यःमरि र नेवार समुदाय
साना नानीहरूको दोस्रो जन्म दिनमा फूलको माला उनेझैँ यःमरिको माला उनेर लगाइदिने चलन छ। कसैकसैले दुई वर्षदेखि १२ वर्षसम्म जोड जोड वर्षमा जति उमेर पुग्छ, त्यति नै यःमरिलाई मालाझैँ धागोमा उनेर लगाइदिने गर्छन्।काठमाडाैं, पुस ४ : नेवार समुदायले मनाउने यःमरि पुन्हि (मार्ग शुक्ल पूर्णिमा) विशेषतः खानपान, मौसम र अनुष्ठानसँग सम्बन्धित छ। नेपालभाषामा यः को अर्थ हुन्छ, मन पर्ने र मरिको अर्थ हुन्छ रोटी।
नेवार समुदायले खाने धेरै किसिमका रोटी भए पनि नेवार संस्कृतिसँग घुलमिल भएको रोटीमध्ये एक हो, यःमरि। चाडपर्वको नाम नै यस रोटीबाट रहेकाले नेवारका संस्कारमा विभिन्न रुपमा यसको प्रयोग गरिन्छ। केटाकेटीहरूको दोस्रो जन्मदिन मनाउँदादेखि बूढाबूढीको जंक्व गर्दा संस्कारगत रूपमा यसको आवश्यक पर्छ। देउताको रथजात्रा गर्दा, नयाँ घर बनाएर धुरी कस्दा, गृहपूजा गरेर साना नानीहरूको जन्मदिन मनाउँदा यःमरि चढाउने चढाइन्छ। यसरी यःमरि पुन्हि र यःमरिको प्रयोग नेवारको मौलिक परम्परा बनेको छ।
साना नानीहरूको दोस्रो जन्म दिनमा फूलको माला उनेझैँ यःमरिको माला उनेर लगाइदिने चलन छ। कसैकसैले दुई वर्षदेखि १२ वर्षसम्म जोड जोड वर्षमा जति उमेर पुग्छ, त्यति नै यःमरिलाई मालाझैँ धागोमा उनेर लगाइदिने गर्छन्। एकातर्फ बच्चाको उमेर यति पुग्यो भनेर संकेत गर्ने कुरा भयो भने अर्कोतर्फ यःमरिलाई गलामा नै लगाई दिएर यःमरिको महत्त्व दर्शाउने काम भयो। त्यसरी नै भारी जिउ हुनेहरूलाई दहीचिउरा खुवाउँदा यःमरि नभई हुँदैन। ज्यापु समुदायमा बिहे भएको पहिलो वर्ष भाइटीका गर्न जाँदा लिएर जाने विशेष सामग्रीमा यःमरि पठाउनुपर्छ। नेवार समुदायले यःमरि बाँडीचुँडी खाने गर्छन्।
नेवारीमा एउटा गीत छ-
यःमरि च्वामु, उकी दुने हाकु
ब्यूम्ह ल्यासे, मब्यूम्ह बुर्हिकुति
छिमिनं चिकु, जिमि नं चिकु
पियाच्वने थाकु, याकनं ब्यू।
अर्थात्
यःमरि चुच्चो, भित्र भने कालो
दिने तरुनी, नदिने बूढीढिकी
तपाइँहरूलाई पनि जाडो, हामीलाई पनि जाडो
कुरिरहन गाह्रो, चाँडो चाँडो देउ।
