कोभिडका कारण ‘स्क्रब टाइफस’जस्ता अन्य संक्रामक रोगको बेवास्ता त गर्दै छैनौँ ?
ओमिक्रोनका धेरै लक्षण ‘स्क्रब टाइफस’सँग मिल्दोजुल्दो हुन्छ। त्यसैले यसको परीक्षण जरुरी छ। करिब १० दिनयता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक दुईदेखि तीन व्यक्तिमा ‘स्क्रब टाइफस’ देखिएको छ।अहिले कोभिड– १९ का कारण हाम्रो ध्यान अन्य संक्रामक रोगतर्फ गएको छैन। अहिले धेरै मानिस ज्वरो आउँदा कोरोनाको लक्षण हो भनेर परीक्षण गराउन जाँदैनन्। कतिपय कोरोना परीक्षण गर्दा पनि नेगेटिभ आएर ढुक्क भएर बसेका व्यक्ति पनि छन्। कोरोना नेगेटिभ आउँदैमा ढुक्क हुने अवस्था छैन। गएको हप्ता केही मानिसमा ‘स्क्रब टाइफस’ देखिएको थियो।
ओमिक्रोनका धेरै लक्षण ‘स्क्रब टाइफस’सँग मिल्दोजुल्दो हुन्छ। त्यसैले यसको परीक्षण जरुरी छ। करिब १० दिनयता शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पतालमा मात्रै दैनिक दुईदेखि तीन व्यक्तिमा ‘स्क्रब टाइफस’ देखिएको छ।
‘स्क्रब टाइफस’ विशेषगरी असार÷साउन महिना अर्थात् पानी पर्ने बेला देखिने रोग हो। तर, अहिले केही मानिसमा ‘स्क्रब टाइफस’ देखिएको छ। यसलाई समयमै पहिचान गर्न नसके कोरोनाभन्दा घातक हुन सक्छ।
नेपालमा कोरोना संक्रमितमध्ये करिब १ प्रतिशतको मात्र मृत्यु भएको पाइएको छ। जब कि ‘स्क्रब टाइफस’को मृत्युदर ६ प्रतिशत हाराहारीमा छ। यस्तै, ‘स्क्रब टाइफस’का संक्रमितमध्ये ३५ प्रतिशतसम्मको मृत्यु हुने सम्भावना रहेको विभिन्न अध्ययनले देखाएको छ।
नेपालमा सन् २००४ मा पाटन अस्पतालमा एक व्यक्तिमा ‘स्क्रब टाइफस’ पुष्टि भएको थियो। केही समयसम्म यसको जोखिम नदेखिएपछि नेपालमा यसबारे खासै अध्ययन भएन। सन् २०१५ मा धरानमा एकैपटक धेरै बालबालिकाको मृत्यु भयो, अनुसन्धान गर्दा उनीहरूमा ‘स्क्रब टाइफस’ पुष्टि भएको थियो। नेपालमा त्यसपछि मात्र ‘स्क्रब टाइफस’ धेरै घातक रोगमा पर्नेतर्फ सबैको ध्यान गएको थियो।
अहिले भने कोरोनाका कारण ‘स्क्रब टाइफस’ मात्र नभई अन्य धेरै संक्रामक रोग बेवास्तामा परेका छन्। कुनै पनि व्यक्तिलाई शरीर दुख्ने, टाउको दुख्ने, ज्वरो आउने, आँखा हल्का रातो हुने लगायत लक्षण देखिए कोरोना होला भनी अनुमानका भरमा चुपचाप बस्नु हुँदैन। समयमै परीक्षण र उपचार गर्न जरुरी छ। यसैका कारण कतिपयमा लामो समय ज्वरो आउन सक्छ। ओमिक्रोन केही दिनमै निको हुन सक्छ। केही गरी ब्याक्टेरिया इन्फेक्सन, ‘स्क्रब टाइफस’ संक्रमण लगायत हो भने त्यो निरन्तर चलिरहने हुन्छ। त्यसैले यसको मृत्युदर कोरोनाको तुलनामा बढी रहेको छ।
