वैदिक दर्शनको नालीबेली
न्यायसूत्रमा भनिएको छ कि दुःखको मुख्य कारण नै जन्म हो। जन्मको कारण प्रवृत्ति हो। प्रवृत्तिको कारण दोष हो र दोषको कारण मिथ्या ज्ञान हो। सम्यक् ज्ञानले मिथ्या ज्ञानलाई हटाउँछ। मिथ्या ज्ञान नभएपछि पाप पनि हुँदैन। पाप हटेपछि कर्म मेटिन्छ।काठमाडाैं, पुस ३ : नेपाल भारत लगायत दक्षिणपूर्वी एसियाली देशहरूमा हिन्दू धर्मकै सामिप्यतामा ६ दर्शनको विकास भएको पाइन्छ, जसलाई वैदिक दर्शन भनिन्छ। ती ६ दर्शनहरूमा महर्षि गौतमको ‘न्याय’, कणादको ‘वैशेषिक’, कपिलको ‘सांख्य’, पतञ्जलिको ‘योग’, जैमिनीको ‘पूर्वमिमांसा’ र वादरायणको ‘उत्तरमीमांसा’ वा ‘वेदान्त’हरू हुन्। यिनीहरूमध्ये जो वेदको प्रामाणिकता स्वीकार गर्दछन् तिनलाई ‘आस्तिक’ र जो अस्वीकार गर्छन् तिनलाई ‘नास्तिक’ भन्ने चलन छ। यी सबै दर्शनमा उत्पत्ति, स्थिति, तथा विनाशको क्रम अनन्त समयसम्म चलिरहन्छ भन्ने मान्यता पाइन्छ। तिनीहरूको संक्षिप्त वर्णन निम्न बमोजिम छ ः
न्याय–मत
यस दर्शनका प्रतिपादक गौतम थिए। न्याय मत तर्क पक्षलाई जोड दिन्छ। यस अनुसार जो तर्कको कसौटीमा जाँच्दा ठीक ठहरिन्छ उही सत्य हो। पदार्थको सम्यक ज्ञानबाट मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने यथार्थवादी ज्ञान सिद्धान्त यस दर्शनको चुरो कुरो हो। यस दर्शनले वस्तु के हो भन्नु भन्दा पनि वस्तुको बारेमा कुन तरिकाले ज्ञान हासिल गर्ने भन्नेमा जोड दिन्छ।
न्यायसूत्र गौतमले रचना गरे। न्यायसूत्रमा भनिएको छ कि दुःखको मुख्य कारण नै जन्म हो। जन्मको कारण प्रवृत्ति हो। प्रवृत्तिको कारण दोष हो र दोषको कारण मिथ्या ज्ञान हो। सम्यक् ज्ञानले मिथ्या ज्ञानलाई हटाउँछ। मिथ्या ज्ञान नभएपछि पाप पनि हुँदैन। पाप हटेपछि कर्म मेटिन्छ। कर्म मेटिएपछि पुनर्जन्मबाट मुक्ति पाइन्छ। पुनर्जन्मबाट छुटकारा पाएपछि सम्पूर्ण दुःखबाट मुक्ति पाइन्छ। दुःखबाट मुक्ति हुनु नै मोक्ष हुनु हो। पदार्थको सम्यक् ज्ञानबाट मोक्ष प्राप्त गर्न सकिन्छ।
न्याय मत अनुसार संसारको निर्माण पृथ्वी, जल, वायु, आकाश र अग्निबाट भएको छ। ती पाँच तŒवहरू भने अणुबाट निर्माण भएका छन्। अणुहरू अपरिवर्तनशील हुन्छन्। आत्मा नित्य छ। शरीर पनि तिनै पाँच तŒवबाट बनेको छ। जीवमा ज्ञान वा चेतना संयोगवस उत्पन्न हुने गुण हो। आत्मा मनसित, मन इन्द्रियसित र इन्द्रिय बाहिरी जगतसँग सम्बन्धित भएपछि मात्र ज्ञान प्राप्त हुन्छ। शुरुमा न्यायमतमा ईश्वरको कुनै स्थान थिएन। पछि भने संसारको सृष्टिकर्ता, पालनकर्ता र संहारकर्ता ईश्वरनै हो भनियो।
