Kathmandu Press

यहुदी र कन्फ्युसियस धर्म

यहुदी धर्मले ईश्वरलाई मान्दामान्दै पनि मानवीय क्रियाकलाप र इतिहासलाई महत्त्व दिन्छ। उनीहरूको भनाइमा जब संसारमा धर्मग्लानि हुन्छ, तब यहुदीको हातबाट संसारको उद्धार हुन्छ।
यहुदी र कन्फ्युसियस धर्म

यहुदी आशावादी धर्म हो। यो धर्म पनि यो सारा सृष्टि ईश्वरले बनाएको भन्छ। यहुदी ईश्वरमा शक्ति र मूल्य एकै ठाउँमा रहेको विश्वास गर्दछ। यस दर्शनमा ईश्वरले जे सोच्छ राम्रै सोच्छ र सोचेको काम उसले पूरा गर्छ। जीवनलाई ईश्वरले बनाएको हुनाले यो व्यर्थ हुन सक्तैन। ईश्वरले बनाएको देश साह्रै सुन्दर हुन्छ, जहाँ गहुँ, अंजीर, जैतुन आदि फल्छ, तहाँ रोटीको कहिल्यै कमी हुँदैन।

यो धर्ममा हरेक व्यक्ति धनी र सम्पन्न हुनुपर्छ भन्ने मानिन्छ। यो धर्ममा संन्यासमार्गको स्थान छैन। यो धर्मले सारा पृथ्वीभरि आफ्नो सत्ता फैलाउन पर्नेमा जोड दिन्छ। यहुदी दृष्टिमा संसार ईश्वरको कार्यक्षेत्र हो।

यहुदी धर्मले ईश्वरलाई मान्दामान्दै पनि मानवीय क्रियाकलाप र इतिहासलाई महत्त्व दिन्छ। उनीहरूको भनाइमा जब संसारमा धर्मग्लानि हुन्छ, तब यहुदीको हातबाट संसारको उद्धार हुन्छ।

Hardik ivf

यहुदी धर्मग्रन्थमा भनिएको छ कि जब आदमले ईश्वरद्वारा वर्जित फल खायो, ईश्वरका छोराछोरी नै आपसमा सम्भोग गर्न लागे, नोहाका पुत्र समलैंगिक अप्राकृतिक पापाचारमा डुबे तब ठूलो बाढी आयो। यस्तो दुरवस्थामा ईश्वरले अब्राहमलाई बोलाए र नयाँ देश र नयाँ संसार बसाउन लगाए। अब्राहमलाई ईश्वर चुनियो। ऊ नै पहिलो हिब्रु भयो, ईश्वरद्वारा निर्वाचित प्रथम व्यक्ति।

यो धर्म अनुसार मान्छे सधै दैवीपूर्णता प्राप्त गर्ने खोजमा हुन्छ। यहुदी धर्ममा ईश्वरका दश आदेशलाई महŒवपूर्ण मानिन्छ। त्यसमा पनि निम्न बमोजिमका चार आदेशलाई जीवनमा कसैले पनि भुल्नु हुँदैन भनिएको छ- (१) हत्या नगर्नू। (२) व्यभिचार नगर्नू। (३) चोरी नगर्नू र (४) झूटा साक्षी नदिनू।

यहुदी दर्शन भन्छ- ‘प्रत्येक मान्छेको एक जीवन हुन्छ, उसको ईश्वर पनि एकै हुन्छ। धेरै देवता भए भने मान्छे खण्डित हुन्छ।’ यो धर्म एकेश्वरवादमा विश्वास राख्छ। यति हुँदाहुँदै पनि यहुदीका देवताले फरक फरक समयमा फरक विशेषता राखेको पाइन्छ।

ओलम्पसको युनानी देवता सधैं सुन्दरीको पछि लाग्ने खालका थिए, यहुदीको सिनाईका देवता विधवा र अनाथलाई करुणा बर्साउने खालका थिए। मेसोपोटामियाका ‘आनु’ तथा ‘कन्नान’ का ‘एल’ आफ्नै ढङ्गका टेढो जातका थिए। यहुदीहरू ईश्वरलाई परम दयालु र नैतिक मान्दछन्।

कतिपय धर्ममा ईश्वरलाई राम्रो र ईश्वरको सृष्टि भने बेकारको भएको विश्वास राख्दछन्। तर यहुदीको भनाइमा ईश्वरले गरेको सृष्टि सार्थक र बस्नलायक छ। ईश्वर स्वयं सुन्दर भएकोले उसले बनाएको मान्छेको जिन्दगी पनि सुन्दर हुन्छ भन्ने यो धर्मको ठहर छ।

यहुदी धर्म अनुसार हरेक व्यक्तिले बढीभन्दा बढी सम्पत्ति, धन र भौतिक बस्तु प्राप्त गर्नु जरुरी छ। यो सारा पृथ्वीभरि आफ्नो सत्ता फैलाउन जरुरी छ। त्यसैले पनि यो सबैभन्दा बढी भौतिकवादी धर्म हो। हिन्दू धर्म संसारलाई एउटा स्वप्न (माया) मान्छ। युनानीहरू प्रकृति नित्यक्रम, संसारचक्र, ऋतु–चक्र अनुसार चल्छ भन्दछन्। यहुदीहरूको दृष्टिमा संसार ईश्वरको कार्यक्षेत्र हो।

