लैंगिक विभेदको उत्कर्षमा बाजुरा
पुरुषले कुटानी पिसानीको काम गर्नुपर्ने भएको भए मिल पनि आउँथ्यो होला, तर महिलाको त्यो पीडा नबुझ्ने भएको हुँदा त्यहाँ मिल आएको थिएन।हुन त मैले यहाँ उल्लेख गरेका कुरा आजभन्दा करिब १० वर्षअघिका हुन्। बाजुरा जिल्लाको सदरमुकाम मार्तडीसम्म ट्र्याक्टर पुगिसकेको थियो, तर बुढीगंगामा पुल नबनेका कारण बस पुग्दैनथे। अतः त्यहाँबाट करिब तीन घन्टाको पैदल र एक घन्टाको उकालो चढ्नुको विकल्प थिएन।
मसँग रहेका स्थानीय विनोद विक, जो वडाध्यक्ष समेत भएछन् तर हालैको कोरोनाले उनको ज्यान लिएछ, उनले एकजना मलको भारी बोक्दै तल ओर्लिंदै गरेकी महिला झुपा सनई नेपालीलाई देखाए, गाउँ ठाउँमा महिलाले मलको भारी बोकेको देख्नु सामान्य कुरा थियो, तर उनले भने, यी महिला प्रधानमन्त्री माधव नेपालका कारण बाँचेकी हुन्।
सुन्दा मलाई अचम्म लाग्यो र कसरी भन्ने मेरो प्रश्नको उत्तरमा उनले भने, ‘उनले एउटा बच्चा जन्माउँदा उसको टाउको अगाडि आउनुपर्ने ठाउँमा हात अगाडि आयो र स्थिति जटिल बन्यो। जिल्ला अस्पतालले बाहिर सुविधासम्पन्न अस्पतालमा लैजान सुझायो, जिल्ला सदरमुकाममै भएका कारण कुरा प्रधानमन्त्री कार्यालयसम्म पुग्यो र उनको हेलिकप्टरले उद्धार गरी सुर्खेत पु¥यायो र सुर्खेतबाट नेपालगन्ज लगेर बच्चा र आमाको ज्यान जोगियो। यसरी जोखिम अवस्थाबाट गुज्रेकी ती झुपालाई आफूभन्दा गरुंगो भारी बोक्न नहुने कुरा के थाहा ? थाहा भए पनि के गर्नु पहाडको तल–माथि नगरीकन हातमुख जोर्न पाइने होइन।
करिब ४ दिनको बसाइका क्रममा मार्तडी बजार घुमियो। सुन्दा अत्यन्तै दुर्गम लाग्ने जिल्ला सदरमुकामको बजार अत्यन्त रमणीय थियो। जस्तैजस्ताको टिनले छाएका घरको गुजमुज्ज परेको बस्ती वरिपरि डाँडै डाँडाले घेरिएको धेरै सम्म नभए पनि भिरालो पनि नभएको डाँडाको बीचको बस्ती सुविधायुक्त देखिन्थ्यो।
त्यति परको दुर्गम बस्ती पनि भौगोलिक हिसाबले उपयुक्त ठाउँमै बसेको रहेछ। बजारका सिरान भएर खोला बग्दै सो खोलाको दक्षिणपट्टि बस्तीहरू भएको र सो खोला निकै तल बुढीगंगामा मिल्ने भएको हुँदा पञ्चायतकालकै अन्त्यतिर अर्थात् २०४५ सालमा करिब १५० किलोवाटको लघु जलविद्युत् आयोजनाबाट बिजुली पनि निकालिएको, नेपालभर चरम लोडसेडिङ भएका बेला पनि त्यहाँ लोड सेडिङ थिएन, बरु दिनको बिजुली खेर गइरहेको थियो, त्यसलाई उपयोग गर्ने एउटा ग्रिलको उद्योगबाहेक अरु केही थिएन।
बजार घुम्ने क्रममा धेरैजसो घरको आँगनमा ढुंगाको वा काठको ओखल थियो। ती ओखलमा महिला तथा किशोरी धुलै र फुस्रै भएर धान, गहुँ वा कोदो कुटिरहेका देखिन्थे। त्यसरी नकुटीकन साँझ वा बिहानमा उनीहरूको घरमा खाना पाक्दैनथ्यो।