वैशेषिक मत
पदार्थको सच्चा गुण र स्वरूपहरूको ज्ञानद्वारा बुझ्न खोज्नुपर्दछ र पदार्थको यथार्थ ज्ञानबाट नै मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने मत नै वैशेषिक मत हो। यस मतले अस्तित्वमा रहेका हरेक वस्तुलाई पदार्थ मान्दछ। शब्दद्वारा निरूपण गर्न सकिने, स्वतन्त्र अस्तित्व भएको, नाम दिन सकिने, बुझ्न र जान्न सकिने र सिद्ध गर्न सकिने वस्तु नै पदार्थ हो भन्ने यसको मत छ। प्रमाणिक ज्ञानद्वारा जान्न सकिने अवस्था नै पदार्थको लक्षण हो। यस मतले द्रव्यलाई पदार्थ मध्ये सबैभन्दा महŒवपूर्ण मान्दछ। द्रव्य पनि पृथ्वी, जल, तेज, वायु, आकाश, दिक्, काल, आत्मा र मन गरि नौ किसिममा बाँडिएको पाइन्छ। वैशेषिक मतले काललाई एक अनित्य, सर्वव्यापी र अद्वितीय द्रव्य मानेको छ। आत्मा पनि एक नित्य र सर्वव्यापक द्रव्य मानिएको छ। ज्ञान आत्माको एक लक्षण हो भनिएको छ।
बस्तुहरूमा विशिष्ट लक्षण वा गुण हुने भएकोले त्यसलाई ‘बैशेषिक’ ले ‘विशेष’ मानेको छ। फरक फरक गुणको कारण जल र पृथ्वीको फरक छुट्टिन्छ। त्यति हुँदा हुँदै पनि दुई वस्तुको बीच आन्तरिक सम्बन्ध रहन्छ जसमा एकलाई अलग गरियो भने अर्कोको अस्तित्व स्वतः नाश हुन्छ। हाइड्रोजन र अक्सिजनलाई छुट्याइदिने हो भने पानीको अस्तित्व रहँदैन। यो मतले संसारका सबै वस्तु परमाणुबाट बनेका छन् भन्दछ। ईश्वरले परमाणु जोडेर संसार निर्माण गरेको यसको तर्क छ। कारण बिना कुनै कार्य हुनै सक्तैन, उत्पन्न गर्नेवाला नभै उत्पत्ति हुनै सक्तैन, बीज नभई विरुवा हुँदैन र माटो नभइ घैटो बन्नै सक्तैन भन्नेमा यसको जोड छ। यसले मोक्ष भने आनन्द प्राप्ति भन्दा पनि दुःखको समाप्ति हो भन्दछ। वैशेषिक मतले बाह्य जगत्प्रति सक्रिय रुची राख्दै त्यसलाई भौतिक रूपमा बुझ्ने कोशिश गर्दछ।
वैशेषिक मतमा सांसारिक वैभव तथा आत्मिक कल्याण दुवै प्राप्त गर्न धर्म जरुरी छ। कर्मकाण्डले सांसारिक वैभव प्राप्त हुन्छ। ज्ञानी मान्छेलाई नै सबैभन्दा धेरै सुख मिल्छ। अहिंसा धर्म हो। सदाचारले मात्र धर्म मिल्दैन भक्ति पनि जरुरी छ।
यस मतमा पृथ्वी, जल, तेज र वायु जस्ता चार किसिमका परमाणुले जगत्को सृष्टि भएको हो। यसलाई परमाणुवाद भनिन्छ। ईश्वर परमाणुको संचालक हो।
सांख्य योग
