Kathmandu Press

सेरा नेपाल : पुर्ख्यौली पेसाको आधुनिकीकरण

ज्ञान र सीप प्रशस्तै भए पनि कलिलो उमेर र व्यवस्थापनको ज्ञान कम भएका कारण उनले थाइल्यान्डबाट फर्कनेबित्तिकै उद्योग खोल्ने आँट गरेनन्। केही समय जर्मन प्रोजेक्टमै काम गरेर आत्मविश्वास बढाए। सेरा नेपाल खोलेपछि उनले आफ्नो शिक्षालाई पनि अगाडि बढाए।
सेरा नेपाल : पुर्ख्यौली पेसाको आधुनिकीकरण

काठमाडाैं, पुस ४ : एकतले घरको भुइँतलामा माटो (सेरामिक)का सामग्रीले सजाइएको छ। यो भक्तपुरको सिर्जनानगरस्थित ‘सेरा नेपाल’ नामक माटोको सामग्री बनाउने उद्योग हो। यसका संस्थापक हुन्, रत्नप्रसाद प्रजापति। यतिखेर रत्नको परिवार नै यस उद्योगमा खटेको छ। यहाँका सामानको मार्केटिङ रत्नका छोरा (विशाल) र छोरी (एलिना)ले हेर्छन्। रत्नका दम्पति र केही कामदारले माटोका सामग्री बनाउँछन्।

‘माटोको भाँडा बनाउने हाम्रो पुख्र्यौली पेसा हो। यसलाई लोप हुन नदिन केही नयाँपनका साथ व्यवसाय अगाडि बढाइरहेका छौँ। छोराछोरीले हामीलाई सघाइरहेका छन्,’ ५२ वर्षीय रत्न भन्छन्, ‘हामीलाई नयाँ प्रविधिको त्यति धेरै ज्ञान छैन। छोराछोरीले विभिन्न सामाजिक सञ्जालमा सेरा नेपालका बारेमा जानकारी दिने गरेका छन्। साथै गुगल म्यापमा पनि यहाँको लोकेसन दिएपछि यहाँ आउनेहरूका लागि धेरै सजिलो भएको छ।’

रत्नकी श्रीमती बिनाले उनको कुरामा समर्थन गर्दै भनिन्, ‘अहिले उनीहरू आफैँले यो काममा रुचि दिइरहेका छन्। हामीले उनीहरुलाई पहिलादेखि नै यस क्षेत्रमा प्रोत्साहन गरेको भए, उनीहरुले यसमा धेरै प्रगति गर्ने रहेछन्।’

Hardik ivf

हामीले समाचारका माध्यमबाट सुन्दै आएका हौँ- ‘माटाका भाँडा बनाउने पुख्र्यौली पेसा लोप हुँदै’, ‘प्लास्टिकका सामानले विस्थापित गर्दै माटाका भाँडा’ आदि। रत्नको परिवारलाई भेट्दा भने त्यस्तो आभास हुन पाउँदैन।

सेरा नेपालका संस्थापक रत्नप्रसाद प्रजापति ।

सेरा नेपालबाट गमला, कप, सजावटका सामान (इन्डोर र आउटडोर), प्लेट, टेराकोटा टायल लगायतका सामग्री उत्पादन हुन्छ। जसको करिब ९० प्रतिशत विदेशमा निर्यात हुन्छ।

सेरा नेपालकी प्रबन्ध निर्देशक एलिना (रत्नकी छोरी) भन्छिन्, ‘सेरा नेपालमा बन्ने सामग्रीमध्ये ९० प्रतिशत अमेरिका, युरोप र केवल १० प्रतिशत मात्र नेपालमा बिक्री हुन्छ। पहिला आमा र बुवाले मात्र यो उद्योग चलाउनुहुन्थ्यो। लकडाउनमा हामीले पनि समयको सदुपयोग गर्न सेरामिकका सामान बनाउन थाल्यौँ। यो क्षेत्रको महत्त्व बुझ्दै आएका छौँ। अब सबै मिलेर यही उद्योगलाई राम्रो बनाउने योजनामा छौँ।’

अहिले नेपाली बजारमा सेरामिकको सामग्रीको निर्यातभन्दा चार गुणा बढी आयात हुने गरेको उनी बताउँछिन्।

एलिना अहिले एमबिए गर्दै छिन्। उनका भाइले आइटीमा ब्याचलर सकाएका छन्। पढाइसँगै आफ्नो पुख्र्यौली पेसालाई आधुनिक रुपमा अगाडि बढाउन पाउँदा गर्व लागेको एलिना बताउँछिन्।