एकपटकमा कम्तीमा पनि ४-५ किलो अन्न निफन्दा कति शारीरिक श्रम र कष्ट पर्दो हो, त्यसमा कति धुलो नाक र मुखमा छिर्दो हो कसैले हेक्का राख्ने कुरा भएन, त्यो कहिलेकाहीँ गर्नुपर्ने श्रम थिएन, थियो त दिनदिनै जस्तो गर्नुपर्ने। हातले चलाउने मुसल नै केही नभएका ३–४ किलो त होला, त्यति गरुंगो मुसल उचाल्दा कति कष्ट हँुदो हो, हाम्रो सहरमा त्यस्तो मुसल पेट घटाउनका लागि जिम जानेहरूले उचाल्छन्, तर ती महिलाले आफू र आफ्नो परिवारको पेट भर्नका लागि दिनहुँ उचालिरहेका थिए।
उनीहरूको कष्टपूर्ण शारीरिक श्रम देखेपछि मलाई खपिसक्नुभएन, बजार घुम्ने क्रममा एउटा घरको आँगनमा कुर्सीमा बसिरहेका हेर्दा पढे–लेखे जस्तो चिरपरिचित लाग्ने युवालाई देखेँ, सामान्य परिचय भएपछि उनीसँग केही कुराकानी गर्ने अवसर मिल्यो। उनी काठमाडौं कीर्तिपुरको त्रिभुवन विश्वविद्यालयका स्नातकोत्तर तहका विद्यार्थी पनि रहेछन् र एमालेका स्थानीय नेता। मैले उनलाई अलि गिज्याउने शैलीमै यहाँका महिलाको कष्टलाई कम गर्न तपाईंले कुनै उपाय किन सोच्नुहुँदैन भन्ने प्रश्न गरेँ। सो प्रश्नको उत्तर उनले अत्यन्त सरल ढंगमा दिए र भने, हाम्रो घरको अन्न त्यति धेरै हुँदैन अतः त्यसलाई मिलसम्म लगेर कुटानी गर्न पनि पुग्दैन, फेरि महिलाले आफ्नो दैनिक कार्य जस्तो गरेर ओखलमा अन्न निफन्छन्। यसरी नै यहाँको जीवन चलिरहेको छ।
मलाई सबैभन्दा बढी आश्चर्य के कुरामा लाग्यो भन्दा करिब डेढ सय किलोवाटको बिजुली दिनमा खेर गइरहेकामा महिलाको त्यस्तो कष्टपूर्ण कामलाई कम गर्न कुटानी पिसानीको मिल किन स्थापना गरिँदैन। यदि पुरुषले त्यो कुटानी पिसानीको काम गर्नुपर्ने भएको भए मिल पनि आउँथ्यो होला, तर महिलाको त्यो पीडा नबुझ्ने भएको हुँदा त्यहाँ मिल आएको थिएन।
नेपालको पहाडी बस्ती प्रायः डाँडाको बीच वा टुप्पोमा हुन्छन् र उनीहरूको खेतीपाती खोलाको किनार र वेशीमा हुन्छ, प्रायः गाईभैंसी, बाख्रा लगायत पशु पनि घरसँगै पालिएका हुन्छन्, उनीहरूबाट उत्पादन हुने मल पनि बोकेर तल झार्नुपर्यो, खेतबारीमा फलेको अन्नपात बोकेरमाथि पुर्याउनुपर्यो। हामी सहरियालाई रित्तै उकालो चढ्दा त कष्टपूर्ण हुन्छ भने करिब ५० किलोको भारि त्यो पनि २/३ घन्टाको उकालोमा लैजानुपर्दा के हुन्छ होला ? तर त्यस्तो दैनिकी बाजुरा लगायत नेपालका सबै दुर्गम पहाडी जिल्लाको वास्तविकता हो।