माथि उल्लिखित काव्यात्मक अभिव्यक्ति कुनै कवि विशेषको आत्माबाट प्रस्फुटित भएको नभई यःमरि पुन्हिको कुरोलाई लिएर लोकोक्तिमा आधारित अभिव्यक्ति हो। जसमा यःमरिको आकारप्रकार, यःमरि बनाउने महिला, यःमरि पुन्हिको वातावरण आदि झझल्को दिने गरी अभिव्यक्त भइराखेको छ। वर्षभरिको १२ वटा पूर्णिमामध्ये मंसिर अर्थात् मार्गशुक्ल पूर्णिमा वा थिंला पुन्हिलाई यःमरि पुन्हि भनिन्छ। यो दिन विशेष गरी नेवार जातिले आफ्नै प्रकारको रोटी अर्थात् यःमरि पकाई खाने गर्दछन् र त्यही विशेष रोटीको नाउँमा उक्त पूर्णिमाको नाम नै ‘यःमरि पुन्हि’ रहन गएको हो।
यो पूर्णिमा थिंला पुन्हि, मार्ग पूर्णिमा, यःमरि पुन्हि, धान्य पूर्णिमा, गैंडु पूर्णिमा आदि नामबाट पनि प्रचलित छ। यो पूर्णिमाभित्र धान काटेर, तलसिं हुनेले तलसिंलाई बुझाइसकेर र नहुनेले पनि आफ्नो धान सुकाई भकारीभित्र भित्र्याइसक्ने हुनाले यसलाई धनधान्य पूर्णिमा भनिएको हो। यसबेला पनि मोहीहरूद्वारा धान काटेर कुत बुझाइसक्छन्। यसरी उनीहरूले पनि आफ्नो भकारी भरिसकेका हुन्थे। यसरी तलसिं मोही दुवै वर्गले आ–आफ्नो खेतको धान भित्र्याएर भकारी भरिसक्ने भएकाले धनधान्य पूर्णिमा भनिएको हो। नेवारको कुनै पनि काम व्यवस्थित ढंगले गर्ने परम्परा रहिआएको छ।
दशैंमा पहिले जमरा छरेर उखेली सकेपछि मात्र धान काट्ने काम सुरु गर्छन्। जमरा नउखेली धान काट्न हुँदैन भन्छन् खेतीवालाहरू। जमरा उखेलेपछिदेखि यःमरि पुन्हिसम्म धान भित्र्याइसक्नुपर्छ भन्ने धारणा छ। पहाडवासीले पनि आफ्नो गाईगोरु राख्ने गोठ सफासुग्घर गरी आफूलाई खेती गर्दा धेरै सहयोग पुर्याएकाले गर्दा (हलो जोत्नु, दूध, गोबर, मल आदि दिएर) गोठपूजा गर्ने चलन छ। यसरी गोठपूजा गर्नेहरूले यःमरि पुन्हि वा मंसिर शुक्ल पूर्णिमालाई गैंडु पूर्णिमा भन्ने गर्दछन्।
यःमरि पुन्हिको पूजा
यो दिन बिहान विशेष गरी ढिकुटीलाई चोखोनितो गरिन्छ। त्यसपछि धानचामलको भकारी, घ्याम्पो आदि भाँडाहरूमा धानचामल भरीभरी राखेर त्यसमा चामलको पीठोद्वारा तयार पारिएको यःमरि, लोहँचांमरि, लक्ष्मी, गणेश, कुबेर राखी फूल चन्दन, नैवेद्य, फलफूल चढाई पूजा गरी चार दिनसम्म थापना गर्ने गरिन्छ। दशैंमा जस्तो यःमरि साथै विभिन्न देवदेवी थापना गरी चार दिनसम्म पूजा गरी, चार दिनपछि पूजा समाप्त गरी प्रसादको रूपमा यःमरि, लोहँचांमरि परिवारका प्रत्येक सदस्यलाई बाँडेर खाने गरिन्छ।
यो पूर्णिमाबारे विष्णु पुराणमा यसरी लेखिएको छ, मार्गशुक्ल पूर्णिमाको दिन धानचामल राखिने भकारीमा यःमरिको कुबेर, लक्ष्मी र गणेश बनाई थापना गरी, चार दिनसम्म नित्य विधिपूर्वक पूजा गरी रोटी चढाउने, अरुलाई पनि रोटी दान गरी आफूले पनि खाने गरिन्छ। यो कार्य गरेपछि वर्ष दिनभरिका लागि धनसम्पत्ति र अन्न स्थिर भएर कल्याण हुन्छ, (पुण्यरत्नः १०८४ः७३)।
