प्रकृतिको सृष्टि र विनाश बुझ्नका लागि नै शिवरात्रि मनाउने हो । प्रकृतिको सृष्टि र विनाश बुझ्नु भनेको ज्ञान प्राप्त गर्नु अथवा शिवरात्रि मनाई ज्ञानी हुनु, सत्चरित्र हुनु हो । त्यसकारण शिवरात्रि मनाउने परम्परा वैदिक कालदेखि सुरु भए पनि आजसम्म विभिन्न धर्मावलम्बीले यो पर्व आ–आफ्नो तरिकाले मनाउने गर्छन् ।
हिन्दू शैवहरूले महादेव वा शिवलिंगलाई पूजा गरी मान्दै आएका छन् भने बौद्धमार्गीले ज्ञानभण्डारको प्रतीक ‘ग्वछ’ (पाटी) लाई पूजा गरी मनाउने गर्छन् । हुन त यो परम्परा धेरैजसो बौद्धमार्गीले छाडिसके । आजकाल गुरुजुहरूले मात्र परम्परालाई थेगिराखेका छन् । नेवारहरूले शिवरात्रिलाई साधारण पर्वका रूपमा मनाउने गर्दछन् ।
केटाकेटीले जगात उठाउने
बिहानैदेखि केटाकेटीले टोलटोल वा दोबाटोमा डोरी टाँगी महादेवलाई जाडो भयो आगो तपाउन प¥यो भनी नांग्लो थापी जगात् उठाउने गर्दछन् । उठेको रकमले आँटा, घिउ, चिनी किनी रोटी आदि पकाउने गर्दछन् । मागेर ल्याएको दाउरा दोबाटोमा देउता थानका अगाडि वा महादेवको अगाडि आगो बाली आगो ताप्दै त्यसैमा रोटी, हलुवा आदि बनाई सबैले बाँडेर खाने गर्छन् । घरघरमा मानिसहरू शिवजीको पूजा गरी कोही व्रत बस्छन् भने कोही होम यज्ञ गर्ने गर्दछन् । ग्वछ (पाटी) पूजा गर्ने बौद्धधर्मावलम्बी बिहानै घर लिपपोत गरी, चोखोनितो भई आगो ताप्नेहरूलाई दाउरा दान गरी बेलुका खाना खाइसकेपछि परिवार सबै भेला भई नांलोमा सिलोट र त्यसमाथि आफूले पढ्ने गरेको पुस्तक राखी घरका मूली मान्छेले पूजा गर्छन् । पूजा गर्नेले सबैलाई पूजा थाल छुन लगाई संकल्प गरी सबैको तर्फबाट पूजा गरिन्छ । पूजा नसकुन्जेल सबै पूजास्थलमा बसी मकलमा आगो बाली ताप्ने गर्दछन् । पूजाका क्रम सकिएपछि जेठोदेखि क्रमैसँग ग्वछमा पूजा गरी ढोग दिई टीका लगाई प्रसाद ग्रहण गर्दछन् । सबैले टीका लगाइसकेपछि प्रसादका रूपमा रोटी आदि बाँडी खाने गर्दछन् । साथै मकल ताप्दै बदाम, गुलुमरी खाने गर्दछन् ।
यःमरि पुन्हीमा झैँ यसबेला पनि ग्वछ पूजा गर्दा नयाँ बदाम र धान खन्याई पूजा गर्छन् र उक्त स्थानमा भोलिपल्ट बिहानै उठी जसले ग्वछमा चढाइराखेको प्रसाद भेटाउन सक्यो भने उसको ज्ञान गुण बढ्छ भन्ने लोकधारणा छ । यस दिन बिहान उठी शिक्षा तथा ज्ञान दिने गर्दछन् । भोलिपल्ट अर्थात् फागुन औंसीको दिन बिहानै उठी परिवारजन सबैले पूजा गरिराखेको ग्वछलाई ढोगी आ–आफ्नो पुस्तक निकाल्ने गर्छन् । महाशिवरात्रिका दिन काठमाडौंभित्र रहेको पूर्व उत्तर दिशाबाट बगेको बाग्मती किनारस्थित पशुपतिमा प्रशस्त भक्तजन पूजा गर्न आउने हुनाले ठूलो मेला नै लाग्ने गर्दछ । फाल्गुन त्रयोदशीदेखि जाग्राम बसी चतुर्दशीसम्म भक्तजन जपतप होम आदि गर्ने गर्छन् । यसबेला गृहस्थीदेखि लिएर सन्त महन्त जोगी महात्मा समेत सबैले बाग्मतीमा स्नान गरी पशुपति महादेवको पूजा गर्ने गर्छन् । कोही भने यस बेला व्रत उपवास बसी त्रयोदशीदेखि चतुर्दशीसम्म जाग्राम गरी शुद्ध चित्तले मोक्ष कामना गर्ने गर्छन् ।
नेपाल सरकारले शिवरात्रिलाई ठूलो पर्व मानेर राष्ट्रिय छुट्टी दिने गरेको छ । यस दिन दिउँसो काठमाडौंको टँुडिखेलमा शाही सेनाद्वारा बढाइँ गर्ने परम्परा छ । बढाइँलाई भव्यता दिन यस दिन टुँडिखेलमा राष्ट्रपति उपस्थित हुने चलन । शिवरात्रिलाई नेपाली सेनाले ‘सैनिक दिवस’का रूपमा मनाउन थालेको छ । धार्मिक सहिष्णुता भएको नेपालमा शिवरात्रिलाई विभिन्न धर्मावलम्बीले आ–आफ्नो तरिकाले मनाउने गर्छन् । नेवारहरू सँगसँगै अरु जातिले पनि आफ्नो किसिमले मनाइआएका छन् । पशुपतिको महिमा अर्थात् जीवनबाट मोक्ष, शुद्ध चित्तको कामना, सृष्टि र विनाश प्राकृतिक प्रक्रिया— यी सबै नै प्रकृति हुन्, मान्छे जन्मन्छ, एक दिन ऊ मर्छ, यति मात्र नभई सम्पूर्ण जगतमा जे जति सृष्टि हुन्छ एक न एक दिन सबैको अन्त हुन्छ, यो धु्रवसत्य हो । महाशिवरात्रिलाई धार्मिक सहिष्णुताका साथ मान्नुपर्ने वा वैज्ञानिक ढंगले वा प्राकृतिक प्रक्रिया अनुसार जसरी भए पनि यो मनाउनुपर्ने नै देखिन्छ । त्यसैले महाशिवरात्रिलाई सबैले मान्ने गरेका हुन् ।
(डा. बज्राचार्यको पुस्तक ‘नेवाः सांस्कृतिक चाडपर्व’बाट । बज्राचार्यको अनुमतिमा यो सामग्री प्रकाशन गरिएको हो ।)