उपनिषद्हरूमा सांख्य योगको विचार पाउन सकिन्छ। साँख्य अनुसार जगतको मूल कारण प्रकृति हो। चार्वाक, बौद्ध, जैन तथा न्याय–वैशेषिक मत अनुसार जगत् पृथ्वी, जल, तेज र वायु परमाणुबाट बनेको हुन्छ। सांख्यमत अनुसार भौतिक परमाणुबाट मन, बुद्धि र अहंकार जस्तो सूक्ष्म तŒवको उत्पत्ति हुन सक्तैन। जगत्को मूल कारण अनादि र अनन्त हुनुपर्छ। त्यो गुण प्रकृतिमा मात्र हुन्छ। प्रकृतिबाट उत्पत्ति भएका वस्तुमा परतन्त्र, सापेक्ष, अनेक र अनित्य गुण हुन्छ, किनकि तिनीहरूको जन्म तथा मृत्यु र उत्पत्ति तथा विनाश हुन्छ नै। प्रकृति बाहेक अर्को तŒव पुरुष वा आत्मा पनि हुन्छ। सृष्टिको शुरुवातदेखि नै प्रकृति र पुरुष साथै चलिरहेछन्। सांख्य मतले ईश्वरवादलाई समर्थन गर्दैन तर एक व्यवस्थापक ईश्वरको कल्पना भने स्वीकार गर्दछ।
प्रकृतिलाई सृष्टिको प्रधान कारण मान्ने दर्शननै सांख्य दर्शन हो। पुरुष र प्रकृति नामका दुई तŒवको परम सत्तालाई स्वीकार गर्ने भएकोले यो द्वैतवादी दर्शन पनि हो। पुरुषलाई चेतना र प्रकृतिलाई कत्र्रीको रूपमा यसले मानेको छ। यसले सृष्टिको मूल कारण प्रकृति नै हो भन्दछ। यो दर्शन वैदिक मान्यता विपरित भएकोले यस दर्शनलाई धर्म विरोधी, वेद विरोधी र कट्टर भौतिकवादी सिद्धान्त पनि यसमा अन्तरनिहित छ भनिन्छ। प्रकृतिमा सत्व, रज र तम गरि तीन गुणहरू हुन्छन्। यी तीन गुणको सन्तुलित अवस्थानै प्रकृति हो। त्यसमा सन्तुलन विग्रियो भने प्रकृतिमा उद्वेलन उत्पन्न हुन्छ र सिर्जना शुरु हुन्छ। यसले प्रकृतिबाट सृष्टि शुरु भएपछि बुद्धि र चेतना उत्पन्न हुन्छ र उक्त चेतन तŒवबाटै बाँकी सबै सृष्टि हुने कुरा बताउछ।
योग–मत
योगाभ्यासद्वारा नियन्त्रण गरी मोक्ष प्राप्त गर्न सकिन्छ भन्ने दर्शननै योग दर्शन हो। पुराणहरूमा ईश्वरको अस्तित्व स्वीकार्ने र ईश्वरको अस्तित्व नस्वीकार्ने गरी दुई किसिमको सांख्य–मत उल्लेख गरेका छन्। त्यस मध्ये महर्षि पतञ्जलीले ईश्वरको अस्तित्व मान्ने ‘योगदर्शन’ को प्रादूर्भाव गरेका थिए। यस अनुसार मान्छेमा ज्ञानको अभावमा आत्मा दुनियाँमा सुख, दुःख राग द्वेश उत्पन्न हुन्छ। यसले बन्धन सिर्जना गर्दछ। यसबाट मुक्ति पाउने एक मात्र उपाय चित्त वृत्तिको विरोध हो। चित्त वृत्तिको विरोध गर्न ‘अष्टाङ्ग योग’ साधनाको जरुरत देखाइएको छ। जुन यम, नियम, आसन, प्राणायाम, प्रत्याहार, धारणा, ध्यान र समाधि हुन्। योगमत अनुसार ईश्वर एक विशेष आत्मा मात्र हो, विश्वको संरक्षक र स्रष्टा होइन। यसले अन्तःकरण शुद्धिमा जोड दिन्छ।
असाधारण शक्ति प्रदान गर्ने शारीरिक क्रियाहरूको समष्टि रूप नै योग हो। यस दर्शनले योग अभ्यासले नै पूर्ण ज्ञान र अन्तिम मुक्ति प्राप्त गर्न सकिन्छ भन्दछ। यसले ईश्वरलाई सर्वव्यापी, सर्वज्ञ, अनन्त र पूर्ण सत्ता मान्दछ र ऊ अज्ञान, कष्ट, तथा वासनाबाट सधै मुक्त रहन्छ भन्दछ।