गर्मी महिना सुरु भएसँगै टाइफाइड, ज्वरो आदिका बिरामी बढ्ने सम्भावना रहन्छ। तर, हामीकहाँ परीक्षण गर्ने चलन छैन। त्यसकारण कतिपय रोग पहिचान नभएकै अवस्थामा समुदायमा फैलिसकेको हुन्छ।
पहिला ‘स्क्रब टाइफस’को पहिचान गर्न सजिलो थियो, अहिले यसका धेरै लक्षण कोरोनासँग मिल्ने भएकाले परीक्षणबिना रोग खट्ट्याउन सकिँदैन। नेपालमा मात्रै नभई भारत लगायत अन्य केही मुलुकमा पनि ‘स्क्रब टाइफस’ देखिएको छ तर कोरोनाकै कारण यो बेवास्तामा परेको पुष्टि भएको छ।
‘स्क्रब टाइफस’को तुलनामा कोरोना धेरै छिटो फैलन्छ। ‘स्क्रब टाइफस’ लागेको व्यक्तिलाई भने यसले धेरै जटिल असर पारेको हुन्छ। ‘स्क्रब टाइफस’को मुख्य लक्षण भनेको टाउको दुख्नु, जिउ दुख्नु, श्वासप्रश्वासमा समस्या आउनु, आँखा हल्का रातो हुनु, शरीरमा बिबिरा आउनु, कानमा कृत्रिम आवाज आउनु, लिंग ग्रन्थी सुन्निनु र किर्नाले टोकेको ठाउँमा धेरै चिलाउँदा घाउ हुनु र त्यो घाउमा कालो पाप्रो (स्कार) भएर निस्कनु नै हो। स्कार देखिएको छ र त्यो मान्छेलाई ज्वरो आएको छ भने त्यो शतप्रतिशत ‘स्क्रब टाइफस’ नै हुने सम्भावना बढी हुन्छ।
‘स्क्रब टाइफस’ पहिचानका लागि परीक्षण नै विशेष महत्वपूर्ण हुन्छ। यदि लक्षण पहिचान भएको खण्डमा परीक्षण नगर्ने हो भने चिकित्सकको सल्लाहमा एन्टिबाइटिक प्रयोग गर्न सकिन्छ। सामान्यतः सो एन्टिबाइटिकले ४८ देखि ७२ घन्टामा ज्वरो ह्वात्तै घटाउने काम गर्छ। ‘स्क्रब टाइफस’मा छोटो समयमा ज्वरो घट्ने, बढ्ने भइरहने हुनाले पनि यस्तो प्रकारको एन्टिबाइटिक दिने गरिएको हो।
कोरोना संक्रमण दर कम भएसँगै मानिस बाहिर निस्कने क्रम बढ्दै जान्छ। बाहिरको खानपानका कारण टाइफाइड हुने सम्भावना पनि बढ्छ। हामीकहाँ समाजमा रोग परीक्षण गरेर पहिचान गर्ने चलन छैन, निकै कम रोगमा मात्रै परीक्षण गरिन्छ। चिकित्सकको सल्लाहबिनै औषधि लिने चलन बढी छ। रोग परीक्षण र पहिचान नहुँदा संक्रामक रोग फैलन सक्छ र जटिल समस्या निम्तिन सक्छ, यसतर्फ हामी सजग हुनुपर्छ।
स्क्रब टाइफस
‘स्क्रब टाइफस’ भनेको ‘ओरियन्टिया सत्सुगामुसी’ नामक ब्याक्टेरियाका कारण हुने रोग हो। जसलाई किर्नाले सार्ने गर्छ। त्यो किर्ना मुसामा बढी हुन्छ। नेपालमा पनि मुसाको परीक्षण गर्दा यस्ता ब्याक्टेरिया भएका किर्ना देखिएका छन्।
त्यस्ता किर्नाले कुनै व्यक्तिलाई टोक्दा बिस्तारै स्वास्थ्यमा जटिलता ल्याउँछ। किर्नाले टोकेको ५ देखि २० दिनभित्र लक्षण देखिन्छन्। औसतमा १२ दिनसम्म यसका लक्षण निरन्तर रहेको पाइएको छ। समयमै उपचार भए यसले शरीरमा खासै धेरै असर गर्दैन, तर समयमै उपचार नभए निमोनिया हुने, स्नायु प्रणालीमा असर गर्ने, शरीरका विभिन्न अंगमा समस्या निम्त्याउने लगायत समस्या देखिन्छन्।
(सोनी शाहीसँगको टेलिफोन वार्तामा आधारित।)