यो पूर्णिमामा पूजा गरिने समस्त देवदेउताहरू धन सम्पत्तिहरू अभिवृद्धि गर्ने देवताहरू हुन्। गणेश मंगलमयका मूर्ति, कुबेर सम्पत्तिका धनी, लक्ष्मी सम्पत्तिदाता नै भइन्। यःमरि पुन्हिमा लक्ष्मी, बसुन्धरा, गणेशको पूजा गर्ने चलन छ।
यःमरिको कथा
धनधान्य भएकोबारे एउटा लोककथा प्रचलित छ। यःमरि पुन्हिको खुसियालीमा यो कथा सम्झिने परम्परा छ। साथै यो कथाबाट शिक्षा लिएर ‘त्यःछिं त्यः’ माग्न आउनेहरूलाई यःमरि, धान चामल आदि दान दिने वा ख्वाउने परम्परा रहिआएको छ।
पांचाल (पनौती) देशको कुनै एउटा गाउँमा बस्ने सुचन्द्र नामक मानिस बस्दथे। उनको पतिपत्नी दुवै गरिबप्रति अति नै दयालु थिए। यो जोडी गरिबहरूप्रति कतिको दयालु रहेछ भनी बुझ्न धनका देवता कुबेर गरिबको भेष धारण गरी सुचन्द्रको घरमा माग्न गएछ। गरिबरूपी कुबेरलाई साँच्चिकै गरिब ठानी सुचन्द्रकी जहानले डाकेर आफ्नो घरको तलामा लगी नयाँ लुगा फेरिदिएर मीठो खाना खुवाएर मानमनितो गरेका हुनाले गरिबको भेष धारण गरेका कुबेर खुसी भएर आफूलाई सेवा गर्ने सुचन्द्रकी जहानलाई ज्ञानगुनका शिक्षासहित तःसि (बिमिरो) एउटा पनि दिएर अन्तध्र्यान भएछन्।
पछिबाट कुबेरले दिएको ज्ञानगुनका सबै कुरा आफ्नो श्रीमानलाई सुनाइन्। दुबै जोडी मिली सखरतिलको झोल यःमरि भित्र राखेर, पीठोको कुबेर बनाई बफ्याएर कुबेरले दिएको बिमिरो र यःमरि सबै अन्नको भकारी भित्र राखेर चार दिनसम्म पूजा गरेर त्यसै राखिछोडे। यःमरि आफूले पनि खाए, अरुलाई पनि बाँडिदिए। जति दान गरे, उत्तिकै अभिवृद्धि भएर आयो। कुबेर, यःमरि र बिमिरो राखेर पूजा गरेको भकारीबाट जतिसुकै धान निकाले पनि अलिकति पनि नघटी जतिको तति नै भइरह्यो। त्यसबेलादेखि यःमरि बनाएर ढिकुटी, धान भकारी आदिमा पूजा गरेर आफूले पनि खाने अरुलाई पनि बाँडिदिने, अनि माग्न आउनेहरूलाई पनि दिने परम्परा बनेको हो भन्ने भनाइ छ।
यःमरि बनाउने विधि
