निजगढ विमानस्थल निर्माणको काम हत्याउन भारतीय र चिनियाँ कम्पनीको लविङ तीव्र
काठमाडौं, साउन ३० : बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी हत्याउन भारतीय र चिनियाँ कम्पनीले लविङ तीव्र पारेका छन....
काठमाडौं, साउन ३० : बारामा प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको जिम्मेवारी हत्याउन भारतीय र चिनियाँ कम्पनीले लविङ तीव्र पारेका छन्।
दुवै देशका तीन कम्पनीले निजगढ विमानस्थल निर्माणको जिम्मेवारी माग गर्दै लगानी बोर्डमा प्रस्ताव पेश गरेका छन्। अन्य पाँच देशका कम्पनीले पनि प्रस्ताव पेश गरेका छन्। तर, निजगढ विमानस्थल निर्माण गर्न भारतीय र चिनियाँ कम्पनीहरुले बढी चासो दिएर लविङ सुरु गरेका हुन्।
गत चैत दोस्रो साता सम्पन्न लगानी सम्मलेनमा लगानी बोर्डले निजगढ विमानस्थललाई विशेष प्राथमिकताका साथ राखेको थियो। जसका लागि ७ वटा देशका कम्पनीहरुले प्रस्ताव पेश गरेका थिए।
लगानी बोर्डले ७ वटै देशका कम्पनीहरुसँग दुई पक्षीय छलफललाई तीव्र पारेको भएपनि भारतीय र चिनियाँ कम्पनीको भने प्रतिस्प्रर्धा नै भएको लगानीबोर्ड स्रोतले जानकारी दिएको छ। आगामी मंसिरसम्ममा कुनै एक कम्पनीसँग सम्झौता गरेर लगानी बढ्ने लक्ष्य समेत बोर्डले लिएको छ।
नवनियुक्त संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईले पदभार ग्रहण गरेकै दिन मंसिरमा निजगढ विमानस्थल शिलान्यास गर्ने घोषणा गरेका थिए। केही दिन अघि राष्ट्रियसभा अन्तर्गतको राष्ट्रिय सरोकार तथा समन्वय समितिमा समेत मंसिरमा शिलान्यास गर्नेगरी काम अघि बढेको जानकारी मन्त्री भट्टराईले दिएका थिए।
मंगलबार मात्रै पर्यटनमन्त्री भट्टराईको नेतृत्वमा मन्त्रालयका उच्च अधिकारीहरु, नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीसहित लगानी बोर्डका प्रतिनिधिसँग छलफल गरिएको थियो। छलफलमा लगानी बोर्डले कात्तिकसम्म कम्पनीको टुंगो लाग्ने गरी काम भइरहेको जनाउ दिएको मन्त्रालयका एक उच्च अधिकारीले जानकारी दिए।
निजगढ विमानस्थल निर्माणको जिम्मेवारी माग गर्दै चीनका दुई कम्पनी र भारतीय एक कम्पनीले प्रस्ताव पेश गरेका छन्। चीनको चाइना एयरपोर्ट कन्स्ट्रक्सन कर्पोरेशन र चाइना एयरपोर्ट कन्स्ट्रक्सन ग्रुप तथा भारतीय जिएमआर ग्रुपले निजगढ विमानस्थलमा प्रस्ताव पेश गरेको बोर्ड उच्च स्रोतले जानकारी दिएको छ।
दुई देशसँगै मलेसिया, थाइल्यान्ड, साउदी अरब, सिंगापुर, दक्षिण कोरिया र कतारका कम्पनीले पनि आवेदन दिएका छन्। चीन र भारत दुवै देशका कम्पनीले सरकारको नेतृत्व तहसम्म नै लविङ गरिरहेकोले फेरि अनिश्चयको भूमरीमा पर्ने हो कि भन्ने चिन्ता रहेको ती मन्त्रालयका अधिकारीले बताए।