थाइल्याण्डमा तालिम

रत्नले आफ्ना बुवाबाट माटाका भाँडा बनाउने कला सिकेका हुन्। यसबाहेक उनले विदेश गएर तालिम लिने अवसर पनि पाए। रत्नका अनुसार, सन् १९८४ मा जर्मन प्रोजेक्टअन्तर्गत नेपालमा विज्ञान पढेका व्यक्तिलाई सेरामिकको तालिम दिन ‘द राइजिङ नेपाल’ पत्रिकामा विज्ञापन दिइएको थियो। त्यतिबेला कसैको आवेदन नपरेपछि उनीहरू भक्तपुरमा मान्छे खोज्न आए। ‘यसरी मैले थाइल्यान्ड जाने अवसर पाएँ,’ रत्न भन्छन्, ‘त्यतिबेला म १५ वर्षको थिएँ। मसँगै जानेमा अन्य ६ जना थिए। हामीलाई तीन महिना तालिम दिइएको थियो।’

जर्मनमा तालिन लिन जानुअघि रत्नले घरमा बुवालाई सघाउँथे र ६ कक्षामा पढ्दै पनि थिए। त्यसै कारण उनकी आमाले उनलाई पठाउन चाहेकी थिइनन्। तर, जर्मन प्रोजेक्टका मान्छेहरूले ‘हामी रत्नलाई त्यहीँ पढाउँछौँ र काम पनि सिकाउँछौँ’ भनेपछि रत्नकी आमाले रत्नलाई थाइल्यान्ड पठाउन राजी भइन्।
तालिमपछि उनी नेपाल फर्केर जर्मनकै प्रोजेक्टमा केही समय काम गरे। पछि सन् १९८७ मा सेरा नेपाल खोलेका हुन्।

थाइल्यान्डमा रत्नले त्यहाँको ठुल्ठूला सेरामिक उद्योगको भ्रमण गरे। त्यहाँको कलाकारिता हेर्दा आफूले त्योभन्दा राम्रा डिजाइन बनाउन सक्ने भावना उनीमा आयो। तीन महिनाको तालिम सकाएर नेपाल फर्कने बेला तालिम दिएका एक शिक्षकलाई उनलाई सोधे। नेपाल फर्केर तिमी के गर्छौ ? रत्न भन्छन्, ‘त्यतिबेला मैले नेपालमा सेरामिक उद्योग खोल्छु भनेको थिएँ, अझै याद छ।’

ज्ञान र सीप प्रशस्तै भए पनि कलिलो उमेर र व्यवस्थापनको ज्ञान कम भएका कारण उनले थाइल्यान्डबाट फर्कनेबित्तिकै उद्योग खोल्ने आँट गरेनन्। केही समय जर्मन प्रोजेक्टमै काम गरेर आत्मविश्वास बढाए। सेरा नेपाल खोलेपछि उनले आफ्नो शिक्षालाई पनि अगाडि बढाए। सेरामिकसम्बन्धी डिप्लोमा तहको शिक्षा हासिल गरेका उनले अहिले अरुलाई यससम्बन्धी तालिम दिने गर्छन्।

रत्नकी श्रीमती बिना प्रजापति ।

सुरुको लकडाउनका बेला रत्नको परिवारले ‘पोटरी सेसन’ नामबाट माटोको सामग्री बनाउने तालिम दिएको थियो। ‘पोटरीसम्बन्धी ज्ञान लिन इच्छुक स्वदेशी र विदेशी आउने गर्थे। आमा र बुवाले तालिम दिनुहुन्थ्यो,’ एलिना भन्छिन्, ‘सो सेसनले धेरैको ध्यानाकर्षण गरेको छ। विभिन्न स्कुल कलेजका विद्यार्थी यो तालिम लिन समूह बनाएर आउने गरेका छन्। अहिले पनि बिहीबार र शुक्रबार यो सेसन चलाइरहेका छौँ।’


प्रक्रिया

आफ्नो उद्योग चलाउन रत्नले आवश्यक माटो दाङबाट ल्याउँछन्। उक्त माटोप्रति किलो २० रुपैयाँ लाग्छ। ‘यहाँ पाइने माटोभन्दा त्यहाँको माटो राम्रो हुन्छ, त्यहाँ रिफाइन गरेको माटो पाइन्छ,’ रत्न भन्छन्, ‘यहाँको माटोबाट सामान्य भाँडा बनाउन समस्या छैन। तर, चिल्लो र राम्रो सामाना बनाउन रिफाइन गरेको माटो आवश्यक हुन्छ।’    

त्यस्तै, अन्य आवश्यक कच्चा पदार्थ रङ र केमिकल भारत र चीनबाट ल्याइन्छ।

एलिनाका अनुसार, माटोलाई कुनै पनि आकार दिन सुरुमा माटोलाई जापानी प्रविधिको मेसिनमा राखिन्छ। जसको माथिल्लो भागमा घुम्ने चक्का राखिएको हुन्छ। नेपालमा परम्परागत रुपमा प्रयोग गरिँदै आएकोभन्दा यो केही एड्भान्स हुन्छ र विद्युत्बाट चल्छ।