त्यो काम पुरुष र महिलाले मिलेर गरेमा पनि उनीहरूको बोझ कम हुने थियो, तर पढ्ने वा कमाउने बहानामा अधिकांश पुरुष नेपालका अन्य सहर वा भारतीय सहरमा फिँजिएका हुन्छन्, अनि घर स्याहार्ने मात्र नभई दैनिकी चलाउने सबै जिम्मा महिलाको। जो पढ्न र कमाउन बाहिर हिँडेका छन्, उनीहरूको त कुरै भएन, जो त्यहीँ बसेका छन्, उनीहरू पनि दिनभरि तास खेल्ने वा खुट्टा हल्लाएर बस्छन् तर महिलाको काममा सघाउँदैनन्।
बाजुरा मार्तडीका महिलाको कष्ट यतिमा मात्रै सीमित छैन, मार्तडीबाट पश्चिमतर्फ एउटा ठूलो मसिने भन्ने घाँसे डाँडा देखिन्छ, खासगरी हिउँदको समयमा घाँस र गुराँसको दाउरा लिन ठूलो संख्यामा महिला त्यहाँ पुग्छन्। हेर्दा नजिकै देखिए पनि हिँडेर जाँदा ३÷४ घन्टा लाग्छ, पानी पनि नपाइने हुँदा त्यसको जोहो यतैबाट गरेर जानुपर्छ, खाजा त हुनैपर्यो।
भीरपाखा भएकाले चिप्लिने सम्भावना त्यत्तिकै भएको हुँदा धेरैले त्यहाँ ज्यान पनि गुमाइसकेको अवस्था छ, जुन समाचार पनि बन्दैन, त्यस्तोमा स्यानिटरी प्याड त परको कुरा अन्डरवेयर (भित्री वस्त्र) पनि नलाएका महिलालाई महिनावारी भएको समयमा त्यहाँ समय बिताउनु भनेको त कालसँगै पौँठेजोरी खेल्नुजस्तो हुँदो रहेछ। त्यस्तो कष्टपूर्ण तरिकाले त्यहाँबाट घाँस र दाउरा बोकेर मार्तडी ल्याउनुपर्दो रहेछ।
आज भन्दा १० वर्ष अगाडिको बाजुरा मार्तडीका महिलाको यो दिनचर्या थियो। मैले त्यसमा के परिवर्तन अहिले आयो भनेर दलित महिला संघकी जिल्ला अध्यक्ष शान्ति विकलाई सोधेँ। उनले भनिन्- मार्तडीमा मिल लगाइएको छ, जसले गर्दा ओखलमा कुट्ने काम कम भएको छ, तर स्वार्थी पुरुष ओखलमा कुटेको स्वादिलो अन्न खान अभ्यस्त भएकाले मिलमा कुटेको मीठो हँुदैन भन्दै अझै पनि ओखलमै कुट्न लगाउँछन्। अन्य दिनचर्यामा कुनै परिवर्तन आएको छैन।
योबीचमा एनजिओ आइएनजिओले पनि प्रशस्तै काम गरेका रहेछन्, जसका कारण छाउपडीमा बस्ने चलन हट्नुका साथै सित्तैमा वितरण गरिने स्यानिटरी प्याड र अन्य स्वास्थ्यका जनचेतनाका कारण हात साबुनपानीले धुने चलन गाउँगाउँमा पुगेको रहेछ। यो केवल जिल्ला सदरमुकाम मार्तडी र वरपरका गाउँमा आएको परिवर्तन हो तर समग्र बाजुरामा महिलाको त्योभन्दा पनि कष्टपूर्ण जिन्दगी रहेको कुरा शान्तिले बताइन्।
सन् २०१४ को संयुक्त राष्ट्र संघको मानव विकास प्रतिवेदनमा समग्र नेपाल १८८ देशमा ११०औं स्थानमा थियो, बाजुरा भने १० वटा ०.४ अंक भएका जिल्लाको सूचीमा सबैभन्दा अगाडि थियो भने मुगु सबैभन्दा पछाडि। यस्तोमा अहिले लैंगिक सवालमा अग्रस्थानमा रहेकी अभियन्ता योजना आयोगकी सदस्य सलोनी सिंहलाई यसको समाधानको उपाय सुझाउन अनुरोध गर्दछु।