Kathmandu Press

काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

‘फोहोरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदुषकले तिर्ने सिद्धान्त अनुरुप एकद्वार प्रणाली मार्फत शुल्क संकलन गर्ने व्यवस्था मिलाइने छ,’ उनले भनिन्।
काठमाडौं महानगरले फोहोर व्यवस्थापनमा एकद्वार शुल्क प्रणाली लागू गर्ने

काठमाडौं, जेठ ३१ : काठमाडौं महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८३÷०८४ मा फोहोरमैला व्यवस्थापनलाई थप व्यवस्थित र प्रभावकारी बनाउन एकद्वार प्रणालीमार्फत सेवा शुल्क संकलन गर्ने नीति अघि सारेको छ।

आइतबार आयोजित नगरसभाको १९औं अधिवेशन बैठकमा आर्थिक वर्ष २०८३÷०८४ को नीति तथा कार्यक्रम प्रस्तुत गर्दै कार्यवाहक महानगर प्रमुख सुनिता डंगोलले ‘प्रदूषकले तिर्ने’ सिद्धान्तअनुसार फोहोरमैला व्यवस्थापन सेवा शुल्क संकलनको व्यवस्था गरिने जानकारी दिइन्।

‘फोहोरमैला व्यवस्थापन सेवा शुल्कलाई प्रदुषकले तिर्ने सिद्धान्त अनुरुप एकद्वार प्रणाली मार्फत शुल्क संकलन गर्ने व्यवस्था मिलाइने छ,’ उनले भनिन्।

Hardik ivf

उनका अनुसार बन्चरेडाँडा डम्पिङ साइटमा फोहोर विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोरको परिमाण र प्रकृतिका आधारमा द्वितीय साझेदारीको व्यवस्था गर्न पहल गरिनेछ।

महानगरले फोहोरमैला व्यवस्थापनसम्बन्धी सूचना तथा विवरणलाई अनलाइन एपमार्फत उपलब्ध गराउने योजना पनि अघि सारेको छ। यसबाट महानगरपालिका, सम्बन्धित कार्यालय, सेवा प्रदायक तथा सेवाग्राहीबीच आवश्यक जानकारी सहज रूपमा आदानप्रदान हुने अपेक्षा गरिएको छ।

‘बञ्चरेडाँडा डम्पिङ साइटमा फोहोरमैला विसर्जन गर्ने प्रत्येक स्थानीय तहबाट फोहोरको परिमाण र प्रकृतिका आधारमा द्विपक्षीय साझेदारी गर्न पहल गर्नेछौँ। फोहोरमैला व्यवस्थापनलाई अनलाइन एपका माध्यमबाट सूचना र विवरण महानगरपालिका, सम्बन्धित कार्यालय, सेवा प्रदायक र सेवाग्राहीको पहुँचमा हुने विशेष प्रबन्ध मिलाइनेछ,’ उनले भनिन्।

नीति तथा कार्यक्रममा वायु, जल, जमिन, ध्वनि तथा दृश्य प्रदूषण नियन्त्रणका लागि उपयुक्त प्रविधिको प्रयोग गरिने उल्लेख गरिएको छ । साथै वातावरण संरक्षण, प्रदूषण नियन्त्रण तथा न्यूनीकरणका कार्यक्रम संघ, प्रदेश, स्थानीय सरोकारवाला निकाय तथा विज्ञहरूसँगको समन्वय, सहकार्य र साझेदारीमा सञ्चालन गरिने उनको भनाई छ।

‘उचित प्रविधिको प्रयोग गरी वायु, जल, जमिन, ध्वनि, दृश्य आदि प्रदूषणको नियन्त्रण गरिनेछ । संघ, प्रदेश तथा अन्य स्थानीय सरोकारवाला निकायहरू र विज्ञहरूसँग समन्वय, सहकार्य र साझेदारीमा वातावरण संरक्षण तथा प्रदूषण नियन्त्रण एवं न्यूनीकरणका कार्यक्रमहरू सञ्चालन गरिनेछन्,’ उनले भनिन्।

महानगरपालिकाले आगामी वर्ष वातावरणीय सुधार, आधुनिक फोहोर व्यवस्थापन र प्रदूषण नियन्त्रणलाई प्राथमिकतामा राख्दै विभिन्न कार्यक्रम कार्यान्वयन गर्ने लक्ष्य लिएको छ।

प्रकाशित मिति: १६:०५ बजे, आइतबार, जेठ ३१, २०८३
NTCNTC
Jaga shaktiJaga shakti
प्रतिक्रिया दिनुहोस्