मीमांसा मत
मीमांसाको अर्थ कुनै विषयको मूलतŒव वा वास्तविकता तर्कवितर्क द्वारा पत्ता लगाउनु वा निष्कर्ष निकाल्नु हो। मीमांसाका पनि दुई भाग छन्— (१) पूर्व मीमांसा र (२) उत्तर मीमांसा।
मीमांसा दर्शनले वेदको प्रामाणिकतालाई सर्वोपरि ठान्दछ। यसले वेदलाई शाश्वत, अपौरुपेष एवम् मानिसद्वारा रचेको नभै आफैँ बनेको (स्वयंभू) मान्दछन्। मीमंसकहरूको तर्क के छ भने वेदको न कुनै रचयिता छ न कुनै वक्ता नै, त्यसैले वेद दोषरहित छ। मीमांसा दर्शनले वेदलाई विधि, मन्त्र, नामधेय, निषेध र अर्थवाद गरि पाँच भागमा बाँडेको छ। मौलिक मीमांसा दर्शन निरीश्वरवादी थियो। यस मतमा देवता कुनै आकारधारी व्यक्ति होइनन्, उनले कसैले चढाएका वस्तु ग्रहण गर्न सक्तैनन् र कसैको इच्छा पुरा गर्न पनि सक्तैनन्। संसारका कुनै वस्तुमा पनि देवताको स्वामित्व र अस्तित्व नभएकोले उसलाई पुज्नु पनि व्यर्थ छ।
सन्तान पनि आमा बाबुको कारणले जन्मन्छ, न कि ईश्वरको अनुकम्पाबाट। कालान्तरमा मीमांसा दर्शनका रचनाकारहरूले ईश्वरको उपस्थिति पनि दर्शाउन थाले। मीमांसा दर्शन कट्टर यथार्थवादी दर्शन हो। यसले चेतनालाई एक अलग पदार्थको रूपमा मान्छ। कर्म सृष्टिको मूल आधार हो भन्ने यस दर्शनको तर्क छ। अविनाशी तŒवबाट जगत्को सृष्टि भएको हो र जगत् गतिशील हुन्छ। हरेक वस्तुमा रहेको शक्तिले परिमाण वा प्रभावलाई जन्माउछ। बीउमा रहेको अक्षय शक्तिले बीउ अङ्कुराउँछ। सृष्टि पनि ईश्वरले गरेको नभै पदार्थमा रहेको शक्तिको कारण भएको हो। तर पनि मीमांसा दर्शन कर्मकाण्डीय पुरोहितवादको पक्षमा उभिएको देखिन्छ।
पूर्व मीमांसाले आत्मा सम्बन्धमा कुनै विचार गरेको छैन तर उत्तर मीमांसा आत्मा सम्बन्धमा नजिक भएको छ। पूर्व मीमांसाले धेरै देवताको अस्तित्व स्वीकार गरेको छ। पूर्वमीमांसाले नैतिकपक्षलाई बढी बल दिएको छ। यसले न्यायपरायणता अथवा धर्म नै ईश्वर हो र वेद ईश्वरको मनको दिव्य ज्ञान हो भन्ने मान्दछ। पूर्वमीमांसाले वेदको फलाफलको अनुसन्धान गर्छ तर उत्तरमीमांसा भने उपनिषदको दार्शनिक तथा ईश्वर ज्ञान सम्बन्धी विचारको वर्णन गर्दछ। उत्तरमीमांसा मत अनुसार ईश्वर अनन्त ज्ञानवान्, आनन्दरूप, सद्गुणयुक्त, विश्वस्रष्टा, पालक तथा संहारक र इच्छारुप धारण गर्न सक्ने छन्।
लोकायत वा चार्वाक दर्शन