नयाँ वा पुरानो चामलको पीठो कुटेर, तातो पानीले मुछ्ने गर्दछन्। यःमरि बफ्याउँदा फुट्छ भनेर पीठो मुछेर कपडामा पोको पारेर राख्ने गर्दछन्। मुछिराखेको पीठो तातो भएको खण्डमा चम्किलो हुने भएकाले आफ्नो इच्छा अनुसारको डल्लो लिएर तातोपानीमा तेल मिसाएर चिल्लो हुने गरी राखेका हुन्छन्। मुछेको पीठोबाट एउटा डल्लो लिएर एकातिर चुच्चो पारेर अर्कोतिर औंला घुसारेर पातलो बनाउँदै लाने गर्छन्। खोक्रो पारेको त्यस प्वालभित्र सखर, तिल, नरिवल, काजु किसमिस (विशेष गरी सखर र तिल मात्र) पकाएर उक्त झोल हालेर प्वाल बन्द गर्ने गर्छन्।
यसरी बन्द गर्दा अलिकति टुप्पा बाँकी रहन्छ। कसैले त्यस टुप्पोलाई सिङको आकार दिन्छन्, कसैले दुइटा वा तीनटा पातको आकार दिएर समाप्त गर्ने गर्छन्। यसरी पीठोको डल्ला भित्र गुलियो झोल राखेर स्तुपाकारमा बनाइएको रोटीलाई यःमरि भन्छन्। कसै कसैले यःमरिलाई ठाडो राख्न हुने गरी पनि बनाउँछन्। कसैले भने दुइटा चुच्चो बनाएर बिन्ती गरिराखेको आभास पनि दिने गर्छन्। कसैले तिल सखरको साटो मुंग दाल भिजाएर मसालासहित पिसेर पनि राख्ने गर्दछन्। त्यसरी नै चिनी, खुवा, काजु, नरिवल, छोहरा इत्यादि मसलाको धुलो बनाएर पनि राख्ने गर्छन्। देउपूजा गर्नुपरे वा चढाउनुपरे यःमरि भित्र तिलसखर मात्र राखेर पुग्दैन। त्यसभित्र तिलसखरको सट्टा पाँचवटा अक्षता समेत राख्ने चलन छ। सांस्कृतिक लेखक ज्यापु पञ्चका भनाइ अनुसार त्यसमा राखिने पाँचवटा अक्षताको अर्थ पञ्चबुद्ध अमिताभ, अमोघसिद्धि, अक्षोभ्य, रत्नसम्भव र वैलोचनको प्रतीक हो।
यःमरिको आकार बौद्ध चैत्यको आकार हो। चैत्यको भित्र पञ्चतत्वको प्रतीकका रूपमा तिल, सखर समेत पाँच थोक मिसाउने गर्छ। यसरी यःमरि बनाइसकेपछि पहिलेपहिले प्वतासि वा चाल्नीमा राखेर फ्वसि वा कसौडीमा पकाउने गर्थे। यो कलात्मक रोटी हो। यःमरि पकाउन जान्नेहरूले मुछेको पीठोलाई सकुन्जेल पातलो बनाएर त्यसभित्र तिल सखर राख्ने गर्छन्। रोटी जति पातलो हुन्छ, त्यति सिपालुहरूले बनाएको भन्ने बुझिन्छ। बफ्याएर पाकेपछि उचालेर चिस्याइन्छ। यसरी चिस्याएपछि यःमरि चम्किन्छ। यसरी उज्यालो भएपछि, पछिसम्म उज्यालै रहन्छ। यःमरि बनाउन मुछिराखेको पीठोलाई अण्डा चढाएर ढुंगेरोटी (लोहँचांमरि) पनि बनाउने चलन छ। लोहँचांमरिलाई गणेशको प्रतीक पनि मान्छन्। (‘सन्ध्या टाइम्स’ शुक्रवाःया तँसापौ सिलाथ्व ६, १११६) यःमरि बनाउने क्रममा पीठोको गणेश, लक्ष्मी, कुबेर, ज्यापु ज्यापुनी, भूतप्रेत, भेडा, पानस आदि इत्यादि बनाएर बफ्याउने पनि गर्छन्।
(संस्कृतिविद् बज्राचार्यसँग काठमाडौं प्रेसकर्मी सरिशा अछामीले गरेको कुराकानीमा आधारित।)