कार्लमाक्र्स, सिग्मण्ड फ्रायड, अलबर्ट आइन्स्टाइनजस्ता विद्वान् यहुदी जातिकै हुन्। यहुदीहरू ‘हिब्रु’लाई पवित्र भाषा र इजरायललाई पवित्र देश मान्दछन्। नाजीहरूले ६० लाखभन्दा बढी यहुदीहरू मारिदिनुले यिनीहरूमा ठूलो ऐतिहासिक चोट रहेको पाइन्छ। संख्यामा थोरै भएर पनि संसारमा जन्मिएपछि अरूले भन्दा फरक र उदाहरणीय काम गर्नुपर्छ भन्ने यिनीहरूको मान्यता पाइन्छ।

कन्फ्युसियस धर्म

कुङ फुत्सु वा कुङ स्वामी जसलाई अङ्ग्रेजीमा कन्फ्युसियस भनिन्छ, चीनका प्रथम गुरु थिए। उनको जन्म ई.पू. ५५१ मा भएको थियो। कन्फ्युसियस सुकरात झैँ धेरै विषयमा प्रवचन दिन सक्थे। कन्फ्युसियसले समाजमा निम्न प्रकारको नैतिक शिक्षा दिएका थिए- ‘मलाई यो दुःख छ कि मान्छेले मलाई जान्दैनन्, मलाई यो दुःख छ कि म मान्छेलाई जान्दिनँ। सज्जन मान्छे पहिले आफैँ गर्छ, पछि मात्र दोस्रोलाई भन्छ। ज्ञान भनेकै जब तिमी कुनै चिज जान्दछौ, तिमीलाई आफूले केही जान्दछु भन्ने र कुनै कुरा थाहा पाउँदैनौ भने आफूलाई थाहा छैन भन्ने जानकारी हुनु हो। सबैलाई दया गर, केवल पुण्यात्मासँग मित्रता राख। घरमा नोकरहरू राख्नु साह्रै कठिन काम हो। यदि उनीहरूलाई माया देखाउँछौ भने उनीहरूले आफूलाई आदर गर्दैनन्। यदि उनीहरूलाई थिचोमिचो ग¥यो भने त्यो उनीहरूलाई मन पर्दैन।’

कन्फ्युसियसले जेन, चुनत्सु, लि, ते, वेन जस्ता पाँच किसिमका नैतिक शिक्षा सिकाए। जेनको अर्थ मनुष्य मनुष्यबीचमा प्रेम गर्ने हुन्छ। चुन–त्सु को अर्थ हृदयमा पवित्रता भयो भने चरित्रमा सौन्दर्य हुन्छ, चरित्र सुन्दर भए घरमा सन्तुलन हुन्छ, घरमा सन्तुलन भए देशमा सुव्यवस्था हुन्छ, देशमा सुव्यवस्था भए संसारमा शान्ति हुन्छ भन्ने हो। ‘लि’को अर्थ उत्तम व्यवहार हो। अहंकार हुनु हुँदैन वृद्ध वा आफूभन्दा बढी उमेरको मान्छेको कुरा मान्नु भन्ने हो। ते को अर्थ शक्ति हो। त्यो शक्ति नैतिकतामा आधारित हुनुपर्छ। एकपटक एउटा घोर जंगलमा कन्फ्युसियसले एउटी रोइरहेकी महिला भेटे।

उनले रुनुको कारण सोधे। महिलाले- ‘आफ्ना ससुरा र पतिलाई बाघले खाइदियो त्यसैले रोएको’ जवाफ दिइन्। तिमी किन यस्तो डरलाग्दो जंगलमा बसिरहेकी त ?’ कन्फ्युसियसले सोधे। ‘किनकि यहाँ अत्याचारी राजा त छैन नि’ उनले जवाफ दिइन्। यसले नैतिकतामा बढी जोड दिएको पाइन्छ। बेनको अर्थ भने शान्तिको कला हो। प्राचीन चीनमा स्वर्गप्रति बढी भरोसा थियो। कन्फ्युसियसले स्वर्गमा भन्दा बढी पृथ्वीमा भर पर्न जोड दिए।

प्राचीन चीनमा स्वर्ग र पितृको सम्बन्ध, बलिविधी र शकुन विचार जस्ता कुराहरूलाई बढी जोड दिइन्थ्यो। कन्फ्युसियसले सबैको ध्यान स्वर्गबाट पृथ्वीतिर ताने। एकपटक कन्फ्युसियसलाई ‘भूत–प्रेतको सेवा गर्नु पर्छ कि पर्दैन ?’ भनेर सोधियो। उनले भने- ‘मान्छेको त सेवा राम्रोसँग गर्न सकेको छैन, भूत–प्रेतको कसरी ?’ अर्कोपटक फेरि सोधियो- ‘मृत्युको बारेमा के थाहा छ ?’ ‘जीवनलाई त राम्रोसँग बुझ्न सकिएको छैन मृत्युलाई कसरी थाहा पाउनु ?’ यस हिसाबले उनी काल्पनिक संसारभन्दा यथार्थपरक चिन्तनमा जोड दिन्थे भन्ने बुझिन्छ।

कन्फ्युसियसको दशृन बुद्धिवादी र मानववादी थियो। यो धर्म बढी भौतिकवादी थियो। चीनमा संयुक्त परिवारको महत्त्व, वृद्धवृद्धाको सम्मान, विद्वानको आदर, पश्चातापको महत्त्व जस्ता विषयमा वृद्धि हुनु कन्फ्युसियस सिद्धान्तको विजय हुनु हो। त्यसै भएर होला माओत्सेतुङले एक ठाउँमा बोले- ‘माक्र्स र लेनिनको साथ साथ प्रत्येक कम्युनिस्टले कम्फ्युसियसको सिद्धान्त पनि अध्ययन गर्नुपर्छ।

 

प्रकाशित मिति: १९:१७ बजे, शनिबार, पुस २४, २०७८
Jaga shaktiJaga shakti
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्