चिनियाँ र भारतीय गरी तीन वटा कम्पनीले पछिल्लो समय विश्वभर विमानस्थल निर्माण र व्यवस्थापनको जिम्मा लिँदै आएका छन्। भारतीय जिएमआर कम्पनीले भारतसहित फिलिपिन्स, इन्डोनोसिया, मलेसियालगायत देशमा पनि विमानस्थल निर्माण र व्यवस्थापन गर्दै आएको छ।
यसअघि नेपालमा द्रूतमार्गको विषयमा पनि जिएमआरले डिपिआर तयार पारेपछि नेपालले सम्झौता तोडेको थियो। चिनियाँ दुवै कम्पनीले चीन लगायत भियतनाम, अफ्रिकन देश, एसिया तथा दक्षिण अमेरिकामा समेत विमानस्थल निर्माण र व्यवस्थापनको जिम्मेवारी लिँदै आएका छन्।
लगानी बोर्डले चिनियाँ तथा भारतीय कम्पनीको प्रस्तावलाई गम्भिरतापूर्वक हेरिरहेको छ। निजगढ अन्तर्राष्ट्रिय विमानस्थल बनाउन ३ खर्ब ३० अर्ब भन्दा बढी रुपैयाँ (३ अर्ब अमेरिकी डलर) प्रस्ताव गरिएको छ। सरकारले लगानी सम्मेलनमा ७७ वटा परियोजना शोकेस गरेको थियो। जसमा सबैभन्दा आर्कषक आयोजनाको रुपमा विदेशी लगानीकर्ताहरुले चासो दिएका छन्।
सरकारले जिटुजी मोडलमा निजगढ विमानस्थल दिने तयारी गरेको छ। जुन कम्पनीको राम्रो प्रस्ताव हुन्छ, सोहीसँग जिटुजी मोडलमा सम्झौता गर्ने तयारी समेत बोर्डको छ। सम्झौतापछि लगानी, निर्माण र निश्चित समयका लागि सञ्चालनको जिम्मा सोही कम्पनीले पाउने छ।
२०६४ सालमा मन्त्रिपरिषद् बैठकले विमानस्थल स्वामित्व, निर्माण र हस्तान्तरण (बुट) मोडलमा बनाउने निर्णय गर्दै विस्तृत परियोजना अध्ययन प्रतिवेदन तयार पार्न कोरियाली कम्पनी ल्यान्डमार्क वल्डवाइड कम्पनी (एलएमडवल्लु) लाई जिम्मा दिएको थियो। सोही कम्पनीले २०६५ मा अध्ययन प्रतिवेदन बुझाउँदै बुट मोडलमा बनाउन उपयुक्त हुने निष्कर्षसहितको प्रतिवेदन बुझाएको थियो। त्यही प्रतिवेदन अनुसार सरकारले निर्माण कार्य अघि बढाएको छ।
प्रस्तावित निजगढ अन्तर्राष्ट्रिय विमानस्थल सरकारले कतारलाई सार्वजनिक निजी साझेदारी (पीपीपी) मोडलमा दिनेगरी छलफल समेत गरेको थियो। अर्थ मन्त्रालयले गत वर्ष नै निजगढ विमानस्थल निर्माणका लागि पीपीपी मोडल उपयुक्त हुनेगरी सुझाव दिएको थियो।
३ हजार ६ सय मिटर लामो र ५० मिटर फराकिलो तथा दोहोरो धावन मार्ग हुने विमानस्थलमा विश्व बजारमा उत्पादन भएका सबैजसो अत्याधुनिक वाइडबडी जहाजहरु उडान/अवतरण गर्न सक्छन्।
निर्माण सम्पन्न भएपछि वार्षिक ६ करोड यात्रु धान्न सक्ने उक्त विमानस्थल टर्मिनल भवनमा ६ बोर्डिङ गेट, ३४ चेक इन काउन्टर, ६ सुरक्षा जाँच, ३५ अध्यागमन, ८ भन्सार जाँच काउन्टर रहनेछन्। त्यसैगरी, यात्रुको सजिलोका लागि टर्मिनल भवनको माथिल्लो तलामा प्रस्थान र तल्लो तलामा आगमनका लागि बनाइने छ।












![सुनिल थापालाई अन्तिम श्रद्धाञ्जली [तस्बिरहरु]](https://kathmandupress.com/uploads/posts/550X700/Untitled-1-1770543019.jpg)