लोकायत प्राचीन दक्षिण एसियामा प्रचलित भौतिकवादी दर्शन हो। यस दर्शनले कर्म फल वा भाग्यमा विश्वास गर्दैन र ईश्वर र आत्मा पनि मान्दैन। यसलाई ‘चार्वाक मत’ र ‘बार्हस्पत्य सूत्र’ नामले पनि चिनिन्छ। लोकायत दर्शनले संसारका सबै वस्तुहरू पृथ्वी, जल, वायु र अग्नि जस्ता चार भौतिक तŒवबाट बनेका हुन्छन् भन्दछ। यस दर्शनले भौतिक पदार्थको असाधारण संरचनाको परिणामस्वरूप उत्पन्न हुने एक विलक्षण वस्तु चेतना हो भन्ने मान्दछ। चेतना कुनै स्वतन्त्र आत्माको नभई शरीरको लक्षण हो।
जसरी मादक द्रव्यबाट मदशक्ति पैदा हुन्छ त्यसैगरी पृथ्वी, जल, वायु र अग्नि चार महाभूत तŒव शरीरमा बदलिएपछि उक्त चार तŒवबाट नै चेतना उत्पन्न हुन्छ भन्ने यस दर्शनको मान्यता छ। यस दर्शनले ईश्वरलाई कल्पनाको उपज मात्र मान्दछ। ईश्वरको अस्तित्व छैन, ईश्वर बोध गर्ने कुनै प्रमाण पनि छैन, ईश्वर अनुमान मात्र हो, न स्वर्ग छ, न मोक्ष र न परलोक छ र न त्यहाँ रहने आत्मा नै छ- लोकायत दर्शनको विश्वास छ।
मान्छे मर्दा केही निस्केर गएको देखिँदैन, ज्यूँदो भन्दा मरेको शरीर झन् गह्रौ हुन्छ, त्यसैले आत्मा छुट्टै र स्वतन्त्र हुने नभै यो शरीरभित्रै रहने तŒव मात्र हो। आत्मा स्वतन्त्र नहुने भएकोले पुनर्जन्म वा पुनर्जन्म हुने भन्ने पनि हुँदैन। लोकायत दर्शनको प्रश्न छ- ‘भस्मीभूतस्य देहस्य पुनरागमनं कुतः ?’ अर्थात् ‘जलेर खरानी भइसकेको शरीर फेरि फर्केर कसरी आउन सक्छ ?’
माथि भनिएझैँ लोकायत दर्शनले भाग्य र कर्मफलमा विश्वास गर्दैन। यो दर्शनको प्रश्न छ- कर्मकाण्ड र धर्म गर्नुपर्छ भन्ने ब्राह्मणहरूमा पनि पुर्नजन्म र पुनर्जन्ममा विश्वास छैन। त्यसै भएर नै उनीहरू यस जन्ममै सुख, सम्वृद्धि चाहन्छन् मर्न डराउँछन्। यदि पुनर्जन्ममा सुखी र सम्पन्न जीवन प्राप्त हुने विश्वास भए त ब्राह्मण आफै विष खाएर, पासो लगाएर, पहाडबाट हाम फालेर वा छुरा हानेर किन मरिहाल्दैनन् ? त्यो व्यवहारले पनि परलोक छैन र कर्मफल पाइदैन भन्ने पुष्टि हुन्छ। ज्योतिष्टोम भन्ने यज्ञमा बध गरिएको पशु स्वर्ग जान्छ भन्ने भनाई छ।
यदि त्यस्तो बलि दिएको प्राणी सिधै स्वर्ग जाने हो भने यज्ञ आयोजक यजमानले पशुको सट्टा आफ्नै पितालाई किन बलि दिँदैन ? भन्ने प्रश्न महŒवपूर्ण छ। श्राद्ध गर्नु वेकारको काम हो भन्ने यसको तर्क छ। जसरी परदेशमा रहेको मान्छेले घरमा पस्केको खानेकुरा पाउन सक्तैन त्यसैगरी श्राद्ध गरेर दिँदैमा मरेको मान्छेले पाउन सक्ने कुरै होइन भन्ने लोकमत दर्शनको मान्यता छ। त्यसको सट्टा प्रत्यक्ष अनुभव मात्र ज्ञानको माध्यम हो। लोकायत मतले वेदको घोर विरोध गरेको छ र पुरोहितवादको खिल्ली उडाएको छ। यो दर्शन भन्छ– मन्द बुद्धि भएका र अयोग्य व्यक्तिहरू मात्र वेद, यज्ञ, त्रिपुण्ड र भष्मको सहाराले बाँच्दछन्।