मेसिनमा हातको सहाराले माटोलाई विभिन्न आकार दिइन्छ। यसरी आकार दिइएको सामग्रीलाई १० देखि १२ दिनसम्म छायामा सुकाइन्छ। ‘सीधै घाममा सुकाउँदा चिरा पर्ने सम्भावना हुन्छ,’ रत्न भन्छन्, ‘त्यसपछि ती सामग्रीलाई माइक्रोवेभमा नौ सय डिग्री सेल्सियसमा पोलिन्छ।’

यसरी पोल्दा सामग्रीले रातो रङ लिएको हुन्छ। यसमा चिल्लोपन, चमक र आकर्षक बनाउन केमिकल र रङको मिश्रणमा डुबाइन्छ। त्यसपछि पनि पुनः एकपटक माइक्रोवेभमा ११०० देखि १३०० डिग्री सेल्सियसमा पोलिन्छ। अनि मात्र भाँडा तयार हुन्छ।

कतिपय कप वा अन्य सजावटका सामग्रीमा स्टिकर समेत टाँस्नुपर्ने भएकाले स्टिकर टाँसेर फेरि माइक्रोवेभमा पोलिने रत्न बताउँछन्।

समस्या

रत्नका अनुसार, सेरामिकको उद्योग सञ्चालनमा मुख्य समस्या भनेको दक्ष जनशक्तिको अभाव हो। साथै विगतको तुलनामा जनघनत्व बढेसँगै माटोको समेत अभाव हुन थालेको उनी बताउँछन्।

विगतमा भक्तपुरका प्रजापतिहरूले माटोका सामग्री बनाउन आवश्यक माटो निःशुल्क भक्तपुरको सूर्यविनायकबाट ल्याउने गर्थे। अहिले बस्ती बढेसँगै त्यहाँ माटो पाइँदैन। २०५५ सालदेखि खर्पनमा माटो ल्याउने काम बन्दजस्तै भएको छ।

‘अहिलेका पुस्ताले हाम्रो पुख्र्यौली पेसा सहजै अपनाएका छैनन्। उद्योग सञ्चालनमा यो पनि समस्या छ,’ उनी भन्छन् ‘सरकारले यस क्षेत्रलाई प्रवद्र्धनको पहल गरेको छैन। कमसे कम हामीलाई कम ब्याजमा ऋण दिने व्यवस्था गरेको भए केही सहज हुन्थ्यो।’

भक्तपुर नगरपालिकाका मेयर सुनिल प्रजापति माटोका भाँडा बनाउने पेसालाई संवद्र्धन गर्नुपर्ने तर त्यसो हुन नसकेको स्वीकार गर्छन्। ‘माटोका भाँडा बनाउनका लागि माटोकै अभाव हुन थालेको हुँदा यसको समाधानका विषयमा छलफल भइरहेका छन्,’ उनले भने, ‘यो समस्याको समाधान गर्न सक्यौँ भने प्रजापतिको पुख्र्यौली पेसा जोगाउन धेरै हदसम्म सहयोगी हुनेमा विश्वस्त छौँ।’

प्रजापति थर

माटोको काम गर्नेहरूलाई प्रजापति थर दिएको पाइन्छ। प्रजापति ‘प्रजा’ र ‘पति’ दुई शब्दले बनेको छ। ‘प्रजा’को अर्थ जनता र ‘पति’को अर्थ पालनकर्ता हुन्छ। जनतालाई आवश्यक माटोका सामान पूर्ति गर्नेहरूलाई प्रजापति भन्न थालिएको इतिहासविद् चुन्दा बज्राचार्य बताउँछिन्।

जयस्थिति मल्लले जातीय कानुन बनाउँदा पेसालाई हेरेका थिए भनिन्छ। प्रजापतिहरू धेरै अघिदेखि नै माटोका भाँडा बनाउने गर्थे। ‘जयस्थिति मल्लले जात अनुसारको काम विभाजन गर्दा प्रजापतिहरूले पुख्र्यौली पेसाका आधारमा हकअधिकार पाए,’ बज्राचार्य भन्छिन्, ‘प्रजापतिहरूले पुस्तौँपुस्तादेखि अहिलेसम्म यही काम गर्दै आएका छन्।’

पोटरी स्क्वायरमा भएको एक मन्दिरको भित्तामा चार सय वर्षअगाडि प्रजापति थर भएको मानिसले मन्दिर निर्माणमा सहयोग गरेको उल्लेख छ। यसबाट चार सय वर्ष अगाडिदेखि नै प्रजापतिको पेसाको अस्तित्व रहेको अनुमान गरिएको छ। तर, यसलाई मानव विकास क्रमसँगै सुरु भएको कलाको रूपमा पनि लिने गरेको संस्कृतिविद् बज्राचार्य बताउँछिन्।

 

प्रकाशित मिति: १३:३५ बजे, आइतबार, पुस ४, २०७८
NTCNTC
Globle IME bankGloble IME bank
प्रतिक्रिया दिनुहोस्