ठाडाखानीको आयस्रोत आलु र भेडापालन
गलेश्वर, कात्तिक १४ : खनिज र वनस्पतिका स्रोत प्रशस्तै रहेको रघुगङ्गा गाउँपालिका–६ को ठाडाखानीमा ती स्रोतको सदुपयोग हुन नसकेपछि स्थानीयवासीले कृषि र पशुपालनलाई...गलेश्वर, कात्तिक १४ : खनिज र वनस्पतिका स्रोत प्रशस्तै रहेको रघुगङ्गा गाउँपालिका–६ को ठाडाखानीमा ती स्रोतको सदुपयोग हुन नसकेपछि स्थानीयवासीले कृषि र पशुपालनलाई नै आयस्रोतको माध्यम बनाएका छन्।
तामाखानी र जडिबुटीको प्रशस्तै सम्भावना रहेको ठाडाखानीमा खानी उत्खनन र जडीबुटी सङ्कलनको अनुमति नहुँदा आम्दानीका लागि स्थानीवासीले कृषितर्फ आलुखेती र पशुपालनतर्फ भेडापालन गरेर जीविका चलाइरहेका हुन्।
छन्त्याल र दलित समुदायका गरी ९० घरधुरीको बसोबास रहेको ठाडाखानीमा ३७ घरपरिवारले व्यावसायिक भेडापालन गरेको मालिका भेडापालन समूहका नरेश छन्त्यालले बताए। गाउँमा हाल दुई हजार १०० भेडा रहेका छन्। एक जनाले १५ देखि १०० सम्म भेडा पालेका छन्त्यालले बताए।
उनका अनुसार गाउँबाट वर्षमा तीन सय भन्दा बढी भेडा बिक्री हुने गरेको छ। एउटा भेडालाई रु दश देखि २३ हजारसम्ममा बिक्री गर्न सकिने छन्त्यालले बताए। उनका अनुसार भेडा बिक्री गरेर ठाडाखानीमा वार्षिक रु तीस लाख भन्दा बढी भित्रिने गरेको छ। उच्च पहाडी क्षेत्रमा अवस्थित ठाडाखानीको नजिकै प्रशस्त जङ्गल रहेकाले भेडाका लागि चरनको समस्या छैन।
चिसो हावापानीमा हुर्कीएका भेडाको मासु स्वादिलो र स्वथ्यकर हुने भएकाले ग्राहक गाउँमै पुग्ने गरेका छन्। म्याग्दी र पर्वतका विभिन्न ठाउँबाट बलि चढाउन भेडा किन्न सर्वसाधारण ठाडाखानी पुग्छन्। बिम, दरवाङ र पाखापानीको सिमानामा पर्ने धार्मिकस्थल मालीकामा बलि चढाउनेले समेत ठाडाखानीबाटै भेडाको साँड किन्ने गरेका छन्।
उनीहरुले घरकै खोरमा भेडा पाल्ने गरेका छन् । धेरैजसो ठाउँमा जङ्गलमै भेडाको गोठ राख्ने चलन छ। छोराछोरी पढाउन र घरखर्च चलाउनका लागि भेडापालन सहयोगी बनेको स्थानीय टेकजीत छन्त्यालले बताए । भेडापालनपछि यहाँका बासिन्दाले आलु बिक्री गरेर मनग्गे आम्दानी गर्दै आएका छन्।
स्थानीय किसान हिमाली छन्त्यालका अनुसार आलु बिक्री गरेर यहाँका बासिन्दाले वार्षिक रु दुई करोडभन्दा बढी आम्दानी गर्दै आएका छन्। पूर्वतर्फ फर्केको भिरालो जमिनमा हिउँदे र बर्खे गरी दुई सिजनमा आलु लगाउने गरिएको किसान छन्त्यालले जानकारी दिए। उनका अनुसार यहाँको ४५ हेक्टर भन्दा बढी जमिनमा व्यावसायिक आलुखेती हुने गरेको छ।
किसानमा व्यावसायिक ज्ञान, सीप तथा प्रविधिमा पहुँच नहुँदा भेडापालन र आलुखेती व्यवस्थित बन्न भने नसकेको स्थानीय बासिन्दा खेमबहादुर विकले बताए। आन्तरिक तथा बाह्य परजीवी विरुद्धको औषधि, घाँस, ऊन काट्ने कैची, खोर व्यवस्थापन, डिपिङ टङकी र तालीमको आवश्यकता रहेको उनले बताए। रासस