चार्वाक दर्शनको एउटा महत्वपूर्ण सुक्ति यहाँ उल्लेख गर्नु उपयुक्त देखिन्छ-
‘अग्निहोत्रं त्रयोवेदास्त्रिदण्डं भस्मगुण्ठनम्।
बुद्धिपौरुणहीनानं जीविकेति बृहस्पति :।।’
अर्थात्, ‘होम गर्नु, वेद पढ्नु, त्रिशुल लिनु, भष्म लेपन गर्नु, जटा पालेर हिँड्नु बुद्धि पुरुषार्थ नभएकाहरूको बाँच्ने वृत्ति हो, वृहस्पति यसै भन्दछन्।’
प्राचीन र मध्ययुगिन भारतमा अप्रतिबन्धित भौतिकवादलाई तीन बैकल्पिक नामबाट उललेख गरेको पाइन्छ। तिनीहरू चार्वाक, लोकायत र वार्हस्पत्य हुन्।
मान्छेले जब विकास यात्रामा कृषि, पशुपालन, वाणिज्य व्यवसाय आदिको उन्नतिमा लगायो जब उसले आफ्ना आवश्यकता पूर्तिको साधन जुटाउने प्रवृत्ति जागृत भयो। मान्छेले पृथ्वी, जल, वायु र आगोद्वारा शरीर बनेको ठहर ग¥यो र प्रकृतिका अनेकौ पदार्थको उपभोग गर्ने आफ्नो नैसर्गिक अधिकार हो भन्ने ठहर ग¥यो। उसले शरीरलाई नै आत्मा मान्यो र भौतिक आवश्यकताको पूर्ति उसको जीवनको लक्ष्य बनायो। भारतीय चिन्तनमा यसलाई चार्वाक दर्शन वा लोकायत दर्शन भनियो।
चार्वाक दशृन धर्मविहिन भएकोले त्यस्तो विचारधारा राख्ने मान्छेलाई नास्तिक तथा पथभ्रष्ट भन्न थालियो। चार्वाक दशृनले मान्छेलाई नवीन शैलीमा सोच्न बाध्य गरायो। यस दर्शनले धर्म अतिप्राकृतिकमा आधारित हुन्छ र यो अतिप्राकृतिक अनुमानको वस्तु हो भन्दछ। यो जगत्मा जे उत्पन्न हुन्छ त्यो सबै प्रकृतिको अन्तरनिहित गुणको कारण हुने हो, कोही अतिप्राकृतिक सृष्टिकर्ता ईश्वर छैन भन्ने यसको मान्यता छ। जीवन सुन्दर भएकोले यसलाई राम्रोसँग ग्रहण गर्नुपर्छ, जीवनलाई सम्वृद्ध बनाउनु पर्छ, प्रकृति र मान्छे हेलमेल गरेर बाँच्नु पर्छ- चार्वाक दर्शन जोड दिन्छ।
चार्वाकको समयमा ब्राह्मणको अत्याचार चुलिएको थियो। ब्राह्मण आपूmलाई ईश्वरको सचिव भएको दावी गर्थे, जसको सहायताले मात्र मान्छे ईश्वरसम्म पुग्न र मोक्ष प्राप्त गर्न सक्तछ भन्ने भ्रम फैलाइएको थियो। धर्म बजारमा रकममा विक्ने वस्तु बन्यो। चार्वाकले ब्राह्मणको धूर्तताको विरुद्धको धर्म चलाए। उनको अनुसार मधुरवचन, सहानुभूति आदि धर्मका अङ्ग हुन्। सुव्यवस्थित समाजनै ‘स्वर्ग’ हो, सांसारिक जीवनको दुःखी अवस्था नरक हो। प्रकृति प्रदत्त भन्दा बढी सुखको अपेक्षा गर्नु ठीक छैन, प्रकृतिसँग सामञ्जस्य स्थापित गरेर अघि बढ्नु नै मान्छेको चरम लक्ष्य हो भन्ने चार्वाक दर्शनको मत छ।